Friday, 9 June 2023

सानुको सिक्किमे शैली

 

सिक्किमका पद्मश्री सम्मानीत श्रष्टा सानु लामाले नेपाली साहित्यको भण्डारमा धेरै कृतिहरु थपेका छन् । ती कृतिमध्ये सूर्यको तेस्रो किरण कथा संग्रह पनि एक हो । यो शीर्षक नै अलि नौलो भएकोले यसले जो कोहि पाठकको ध्यान खिच्न सक्छ । त्यसैले म पनि शीर्षक देख्ने बित्तिकै यो पुस्तकप्रति आकर्षित भैहालें । विषय सूची हेर्दा यो कथा संग्रहमा जम्मा तेह्रवटा कथा देखिन्छन् । तिनमा अन्तिमचाहिँ “सिक्किममा नेपाली साहित्यको गतिविधि” लाई लेखकले निबन्ध संग्रह भनेका छन् । बाँकी रहेका बाह्र वटा कथामा पछिल्ला दुईवटा “छुँदै जाने सम्झनाहरु” र “केही आफ्नो केही अरुको” कथा कम र संस्मरणात्मक लेख बढी लाग्छन् ।


बाँकी रहेका दश वटा कथाले चाहिँ समाजमा विद्यमान् विविध पक्षमा बारेमा बोलेका छन् । यसरी विविध पक्षलाई समेटेर रोचक पारामा कथा बुन्न सक्ने लेखकको विशिष्ट शैली लोभलाग्दो लाग्छ मलाई ।

मान्छेलाई निर्वासित जीवन बाँच्न कति गाह्रो हुन्छ भन्ने कुरा लामाको “बिहान हुन नसकेको रात” पढ्दा छर्लङ्ग हुन्छ । यसैगरि मानिसका बाल्यकालीन संझनाहरुले जीवनपर्यन्त पछ्याइरहने कुरालाई पनि यो कथाले पुष्टि गर्दछ । उदाहरणका लागि,“ गाउँको सेरोफेरो घुमेको, बाहिर-भित्र गरेको, पुच्छर समातेर चौंरीलाई दगुराएको, दृष्यहरु झल्झली देख्थे तिनी । घरदेखि पूर्वपट्टि भएको किचू नदीको किनारमा बसेर सुनेको शान्तसित बग्दै गएको नीलो पानीको कल्कल् शब्द अहिले पनि सुन्थे, अनि त्यही मनमोहक कल्कल् शब्दसित मिसिएर आएको आमाको मिठो स्वर तिनको कानमा पर्थ्यो, (पृ. ४) ।” यो कथा पढ्दै जाँदा मलाई अष्ट्रेलियामा भेटिएकी एक मोरिससकी महिलाको संझना आयो । जसरी यो कथाको बाबु पात्र सिक्किममा बसेर आफ्नो देश तिब्बत संझन्छ, त्यसरी नै ती महिला अष्ट्रेलियामा बसेर मोरिसस संझने गर्थिन् । उनले एकचोटि भनेकी थिइन्, “जब यहाँ पानी पर्छ र जमीन भिज्छ म मोरिससकै माटोको सुगन्ध पाउँछु !” कति मर्मस्पर्शी छ यो कुरा । यस्ता कुरा आफ्नो देश छाडेर विदेशमा बस्नेलाई मात्र थाहा हुन्छ ।


 

कथाकार सानु लामामा भएको, परिवेशको होस् वा पात्रको, चित्र खिच्ने कला पनि विचित्रको लाग्यो मलाई । उनले सिक्किमका विभिन्न ठाउँको चर्चा यी कथामा गरेका छन् । ती ठाउँहरुमा पाठकलाई आफू नै पुगेको अनुभूति हुन्छ । त्यसैगरि उनले चित्रण गरेका पात्रको चित्र पनि सजीव बनेर पाठकको आँखामा आउँछ । “रेशी बगिरहेछ” भन्ने कथामा वर्णित ठाउँको निम्न अंशले यो  कुराको पुष्टि गर्छ । “उत्तर—पश्चिमबाट बगेर आएको रेशी खोला त्यहाँ फाँटिलो कुइनेटो घुमेर दक्षिण—पश्चिमतिर बिस्तारै बग्दै गएको थियो । खोलापारि सानो त्रिकोणी सुक्खाबारी र पुरानो ओतजस्तो कटेरोलाई काखमा राखेर पातलो जंगल उँभोतिर फैलिँदै गएको थियो,” (पृ. २१) ।   यसैगरि उनले “सात भाइकी चेली” कथामा उल्लेख गरेका पात्र “युवती गोरी औ सुन्दर थिई । दुवै गालामा लालिमा थियो । सुन्दर हातमा मसिना औंलाहरु । हाँस्ता दुवै गालामा खोपिल्टा परेर सुन्दर अनुहार अझ सुन्दर बन्थ्यो । .... चालक एक्लै — हल्का बदामी सुट लाएको पैंतीस—चालीस वर्ष उमेर पुगेको मान्छे थियो । लालवर्णको अनुहार, नाकको डाँडी छेउ—छेउसम्म आँखा आएकोले निधार लामो र चौडादार देखिन्थ्यो...” (पृ. ४७), जीवन्त लाग्छन् ।

मलाई मन परेको अर्को पक्ष भनेको यस संग्रहका कथामा प्रयोग भएका स्थानीय लवज हुन् । उदाहरणका लागि, मरौ परेको घर (मरिमराउ), जानी नै ? (सन्चै?), निको छ (राम्रो छ), ...हिमाल चढ्न जाँदा उतारेका फोटोहरु...(हामी फोटो खिच्नु भन्छौं तर सिक्किममा फोटो उतार्नु भनिँदो रहेछ; फेरि यसैलाई असममा फोटो उठाउनु भनेको सुनियो), हिज आइपुग्यो (हिजो आइपुग्यो) आदि । यस्ता उदाहरण यो कथा संग्रहमा धेरै भेटिन्छन् । यस्ता खालका स्थानीय लवजले कथालाई अझ बढि रोचक बनाएका छन् ।

साइनो” कथा पढ्दा मलाई साइनोको मर्मले मानिस बेलाबेला कसरी अप्ठ्यारोमा पर्छन् भन्ने कुराको संझना आइरहेको थियो । जसरी यो कथामा उमेर बढी भएको मानिस भानिज र कम भएको मानिस मामा हुँदा मामालाई असजिलो भएको छ, त्यसरी नै असजिलो मान्ने धेरै पात्रहरु मैले देखेकी छु । आफ्नो छोरासमानका अथवा ऊ भन्दा पनि जेठा व्यक्तिहरुलाई नाती भन्नुपर्दा मलाई नै अप्ठ्यारो लाग्छ । तर जे भए पनि यस्ता साइनो त हामीले निभाउनु नै पर्छ ।

हाम्रो समाजमा विद्यमान् “बडी इमेज” को धारणालाई “टी शर्ट” भन्ने कथामा राम्ररी केलाइएको छ । शारीरिक रुपमा राम्रो नै हुनुपर्ने समाजले प्रस्तुत गरेको सुन्दरताको परिभाषामा आफू फिट नहुँदा त्यसले लज्जाबोध हुने, अनि त्यसलाई छोप्न अनेक कल्पनाको सहारा लिनुपर्ने मनोवैज्ञानिक तथ्यलाई यहाँ उजागर गरिएको छ । “रेशी बगिरहेछ” भन्ने कथामा सांसारिकता र आध्यात्मिकता बीचको लडाई देखाइएको छ । आत्माको अमरत्वको कुरा पनि यहाँ भेटिन्छ । रेशी खोलालाई यो कथामा जीवनको निरन्तरतासँग तुलना गरिएको छ । अन्तरजातीय विवाहले परिवारमा आउने विचलन र बिस्तारै, विशेषत: सन्तान जन्मिएपछि, माइती र चेलीबीचको सम्बन्धमा आउने सुधार “सात भाइकी चेली” कथामा भेट्न सकिन्छ । “म भगवान् भएँ” कथामा गरीबी र अभावग्रस्त जीवनले निम्त्याएको नीरिहतालाई उजागर गरिएको छ ।

पुस्तकको शीर्षककै कथा “सूर्यको तेस्रो किरण” कथामा पुग्दा के रहेछ त यस्तो किरण भन्ने पाठकको खुल्दुलीको अन्त्य हुन्छ । वास्तवमा सूर्यको पहिलो किरणले जीवनको शुरुवातलाई दर्शाउँछ, दोस्रो किरणले यसको निरन्तरतालाई दर्शाउँछ भने तेस्रो किरणले व्यक्तिको अन्तरमा रहेको उज्यालोलाई दर्शाउँछ भन्ने कुरा यो कथा पढिसक्दा थाहा हुन्छ । त्यसैगरी “पेन्सन, तक्मा र गाडी” कथामा एकातिर सैनिकका परिवारले भोग्ने नियती देखाइएको छ भने अर्कोतिर कुनै पनि व्यक्तिको मृत्युपछि बाँचेका आफन्तीले कसरी निर्जीव वस्तुमा त्यो मृत व्यक्तिका स्मृतिहरु संगालेर राख्न सक्छ भन्ने कुरा देखाइएको छ । “सन्तान सुख” मा सन्तान आमाबाबुको खुशीका र बाँच्ने आधार हुन् भन्ने तथ्य भेट्न सकिन्छ । यसरी, यो कथा संग्रहमा कथाकार लामाले समाजमा विद्यमान् विविध पाटाहरुलाई सूक्ष्म रुपमा केलाएका छन् ।


यी कथा पढ्दै जाँदा मैले अनुभूति गरेको अर्को पक्ष भनेको यहाँ भएका नारी पात्रको उपस्थिति हो । कुनै पनि नारी पात्रलाई कथाकारले कमजोर रुपमा प्रस्तुत् गरेका छैनन् । यहाँ वर्णित सबै नारी सशक्त हुन् । यसको चरम उदाहरण भनेको "सूर्यको तेस्रो किरण" कथाकी  पात्र सावित्री हो ।  सावित्रीले मलाई हर्मन हेस्को प्रसिद्ध पुस्तक सिद्धार्थ की कमला भन्ने पात्रको स्मरण गराउँछे । सावित्री देह व्यापारको पेशा गर्छे । तर त्यो उसका लागि सिर्फ पेशा मात्र हो, बाहिरी रुपमा । उसको अन्तर उज्यालो छ, बेदाग छ । ऊ एउटी स्वतन्त्र नारी हो । समाजका पुरुष पात्रले उसको पेशालाई औँल्याउँदै जब ऊसँग दुर्ब्यवहार गर्न खोज्छन्, यो कुरा उसलाई पटक्क सह्य हुँदैन । यस्तै तुच्छ सोच राखेर आफूलाई आक्रमण गर्ने मोटेलाई उसले मारिदिन्छे र दृढ स्वरमा भन्छे, “मैले मोटेलाई मारिन । मैले त दुष्ट्यार्ईं , व्यभिचार, अत्याचार आदिलाई नष्ट पारेकी हूँ । समाजको कलङ्कलाई मेटाएकी हूँ...यसलाई हत्या हो भन्ने कोही छ भने उसले रावणवध, हिरण्यकशिपु वध, कंस वध, महिषासुर वध आदि वधहरुलाई पनि हत्या भन्नुपर्छ, हिंसामा गन्ती गर्नुपर्छ अनि दुर्गा, काली, राम, कृष्ण, विष्णु सबैलाई अपराधीको वर्गमा राख्नुपर्छ,” (पृ. ७०) ।

अन्तमा, सूर्यको तेस्रो किरण कथा संग्रहमा समेटिएका सबै कथा नौला र पठनीय छन् । 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  9 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  


 



Friday, 2 June 2023

‘एक आँगन घाम’ माथि एक दृष्टि

 

 

सिक्कीमका नेपाली साहित्यकारहरुको नाम लिँदा थीरुप्रसाद नेपाल अग्र पंक्तिमा नै आउँछन् । यी वरिष्ठ साहित्यकार मूलतः कथा विधाका सिद्धहस्त सर्जक मानिन्छन् । उनले कथा लेखनमा नै विभिन्न सम्मान र पुरस्कार पनि पाएका छन् । यहाँ चर्चा गर्न लागिएको ‘एक आँगन घाम’ नेपालको सातौँ कथा संग्रह हो । यो संग्रहमा जम्माजम्मी दशवटा कथा समावेश गरिएका छन् । सबै कथाको परिवेश सिक्कीमेली समाज नै छ । त्यहाँ देखिएका, भोगिएका विविध पक्षलाई यी कथाले समेटेका छन् । अनि यहाँ वर्णित घटना, परिघटना हाम्रै वरिपरि, नेपाली समाजमै घटित भएजस्ता लाग्छन् । कथा संग्रहमा भेटिएका सबै सामाजिक पक्षलाई यो आलेखमा अटाउन नसकिने भएकाले केही महत्वपूर्ण पक्षको मात्र म यहाँ चर्चा गर्नेछु ।


सर्वप्रथम त यहाँ पुरुष र महिलाको सम्बन्धलाई फरक फरक लेन्स लगाएर हेरिएको छ । अघिल्ला तीनवटा कथा ‘प्रेम बन्दी भएपछि’, ‘तिमीले खायौ मनु ?’ र ‘गोपीहरु र राधा’ यसै सम्बन्धका वरिपरि घुमेका छन् । प्रेममा चुर्लुम्म डुबेका प्रेमी प्रेमिकाले एकअर्काका लागि केसम्म गर्न सक्छन् भन्ने कुराको उदाहरण हो— प्रेम बन्दी भएपछि । यो कथामा प्रेमिकाले भन्दा पनि प्रेमीले अन्धभक्त भएर आफ्नी प्रेमिकामाथि तन, मन, धन लुटाएको छ । यो कथाको पात्र गोकर्ण लामिछानेले आफ्नी मायालु दुखान्तीका निम्ती आफूले दुःख गरेर दूध बेचेर कमाएको पैसाले सकेसम्म खुशीहरु किनिदियो । यी दुवै पात्र गरिखान आफ्ना आफ्ना गाउँबाट शहर पसेका हुन् । लुगाफाटा, जुत्ता, श्रृङ्गारका सामान दिने देखि लिएर सुनका गहना, मोबाइल फोन सबैथोक जुटाइदियो उसले । गोकर्णको प्रेम सधैँभरि रंगीन भइरहन सकेन । एकदिन घरेलु कामदार दुखान्ती आफ्नो बाबु साइकलबाट लडेर घाइते भएको खबर सुनेर गोकर्णले जुगाड गरिदिएको मोटो रकम लिएर घर फर्किएकी पुनः उसको जीवनमा आइन ।

सन् २०१९ पछि लेखिएको साहित्यमा कहिँ न कहिँ कोरोना भाइरस छिरीहाल्छ । यो कथामा पनि दुखान्ती गोकर्णलाई छोडेर हिँडेपछि शुरु भएको यो महामारी नै उनीहरुको वियोगान्त कथाको कारक तत्व भएको छ ।

यसैगरी अर्को कथा ‘तिमीले खायौ मनु ?’ मा पनि नारी र पुरुषको गहिरो प्रेम सम्बन्ध लुकेको छ । कथाकार, कसरी यही साधारण प्रश्नमै यो कथाका पात्र रुक्मलाल काफ्लेको आफ्नी पत्नी मनमाया अर्थात् मनुप्रति अथाह माया लुकेको छ, भन्ने रहस्य बिस्तारै बिस्तारै खोल्दै जान्छन् । यसको मर्म बुझ्न हामी धेरै अगाडिको समयमा फर्कनुपर्ने हुन्छ । लेखकका अनुसार “जुन काल खण्डको कुरा यहाँ लेखिदैछ, त्यस कालखण्डमा सासुससुरा, नन्द आमाजूले बुहारीलाई कम्पलसरी जस्तो नै हेला गर्नुपर्थ्यो” (पृ.१८) । यस्तो कटिलो समयमा रुक्मलाल काफ्ले आफ्नी श्रीमतीले खाइन् कि खाइनन् भनेर सधैँ चनाखो भइरहन्थे रे र मनमायालाई “तिमीले खायौ मनु ?” भनेर सोध्ने गर्थे रे । यो प्रश्न सुन्दा नै मनमायाको आधाउधी भोक हराएर जान्थ्यो रे ।

यो कथामा कथाकार पुरानो समयको र नयाँ समयको प्रेम गर्ने तरिकाको विरोधाभाष पनि देखाउँछन् । रुक्मलाल काफ्लेले मनमायालाई गरेको प्रेम चोखो र हृदयबाट नै गरिएको थियो । यसै प्रसंगमा उनले आफू पुलिसको ड्युटीमा छुट्टी भएको बेला घर आउँदा ल्याएको आँपको कोशेली बाबुआमाका हातमा राखिदिनुअगाडि दुईवटा आँप धोइवरि मनमायालाई दिएको घटना बडो रोचक छ । यसको विपरित वर्तमान् समयको फेसबुके प्रेम देखावटी, सतही र बिना टिकाउको हुन्छ भन्ने कुरा थीरुप्रसादले देखाएका छन् ।

तेस्रो कथा ‘गोपीहरु अनि राधा’ भने अलिक फरक धारमा बगेको छ । खुल्ला आधुनिक समाजमा विशेषगरि कार्यालयमा हाकिम र कारिन्दा महिलाहरु कस्तो सम्बन्धमा बाँधिएको हुन्छन् भन्ने कुराको एक झलक यो कथाले दिएको छ । कथाको परिवेश कोरोना काल नै छ । कथाको सर पात्र आफ्नो कार्यालयमा कार्यरत “बाबुनी” हरुसँग अन्तरङ्ग सम्बन्धमा रहेको कुरा छर्लङ्ग हुन्छ । यसको पुष्टि विचित्रा बाबुनीको यो फोनवार्ताले दिन्छ । “सर भेट नभाको पनि कम्ती भएन । भेटुँ भेटुँको कस्तो त्यो पो हुँदो रैछ त, टेम्टेसन जस्तो...साँच्ची भनेको नि सर हाम्रो लागि त महादेव भने पनि, श्रीकृष्ण भने पनि हाम्रो जोइन्ट साबै हो ।...कस्तो ब्यालेन्स मेन्टेन गर्नु हुन्छ नि हामी चारजना म, तनु, रुपा र झुमाको बीचमा । सरचाहिँ घामजस्तो टक्कसँग बीचमा उज्यालो भएर बसेको, अझ घरको म्याडमसँग हामी पानजना भनुँ न । हामी चाहिँ सरको वरिपरि फिनिनी फन्को लाइरहने ।...घरमा बस्दा बस्दा त्यो बिचारा आफ्नै हस्बेन्ड भन्ने मान्छे पनि कस्तो— कस्तो इरिटेटिङ र ल्याथर्जिक पो लाग्न थाल्दो रैछ ।” (पृ. २३–२४) ।


रासलीलामा लिप्त हुने सर अन्तिममा आत्मग्लानीमा डुबेको देखाइएको छ । उसकी पत्नीलाई यहाँ कृष्णकी राधाको स्वरुपमा र कार्यालयका कर्मचारीलाई गोपिनीहरुको स्वरुपमा प्रस्तुत गरिएको छ । यो कथाले यौन मनोविज्ञानको भाव दर्शाएको छ ।

नारीको अस्तित्वलाई ‘एक आँगन घाम’ मा कसरी प्रस्तुत गरिएको छ भन्ने उत्सुकताले मैले यहाँ भेटिएका नारी पात्रहरुलाई केलाएँ । उनीहरु कोही पनि सशक्त रुपमा स्वतन्त्र भएर उठेका देखिएनन् । नेपालले उनीहरुलाई पुरुषभन्दा कमजोर पात्रका रुपमा उभ्याएका छन् । यहाँ उनीहरुको आन्तरिक सुन्दरतालाई भन्दा बाह्य सुन्दरतालाई महत्व दिएको देखिन्छ । यसले गर्दा उनीहरु पुरुषका भोग्या नै हुनुपर्ने अथवा उनीहरुकै सौन्दर्यपानको वस्तु हुनुपर्ने तथ्य सामुन्ने आउँछ । आश्चर्यको कुरा, महिला पनि यसैमा समर्थन जनाउँछन् । ‘कालो ब्यागभित्र स्थगित गाउँहरु’ भन्ने कथामा अखिलमाया भन्ने पात्र अलि कडा मिजासकी छ । पुरुषले नारीलाई कुन दृष्टिले हेर्छन् भन्ने कुरामा ऊ सर्तक हुन्छे । यस्ती भैकन पनि अखिलमाया उनीहरुको दुर्व्यवहारबाट बच्न सक्तिन । आफ्नै हाकिमले उसको ‘त्यो’ छुन खोज्दा त्यसलाई पेपरवेटको झटारो हानेर ऊ प्रतिकार त गर्छे तर उसका सहकर्मीहरु नै उसको विरोध गर्छन् । “छ्या त्यो छुनुखोज्दा नै के को हंगामा निकालेको है त्यो अखिल बहिनीले । छुँदा मात्र के पो भइजान्थ्यो र,” उनीहरुको प्रतिकृया हुन्छ । पाइला पाइलामा अखिलमायाजस्ता पात्रले आफ्नो सुरक्षा आफैं  गर्नुपर्ने हुन्छ पुरुष प्रधान समाजमा ।  

यसैगरी ‘दृष्टिदोष’ कथामा पनि एउटा शिक्षकले आफ्नी विद्यार्थीलाई यौन तुष्टिका लागि प्रयोग गरेको देखाइएको छ । यही कथामा चित्रलेखा गुरुआमालाई अरु नारीपात्रभन्दा सशक्त रुपमा त उभ्याइएको छ तर उनको यस्तो स्वभावको निर्माताको श्रेय पनि उनकै श्रीमानलाई दिइएको छ । मानौँ, उनी एक्लै त केही गर्न नै सक्तिनन् । उनको अस्तित्वले श्रीमानको सहयोगले गर्दा मात्र पूर्णता पाएजस्तो । ‘आफ्नो–आफ्नो लय’ कथामा पनि नारीप्रतिको यस्तै दृष्टिकोण भेटिन्छ । यहाँ भनिएको छ, “कोही चालकहरु केटीतिर बेसी हेर्छन् र गाडी डीलमुनि गुडाइदिन्छन् । कोही एकाग्रसित आफ्नो काममा मस्त भएर...केटीतिर हेर भन्दा पनि हेर्दै हेर्दैनन् । बरु केटीहरु नै पो ‘यस्तो नयाँ जीन्स लाइराखेको छु मैले, तर यस गुरुजी बजियाले मलाई त ठ्याप्पै छड्के आँखाले पनि हेर्दै पो हेरेन है’ भनेर मनमनै दिल दुखाउँछन् ।” यही कथाकी नारी पात्र हुन् प्रेमलता गुरामा । उनलाई पनि कथाकारले आफ्नो बाहिरी सौन्दर्यमा मात्र विशेष ध्यान दिने पात्रका रुपमा उभ्याएका छन् । अनि उनको त्यही बाहिरी स्वरुपप्रति आकर्षित हुने पुरुष पात्रको पनि यहाँ कमी छैन । “प्रेमलता गुरुमालाई निलो जीन्समा जति हेरुँ— हेरुँ लाग्दो देखिन्छ, त्यतिको त इलेबेन टुएल्व पढ्ने सोह्र सत्रकीलाई पनि देखिँदैन । फिगर र स्क्रीन रखरखाउ उसको मान्नै पर्छ,” उनको वर्णन यसरी गरिन्छ । अनि उनको यो सौन्दर्यपानका लागि, “जोग्राफी पढाउने जयन्त सर पेपर पढ्न छोडेर ट्वाल्ल परेर हेर्ने, म्याथको टीचर दीपाङ्कर सर मोबाइल खेलाउन बिर्सेर हेर्ने । नरोत्तम सर...स्पोर्टको सर...चाहिँ मिसलाई जतिसक्तो निलो जीन्स लगाएको बेला फ्रन्टबाट भन्दा ब्याकसाइडबाट हेरेर आनन्द लिन्थे ।” बसुन्धरा मेम भन्ने अर्की पात्र कथा ‘यात्रा यसरी अल्झिदिन्छ’ मा भेटिन्छिन् । उनी आफूलाई गाडी चलाउन सिकाउने ड्राइवरको नियतलाई देखाउँछिन्, “आफ्नो दुई हात स्टिङ्गमा, गुरुजीको एक हात पातालतिर हुन्छ कि आकाशतिर हुन्छ । कलेज पढ्ने केटीको उमेरमा कसैको औँला उसको जीवनको गोपनीय घोषित गरिएको समवेदनशील अंगमा खेल्न थाल्दा कस्तो अनुभूति हुन्छ त्यो उसलाई थाहा छ ।”

यी सबै उदाहरणले के देखाउँछन् भने ‘एक आँगन घाम’ का सबै पात्रहरु पितृसत्तामक समाजको मनोवृत्तिद्वारा डोहोरिएका छन् । त्यसैले त यहाँका पुरुष पात्र त पुरुष पात्र भैहाले — उनीहरु नारीलाई आफूभन्दा तल्लो दर्जाको ठान्छन् र त्यहि अनुरुपको आचरण देखाउँछन् । नारी पात्र पनि यसैलाई आफ्नो नियति ठानेर पुरुषले उनीहरुप्रति गरिने व्यवहारलाई स्वीकार्छन् । अखिलमायाजस्ता अल्पमतमा परेका नारीले आफ्नो आवाज आफ़ै बन्नुपर्छ ।


यो पुस्तकमा भेटिएको अर्को चाखलाग्दो पक्ष भनेको कथाकारले प्रयोग गरेको भाषा हो । विशेषगरी यहाँ प्रयोग भएका बिम्ब, प्रतिक र उपमाहरु लेखक आफ़ैले सिर्जना गरेका छन् । त्यसैले ती नितान्त नवीन लाग्छन् । यस्तो खालको आलङ्कारिक भाषा प्रयोगले ‘एक आँगन घाम’ कथा संग्रहलाई अझ रोचक बनाएको छ । यस्तो भाषा प्रयोगको केही उदाहरण निम्न छन् ।

*….‘सय वर्षअघि महासागरमा डुबेको टाइटानिकजस्तो गोकर्ण उसको प्रेमसागरमा चुर्लुम्म डुबेको (पृ.१०) ।

*……‘तालिबानले अफ्गानिस्तानमा जस्तै उनीहरुको प्रेमले उग्ररुप लियो (पृ.१) ।

*……‘पहिले त राम्रै देखिन्थ्यो, झुमाकी मम्मीलाई जिन्समा तर दुई कोरी पाँचबाट पनि उकाली छिरेपछि जीउले सी जिङ्पिङले जस्तो विस्तारवादी निति अप्नाउन थाल्यो (पृ.३४) ।

*…….‘अनि एउटीले स्कूलको अन्तिम वर्षमा, उसको आफ्नो पेवा–पाते खुब जम्मा गरेर उता पशुपति घुम्न जाँदा साह्रै जतनले सलीमलाई अनारकलीले पठाएको फूलजस्तो यो ब्याग ल्याइदिएकी थिइन् (पृ.५३) ।

*…..‘मनमा तिनीहरुको याद मनालीका भित्तामा छ्याप्प ढाकिएको हिँउजस्तै ढाकिएर आउँछ (पृ. ५४) ।

*……‘नेपाली साहित्यमा तेस्रो आयाम जस्तै उसको कुख्रा व्यापार त्यति फस्टाउन सकेन (पृ. ८४) ।

यसैगरी यो संग्रहमा संग्रहित कथामा स्थानीय लवज प्रयोग भएको पनि प्रशस्तै भेटिन्छ । जस्तै, “उनारको बिहे बियरबाटै आइडेन्टीफाई भइहाल्छ...लास्टमा त आफ्नै बुढाको खुट्टा पखालेर पानी पो स्वाट्टै निलिपठाउँदो रैछ । (पृ. २३) ।  

अनि हामीले बोलीचालीमा प्रयोग गर्ने द्वित्व शब्द ‘भात–सात’ जस्ताको प्रयोग यहाँ भरमार भएको छ । जुत्ता–सुत्ता, चेस्मा–सेस्मा, किरिम–सिरिम, नेलपालिस–सेलपालिस, चुम्मा–सुम्मा, पोस्ट अफिस–सोस्ट अफिस कति हो कति ! यसरी यस्ता शब्दावलीको अत्यधिक प्रयोगले पाठकलाई कथा पढ्दै जाँदा बेला बेला झर्को लाग्ने सम्भावना देखिन्छ । अचार जस्तो थोरै ट्वाक्क आउँदा यी जति मीठा सुनिन्थे दाल–भातजस्तो बग्रेल्ती आएर यिनको मीठास धमिलिएको हो कि जस्तो लाग्छ बेला बेला ।

मुख्य रुपमा देखिएका यी पक्षबाहेक सूक्ष्म रुपमा अरु धेरै पक्ष यो पुस्तकमा अँटाएका छन् । तीमध्ये केही समाजमा भेटिने विभिन्न खाले पात्रको चरित्र चित्रण, तथाकथित आधुनिक पिँढीको अंग्रेजी भाषाप्रतिको मोह, कुनै पाटी सभा समारोहमा प्रमुख अतिथी बन्न अथवा बनाउनका लागि गरिने राजनीति, साइनो लगाएर बोल्ने नेपालीको चलन, सरकारी काममा हुने ढिलासुस्ती, मोबाइल फोनको दुरुपयोगले निम्त्याएको समस्या, अस्वस्थ प्रतिस्पर्धाले गर्दा हुने विनास हुन् ।

समग्रमा हेर्दा ‘एक आँगन घाम’ कथा संग्रहभित्र सूचीकृत कथाहरुमा फरक फरक विषयवस्तु भेटिन्छन् । त्यसैले ती सबै पठनीय छन् । वरिष्ठ साहित्यकार डा. जस योन्जन प्यासीका शब्द सापटी लिएर भन्ने हो भने यी कथामा उत्तराधुनिकताको कुनै क्लिष्टता छैन । सामाजिक यथार्थतामा आधारित सबै कथा सरल, सरस र सुबोध्य छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 2 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]