पहिले पहिलेका वर्षहरु जस्तो भए दशैंले छुन्थ्यो होला । यसपालि दशैँ अलि पर पुगेको छ । जनैपुर्णिमा आएपछि, तीज आएपछि चाडबाडको रमरमे मिठास शुरु भइहाल्छ । पहिले पहिले यो दिनदुनियाँलाई बाल मगजले नापेर हेर्दा के लाग्थ्यो भने यी चाडवाड सबैका होलान् । हरेक चाडपर्वलाई सबै नेपालीले उस्तैगरि मनाउँछन् होला जस्तो लाग्थ्यो । तर बुझ्दै जाँदा धर्म, संस्कृतिका रंगीन पक्ष पनि हुँदा रहेछन् । एउटा मिश्रित समाजमा हुर्किएर होला समाजका सबै सदस्य आफ्नै हुन् र हरेक वर्ष घुमिघुमि आउने जात्रा पर्व पनि सबैले उत्तिकै उल्लासपूर्ण तरिकाले मनाउँछन् जस्तो लाग्छ मलाई ।
ऊ बेला गाईजात्रामा बेजोड कुदियो । लाखे पछ्याउँदै पछ्याउँदै घरबाट कति टाढा पुगियो थाहा पनि नपाइने । ती त आफ्ना साथीका चाड थिए तैपनि उस्तै रमाइयो । गाईजात्रा सकिनासाथ सडक नाटक जस्तो हिले जात्रा त झन् कहिले आउला जस्तो हुन्थ्यो । त्यसपछि लगत्तै आउने जनैपुर्णिमामा कसका हातमा डोरा बाँधिएका हुँदैनथे होला र ? कसका घरमा नाग नटाँसिने हुन्थ्यो र ? समयक्रमले काठमाडौँ बस्ने क्रममा यो सांस्कृतिक विविधताले अझ छोयो । यस विविधताभित्र रहनसहन, चाडबाड, खाद्य पदार्थका विविधता र शब्दावलीको रंगीन दुनियाँले दैनिकीको एकोहोरोपनबाट बौलाउनबाट मलाई जोगाएछ । म अहिले सम्झन्छु काठमाडौँमा हुने तीजको भीड, पञ्चमीमा खाइने कर्कलाको तरकारी अनि टेकुमा हुने दोहोरीको रमाइलो भिन्न प्रकारको हुने । उता काँठदेखि रातै बस्नेगरि आएका जोशिला युवा युवती टेकुको ऋषिथान वरिपरि दोहोरी अहोरात्र गाउँथे । रातभरिको दोहोरी युद्दमा मान्छे नै जितेर लाने कुरा पनि समाचारमा सुनिन्थ्यो । सोचौं न,त्यस रातको दोहोरीका लागि कति अभ्यास चाहिँदो हो । कत्रो जोश जाँगर चाहिँदो हो । त्यस्ता गीत गाउने अभ्यासले मेलापात पनि हलुङ्गो पारिदिँदो हो नि । यो सांस्कृतिक विविधता पाइनसक्नुको कुरा रहेछ । संस्कृति सबैको हुने रहेछ । त्यसलाई निरन्तरता दिने,जोगाउने, जगेर्ना गर्ने एक पक्ष होला तर हरेक समाज त्यस्ता सांस्कृतिक विविधतासँग सिंगै उत्साहित हुँदो रहेछ । त्यो मादलले, सारंगीले,धिमेले, च्याब्रुङ्गले कसलाई छुँदैन र ! गत वर्ष यस्तै बेला च्याब्रुङ बजाएर नाँच्दै तरुनी तन्नेरी गाउँ गाउँ पसे । च्याब्रुङ्गको ताक धिन धिनमा खुट्टा उचाल्ने कोशिश त्यहाँ भेला भएका सबैले गरे । दशैंमा उँधो भित्री मधेसतिरबाट आदिवासी दाजुभाइहरु समेत बाजा बजाउँदै नाँच्दै आउँछन् । गाउँ टोलै थर्काएर तिनीहरुले बजाउने बाजा र नाचपछि मात्र असली दशैं आएजस्तो हुने । पहिले पहिले त सहनाई लिएर बजाउँदै घरघर हिँडेर पनि चाडबाडको जनाऊ दिन्थे । यस्ता विविधता कति हराए पनि कति त परिमार्जित रुपमा अझ परिस्कृत भएर आएका छन् । म खासै बुझ्दिन एकल पहिचान र पहिचानवादी राजनीतिक मुद्दालाई । म यस अर्थमा पुरातनवादी पनि हुन सक्छु । तर म सधैँ के कुरामा विश्वास गर्छु भनेँ संसारभरी नै एकै भाकाका गीत गाइने हो भनें, बारिमा एकै खाले फलमात्र फल्ने हो भनें, अनि फूलबारीमा एउटै जातको फूल मात्र फूल्ने हो भनें संसार कति विरहलाग्दो र उराठीलो हुँदो हो । खानामा, फूलमा, फलमा सबतिर विविधता छ र पो सुन्दरता छ ।
इन्द्रेणीमा पनि सातरङ्ग छ र त मनमोहक छ । अनि समाज पनि मिश्रीत भएर मात्र रमाइलो छ । उता पर्तिर लिम्बू लवजमा छिमेकीले पर्वते बोल्दा सुनिरहुँ लाग्छ । चासोक तङनाम, उधौली उभौली भनेर रमाइलो निकाल्दा त्यतै कुदिन्छ । तल्तिर घरका बाजेहरुले बिहानै शंखधुनी गर्दा आनन्द आउँछ । त्यसैगरी
पछाडि सानो चर्चमा आफ्नै तालमा प्रवचन चल्छ । इस्टर, क्रिस्मसको रमाइलो गर्छन् । अझ रमाइलो त यो मिश्रीत बस्तीमा भारतको बिहारदेखि आएर तीन पुस्तादेखि तरकारी खेती गर्ने पटेलको छ । पर्तिर खजुम बहिनीले उनीहरूलाई हाम्रै भाकामा ‘ए जेठा, ए जेठी’ भनेर बोलाउँदा ख्याल राम्रो लाग्दैन मलाई । अझ बिहारी जेठी र पाँचथरे खजुम बहिनीहरूले टाउको जोडेर भाका हाल्दै बनाएका टिकटकलाई त सामाजिक सौहार्दताका अनुपम उदाहरण माने हुन्छ । यस्तो स्वर्गीय सामाजिक व्यवस्थामा आजकल कसले विष घोल्दैछ ? कसले डडेलो
सल्काउँदैछ ? कसले घृणाको,
विद्वेशको बिउ रोप्दैछ ? भर्खरै
स्वतन्त्र भएको, भर्खरै
उम्रिन थालेको समाजलाई कसले र किन विषाक्त पार्न बल गर्दैछ ? त्यसवाट
प्राप्त हुने के होला ? आपसी कलहको
बीज किन हामीबीच फैलिरहेको छ ? दशकभन्दा
बढि अष्ट्रेलियाको विदेशी भूमिमा हामी बस्यौं । अष्ट्रेलियामा सांस्कृतिक विविधतालाई साह्रै कदर गरिने रहेछ । यस्तो विविधतालाई उत्सवकै रुपमा मनाइने रहेछ । मलाई त्यस्ता विविधतापूर्ण उत्सवमा के लाग्थ्यो भने आफ्नो पहिचान त विविधतामा टड्कारो हुँदो रहेछ । अर्काले थप्पड़ी मारिदिए मात्र नाच्नेलाई मजा लाग्ने रहेछ । पहिचानको खोजी गरिबस्ने हो भनें एकरूपता र एकोहोरोपना मात्र हुने रहेछ । मेरो विचारमा फूलबारीमा विभिन्न फूल फूलेको राम्रो ।
समाजमा बहुलता र विविधता भएको नै राम्रो हो । गहिरिएर हेर्ने हो भनें हरेक समाज धेरै विविधताको सम्मिश्रण हो । हरेक राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो । यी विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन् । समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछन् । राष्ट्रिय पहिचान र गर्वसँगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वाभाविक प्रक्रिया हो । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग–अलग हुन सक्छन् । उनीहरूको रीतिरिवाज, लवाईखवाई, मूल्यमान्यता, धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै अहिलेको टड्कारो आवश्यकता हो ।
नेपाल आफैंमा विविधतायुक्त देश हो । नेपालमा सयभन्दा बढी जातजाति र भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृति छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता पनि विद्यमान रहेको छ । यो विविधतामा अनेकौं सौन्दर्य पनि लुकेको छ । विविधतामा एकता नेपाली समाजको विशेषता हो । विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्छ ।
नागरिकबीच प्रेम, सद्भाव, स्नेह, साझा स्वार्थ नै
राष्ट्रिय एकताको
प्रतिबिम्ब हो । जनजनमा यस किसिमको भावनाको विकास हुनुपर्छ । विभिन्न वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ । यसले नागरिकमा उच्च मनोबलका साथ एउटै सूत्रमा आवद्धहुन र सहकार्यमा जुट्न मद्दत गर्दछ ।
विविधताले व्यक्तिको संस्कृति, जीवनशैली र विश्वप्रतिको दृष्टिकोणका विभिन्न पक्षहरूलाई समेटेको छ । यसमा लिंग, जाति, जातीयता, यौन अभिमुखीकरण, उमेर, शारीरिक क्षमता, मानसिक क्षमता, राष्ट्रिय उत्पत्ति र धार्मिक सम्बद्धता समावेश छन् । विविधताले जीवनका अनुभवहरू पनि समावेश गर्दछ । यिनै विविधता जोगाएर अर्को पुस्तामा हस्तान्तरण गर्न सके ठूलो सार्थक कार्य हुनेछ । यो टुक्रिदै जाने हो भने हामी पनि धूलिँदै जान्छौं र कालान्तरमा गएर नेपालीको पहिचान नै हराउन सक्छ ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 13 October 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]