मधेशतिर काम्नेगरि चिसो नभै जाडो जाला जस्तो भैसकेको थियो । पसलतिर, चोकतिर, जमघटतिर जाडो नआएको गुनासो सुनिँदै थियो । तर जाडोले किन बाटो बिर्सिन्थ्यो ? नआउनु जाडो आएपछि बाक्लो हुस्सुको कम्बल ओढेर आयो । जाडोको चहलपहल अलि भिन्न र रमाइलो पो लाग्छ मलाई त । सुस्त सुस्त गर्दै मस्त जाडो आयो ।
अगाडिका आकृति देख्न मुश्किल हुस्सेमा मर्निङ्ग वाक गर्नेहरु आफ्नो धर्म नछाडि हिँडिरहेका हुन्छन् । पातलो पातलो चल्ने सवारी साधनहरु दुर्घटनाको भयले होशले गुडिरहेका हुन्छन् । भक्कावालीहरु झिस्मिसैमा सडक किनारातिर आगो जोरिरहेका हुन्छन् । अनि तिनीहरुका वरिपरि स्कूल र कलेजका केटाकेटी हर्हर वाफ उडाउँदै भक्का खाइरहेका हुन्छन् ।
यो हुस्सुको पर्दाका आडमा सुस्तरी पाइला चाल्दै हिड्ने प्रेमिल जोडीहरु मलाई मन पर्छन् । यी जोडीहरु हुस्सुलाई बढो प्रेम गर्छन् जस्तो लाग्छ । मुखबाट फरर वाफ उडाउँदै सरक सरक पाइला चाल्दै हुस्सुमै बिलाइजाने स्वरमा धिमा गतिमा बोल्दै हिँड्ने एक जोडी युवालाई मैले सोधेँ—‘हुस्सु कति रमाइलो हगी ?’
आजकलका ठिटाठिटी वाचाल हुन्छन् । उनीहरु भन्छन्— ‘हो त ! हुस्सु रमाइलो हुन्छ । यो अँध्यारो पनि हैन । उज्यालो पनि हैन । कसैले कसैको हात समाएको पनि झट्ट देखिदैन ।’
ल हेर्नोस् त हुस्सु कति रोमान्टिक छ । यो युवा वार्तापछि त हुस्सु अझ प्यारो लाग्छ मलाई । माथि लेकतिर जस्तो एकदिन एकदिन त घामै नलागे पनि हुन्थ्यो जस्तो लाग्छ ।
गएराति मात्र टाढा दूरदेशमा वैदेशिक रोजगारी गर्ने एउटी आमाको फोन आयो । उनी भने हुस्सुदेखि डराइरहेकी थिइन् । ती एकल बहिनी एक्ली छोरीलाई सासूको साथमा छोडेर चारपैसाको जुगाड गर्न विदेशिनु परेको थियो । यता उनी हुर्कंदो उमेरकी छोरीको मगजमा हुस्सु लाग्ला कि ? दिमागी हुस्सुमा बरालिएर उसले बाटो बिराउली कि भन्ने पीरमा थिइन् । उनले त्यतिमा आफूलाई कहाँ रोक्थिन् र ! फोनमै आफ्नो व्यथा सुनाउन थालिन्, ‘हामीले त त्यो उमेरमा बाउ आमालाई पनि
शत्रु देखियो । जङ्गलमा चरो कराउँदा पनि कसैले सुसेली हालेर आफैंलाई बोलाए जस्तो लाग्थ्यो । पर डाँडामा मादल बज्दा यता खुट्टा उचालिन्थ्यो । किताप त देख्यो कि झुसुल्किरा जस्तो लाग्थ्यो । जस्तो किनेको उस्तै हाप दाममा किताप बेचिन्थ्यो । अनि नपढेपछि अहिले तिरिमिरी झ्याइँ भाको छ नि । आफू जस्तो नहोस् र छोरीले दुःख नपाओस् जस्तो लाग्छ नि । यसो सम्झाइदिनुहोस् है मिस् ।’
टाढादेखि एउटी आमाले छोरीप्रति दर्शाएको प्रेम र अज्ञात भय उनका शब्दभन्दा कति कति गहिरा थिए । दिमागी हुस्सुको कुरा उनले सम्झाइन् । हो पनि, यो चन्चले दिमागमा गर्न पर्ने कुराहरुलाई अर्थोकै कुराले छोपेर ल्याउँछ । के को हुस्सुले झ्याप्प छोप्छ, छोप्छ । ती परदेशी आमाले भोगेरै हुस्सुको जालिम खेल बुझेकी रहिछन् । हुस्सु साँच्चै नै मायावी रहेछ ।
हुस्सुले सारा जगत छोपेपछि घामको चाहना बढेर आउने रहेछ । एक आङ्ग घाम ताप्न पाए कस्तो हुन्थ्यो नि जस्तो हुँदो रहेछ । यो हुस्सु विम्वलाई जसरी जता पनि मिलाउन सकिने रहेछ । अलि अगाडि नै हो मैले भेटेका एकजना सज्जनलाई सम्झें । उनले पनि हुस्सेकै गफ गरेका थिए । उनले त अझ सिङ्गो मुलुकको राजनीतिमै हुस्से लागेको गफ गरेका थिए । कहिले यो अस्पष्टताको हुस्से फाट्ला र झलमल्ल घाम लाग्ला नि त भन्दै चिन्ता व्यक्त गरेका थिए । हुन पनि हो । उनले भनेजस्तै अब घाम लागिहाल्छ कि भनेर आशा गर्यो। उज्यालो फुट्यो कि जस्तो हुन्छ तर फेरि हुस्सेले ढपक्कै छोपेर ल्याउँछ । देशको शिक्षा, स्वास्थ्य, व्यापार, न्याय सबैतिर राजनीतिक हुस्से ड्याम्मै लागेको छ । स्पष्ट उज्यालो कतै छैन । जताततै हुस्से मुस्लिएको छ, मडारिएको छ ।
झलक्क हेर्दा बौद्दिकताको केन्द्र त्रिभुवन विश्वविद्यालयलाई हुस्सेले धुलिसात पारिसकेको छ । राजनीतिक बाँडफाँड र भागबन्डाले गर्दा शिक्षाको गुणस्तर भनें खच्कँदो अवस्थामा छ । बाह्र पास गरेर विद्यार्थीहरु जसरी हुन्छ विदेश जाने उपायको खोजिमा छन् । यता क्याम्पसहरु रित्तिइरहेका छन् । पढ्न भनेर उम्किएका युवा फर्केर आउने सम्भावना अत्यन्त न्यून छ । उद्योगहरु बन्द हुने क्रम जारी छ । रोजगारका अवसरहरु अत्यन्त कम छन् । लघु तथा मध्यम किसिमका वित्तिय संस्थाहरु समस्याग्रस्त छन् । स्वास्थ्य क्षेत्रको भद्रगोल उस्तै छ । कसैले कसैलाई गणना नगर्ने प्रचलन बढेर गएको छ । हेर्नोस् त ! राष्ट्रका शिर्षस्थ व्यक्ति नै बारम्बार विवादमा परेका । अस्ति भर्खरै मात्र ज्यान मुद्दाका कसुरदारलाई आम माफि दिएको मुद्दा नसेलाउँदै अहिले राष्ट्रिय सभा सदस्य मनोनयन क्रममा पनि उस्तै गल्ति दोहोरिएको देखिँदैछ । त्यसकै परिणाम हुनसक्छ — सर्वमान्य रहनुपर्ने व्यक्तिहरुका तस्वीरलाई हुत्याइँदैछ । यी र यस्ता प्रकारका हुस्सुले देशलाई ढपक्क ढाकेको छ ।
यो हुस्से चिन्तन गर्दागर्दै मेरो ध्यान तुवाँलोतिर तानियो । यसो शब्दकोश पल्टाइहेर्दा त ‘ब्रेन फग’ भन्ने शब्दावली प्रचलित नै रहेछ नि । उहि अघि चर्चा गरिएकी परदेशी बहिनीले भनेजस्तो दिमागी कुहिरो । जब दिमागमा तुवाँलो लाग्छ, मान्छेका मनमा भ्रमले डेरा जमाउने, छटपटि हुने, डिप्रेसन नै हुने अवस्थामा पुग्नेरहेछ । हो, दिमागी तुवाँलो पन्छाउन अलि शान्त चित्त गर्ने, मनमा धेरै कुरा नखेलाउने र ध्यान गर्ने बानी गर्नुपर्ने रहेछ । उति नपढेपनि ती बहिनीले दिमागी हुस्सेका बारेमा अत्यन्त गहन जानकारी राखेकी रहिछन् । आफ्नो पुरानो समयलाई सम्झेर उनले ज्ञानको सिर्जना गरेकी रहिछन् । पढेर भन्दा परेर जानिन्छ भनेको त्यहि होला ।
यता ती वाचाल युगल प्रेमीहरुलाई मैले बिर्सन सकेकै थिइँन । उनीहरु हुस्सेप्रेमी थिए । मनोविज्ञानतिर चियाएर हेर्दा उनीहरु सुतुरमुर्गे समस्यामा परेका हुन् कि भन्ने पनि लाग्यो तर कुरा त्यस्तो होइन । उनीहरु प्रकृतिप्रदत्त हुस्सेमा उदात्त मनले रमाइरहेका मात्र थिए । उनीहरु सुतुरमुर्ग जस्तो समस्याबाट भागिरहेका थिएनन् ।
बरु सुतुरमुर्गको कुरा आउँदा मैले राजनीतिकर्मीहरुलाई चाहिँ सुतुरमुर्गे समस्याबाट
ग्रस्त भएको पाएँ । सुतुरमुर्ग मरुभूमितिर रमाउने चरो रहेछ । जब त्यस चराले कुनै विपद आइलाग्ने संकेत पाउँछ, आफ्नो मुन्टो बालुवामा लुकाउँदो रहेछ । समस्यालाई आफ्ना आँखाले नहेरेपछि जेसुकै होस् नि । सुतुरमुर्ग चराको यही बेहोराको अध्ययन गरेर ‘अस्ट्रिच सिन्ड्रम’ भन्ने वाक्यांश प्रयोग भएको रहेछ । अनि मुलुकका हजारौँ समस्याहरुलाई देखेको नदेखेई गर्ने र मुन्टो लुकाउने नेताहरु सुतुरमुर्गे समस्याबाट ग्रस्त भएका हैनन् त ? हामी जनसाधारणले देख्न सक्ने भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती, चोरीपैठारी, तस्करी, अन्याय, अत्याचार, नातावाद, कृपावाद जस्ता अनगिन्ति कुराहरु देखेको नदेखेकै गर्न सक्नेहरुका दिमागी तुवाँलो अर्को चरणको चुनावमा पक्कै उघ्रने आशा गरौँ ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 12 January 2024)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).