तिमी आफ्नो तपस्यामा लीन हौला । यो जीवन जगतमा के भैरहेछ भन्ने कुराको तिमीलाई कुनै हेक्का नै नहोला । तिमीले उचित समयमा नै आफ्नो मार्ग पक्रियौ । तिमी भन्ने गर्थेउ, “यो संसारमा लट्पटिइरह्यो भने कहिल्यै पार पाईंदैन, त्यसैले म अब पूर्ण रूपमा परमार्थको बाटो लाग्छु ।” तिमीले आफ्नो भनाइलाई मूर्त रूप दियौ, ठीक गर्यौ । हेर न, अहिले हामी कस्तो संकटपूर्ण समयमा बाँचिरहेका छौं । जता गयो, उतै मानिस "मन्दी छ", भन्छन् । लाग्छ, मानिस घोर निराशाको समयबाट गुज्रिरहेका छन् । त्यसैले त हिजोआज आत्महत्या एउटा सामान्य प्रकृया जस्तो भैसक्यो । के नाबालिग, के युवा, के वृद्ध सबै वर्गका मानिसले आत्महत्या गरेको समाचार प्रायः प्रत्येक दिन पढ्नुपर्दा मेरो मन नै भरङ्ग भएर आउँछ । के यो निराश जीवनप्रति गरिएको प्रतिक्रिया होइन र कबीर ?
यस्ता
अप्रिय समाचार पढिरहँदा मलाई मलयालम भाषाका प्रसिद्ध साहित्यकार बेन्यामिनको ’खबुज’ उपन्यासको मुख्य पात्र नजिबको झलझली संझना आउँछ । हामीले
खाडी मुलुकमा गएर काम गर्ने श्रमिकहरूका धेरैखाले
दुःखका कथा सुनेका छौं, पढेका छौं । तर त्यहाँको
चरम पीडा कस्तो हुँदो रहेछ भन्ने कुराको अनुभूति मलाई नजिबले गरायो । उसको कथाका अगाडि
मैले पहिले सुनेका खाडीका सबै कथा फिक्का लागे मलाई । अनकन्टार मरुभूमिमा बाख्रा गोठालो
भएर नितान्त एक्लो जीवन बिताउँदा कस्तो हुन्छ ? वर्षौंसम्म पानीको अभावमा नुहाउन नपाउँदा
लट्टिएको कपाल, मयलका पाप्राले सर्वाङ्ग ढाकिएको छाला र दुर्गन्धित शरीर लिएर केही
नभएजस्तो गरी दैनिक जीवन गुजार्नु पर्दा कस्तो हुन्छ ? खानाको नाममा सिर्फ भुक्के खबुज
(एक प्रकारको रोटी) र सीमित रूपमा पाइने घामले तातेको पानी खाँदा कस्तो हुन्छ ? आफ्नो
मनका कुरा सुनिदिने कुनै मानव आकृति नहुँदा कस्तो हुन्छ ? यस्ता अनगिन्ती प्रश्नहरूको
उत्तर खोज्न तिमीले ‘खबुज’पढ्नुपर्छ
कबीर ! अब पुनः आफ्नो साधारण जीवनमा फर्किन सक्ने कुनै आशा नहुँदा पनि, आफ्नो मातृभूमिमा
छोडिएका आमा, पत्नी र आफू हिँड्दा गर्भमै भएको सन्तानलाई यो जुनीमा सम्भवतः भेट्न नपाइने
र त्यो क्रूर अरबी अर्बब (मालिक) को चंगुलबाट कहिल्यै फुत्कन नसकिने तथ्य जान्दाजान्दै
पनि नजिबलाई के ले जीवित राख्यो होला ? मैले अघि नै भनिसकें नि - नजिबले भोगेको यातना,
कष्ट र पीडाको तुलनामा जुनसुकै पीडा पनि थोरै लाग्छ । यस्तो स्थितिमा कसरी उसले आफूलाई
जोगायो होला ? नजिबको साहसको कथा एकदमै रोमाञ्चकारी छ, कबीर ।
सर्वप्रथम
त उसको इच्छाशक्ति एकदमै प्रबल थियो । ऊ एकदिन जसरी त्यो नारकीय जीवनबाट छुटकारा पाउँछु
र आफ्नो प्यारो परिवारलाई भेट्न जान्छु भन्ने कुरामा दृढ थियो । कसरी थाहा थिएन तैपनि
उसले आफू स्वतन्त्र हुने विश्वासलाई अनेक तवरले मलजल गरेर जीवित राख्यो । उसको सबभन्दा
ठूलो विश्वास आफ्नो ‘खुदा’माथि थियो । जीवनमा उसले जे जति दुःख कष्ट भोग्नुपरेको
थियो, त्यो सबै खुदाको इच्छा थियो, उनै खुदाले उसको कल्याण गर्छन् र उसलाई दुष्ट अर्बबबाट
मुक्ति दिलाउँछन् भन्ने कुरामा नजिबको अटल विश्वास थियो । नजिबको उसको खुदाप्रतिको
अटल विश्वास देखेर मलाई प्रिय कवि उपेन्द्र सुब्बाको विश्वास कविताको पनि झलझली संझना
आइरहेको थियो । उनी लेख्छन्,
देउरालीमा
सिन्दुरले रातै पोतिएर
फूलपातीले
छ्याप्पै छोपिएर
एउटा
ढुङ्गा देउता भएर बसेको छ ।
देउता
ढुङ्गा पनि हुन सक्छ
ढुंगा
देउता पनि हुन सक्छ
मात्र
विश्वासमा ।
सुब्बाको कविताको यो अंशबाट पनि थाहा हुन्छ मान्छेको विश्वास कति शसक्त हुन सक्ने रहेछ भन्ने कुरा । खुदामाथिको विश्वास बाहेक नजिबमा जीवनप्रति अथाह प्रेम पनि छ । आफ्नो अमूल्य जीवनलाई जस्तोसुकै प्रतिकूल परिस्थिति आए पनि ऊ गुमाउने पक्षमा छैन । दुर्भाग्यवश् ऊ साउदी मरुभूमिको एउटा बाख्रा फारममा बँधुवा मजदूर भएर फँस्न पुग्छ । खाडी मुलुकमा जाउँला, पैसा कमाउँला र त्यो पैसाले आफ्नो परिवारका लागि खुशी किनौंला भन्ने नजिबको सपना क्षणभरमै चकनाचूर हुन्छ । तर उसको आत्मविश्वास डगमगाउँदैन । उसले आफ्नो वर्तमान परिस्थितिलाई स्वीकार गर्छ । त्यहि परिस्थितिमा आफ्नो जीवन सहज बनाउने प्रयास गर्छ । ऊ तिनै बाख्राहरूलाई आफ्ना आफन्त, साथी भाइका विभिन्न नाम दिन्छ र उनीहरूसँगै गफ गरेर आफूभित्रको शून्यतालाई भरपूर गर्न खोज्छ । ऊ बाख्राको दिनचर्याको गहिरो अध्ययन गर्छ । फलस्वरूप नजिब प्रत्येक बाख्राको गतिविधिवाट उनीहरूलाई के भइरहेको छ भन्ने कुरा बुझ्न सक्ने हुन्छ । यसरी नजिब अनेक उपाय लगाएर आफ्नो जीवनलाई जोगाइराख्छ । यिनै उपायहरूको सहायताले नभन्दै एकदिन ऊ त्यो बाख्रे जीवनबाट फुत्कन सफल पनि हुन्छ ।
हरेक
कुराको अन्त्य हुन्छ भन्ने भनाइलाई पनि ‘खबुज’उपन्यासको कथानकले पुष्टि गरेको छ नि, कबीर । होइन र ?
म किन तिमीलाई यो उपन्यासको कहानी सुनाइरहेछु ? जतिबेला म यो उपन्यास पढ्दैथिएँ, तिमी
नै मेरो मानसपटलमा नाचिरहेका थियौ । तिमीले मलाई वैदेशिक रोजगारमा जाने मानिसका अनगिन्ती
कथा सुनाएका थियौ । तर ती सबै कथा भन्दा नजिबको कथा बेग्लै थियो । उसले घोर निराशाको
बीचमा सधैँ आशाको सानो किरण खोजिरहेको थियो । अनि संयोग कस्तो बन्यो भने त्यही समयमा
हरेक दिनजसो एउटा न एउटा आत्महत्याको खबर आम
सञ्चारका माध्यममा आइरहने । त्यसैले म आफैंसँग प्रश्न गर्थें, मानिस किन यति हताश छ ? यति निराश छ ? यति अधैर्य
छ ? के कुनै पनि समस्याको अन्तिम समाधान आत्महत्या हो र ? अनि नजिब सुस्तरी मेरो कानमा
फुस्फुसाउँथ्यो, “होइन, कदापि होइन । तिमीले भर्खर मेरो कथा पढेको होइन ? यो कथाले
जीवन जिउने प्रेरणा दिँदैन र ? यो जगतमा कुनै पनि समस्या स्थायी रूपमा रहिरहँदैनन्
। ढिलोचाँडो ती हराएर जान्छन् । यस्ता तुच्छ समस्यासँग हामीले डराउँनु हुँदैन । हामीले बडो मुश्किलले यो मानव जीवन पाएका छौं ।
यो पनि अनन्त कालसम्म रहिरहने होइन । समय आएपछि यो स्वतः खरानी हुन्छ । त्यसैले हामी
आफैं जान्ने भएर किन यसलाई समाप्त गर्नु ?” शायद ती आत्महत्या गर्ने व्यक्तिले ‘खबुज’पढ्न पाएका भए आफ्नो निणर्य परिवर्तन गर्थे कि ? मेरो मनमा
आउने एउटा उडन्ते विचार ।
साँच्चै कबीर, वर्तमान समय किन यतिसारो निराशाले भरिएको होला होगि ? के भौतिकवादप्रतिको अत्यधिक मोहले गर्दा मानिस कमजोर हुँदै गएको हो ? कहिले कहिले त मलाई लाग्छ अध्यात्मवादको खडेरीले गर्दा नै सबैखाले मानवीय समस्याहरू उत्पन्न भएका होलान् । तिमी भन्ने गर्थ्यौ, "अध्यात्मवादले हामीलाई शक्तिशाली बनाउँछ । जीवन जिउने कला सिकाउँछ । मानव जीवन अमूल्य छ भन्ने कुराको अनुभूति गराउँछ ।" शायद यस्ता मूल्य मान्यता हराउँदै गएको देखेर तिमी पनि विरक्त भयौ । त्यसैले त सत्यको खोजीमा निस्कियौ । तिमीले उचित निणर्य गरेछौ कबीर । आत्मज्ञान प्राप्तिपछि तिमी कुनै दिन त फर्कन्छौ होला । अनि मैले तिमीलाई पठाएका अनगिन्ती चिठीहरूले तिम्रो स्वागत गर्लान् । तिमीलाई मेरो अस्तित्वको अनुभूति गराउलान् । मेरो तिमीप्रतिको यो विश्वास नजिबको खुदाप्रतिको विश्वास जत्तिकै दरिलो छ, कबीर ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 29 September 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).