Wednesday, 28 October 2015

गुलरको फूल : मेरो आँखामा

जब माधव प्याकुरेलको 'गुलरको फूल' उपन्यास मेरो हातमा पर्यो, कहिल्यै नसुनिएको फूलको नामले मलाई आकर्षित गर्यो। कस्तो फूल हो यो गूलर - मेरो मनमा उत्सुकता जाग्यो। मैंले फरफरी पन्ना पल्टाउँदा देखें - यो एउटा तथ्यमा आधारित सामाजिक उपन्यास रहेछ। आफूलाई काल्पनिक कुराभन्दा जीवनमा भोगिने सत्य घटना नै बढी मन पर्ने हुनाले यो पुस्तक पढौं भन्ने भावना जाग्यो। अब मैंले पत्ता लगाउनु थियो - शीर्षकको अर्थ। साहित्यकार मोहनराज शर्माको पुस्तक परिचयको शीर्षक, 'अप्राप्य अर्थात् गुलरको फूल,' ले मेरो यो कौतुहल पनि मेटिदियो। आवरण पृष्ठ हेरेर मैंले अनुमान गरें - यो उपन्यास एउटी नारीको कथा हो - जो कुनै अप्राप्य वस्तुको प्रतिक्षामा आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गर्न तयार छे।

त्यसैले मैंले पढ्न सुरु गरें - गुलरको फूल। मैंले कतै पढेकी थिएँ - यदि कुनै कृति पढ्दा सुरुका पाँच पृष्ठले पाठकको मन तान्न सकेनन् भनें ठसठसी कन्दै त्यो कृति अगाडि पढ्नुको कुनै औचित्य हुँदैन। यसो गर्नु खालि समयको बर्बादी मात्र हो। तर 'गुलरको फूल' पढ्नका लागि मैंले पाँचौं पृष्ठसम्म पनि पुग्नु परेन। पृष्ठ संख्या १ लेनै मलाई मोहनी लगायो र यसलाई अन्तिम पृष्ठसम्म नपुर्याई मैंले छोड्नै सकिन। सबभन्दा पहिले भेट भएका पात्रहरु रुदल साहनी, रामाज्ञा, भुलुवा र गेगरीले मलाई डोहोर्याउँदै डोहोर्याउँदै अरु थुप्रै पात्रहरुसंग भेट गराए पनि मेरो मानसपटलमा जीवन्त भएर रुदलको परिवार नै रहिरह्यो। परिवारका यी चार सदस्यमा थपिई घरकी पाँचौं र कान्छी सदस्य कलावती अर्थात कलौतिया।

'गुलरको फूल' लाई धेरै तहबाट पढ्न सकिन्छ। यो एउटा विपन्न वर्गको जीवन संघर्षको कथा हो, खासगरि तराई समाजमा व्याप्त दहेज प्रथाले निम्त्याउने समस्याहरुको कथा हो, गौना प्रथाले गर्दा नारी जातिले भोग्नुपर्ने पीडाको कथा हो। अझ यो उपन्यासले विक्रम संवत २०१६ देखि २०६३ सम्मको कालखण्डलाई समेटेकाले यतिबेला घटेका अनेक राजनीतिक उतार चढाव र तिनले सामान्य मानिसको जीवनमा पार्ने असरलाई पनि वेवास्ता गर्न सकिंदैन। मैंले भने यो उपन्यासमा प्रत्यक्ष रुपमा नदेखिएको तर सम्पूर्ण कथानकमा उनिएको मानव जीवन अथवा भनौं मानव सभ्यताको भ्रमको जालोलाई अलि उधिन्न खोजें।  

त्यो जालोलाई केलाउनका लागि रुदलको परिवार एक प्रतिनिधि पात्रका रुपमा उभिएको छ। रुदल आफू र आफ्नो परिवारको सुखका लागि नेपाल र भारत सीमामा पर्ने भारतीय गाउँ भैंसालोटनबाट नेपालको तराई भागमा पर्ने गोठटोल गाउँमा बसाईं सर्छ। तर ऊ भैंसालोटनको सम्पूर्ण जायज्यथा त्याग्न सक्तैन। त्यसैले उसको जेठो छोरो रामाज्ञा घरबारको हेरचाह गर्न उतै छुट्छ। तर के रुदल जुन सुखको खोजीमा परदेशिएको थियो, त्यो सुख पाउँछ त? अँहँ, कहिल्यै पाउंदैन। आफू बसेको ठाउँमा भन्दा अर्को ठाउँमा सुख देख्नु मानव जातिको भ्रम मात्र हो। त्यहि भ्रमका पछि लागेर मानिस पहाडबाट मधेश झर्छन्, गाउँबाट शहर पस्छन्, देशबाट विदेशतिर भासिन्छन्। तर अफशोच! सबै ठाउँका आफ्नै चुनौती हुन्छन् र मानिसको सुख-सपना एउटा मृगतृष्णामा सीमित हुन्छ। रुदल परिवारको कथा यसको ज्वलन्त उदाहरण हो।मानिसले पालेको अर्को भ्रम - मुखैमा आएको एउटा जटिल काम फत्ते गरेपछि बाँकी जीवन सहज हुन्छ भन्ने हो। तर नेलसन मन्डेलाले "एउटा पहाड चढीसकेपछि चढ्नुपर्ने अझ ठूलो अर्को पहाड देखिन्छ," भने जस्तै हुन्छ वास्तविक जीवनमा। रुदललाई आफ्ना पितापुर्खाले गरिआएको माछा मार्ने कामले कहिल्यै सुख दिन सकेन। घरको गरिबी कहिल्यै हटाउन सकेन। उसले सोच्यो - नेपाल गएर नयाँ ठाउँमा काम गरौंला, आफ्नो आर्थिक स्थितिमा सुधार आउला, परिवारका सबैले केही सुखभोग गर्न सकौंला। तर अँहँ, उनीहरुका जीवनमा त्यो सुखको क्षण कहिल्यै आएन। गेगरीले गरिबीमै आफ्नो ज्यान तोडी। रुदलको परिवारले फेरि अर्को समस्याको सामना गर्नुपर्यो - कलौतियाको विवाह। रुदलले सोच्यो - बढेकी छोरी बिहे गरेर घर पठाइदिन पाए ढुक्क हुन्छ। सोहि मुताबिक जेठो छोरो भएको नाताले रामाज्ञाले केटो खोज्ने र बहिनीको विवाह गरिदिने जिम्मा लियो। केटो पनि भेटियो, के कति दाइजो लिने/दिने सब छिनाफाना भयो अनि कलौतियाको विवाह हुने निश्चित मितिसमेत तोकियो। यो विवाहको टुङ्गोले रुदलले सोचेजस्तो "ढुक्क" किन ल्याउँथ्यो र? विवाहको दिन बेहुलाले पहिले नै दाइजोमा कबोलेको बाहेकको साइकल मागेर बिठ्याँईं गरिहाल्यो। जति सम्झाउँदा पनि ऊ मान्दैमानेन। साइकल नलिई त म विवाह नै गर्दिन भनेर अड्डी लियो। आखिरमा बेहुली पक्षकाले हार माने र  तीन महिनापछि साइकलको व्यबस्था गरिदिने शर्तमा बेहुलो विवाह गर्न राजी भयो। कसो कसो बिहे त भयो तर बेहुली १३ वर्ष मात्र भएकीले त्यतिबेलै बेहुलाको घरमा नलाने भए। कलौतिया १६ वर्ष भएपछि गौना गर्ने र बेहुलाको घरमा पठाउने सल्लाह भयो।     

अब चढ्नुपर्ने पहाड थियो - कलौतियाको गौना। गौनाअगाडि बेहुलालाई कबुलेको साइकल पनि त दिनु पर्यो नि! नभए टेढीएर ऊ परपरै हुने! बैनीको विवाह भएको दुई वर्षपछि बल्ल बल्ल रामाज्ञाले कसो कसो ऋणपान गरेर साइकल किन्ने पैसा जुटायो। साइकल पाएर बेहुलो खुशी भयो र ससुरालीसँग नजिकिन थाल्यो। यसरी "छोरीको घर बसेकोमा रुदल खुशी छन्। बिहेको कर्जा बाँकी नै भए पनि दहेजको टन्टा हटेको छ।  कर्जा भन्या कमाएर तिरौंला भन्छन्," (पेज नम्बर २०४)। यता कलौतिया धैर्यपूर्वक गौना हुने दिन पर्खिएर बस्ताबस्तै सत्र वर्षकी भई। त्यहि वर्ष गौना गर्ने कुरा चल्दा चल्दै उसकी सासूको मृत्यु हुन्छ।अनि सासूको वर्ष दिनको काम नसकी कसरी गौना हुनु ?
       
यहि बिचमा रुदलको परिवारमा अर्को झमेला थपिन्छ - नागरिकताको। रामाज्ञाले ज्वाईंलाई नेपालमा जनमत संग्रहको भोटर लिस्टमा आफ्ना बाबु र भाइको नाम चढेकाले उनीहरुले त्यहाँको नागरिकता पाउन सक्ने र त्यसपछि कलौतियाले पनि नेपालको नागरिकता पाउने कुरा सुनाएको रहेछ। यस्ता कुरा सुनेपछि केटा पक्षका मानिसहरु अहिले नै बेहुलीलाई घरमा ल्याउँदा आफ्नु छोराले नेपालको नागरिकता नपाउन सक्छ, त्यसैले बुहारीले नागरिकता पाएपछि मात्र गौना गर्ने भन्ने सुरमा भएजस्ता देखिए। उनीहरुलाई फकाउँदा फकाउँदा बल्ल बल्ल विवाह भएको पाँच वर्षमा गौना गर्ने मिति तोक्नका लागि राजी भए। नभन्दै केटाका बाबु - छोरा रुदलका घरमा आए । उनीहरु गौना गरेर बेहुली लान पनि राजी भए। तर यस्तो सुअवसरमा फेरि अर्को संकट थपियो - केहि महिना अघिदेखि कलौतियाको निधारमा देखिएको दुवीको सेतो दाग। सब कुरा मिलिसकेको थियो। दुर्भाग्यवश् बाउ छोरा दुवैले कलौतियाको निधारको त्यो सेतो दाग देखे। त्यहाँबाट फर्कनेबित्तिकै उनीहरुले बहाना बनाएर खबर पठाइदिए - केटीले नागरिकता पाएपछि मात्र गौना गर्ने। यस्ता प्रतिकूल परिस्थितिका बारेमा उपन्यासमा भनिएको छ - "रुदल एकथोक चिताउँथे। भाग्यले अर्कै थोक गरिदिन्थ्यो। अघिपछि भैरहन्थ्यो दु:ख। सधैं लखेटिरहन्थ्यो, झम्टिरहन्थ्यो र दपेटीरहन्थ्यो," (पेज नम्बर १८८ )।

रुदल आफ्नु जीवनकालभरि आफ्नी छोरीको गौनारुपी पहाडको टुप्पोमा पुग्न सकेनन्। रह्यो कुरो नागरिकताको। पछिल्लो समयमा उनले आफ्नालागि भन्दा बढी कलौतियाका लागि यो चाहेका थिए। नागरिकता भए तै छोरीको घर बसिहाल्छ कि भन्ने झिनु आशा उनको थियो, जुन पूरा हुन सकेन। आफूले सोचेको र चाहेजस्तो नहुने त मानव सभ्यताकै नियति हो तैपनि मानिस चाहन छोड्दैन, योजना बनाउन छोड्दैन। शायद यी भौतिक जीवन जिउने आधार होलान्। 

पुस्तक पढिसकेपछि मलाई लाग्यो - गुलरको फूल मोहनराज शर्माले भनेजस्तो अप्राप्य नभएर दुर्लभ हुन सक्छ, उन्यूँको फूलजस्तै। किनभने यहाँ नागरिकता र गौना दुवै प्राप्य देखिएका छन् , तर सहज रुपमा होइन। रुदल मृत्युशैयामा भएका बेला उनको, भुलुवाको र कलौतियाको नागरिकता हात लाग्छ। आफ्नु नागरिकता पिलिक्क हेरेर मात्र उनी सदाका लागि आँखा चिम्लन्छन्। त्यसैगरी उही दिन आफ्ना चालीसौं बसन्त पार गरिसकेकी कलौतियाका अगाडि एउटा आधिसरो दाह्री फुलेको अधवैंसे मानिस देखा पर्छ। ऊ आफूले बिर्सिसकेको लोग्नेको अनुहार सम्झन पुग्छे। ऊ खुशी हुन्छे। अनि आफैंलाई प्रश्न गर्छे - "को हो त्यो मान्छे ? ऊ किन आएको हो यहाँ ?" पक्कै पनि त्यो मान्छेले कलौतियाका लागि विवाह भएको २७ वर्षपछि गौनाको मीठो सम्झना ल्याएको हुनुपर्छ। 

यो पुस्तक पढ्दा मलाई खट्किएको कुरा यसको फितलो सम्पादन पक्ष हो। यहाँ देखिएका भाषिक त्रुटिको त कुरै नगरौं; बारम्बार दोहोरिने विषयवस्तुले मिठो खाना खाइरहेका बेला दाँतमा कोड्याङ्ग कोड्याङ्ग लाग्ने ढुंगाको अनुभूति गराउँछन्। उदाहरणका लागि:
"कलावती दिनदिनै हुर्कदैं छे। दुइटई भैयाले खुबै माया गर्छन् …" (पेज नम्बर ३४)
"कलौतिया पनि शुल्क पक्षको चन्द्रमाझैं दिनदिनै बढ्दै छे। दुवै भैया खुब माया गर्छन् ..." (पेज नम्बर ४०) 
"उनीहरुको एउटा छोरो छ मुकेश…" (पेज नम्बर ७५)
"पण्डितजीको एउटा छोरो छ मुकेश…" (पेज नम्बर ८०)
"भुलुवा र मुकेश चाहिं एकछिन पनि छुट्टिदैनन्…" (पेज नम्बर ९३)
"हुनपनि भुलुवा र मुकेश एकछिन छुट्टिदैनन्…" (पेज नम्बर ९८)


मेरो विचारमा यदि 'गुलरको फूल' को सम्पादन पक्ष बलियो हुन्थ्यो भने यो पुस्तक मदन पुरस्कारको दावेदार हुन सक्थ्यो।                          


1 comment:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).