Friday 17 September 2021

कालेम्पोङ्ग कथा

       


 एउटा हठात् निर्णयमा गरिएको यात्रा सबैभन्दा सुन्दर हुन पनि सक्ने रहेछ । यो कोरोना व्याधि अगाडिकै समय थियो । यो बन्दाबन्दी भन्दा अगाडि त यस्ता उल्का यात्रा कमसेकम वर्षमा एकपटक त भइनै रहेका हुन्थे । यस्ता उल्का यात्राका परिकल्पनाकार र प्रायोजक उता काठमाण्डू निवासी भिनाजु डा. गोविन्द हुनुहुन्छ ।

        यो यात्रा तिथिमिति बिनाको उद्देश्य बिनाको र अत्यन्त उन्मुक्त पाराको थियो । भित्रभित्रै लुगाफाटाको तयारी गर्ने, के खाने, कताकता जाने भन्ने कुरै यसमा थिएन । यो त अघिल्ला दिन निर्णय गरेर भोलिपल्ट गरिने यात्रा थियो । यात्रा गरेको दुईवर्ष पछाडि कोरोना र बन्दाबन्दीका कारणले घरभित्रै रहनुपरेका अवस्थामा यात्राका तिर्सनाले कालेम्पोङ्ग यात्रा कथाजस्तो बनेर आयो । यस मस्तिष्कले एउटा फिल्टरले जस्तै छानेर उम्दा उम्दा कुरा मात्र संगालेको रहेछ । साना, झिना, मसिना र अल्छिलाग्दा कुरा त बिर्साइदिएछ ।
        यता दमकबाट बिहान सखारै नौ सिटे फोर ह्वील गाडि घरकै ६ जना सदस्य टिपेर पूर्वतिर हुँइकियो । त्यसपछि केही प्राथमिकतामा पर्ने र कुराको भेउ पाउने अन्य केहि बाटाबाटै टिपिंदै गए । परिवारका अत्यन्त प्रिय झण्डै ८० वर्षे रौसे पात्र धुलाबारीमा सडक किनारमा पर्खिरहेका थिए । अनि पुराना कुराहरु बिस्तारै निस्किन थाले । पहाड, ताप्लेजुङ्गदेखि भुटान हुँदै आसाम र भारतका अन्य शहरका कथा आए । पुराना समयका ती ८० वर्षे पात्रका साथीहरु धन्दे, मुस्ले, ओख्ले र टोड्केका बेग्लाबेग्लै कथाहरु आए । अनि उता ढाकर बोकेर फालेलुङ्ग डाँडो काटेर दार्जिलिङ्ग पुग्दा उल्केको मनले पहिलो पल्ट कैंयाँका दोकानमा चाखेको जिलेबीका कथा आए ।
        यी गफका मिठासमा भुल्दै हामी सिमाना काटेर एशियन हाइवे पुगिसकेका थियौँ । “अब एक अच्छा चिया जाओस्,” यो एकजनाको प्रकटीत र अरुको अप्रकटीत आशय थियो । “ल भाइ, यो एरियाको सबभन्दा अच्छा चिया दोकानमा रोक्नू । चियाको दोकान एकदमै राम्रो होस् है ।” ड्राइभरले कुरा बुझ्यो, “हुन्छ, हजूर, म गनपाउडर टी पाइने ठाउँमा रोक्छु ।”
        अनि यो गनपाउडर टी चाहिं कस्तो हो नि ?, आश्चर्यमिश्रित एक नारी आवाज थियो त्यो । “यो बारुदे चिया हो । यसले मानिसका पेटमा भएका सम्पूर्ण दृष्य अदृष्य कीरा मार्छ ,” यो काल्पनिक स्पष्टिकरण थियो र नयाँ गफको बीजारोपण पनि थियो । गनपाउडर चियाको कुराले पहाडमा कसरी बन्दुकमा बारुद भरिन्थ्यो र पड्काइन्थ्यो भन्ने तथ्यसम्म पुर्यायो । चिया चमेनाले हामीलाई धेरै अल्मल्याएन । फेरि यात्रा टिस्टाका किनार हुँदै बाघे पुल हेर्दै अगाडि बढिरह्यो ।
        हाम्रा अग्रजहरुले बाँचेको उदेकको समय विमर्शले बाटाका सुन्दर दृश्यावलोकन सम्म पनि बेलाबेलै ओझेल पार्थ्यो । उहाँहरुका दुःखद र कष्टकर समय आज सुन्दा हाँसो लाग्ने भएपनि त्यसबेला भयावहपूर्ण हुँदा हुन् । त्यो गरिबीको पराकाष्ठाका समयमा उहाँहरु विद्यार्थी छँदा बनारसमा घटेका दुईवटा घटनाले भने मेरो ध्यान आकृष्ट गर्यो ।
        उपकथा १: हामी मुश्किलका दिन टारेर पढेका नि । एकदिन कोठामा पकाउने वस्तु थोरै दाल मात्र थियो । मैले दाजुलाई भने– "दाजु अलिकति दाल मात्र छ ।" उहाँ दाल पकाउँदै गर् भनेर बाहिर निस्कनुभयो । दाल पाकिसक्दा उहाँ दौडेर आउनुभयो र "छिटो धोती लगाएर हिँडिहाल्," भन्नुभयो । म पनि धोती कसेर बाटो लागेँ । खासमा उहाँ एउटा भण्डारामा जानुभएको रहेछ । त्यहाँ एकजना ब्राह्मणको कमी भएछ । अनि त्यतिबेला फोन नभएकाले दौडेर त्यो आफ्नो सिट साथीलाई रोक्न लगाएर डेरामा आएर मलाई लानुभयो । त्यहाँ मजाले खाना पनि खाइयो र पाँच पाँच रुपैँया दक्षिणा पनि पाइयो । त्यो दक्षिणाले महिनाभर पुग्ने रासन ल्याइयो ।
        उपकथा २: बनारसमा हामी उल्का उल्का गर्थ्यौं । एकजना भोजपुरे साथी थिए । उनलाई मिठाइ साह्रै मन पर्ने तर पैसा नहुने । त्यस्तै एकदिन गफैगफमा एउटा शर्त लगाइयो । ल लंगौटी मात्र लगाएर भीड बजारमा एक फन्को लगाइस् भने अघाइन्जेल जे जे खान्छस् खुवाउने । भोजपुरे ठिटो लंगौटी मात्र लगाएर बजार घुम्न तयार भयो । हामी उसका पछिपछि हिंड्यौं । ऊ त साँच्चै लंगौटीका भरमा बजार घुमेर हलुवाइको दोकान अगाडि आयो र टक्क अडियो । अनि हामीले उसलाई जे जे खान्छ, भरपेट खुवाइदियौँ ।
        यी कथाक्रम चल्दाचल्दै हामी कालेम्पोङ्गका साँगुरा गल्लीमा छिरिसकेका थियौँ । साँगुरा बाटा भएको, काठमिश्रित पहाडे घरहरु भएको बजारको एकाछेउबाट हिँडेको हाम्रो बाहन अलि पर्तिर करालो बाटोमा भएको सानो चिटिक्क परेको भोजनालयमा छिर्यो । टोलीनेताबाट इच्छा भोजनको आदेश आएता पनि त्यहाँ हामीले चाहेका खर्चिला र भड्किला खाद्यवस्तु नै रहेनछन् । ताता फुल्के रोटी र फ्राइड दाल प्रमुख उपलब्ध वस्तु रहेछन् । तिनै खानेकुरा खाएर हामीले आफ्नो यात्रा जारी राख्यौं । आँखाले हेर्ने कुरा आँखैले मात्र हेर्ने हो भनेजस्तै आँखा भरिभरि क्याक्टस् गार्डेनदेखि शुरु भएको दृष्य यात्रा दुर्पिन डाँडा, डेलो पार्क हुँदै म्युजियम पुग्दा आधा दिन ओरालो लागिसकेको थियो ।


        सबैभन्दा पाका रौसे पात्रतिर हेरेर टोलीनेताको प्रश्न भयो, “के हामी त्यो लेप्चा म्यूजियमतिर जान्छौं त दाइ ?” “होस् होस् । लेप्चाको बारेमा थाहै छ नि ।” “त्यसो भा डिओलो हिलतिर जौं की ?” “पर्दैन हो । ती डाँडामा नाचेरै यो जुनी बितेको छ । कत्ति फेरि त्यतै जानु ।” “लु उसो भा कालेम्पोङ्गको फेमस चीज दोकानतिर जाउँ न त ।” त्यसपछि टोली लार्कमा छिरेर चीजका भेराइटी हेर्दैै, चीज चाख्दै, अलिअलि चीज अनि कालेम्पोङ्गका चिनो खरिद गरेर आर्ट क्याफेको चियाले बिट मार्दै वाहन चढ्दा तीन बजिसकेको थियो । “आँखाले हेर्ने आँखैले हेर्नू । शब्द खेर नफाल्नू ,” रौसे पात्रले अर्ति दिए । मलाई पनि हो जस्तो लागेर आयो ।
      

 
“अनि त्यो थ्री डी सिनेमा कस्तो लाग्यो त दाजु ?,” म्यूजियममा देखाइएको छोटो थ्री डी सिनेमा रोचक थियो । पहिलो पटक थ्री डी हेर्नेलाई त उल्कै भएको र सिनेमाका पर्दाबाट पात्र निस्केर आफ्ना आँखै घोच्न खोजेको दृष्यले चाहिँ सबैलाई रोमाञ्चित तुल्याएछ । कालेम्पोङ्ग चिर्लिप्पै घुमिसकिएको कुरा गाडीमा निस्कियो । अनि तल टिस्टा बजारमा झरेर चिया पिउने र हुँइकिने टोलीनेताको अन्तिम निर्णय आयो । टिस्टा तीरको चिया र अलेली उपलब्ध खाजा खाँदै गर्दा हो, एकजना सज्जन जस्तो देखिने गफाडी भेट भएको । एकैछिनमा उसले पश्चिम बंगालको राजनीतिदेखि सुन्न लायकका ठाउँहरुको बढो मीठो ढंगले विवरण दियो । “तपाईँहरु मोर्गेन हाउस जानुभएनछ, होगि ? आर्कोपल्ट आउनू, म लगिदिन्छु । त्यहाँ त टप टप मन्छे बस्छ नि । नाइन्टिन थर्टीमा ब्रिटिस मोर्गेन दम्पतीले बनाको । आइले गोर्मेन्टले लज बनाको छ । तपाईहरुको साथ लागेर जान पाए एक्टरहरु बस्ने मोर्गेन हाउसमा एक घण्टा मात्र बस्दा पनि मज्जा आउँथ्यो होला । ल मेरो बारेमा सोध्नू , अर्कोपल्ट आउँदा म गाइड पक्का ल,” भनेर उसले बिदा लियो । दिनभरी थाकेर लथचूर्ण यात्रुहरु एकैचोटी पानीटंकी छेउको जाममा मात्र ब्युँझिए । त्यसको झण्डै एक घण्टापछि मात्र मुश्किलले जाम छिचोलेर काँकडभिट्टा टेकियो होला । चौधघण्टा पछि एक भारी कालेम्पोङ्गका सम्झना बोकेर हामी दमकमै बास बस्न आइपुग्यौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 September, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]       




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).