बितेका केही दिनदेखि फेसबुकमा युवा केटाकेटीका बीच दुईवटा नाम — मनोज र श्रद्धा — भाइरल भएको मैले विचार गरिरहेकी थिएँ । तर ती नामप्रति मेरो ध्यान भने एकोहोरिएको थिएन । ती नामको उनीहरुबीच केही सांकेतिक अर्थ होला भन्ने मैले सोचेँ । यहि बीचमा एउटा हिन्दी चलचित्र ‘ट्वेल्भ्थ फेल’ को चर्चा पनि फेसबुकमा चुलिन थाल्यो । ए बाबा के रहेछ त यो चलचित्रमा भनेर एकदिन मैले नि यूट्युब खोलेँ र ‘ट्वेल्भ्थ फेल’ हेर्न पलेंटी कसेर बसेँ । अनि मात्र मैले थाहा पाएँ मनोज र श्रद्धा नाम भाइरल हुनुको रहस्य । ती त अरु कोही नभएर यहि चलचित्रका नायक र नायिका पो रहेछन् ।
चर्चा चलेअनुसार चलचित्र हेर्न लायकको नै रहेछ । यो सत्य घटनामा आधारित चलचित्र रहेछ । मनोज एउटा सामान्य घरको केटो । उसको बुवा इमान्दार र सत्यवादी एउटा सरकारी जागिरे । उसको यही सत्यवादीताले गर्दा निलम्बनमा परेको । चम्बलको गाउँमा प्रशासन र पुलिसको मिलेमतोमा केटाकेटीलाई स्कूलमा चिट चोराएर पास गराउने चलन रहेछ । एकचोटि एउटा इमान्दार पुलिस अफिसर त्यो गाउँमा आएर यो प्रथालाई रोक्न खोजेको थियो । यही पुलिस अफिसरसँग मनोज अति प्रभावित भएको थियो र उसले भनेको थियो, ‘मै आपके जैसा बनना चाहता हूँ । क्या करना पड्ता है ?’ छक्क पर्दै त्यो अफिसरले जवाफ दिएको थियो, ‘बस् चिटिङ्ग करना छोड्दो ।’ यहि वाक्य नै मनोजका लागि रामवाण भयो । त्यसैले त १२ कक्षाको जाँचमा अरु सबै विद्यार्थी चिट चोरेर प्रथम श्रेणीमा पास भए तर मनोज भने आफ्नै बलबुतामा तृतीय श्रेणीमा उत्तीर्ण भयो । अनि ऊ स्नातक उत्तीर्ण भएपछि आफ्नो पुलिस अफिसर हुने इच्छालाई पछ्याउँदै आफ्नी हजुरआमाले बर्षौं देखि अलि अलि गर्दै जम्मा गरेको थोरै रुपैँया लिएर दिल्लीतिर लाग्छ ।
यसरी अन्धकारमै आफ्नो लक्ष्य मात्र लिएर अगाडि बढेको मनोजले शहरमा कस्ता कस्ता ठक्कर खान्छ भन्ने कुराको कुनै लेखाजोखा नै छैन । तर जे भए पनि ऊ डगमगाउँदैन । असफलताको सामना पटक पटक गर्नुपरे पनि मनोज विचलित लभैकन लक्ष्यभेदनमा जुटिरहन्छ र अन्तिममा ऊ सफल हुन्छ । उसको एकाग्रताले महाभारतका पाँच पाण्डवमध्येका एक पाण्डव अर्जुनको सम्झना दिलाउँछ । एकपटक उनीहरुका गुरु द्रोणाचार्यले यी पाण्डवलाई एउटा चरालाई वाण हान्ने कार्य दिन्छन् । उनीहरुले निशाना लगाउँदा सबैलाई गुरुले पालैपालो सोध्छन्, ‘तिमीहरुले के देख्यौ ?’ कसैले ‘चरा’ कसैले ‘चराको टाउको’ कसैले ‘चराको जीउ’ भन्छन् तर अर्जन भने ‘मैले खालि चराको एउटा आँखा देखेँ’ भन्छन् । आफ्नो लक्ष्य भेदनभन्दा एक सिन्का पनि तल माथि नहुने यस्ता अर्जुनले गुरु द्रोणाचार्यबाट सर्वश्रेष्ठ धनुर्धरको उपाधी त्यसै पाएका हुन् र ?
अर्जुनको समग्र ध्यान चराको एउटा आँखामा भएजस्तै मनोजको ध्यान पनि पुलिस अफिसर हुनुमा थियो । त्यसैले त हरेक पल्ट लाखौँको संख्यामा लोकसेवा जाँच दिने विद्यार्थी भएको भारतमा सफल हुने विद्यार्थीको न्यून संख्यामा ऊ पर्छ ।
एउटा आँकडाले देखाएअनुसार सन् २०२३ मा यो परीक्षाका लागि १३ लाख विद्यार्थिले आवेदन दिएका थिए । तीमध्ये जम्मा १४,६२४ जनाको मात्र लिखित परीक्षामा बस्नका लागि छनोट भएको थियो । यसबाट नै हामी यो लोकसेवा आयोगको परीक्षा कतिसम्म प्रतिस्पर्धात्मक हुन्छ भन्ने कुराको अनुमान लगाउन सक्छौँ । नेपालको पनि परिस्थिति यस्तै यस्तै त हो ।
कुनै पनि ठोस जानकारीबेगर गाउँबाट एकैचोटि पुलिस अफिसर हुन शहर पसेको मनोजका लागि आइपीएस (इन्डियन पुलिस सर्भिस) मा छिर्नु कम चुनौतीपूर्ण थिएन । बीचमा आएका बाधा व्यवधानबाट ऊ क्षणिक रुपमा टुट्यो पनि, लड्यो पनि । तर पुनः उठ्यो, आफूलाई टक्टक्यायो, जोड्यो र आफ्नो लक्ष्यप्राप्तिमा अगाडि बढ्यो । यसले के देखाउँछ भने जो सुकै होस् — धनी, गरीब, जान्ने, नजान्ने, पिछडिएको वर्गको वा उच्च वर्गको — यदि ऊसँग आफ्नो दृढ संकल्प र स्पष्ट लक्ष्य छ भने, ढिलो चाँडो त्यो प्राप्त हुन्छ नै ।
विशेषगरी आजको युवा जमात जो सानातिना समस्याबाट नै डराउँछ र मैदान छोडेर भाग्छ; अथवा घोर निराशातिर अगाडि बढ्छ; अनि चरम अवस्थामा पुगेर आत्महत्याको बाटोसमेत रोज्न पुग्छ; यस्तो जमातलाई ‘१२वीं फेल’अर्थात् ‘ट्वेल्भ्थ फेल’चलचित्रले आशा जगाउन सक्छ । जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्न प्रेरणा दिलाउन सक्छ ।
मनोज कुमार शर्माबाहेक यो चलचित्रमा अरु दुई महत्वपूर्ण पात्र छन्
— प्रितम पाण्डे र गौरी भैया । यिनीहरुले पनि मनोजलाई पुलिस अफिसर हुन सहयोग गर्छन् । प्रितम पाण्डे एउटा धनी बाउको छोरो । उसलाई पैसाको कुनै समस्या छैन । तर ऊ आफ्नो इच्छाले होइन, बाउको इच्छाले गर्दा लोकसेवाको जाँच दिन दिल्ली आएको । त्यसैले पाण्डे आफ्नो १००% यो परीक्षालाई दिन सक्तैन र उत्तीर्ण पनि हुँदैन । उसको वाकपटुतालाई उसका साथीहरुले पैल्याउँछन् र पाण्डेलाई टेलिभिजन पत्रकार हुने सुझाव दिन्छन् । उसलाई यो कुरा असाध्य मन पर्छ र आफ्नो सम्पूर्ण ध्यान त्यतै लगाउँछ । उसको रुचिको विषय भएकाले पाण्डेले यसमा सफलता हासिल गर्छ ।
पाण्डेको चरित्रले हाम्रा अभिभावकहरुको समेत आँखा खोलिदिने काम गर्न सक्छ । आफ्ना छोराछोरीलाई पर्याप्त श्रोत र साधन जटाइदिएर आमाबाबुले नै भनेको विषय पढ भनेर दवाव दिँदैमा पुग्दैन । यदि त्यो विषयमा केटाकेटीको रुचि छैन भने केही हुनेवाला छैन । यसका प्रशस्त उदाहरण हाम्रा समाजमा भेटिन्छन् । त्यसैले छोराछोरीलाई उनीहरुले नै छानेको विषय पढ्न दिनुमा नै आमाबाबुको बुद्धिमानी देखिन्छ भन्ने कुराको झिल्को पनि ‘१२वीं फेल’ चलचित्रले दिन्छ ।
मनोजजस्तै गौरी भैया पनि लोकसेवा पास गरेर सरकारी अफिसर हुन सपना देखेर दिल्ली छिरेको पात्र । दुर्भाग्यवश् ऊभने सफल हुन सक्तैन । उसले आफ्नो सन्तुष्टि आफूजस्तै सुनौले भविष्य खोज्ने लाखौँ विद्यार्थीहरुलाई सहयोग गर्नका लागि कोचिङ्ग सेन्टर खोलेर प्राप्त गर्छ । जहाँ जे भएर असफल भएपनि नहारीकन फेरि रिस्टार्ट गर्नुपर्छ भन्ने गौरीको लाइफ फिलोसफी नै हो र सम्पूर्ण चलचित्र नै यसै फिलोसफी वरिपरि घुम्छ ।
यो चलचित्रकी नारी पात्र श्रद्धा लोकसेवाको परीक्षा दिने क्रममा नै मनोजको जीवनमा आएकी हुन्छे । उसको विश्वास र प्रेमले मनोजलाई लक्ष्य प्राप्त गर्न थप प्रेरणा दिन्छन् ।
यसरी जुन कोणबाट हेर्दा पनि ‘१२वीं फेल’ एक प्रेरणादायी चलचित्र बन्न सफल भएको छ । यसले युवावर्गलाई आशा र साहस दिन सक्छ । लेखक अनुराग पाठकको सत्य घटनामा आधारित पुस्तक ‘ट्वेल्फ्थ फेल’लाई प्रख्यात निर्देशक विधु विनोद चोपडाले चलचित्रमा उतारेका हुन् । तपाईंलाई पनि फूर्सद छ भने यो चलचित्र हेर्नुभए हुन्छ । मलाई आशा छ, यसले तपाईंलाई व्यर्थमा समय गुमाएको भन्ने पश्चाताप हुने छैन ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 19 January 2024)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]