Friday 9 June 2023

सानुको सिक्किमे शैली

 

सिक्किमका पद्मश्री सम्मानीत श्रष्टा सानु लामाले नेपाली साहित्यको भण्डारमा धेरै कृतिहरु थपेका छन् । ती कृतिमध्ये सूर्यको तेस्रो किरण कथा संग्रह पनि एक हो । यो शीर्षक नै अलि नौलो भएकोले यसले जो कोहि पाठकको ध्यान खिच्न सक्छ । त्यसैले म पनि शीर्षक देख्ने बित्तिकै यो पुस्तकप्रति आकर्षित भैहालें । विषय सूची हेर्दा यो कथा संग्रहमा जम्मा तेह्रवटा कथा देखिन्छन् । तिनमा अन्तिमचाहिँ “सिक्किममा नेपाली साहित्यको गतिविधि” लाई लेखकले निबन्ध संग्रह भनेका छन् । बाँकी रहेका बाह्र वटा कथामा पछिल्ला दुईवटा “छुँदै जाने सम्झनाहरु” र “केही आफ्नो केही अरुको” कथा कम र संस्मरणात्मक लेख बढी लाग्छन् ।


बाँकी रहेका दश वटा कथाले चाहिँ समाजमा विद्यमान् विविध पक्षमा बारेमा बोलेका छन् । यसरी विविध पक्षलाई समेटेर रोचक पारामा कथा बुन्न सक्ने लेखकको विशिष्ट शैली लोभलाग्दो लाग्छ मलाई ।

मान्छेलाई निर्वासित जीवन बाँच्न कति गाह्रो हुन्छ भन्ने कुरा लामाको “बिहान हुन नसकेको रात” पढ्दा छर्लङ्ग हुन्छ । यसैगरि मानिसका बाल्यकालीन संझनाहरुले जीवनपर्यन्त पछ्याइरहने कुरालाई पनि यो कथाले पुष्टि गर्दछ । उदाहरणका लागि,“ गाउँको सेरोफेरो घुमेको, बाहिर-भित्र गरेको, पुच्छर समातेर चौंरीलाई दगुराएको, दृष्यहरु झल्झली देख्थे तिनी । घरदेखि पूर्वपट्टि भएको किचू नदीको किनारमा बसेर सुनेको शान्तसित बग्दै गएको नीलो पानीको कल्कल् शब्द अहिले पनि सुन्थे, अनि त्यही मनमोहक कल्कल् शब्दसित मिसिएर आएको आमाको मिठो स्वर तिनको कानमा पर्थ्यो, (पृ. ४) ।” यो कथा पढ्दै जाँदा मलाई अष्ट्रेलियामा भेटिएकी एक मोरिससकी महिलाको संझना आयो । जसरी यो कथाको बाबु पात्र सिक्किममा बसेर आफ्नो देश तिब्बत संझन्छ, त्यसरी नै ती महिला अष्ट्रेलियामा बसेर मोरिसस संझने गर्थिन् । उनले एकचोटि भनेकी थिइन्, “जब यहाँ पानी पर्छ र जमीन भिज्छ म मोरिससकै माटोको सुगन्ध पाउँछु !” कति मर्मस्पर्शी छ यो कुरा । यस्ता कुरा आफ्नो देश छाडेर विदेशमा बस्नेलाई मात्र थाहा हुन्छ ।


 

कथाकार सानु लामामा भएको, परिवेशको होस् वा पात्रको, चित्र खिच्ने कला पनि विचित्रको लाग्यो मलाई । उनले सिक्किमका विभिन्न ठाउँको चर्चा यी कथामा गरेका छन् । ती ठाउँहरुमा पाठकलाई आफू नै पुगेको अनुभूति हुन्छ । त्यसैगरि उनले चित्रण गरेका पात्रको चित्र पनि सजीव बनेर पाठकको आँखामा आउँछ । “रेशी बगिरहेछ” भन्ने कथामा वर्णित ठाउँको निम्न अंशले यो  कुराको पुष्टि गर्छ । “उत्तर—पश्चिमबाट बगेर आएको रेशी खोला त्यहाँ फाँटिलो कुइनेटो घुमेर दक्षिण—पश्चिमतिर बिस्तारै बग्दै गएको थियो । खोलापारि सानो त्रिकोणी सुक्खाबारी र पुरानो ओतजस्तो कटेरोलाई काखमा राखेर पातलो जंगल उँभोतिर फैलिँदै गएको थियो,” (पृ. २१) ।   यसैगरि उनले “सात भाइकी चेली” कथामा उल्लेख गरेका पात्र “युवती गोरी औ सुन्दर थिई । दुवै गालामा लालिमा थियो । सुन्दर हातमा मसिना औंलाहरु । हाँस्ता दुवै गालामा खोपिल्टा परेर सुन्दर अनुहार अझ सुन्दर बन्थ्यो । .... चालक एक्लै — हल्का बदामी सुट लाएको पैंतीस—चालीस वर्ष उमेर पुगेको मान्छे थियो । लालवर्णको अनुहार, नाकको डाँडी छेउ—छेउसम्म आँखा आएकोले निधार लामो र चौडादार देखिन्थ्यो...” (पृ. ४७), जीवन्त लाग्छन् ।

मलाई मन परेको अर्को पक्ष भनेको यस संग्रहका कथामा प्रयोग भएका स्थानीय लवज हुन् । उदाहरणका लागि, मरौ परेको घर (मरिमराउ), जानी नै ? (सन्चै?), निको छ (राम्रो छ), ...हिमाल चढ्न जाँदा उतारेका फोटोहरु...(हामी फोटो खिच्नु भन्छौं तर सिक्किममा फोटो उतार्नु भनिँदो रहेछ; फेरि यसैलाई असममा फोटो उठाउनु भनेको सुनियो), हिज आइपुग्यो (हिजो आइपुग्यो) आदि । यस्ता उदाहरण यो कथा संग्रहमा धेरै भेटिन्छन् । यस्ता खालका स्थानीय लवजले कथालाई अझ बढि रोचक बनाएका छन् ।

साइनो” कथा पढ्दा मलाई साइनोको मर्मले मानिस बेलाबेला कसरी अप्ठ्यारोमा पर्छन् भन्ने कुराको संझना आइरहेको थियो । जसरी यो कथामा उमेर बढी भएको मानिस भानिज र कम भएको मानिस मामा हुँदा मामालाई असजिलो भएको छ, त्यसरी नै असजिलो मान्ने धेरै पात्रहरु मैले देखेकी छु । आफ्नो छोरासमानका अथवा ऊ भन्दा पनि जेठा व्यक्तिहरुलाई नाती भन्नुपर्दा मलाई नै अप्ठ्यारो लाग्छ । तर जे भए पनि यस्ता साइनो त हामीले निभाउनु नै पर्छ ।

हाम्रो समाजमा विद्यमान् “बडी इमेज” को धारणालाई “टी शर्ट” भन्ने कथामा राम्ररी केलाइएको छ । शारीरिक रुपमा राम्रो नै हुनुपर्ने समाजले प्रस्तुत गरेको सुन्दरताको परिभाषामा आफू फिट नहुँदा त्यसले लज्जाबोध हुने, अनि त्यसलाई छोप्न अनेक कल्पनाको सहारा लिनुपर्ने मनोवैज्ञानिक तथ्यलाई यहाँ उजागर गरिएको छ । “रेशी बगिरहेछ” भन्ने कथामा सांसारिकता र आध्यात्मिकता बीचको लडाई देखाइएको छ । आत्माको अमरत्वको कुरा पनि यहाँ भेटिन्छ । रेशी खोलालाई यो कथामा जीवनको निरन्तरतासँग तुलना गरिएको छ । अन्तरजातीय विवाहले परिवारमा आउने विचलन र बिस्तारै, विशेषत: सन्तान जन्मिएपछि, माइती र चेलीबीचको सम्बन्धमा आउने सुधार “सात भाइकी चेली” कथामा भेट्न सकिन्छ । “म भगवान् भएँ” कथामा गरीबी र अभावग्रस्त जीवनले निम्त्याएको नीरिहतालाई उजागर गरिएको छ ।

पुस्तकको शीर्षककै कथा “सूर्यको तेस्रो किरण” कथामा पुग्दा के रहेछ त यस्तो किरण भन्ने पाठकको खुल्दुलीको अन्त्य हुन्छ । वास्तवमा सूर्यको पहिलो किरणले जीवनको शुरुवातलाई दर्शाउँछ, दोस्रो किरणले यसको निरन्तरतालाई दर्शाउँछ भने तेस्रो किरणले व्यक्तिको अन्तरमा रहेको उज्यालोलाई दर्शाउँछ भन्ने कुरा यो कथा पढिसक्दा थाहा हुन्छ । त्यसैगरी “पेन्सन, तक्मा र गाडी” कथामा एकातिर सैनिकका परिवारले भोग्ने नियती देखाइएको छ भने अर्कोतिर कुनै पनि व्यक्तिको मृत्युपछि बाँचेका आफन्तीले कसरी निर्जीव वस्तुमा त्यो मृत व्यक्तिका स्मृतिहरु संगालेर राख्न सक्छ भन्ने कुरा देखाइएको छ । “सन्तान सुख” मा सन्तान आमाबाबुको खुशीका र बाँच्ने आधार हुन् भन्ने तथ्य भेट्न सकिन्छ । यसरी, यो कथा संग्रहमा कथाकार लामाले समाजमा विद्यमान् विविध पाटाहरुलाई सूक्ष्म रुपमा केलाएका छन् ।


यी कथा पढ्दै जाँदा मैले अनुभूति गरेको अर्को पक्ष भनेको यहाँ भएका नारी पात्रको उपस्थिति हो । कुनै पनि नारी पात्रलाई कथाकारले कमजोर रुपमा प्रस्तुत् गरेका छैनन् । यहाँ वर्णित सबै नारी सशक्त हुन् । यसको चरम उदाहरण भनेको "सूर्यको तेस्रो किरण" कथाकी  पात्र सावित्री हो ।  सावित्रीले मलाई हर्मन हेस्को प्रसिद्ध पुस्तक सिद्धार्थ की कमला भन्ने पात्रको स्मरण गराउँछे । सावित्री देह व्यापारको पेशा गर्छे । तर त्यो उसका लागि सिर्फ पेशा मात्र हो, बाहिरी रुपमा । उसको अन्तर उज्यालो छ, बेदाग छ । ऊ एउटी स्वतन्त्र नारी हो । समाजका पुरुष पात्रले उसको पेशालाई औँल्याउँदै जब ऊसँग दुर्ब्यवहार गर्न खोज्छन्, यो कुरा उसलाई पटक्क सह्य हुँदैन । यस्तै तुच्छ सोच राखेर आफूलाई आक्रमण गर्ने मोटेलाई उसले मारिदिन्छे र दृढ स्वरमा भन्छे, “मैले मोटेलाई मारिन । मैले त दुष्ट्यार्ईं , व्यभिचार, अत्याचार आदिलाई नष्ट पारेकी हूँ । समाजको कलङ्कलाई मेटाएकी हूँ...यसलाई हत्या हो भन्ने कोही छ भने उसले रावणवध, हिरण्यकशिपु वध, कंस वध, महिषासुर वध आदि वधहरुलाई पनि हत्या भन्नुपर्छ, हिंसामा गन्ती गर्नुपर्छ अनि दुर्गा, काली, राम, कृष्ण, विष्णु सबैलाई अपराधीको वर्गमा राख्नुपर्छ,” (पृ. ७०) ।

अन्तमा, सूर्यको तेस्रो किरण कथा संग्रहमा समेटिएका सबै कथा नौला र पठनीय छन् । 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  9 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  


 



2 comments:

  1. डा व्यन्जनाको एक्दम मिहीन पठन अनि सुन्दर परिस्कृत शैलीको प्रस्तुतिले महान स्रस्टा सानुसरलाई उच्चासनमा सजाउँछ।

    ReplyDelete
  2. Thank you very much for your appreciation.

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).