मंसिर लागिसक्दा पनि मधेसमा जाडो आउन सकेकै छैन । बिहानीहरु भनें अलिअलि चिसा भएका हुन् कि ! केहि दिन अगाडि एक बिहान मर्निङ् वाकका क्रममा शीतल हावाले एक हल्को मीठो बास्ना लिएर आयो । मैले झिस्मिसेमा कुनै फूलका बोटहरु वरिपरि देखिँन । सहयात्रीलाई सोधें, “यो यति मनमोहक बास्ना कहाँबाट आयो होला र क्षणभरमै बिलाइगयो होला ?” सहमतिपूर्ण भाव देखिए पनि सहयात्रीका आँखाले पनि कुनै बिरुवा ठम्याएनन् अनि नाकले पनि गन्धको जरो पहिल्याउन सकेन । त्यो अद्वितीय बास्ना हाम्रा मन मस्तिष्कमा भने बसिरह्यो ।
एक हल्को बास्ना
हो, त्यसै
साँझ एउटा अनपेक्षित सन्देश सात समुद्रपारबाट आइपुग्यो । दूरभाषबाट प्राप्त
समाचारमा मेरा श्रीमानका सात दाजुभाइ मध्येमा भाइ नम्बर पाँच रहनुभएन । शारीरिक र
मानसिक रुपमा अत्यन्त बलिया दाजु भर्खरै मात्र करिब दुइ महिना दमक बसेर अमेरिका
फर्कनुभएको थियो । उहाँलाई हृदयघात भएको अपत्यारिलो समाचारले एउटा ठूलो परिवारलाई
भावविह्वल बनायो । उहाँ पुनः नेपाल आउने र पुरानै थातथलोमा बाँकी अवकाशको जीवन
बिताउने कुरामा प्रतिबद्ध हुनुहुन्थ्यो । आफ्ना जीवनमा आइलागेका अनेकन समस्यारुपी
पहाडहरुलाई भत्काउँदै भर्खरै मात्र नियमित कामबाट अवकाश लिनुभएका हाम्रा आदरणीय र
प्रिय नारायण दाजुको अप्रत्याशित निधनको समाचारसँगै उहाँका परिवारका सदस्य जेठानी
दिदी गुड्डी र भतिज आशीषको अत्यास सम्झेर हामी
अवाक् बन्यौं । यो दूरदेशको मृत्यु कति असहजपूर्ण र पीडादायी हुन्छ भन्ने कुरा
मैले अष्ट्रेलियामा नै भोगिसकेकी थिएँ । त्यहिँ रहँदा रहँदै मैले मुँवा र बुवाको
अप्रत्याशित देहावसानको पीडा सहन गर्नु र त्यसबाट उठ्नु परेको थियो ।
त्यो मर्निङ् वाकमा हाम्रा वरिपरि छरिएको एक हल्को फूलको बास्नाले हाम्रो जीवनको क्षणभंगुरतालाई इङ्गित गरेको थियो होला । आफ्नो समयको परिधिभित्र एक स्थानमा आफूले पार्ने छाप नै शायद एक हल्को बास्ना होला ।
अझ
त्यहिं बसौं, त्यो सुगन्धमा रमौं भन्ने विचार गर्दागर्दै हराइजाने यो जीवन नारायण
दाजुकै शब्दमा भूलभुलैया होला । सानो खोलारुपी यो जीवन बहँदै बहँदै महासागरमा बिलाइजाने होला ।
यो
कुरा बुझ्दाबुझ्दै, अवश्यम्भावी मृत्युको चरित्रबारे जान्दा
जान्दै पनि यसले हरेक पटक हल्लाएर जान्छ । यसका पराकम्पनहरु लामो समयसम्म आइ नै
रहन्छन् । हो, यसैबेला नजिकका साथीभाइ र आफन्तहरु मनले खोज्ने रहेछ । मृत्युकम्पले
छियाछिया भएको मनले मल्हम खोज्ने रहेछ । साथीभाइहरुको आवतजावत प्रशस्तै भएको कुरा
उता अमेरिकाबाट गुड्डी दिदीले सुनाउनुभयो रे । तर त्यसमा पनि अझ नजिक बनेर मनको
छेउमै बस्ने मनीषा भतिजी क्यानाडाबाट दौडेर काकी भेट्न पुगिन् । घर भित्रको सदस्य
हुनु र परिवारकी ठूली छोरी हुनुको कर्तव्यबोधले उनलाई दौडायो । उनले ठूलो परिवारको
एकताको डोरीको त्यान्द्रो नयाँ पुस्तामा पनि कसिलो राख्नुपर्छ भन्ने सन्देश दिइन्
।
अतीततिर हेर्दा
जब
म नारायण दाजुलाई सम्झन्छु, उहाँका अनगिन्ती योजना मेरा आँखासामु
रङ्गीबिरङ्गी भएर नाच्न थाल्छन् । उहाँ भन्नुहुन्थ्यो, “म
नेपाल आउँछु, नेपालमा पनि आफ्नै ठाउँ दमक आउँछु र यहिँबाट आफ्नो व्यापार बिजनेस
चलाउँछु । घरको छेउमै एउटा पार्क खोल्छु, जहाँ मानिसहरु
निस्फिक्री घुम्न सकून् । आफ्ना मनका पीडा एकछिन भए पनि बिर्सन सकून् ।” जीवनको
उत्तरार्धतिर शायद मानिस आफ्नै ठाउँतिर फर्कन चाहन्छ होला । म विदेशमा बसेका मेरा
साथीभाइसँग कुरा गर्दा यस्तै छनक पाउँछु । उनीहरु स्वदेशमै फर्किएर केही गर्ने
इच्छा व्यक्त गर्छन् । नारायण दाजु पनि
यसको अपवाद हुनुभएन ।
त्यसैले
त यसपालि दमक आउँदा उहाँले फेरि फेरि आउँदा आफूलाई सजिलो होस् भनेर एकसरो घरायसी
सामान जोड्नुभएको थियो । उहाँको योजना यही फागुन महिनामा यता आउने र घर बनाउने
थियो । यो कुराले हामी सबै उत्साही बनेका थियौँ । गुड्डी दिदी पनि फोनमा हामीलाई
घण्टौं कस्तो घर बनाउने र के के गर्ने भन्ने कुरा सुनाइरहनुहुन्थ्यो । के यो
योजनाले मूर्त रुप लेला अब ?
नारायण
दाजुको मान्छेलाई आकर्षित गर्न सक्ने गजबको खूबी थियो । उहाँलाई जति आकाशपातालका
कुरा गरेर मान्छेलाई पेट मिची मिची हँसाउन सक्ने कला हाम्रो परिवारमा शायदै अरु
व्यक्तिमा होला ।
एकदिन कुरैकुरामा उहाँले भन्नुभएको
थियो, “हाम्री सासूआमाले आफ्नो मृत्युपर्यन्त गर्नुपर्ने सबै कर्म आफ्नो
जीवनकालमै गर्नुभयो । अब उहाँको मृत्युपछि, कसैले
मृत्युसंस्कार गर्नुपर्दैन ।” उहाँको कुरा सुनेर मलाई ताज्जुब लागेको थियो र एउटा
प्रस्ताव राखेकी थिएँ, “दाजु ! यसो गर्न मिल्छ भने हामी पनि
सबै भेला भएर सामूहिक रुपमा आफ्नो मृत्युसंस्कार गरौं न है । यसो गर्दा हामी जहाँ
र जुन परिस्थितिमा परलोक भए पनि कुनै समस्या हुने छैन ।” उहाँले मेरा कुरा सहर्ष
स्वीकार गर्नुभएको थियो ।
मान्छेका
उल्का उल्का नाम राख्न नारायण दाजुलाई कसैले भेट्न सक्तैनथ्यो । उहाँले अन्तिमपटक
नामाकरण गरेको व्यक्ति “च्याप्रे” थियो । यो पात्रको कथा पनि गजबकै थियो । हुन चैं
ऊ आफूलाई निष्काम जोगी हूँ भन्थ्यो रे तर कुरैकुरामा बेलुका जसरी पनि घर
पुग्नुपर्छ भन्थ्यो रे ! “जोगी” अनि “घर”को तालमेल उति मिलेको नसुनिंदा दाजुले किन
जोगीले घर जानुपर्यो भनेर सोद्धा उसले गजबको उत्तर दिएछ, “बेलुका
त म जहाँ भए पनि घर पुग्नैपर्छ, नत्र बुढिया रिसाइहाल्छे नि ।” “ल
च्याप्रे कस्तो जोगी हो तिमीहरु आफैं पत्ता लगाओ” भन्दै उहाँ गफको शीर्षक हामीतिर
फ्याँकिदिनुहुन्थ्यो । एक दिनभरि हामीलाई उहाँले च्याप्रेसँग भेट गराइदिन्छु भनेर
पर्खाउनुभयो तर अहँ त्यो पात्र देखा परेन । हामीले नारायण दाजुलाई हजुरले त्यतिकै
यो च्याप्रेको कथा बनाउनुभयो, त्यस्तो मान्छे नै छैन भनेर खेरेउँ ।
यसरी च्याप्रेको अस्तित्वमाथि लागेको प्रश्नचिन्ह अब प्रश्नचिन्है बनेर रह्यो ।
नारायण दाजुका यस्ता अनगिन्ती सम्झनाले मलाई पछ्याइरहेछन् । फेरि पनि म लियो टोल्स्टोयको कथा “वट् मेन लिभ बाइ” सम्झिरहेछु । आफ्नो छेउमै आइसकेको मृत्युबाट अनभिज्ञ हामी कसरी पूरा नहुने भविष्यका योजना बनाइरहन्छौं ! गुड्डी दिदी र आशीष भतिजका अनुहार मेरासामू आउँछन् तर फोन उठाएर उहाँहरुलाई बोलाउने साहस मैंले जुटाइसकेकी छुइन ! धन्न मनीषा पुगिछन् ! मृत्युसँग यस्तो नजिकबाट साक्षात्कार भएका बेला सबैथोक छोडछाड गरेर एकान्तबास बस्नुजस्तो लाग्छ । तर बिस्तारै बिस्तारै सांसारिकताले छोप्दै ल्याउँछ । मनमा अनेक इच्छा उब्जिन्छन् । अनेक योजना बन्छन् । ती मध्ये कति त पूरा होलान् तर कति हराइजालान् ! आखिरमा यो जीवनको के छ र भर ?
केवल भुलभुलैया
भन्न त भन्छन् मृत्यु सधैँ आकस्मिक नै
हुन्छ । तैपनि चित्त बुझाउन किन गाह्रो हुन्छ ? यस्तो नभैदिएको
भए हुने जस्तो लाग्छ । काम गर्दा गर्दा थाकेको नारायण दाजुको शरीर बल्ल
अवकाशप्राप्त भएर आराम गर्न खोज्दैथियो । उहाँ आफ्ना मनमा लागेका कुरा गर्न
जोसिँदै हुनुहुन्थ्यो तर त्यो मौका नै आएन । पूर्वीय दर्शन शास्त्र पढ्न रुचाउने र
अनेकन श्लोकहरु गफका बीचमा घुसाएर ज्ञानका कुरा गर्ने उहाँको बानी थियो । उहाँको
फिरङ्गी स्वभावबारे अहिले सोच्दा मलाई लाग्छ शायद उहाँलाई थाहा थियो यो संसार केवल
भूलभूलैया हो र हामी रमिते मात्र । अन्तमा दाजुप्रति श्रद्दान्जली ब्यक्त गर्दै
उहाँले नै बारम्बार सुनाइरहने सन्त कबीरको एक दोहा :
सब जग सूता नींद भरि,
संत न आवै नींद
काल खडा सिर उपरै,
ज्यौं तौरणि आया बींद
अर्थात, सारा संसार
निन्द्रामा हुँदा पनि सन्तहरु जागै हुन्छन् । आफ्नो शिरमाथि काल उभिएको जान्दा
जान्दै पनि उनीहरु यो मानव कायालाई असली टुङ्गोमा पुर्याइदिने मृत्युदेखि खुशी
हुन्छन् ।
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
सम्पूर्ण हृदय हल्लाउने भाव बिचार र दर्शन्मा भिजेको यो सिर्जना। डा व्यन्जनाको सिर्जना शक्तिको यो अनमोल थुङ्गा त्य्ही क्षणिक फूल झै बसाइरहनेछ। यो घातक शोकलाई यसले धेअरी शान्त गरायो बोधको तहमा पुर्याई ।बधाइ छ बैनी तिमी परिवार्को नै विशेष सम्बल सपतत्ति र शक्ति।
ReplyDelete