कसैले मेरी दिदीको फोटो फेस बुकमा देखेर प्रतिक्रिया लेखेको थियो, "केश चैं कति राम्ररी फुलेको धनकुटामा…" यो वाक्यले मलाई सोचमग्न बनायो। म सोच्न थालें, "ए गाँठे, अरुतिर चाहिं केश कसरी फुल्छ होला? के केश राम्ररी फुल्नु धनकुटाको मात्र विशेषता हो र?" दिदीको
फोटोमा अरु केहि नदेखेर ती व्यक्तिले " फुलेको कपाल" मात्र देख्नुले उनको इशारा कतातिर थियो भन्ने त जो कोहिले पनि बुझ्न सक्थ्यो! फेरि अर्को व्यक्तिले लेखेको, " दिदी, गोदरेज केश काला चाहियो, सानो प्याक पनि बजारमा उपलब्ध छ," भन्ने भनाईले कुरोको चुरो प्रष्ट हुँदैन र? म भने यस्ता प्रतिक्रियालाई वेवास्ता गर्दै दिदीको आफ्नु "सही रंग" देखाउने साहस देखेर अलि उत्साही बनेकी थिएँ। कम्तिमा पनि हरेक दुई दुई हप्तामा कपाल रंगाउने काम कम झन्झटीलो छ र?
विशेष गरी हाम्रो परिप्रेक्षमा
कपाल फुल्नुलाई बुढो हुनुसंग जोडिन्छ। त्यसैले यदि कपाल रंगाउँदैमा आफ्नु उमेर छोपेर भर्खरको देखिन सकिन्छ भने त्यति जाबो काम किन नगर्नु? आखिरमा कसलाई पो बुढो देखिन मन लाग्छ र? धन्न कपाल रंगाउने रंगको आविष्कार भएछ! नेपाली समाजमा व्याप्त केश रंगीला पद्दतिबाट विरक्त भएर नै कवि चट्यांग मास्टरले आफ्नु कविता 'एक नम्बरको ढंटुवा' मा "… फुलेको कपालमा
दिनहुँ कालो रङ्गाउनुहुन्छ…उहाँ एक नम्बरको ढँटुवा हुनुहुन्छ…" भनेका होलान्।
के महिला के पुरुष, दुवै लिङ्गका मानिसलाई 'हेयर डाई' ले गांजेको भए पनि महिलाहरुका
लागि यसको महिमा अझ बढि देखिएको छ किनभने उनिहरुको व्यक्तित्वसंग "सुन्दरता"
शब्द सधैं जोडिएको हुन्छ। अनि सुन्दर देखिन भर्खरको देखिनु पर्छ र यसका लागि सेतो कपाल
देखिनु हुँदैन भन्ने गलत अवधारणाले पनि त हाम्रै समाजमा महत्व पाएको छ नि!
कालो कपालको त्यत्रो माग हुँदा हुँदै पनि दिदीको कपाल नरंगाउने निर्णय
देखेर म हौसिएकी थिएँ। २५ - २६ का उमेरदेखि रंगाउन थालेको कपाल कत्ति रंगाउनु? हाम्रो
मुलुकमा त सेतो कपाल यति बिघ्न अपहेलित छ, पश्चिमाहरु चाहिँ यसलाई कसरी हेर्दा रहेछन्
भन्ने उत्सुकता मेरो मनमा जाग्नु स्वाभाविक थियो। पूर्वीय र पश्चिमा महिलाहरुमा 'हेयर
डाई' प्रतिको मोह र उद्देश्य उस्तै उस्तै पाइयो।
यो लेखका सन्दर्भमा युवाहरुले फेसनका लागि कपाल रातो, पहेंलो, खैरो,
हरियो अथवा सेतो पारेर रंगाउनुलाई भने अपवादका रुपमा हेर्न सकिन्छ। उदाहरणका लागि युवा
गायिका लेडी गागालाई लिन सकिन्छ। उनले आफ्नु कपाल सेतै फुलाएर तत्कालिन सामाजिक मान्यताप्रति
विद्रोह प्रकट गरेकी हुन्। एकचोटी मैंले पढेकी थिएँ - कपाल रंगाउने काम धेरै झन्झटिलो
र समय खाने भएकाले केहि आम संचारमा काम गर्ने अष्ट्रेलियाली महिलाहरुले "कपाल
नरंगाउने" अभियान नै चलाएका थिए अरे। त्यसमा उनिहरु कति सफल भए, त्यो चाहिं मलाई
थाहा भएन। फियोना स्मिथले २०११ मा लेखेकी लेख 'इट्स नट ओल व्वाइट इफ विमिन आ डाइंग
टु सक्सिड' मा एउटा युकेमा गरिएको सर्भेअनुसार उच्च तहमा काम गर्ने ५०% महिलाले कपाल
रंगाउने कुरा उल्लेख गरेकी छन् जबकि यस्तो काममा ३% मात्र पुरुषको सहभागिता रहेको छ।
कपाल रंगाउने कि नरंगाउने भन्ने विषयलाई लिएर एन क्रिमरले 'गोइङ्ग ग्रे' भन्ने पुस्तक
नै लेखेकी छन्।
टलक्क कपाल रंगाएर एन क्रिमर ४९ वर्षको उमेरसम्म आफूलाई एक जल्दि-बल्दि
युवतीका रुपमा हेर्ने गर्थिन। यस्तैमा जब उनले एउटा पारिवारिक फोटोमा आफूलाई नियालिन्,
उनी झस्किईन्। त्यो फोटोमा उनले आफुलाई तरुनी होइन कि एक अधवैंसे आइमाईका रुपमा देखिन्।
त्यही क्षण उनले अब उप्रान्त आफूलाई नै छल्नका लागि कपाल नरंगाउने निर्णय गरिन। आफ्नु
"साँचो रुप" संसारलाई देखाउने कुरामा उनी दृढ भइन्। 'गोइङ्ग ग्रे' उनको कृतिम
रंगिन कपालदेखिको वास्तविक रंगमा फर्किंदासम्मको अनुसन्धानमूलक यात्राको वर्णन हो।
उनी भन्छिन् - आफूले कपाल रंगाउन्जेल के कति खर्च भयो भन्ने कुराको
हेक्कै भएन। तर कपाल रंगाउन छोडेपछि यसो हिसाब गर्दा त २५ बर्षदेखि ४९ बर्ष सम्ममा
औसत तीन हप्तामा एकचोटिको दरले कपाल रंगाउन व्यूटी पार्लर जाँदा उनको $ ६५,००० खर्च
भएको रहेछ! यस्तो वास्तविकता थाहा पाएर उनी छाँगाबाट खसेजस्ती भएकी थिईन। उनले त्यति
रकम लगानी गरेको भए तत्कालिन समय सम्ममा कति हुन्थ्यो होला भनेर आफ्नो आर्थिक सल्लाहकारलाई
सोधिन्। सल्लाहकारको उत्तर थियो - "तीन लाख डलर !" एन क्रिमरलाई लाग्यो
- यो पैसा उनी आफ्ना दुवै छोरीहरुको नीजि कलेजको शिक्षामा खर्च गर्न सक्थिन्। “कपाल
फुलेका नारीहरु सुन्दर देखिंदैनन्” भन्ने धारणा पनि गलत भएको उनको अनुसन्धानले देखाएको
छ। बढ्दो उमेरसंगै फुल्न थालेको कपालले लेखककी ६६ वर्षे साथी एलनलाई आफ्नु पहिचान र
स्वतन्त्रताको अनुभूति दिएको छ। जति जति एन क्रिमरको कपाल प्राकृतिक रुपमा फर्कंदै
गयो उति उति उनी मान्छेहरुबाट सकारात्मक प्रतिक्रिया पाउँदै गइन्। उदाहरणका लागि एकदिन
उनको योगा क्लासमा एउटी पहिले कहिल्यै पनि नबोलेकी महिलाले उनलाई भनिन् ,"तिम्रो
कपाल क्या गजब देखिएको छ! केही महिनादेखि म यसको रंग बदलिंदै गएको निरीक्षण गरिरहेकी छु। तिमीलाई देखेर मलाई आफू पनि
कपाल रंगाउन छोड्नुपर्यो भन्ने विचार गर्न साहस मिलेको छ। "
एन क्रिमरले अन्तर्वार्ता लिएका प्राय:जसो महिलाहरुले आफू अनाकर्षक,
असुन्दर र पाको देखिने डरले गर्दा कपाल रंगाउने गरेको कुरा स्वीकार गरे। महिलाहरुको
विपरित पुरुषहरुले भने फुलेको कपालले गर्दा कुनै पनि महिलाको सौन्दर्यमा कमी आएको नदेखिने
बताए। महिलाहरुको आधारहीन "डर" लाई चुनौती दिंदै एक रेकर्डिंग कम्पनीका म्यानेजर,
३३ बर्षे स्कटले भने, "वास्तवमा सेतो कपाल भएका अधवैंसे महिलाहरु मलाई आकर्षक,
आत्मविश्वासी, निडर र वुद्धिमान् लाग्छन्।" लेखकले पनि कपाल रंगाउन छोडेपछि आफू "आफू" जस्तो
भएको, आफ्नु आत्मविश्वास बढेको र आफ्नु सौन्दर्यमा कुनै पनि कमी नआएको अनुभव गरेकी
छन्।
एन क्रिमरलेजस्तै मैले पनि अहिलेसम्म मेरो कपाल रंगाउँदा कतिसम्म
पैसा खर्च भैसकेछ त भन्ने कुराको सरसर्ती हिसाब गरें। लगभग २० वर्षमा महिनामा २ चोटिको
दरले, व्यूटी पार्लर नगई आफैं रंग लगाउँदा, एकचोटिमा २०० सयदेखि २५० रुपैयाँसम्मको
रंग लाग्ने हिसाबले एक लाखभन्दा बढी खर्च भएको रहेछ। मैले त्यो पैसा थपक्क मुद्दती
खातामा जम्मा गरेको भए अहिलेसम्म ८-१० लाख त हुने नै थियो। एनको कपाल रंगाउँदा भएको
खर्चले उनका दुवै छोरीको निजी कलेजको पढाई धानिने भए जस्तै मेरो पैसाले नि अहिले मेरो
छोराको ११-१२ कक्षाको पढाई सजिलै धान्ने थियो। मेरा श्रीमान् त मलाई "कपाल रंगाउन
छोड, सेतो कपालले तिम्रो व्यक्तित्व अझ खुल्छ," भनेर हौस्याईरहनु हुन्छ। तर मलाई
भने मभित्रको अव्यक्त डरले अझै पूर्णत: छोडिसकेको छैन। हुन त कपाल फुलेका मान्छेको
सुन्दरतामा कमी आउँछ भन्ने मान्यता मेरो पटक्कै होइन। कपाल नरंगाएका आकर्षक नेपाली
महिला को होलान् भनेर संझदा कवयित्री तोया गुरुंगको छवि मेरा आँखामा आउँछ। सेतो कपालले
उनको भव्य व्यक्तित्वमा अझ निखार ल्याएजस्तो लाग्छ मलाई। एन क्रिमर,
तोया गुरुंग र मेरी दिदीजस्ता महिलाहरु, जसले निडरतापूर्वक आफ्नु "प्राकृतिक रंग"
संसारलाई देखाउने साहस गरे, मेरो "कपाल रंगाउन छोड्ने" अभियानका लागि मेरा
प्रेरणाका स्रोत बनेका छन्। ढिलो चाँडो म पनि आफूलाई यिनै महिलाका सूचिमा राख्न सफल हुनेछु
भन्ने लाग्छ मलाई ।
अन्तमा, फियोना स्मिथले औंल्याएजस्तै गरी सेतो बाघको महिमा
ठूलो छ तर जंगलमा यो सितिमिती भेटिंदैन।
कपाल नरंगाउने महिलाको महत्व पनि सेतो बाघको जति नै छ। दु :खको कुरो, धेरैजसो पुरुषहरु
फुलेको कपाल आफ्नु परिपक्वता, सांसारिक अनुभव र वुद्धिमत्ताको परिचयका रुपमा संसारलाई
देखाउनमा गर्व गर्छन तर तुलनात्मक रुपमा महिलाहरु भने आफ्ना ती अमूल्य निधीलाई विभिन्न
रंगको लेप लगाएर छोप्छन्।
(अन्नपूर्ण पोष्ट फूर्सद मा मिति २०७१/१२/१४ मा "मेरी दिदीको सेतो कपाल" शीर्षकमा प्रकाशित)
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).