Monday 19 December 2022

चिया कि कफी ?

 

चिया शब्दले तपाईँलाई कस्तो भाव उत्पन्न गराउँछ कुन्नि ? मलाई त चियामा धेरै स्मृतिहरु घोलिए जस्तो हुन्छ । अनि विविध स्मृतिका क्षणहरु याद गराउँछ । बेलाबेला सोचिल्याउँदा मलाई अचम्म लाग्छ । मानिसहरुले अनेकौँ झारपातहरु मध्येमा चियालाई चिया बनाउन र उमालेर पिउन कसरी सिकेका होलान् ! बयरका दानाजस्ता कफीका दानालाई धूलो पारेर पेय बनाउन कसरी कहिले सिके होलान् ? यसरी हेर्दा त मानव जुनी प्रयोगमै मात्र बितेको जस्तो लाग्ने नि ! एउटा सानो वस्तु भेट्नासाथ त्यसलाई ओल्टाई पल्टाई गरेर त्यसका विविध स्वरुप निर्माण गर्ने खुबी चाहिँ मान्नु पर्छ मान्छेको !


कफीको लत त पछि मात्र बसेको हो मलाई । चिया कि कफी भनेर कसैले सोधे भने कफी नै मेरा छनोटमा पर्छ । त्यसको वास्नाले नै मलाई त कता कता उडाइ लान्छ । ठूला क्याफेहरुमा पसेर कफीका विविध प्रजातिको मेन्यू दोहोर्याएर पढेपनि अन्तिममा क्यापुचिनो नै माग्ने हो । अनि बजारबाट कफीको जार ल्याएपछि बिर्को खोलेर त्यसको वास्ना लिन मलाई औधि मन पर्छ । कफीको वास्नाले मेरो मनलाई उडाइ लाने कुरा म गर्दै थिएँ नि ! मलाई कफीले सबैभन्दा पहिले त मोनाश युनिभर्सिटीको रिसर्च रुममै पुर्याइदिन्छ । किचेनमा पसेर आफ्नो ठूलो मगमा कफी बनाएर नबसुन्जेल त कम्प्यूटर खोल्न पनि मन नलाग्ने । सित्तैमा पाइने कफी अझ बंगाली र भारतीय साथीहरुले दुधैमा मात्र पकाएर खाने गर्थे । उता एउटी सिङ्गापुरकी साथी भनेँ कफीसँग डोनट नखाई नसक्ने । अनि यता शेयर्ड हाउसमा लीस नामकी साथी दिनमा दश कप सम्म कफी खाने । तर इन्डोनेशियन लीसको कफीमा दूध भने हुँदैनथ्यो है । युनिभर्सिटी र अन्य कार्यस्थलमा सित्तैमा कफी पाए पनि किन चित्त बुझ्थ्यो र ? फेरि छुट्टिको बेला त्यहाँ किचेनमा दूध हुँदैनथ्यो अनि अलि पर्तिर भेन्डिङ मेसिनमा खुत्रुक्क सिक्का छिराइदिएपछि स्टेरोफोमका कपमा आफैं तातो कफी झर्ने । क्या मज्जा ! कसरी नापेर ठिक्क मात्र तुर्क्याउन सकेको होला जस्तो लाग्ने नि । युनिभर्सिटीपछि मात्र कफीले मलाई अन्यत्र डोहोर्याउँछ । कफीको अरोमाले मलाई बैंकक अनि नयाँ दिल्लीका एयरपोर्ट लाउन्जको याद गराउँछ । जापान, थाइलैन्ड, साउथ अफ्रिका र अष्ट्रेलियाका यात्राहरुलाई मनको भित्री तहबाट उधिनेर सजीव तुल्याउँछ । 

कफी कल्चर हाम्रोतिर त भर्खरै पस्दैछ । कफी भनेपछि सबै एकै हो कि भनेजस्तो लाग्ने गर्थ्यो मलाई पनि तर होइन रहेछ । तपाईँ अमेरिकानो छान्ने कि, लाट्टे पो हो कि, क्यापुचिनो  हो कि अर्थात् लङ ब्ल्याकतिर पो लम्किने कि ? इन्सट्यान्ट कफीमा त स्वादै हुन्न भन्छन् मेरा साथीहरु । रोस्टेड बिनहरुलाई ताजै पिसेर बनाइएको कफी पो कफी भन्छन् उनीहरु ! हो पनि रहेछ । फेरि कफीका दानाका प्रजाति कति ! सय भन्दा बढि प्रजाति हुने रहेछन् । अनि गुगलमा कफी बारे यसो पढ्दा अर्को रोचक जानकारी पाएँ मैले । इन्डोनेशियामा उत्पादन हुने कोपि लुवाक कफीलाई सबैभन्दा अनौठो र महंगो कफी मानिँदो रहेछ । कारण के रहेछ भने पाकेका कफीका दानालाई एक किसिमको लोखर्के जस्तो जन्तुलाई खुवाइने रहेछ । अनि त्यो जन्तुको बिस्टामा निस्केका कफीका दाना धोइ पखाली गरेर बनाइएको कफीको स्वाद कहिनसक्नु राम्रो हुने कुरा चाखेकै पारखीले भने । ए उदेक ! मान्छेले बाँकी चाहिँ केही राखेन नि !


पहिले पहिले हटियाबाट बोरा बोरामा राखिएका चियापत्ती ल्याइन्थ्यो । उमालेर खाइन्थ्यो । उतिसारो चियाहरुको भेद थाहा थिएन । एउटा ठूलो डिपार्टमेन्ट स्टोरभित्र छिरेर चिया खण्डमा हेर्दा पो रिङ्गटा चल्ने रहेछ । कति थरी चिया । जति स्वाद र प्रजाति भए पनि दूधमा हाल्दा गाढा रंग आउने चिया खोज्दै लाँदा ‘इन्डियन चाय टी’ भेटेपछि मात्र ढुक्क भएको थियो मलाई एकपटक । अहिले त आसाम चियाको पारखी बनेकी छु । गत एक वर्षदेखि निरन्तर आसामे चियाको कोशेलीले थेगेको छ । माथि च्याङथापुको लेखबाट हिउँले खाएको चिया र सिल्भर टी भन्दै कहिलेकाहिँ लोकल नेपाली चिया पनि कोशेली स्वरुप फेला पर्छ ।

सडक किनारामा पाइने चिया जत्तिको गाढा र चखिलो चिया त रेस्टुरेन्टतिर पाएकी छैन मैले । अझ भन्ने हो त तराई भेगको चिया मीठो । लोकल भैंसीको दूधमा बनाइएको बाक्लो चिया पिउनुको आनन्दै अर्को । अझ माटोको कपमा हालेर दिएको चियाको त कुरै नगरौँ । हल्का माटोको सुगन्ध आउने चिया ! अहिले त त्यहि चियालाई कहिले बाँसको ढुङ्रामा पकाएर त कहिले तातो बालुवामा उमालेर पनि बनाउने चलन आएको छ । चियालाई हामी नेपाली, बंगलादेशी, भारतीय र पाकिस्तानीले जस्तो गाढा बनाएर त अरुले पिउँदैनन् होला जस्तो लाग्छ । एकताका अष्ट्रेलियामै रहेका बेला बर्मीज शरणार्थीहरुलाई पढाउन जाने गर्थें म । पहिलो दिनमै ती बर्मेली महिलाले दिएको चिया खानू कि फाल्नू जस्तो भयो मलाई । यति गुलियो र कडा थियो कि, के भन्नु र ! त्यस दिनदेखि उनीहरुकोमा चिया खान बन्द गरेँ मैले । त्यसै गरी भियतनामी साथीहरुले खुवाएको कालो कफीले पनि मलाई काबू पारेको छ । हुरुक्कै पार्ने तीतो !

आतिथ्यको सजिलो उपाय भएर होला चिया प्रचलित भएको । अल्छि लागे पनि चिया, फूर्सदमा पनि चिया, थकानमा पनि चिया । चियै चिया । एक पटक एकजना विदेशी साथीले भन्थ्यो, “मैले त नेपाल घुम्दा एक दिनमा पन्ध्र कप सम्म पनि चिया पिएँछु । दूध हालेको लटक्क परेको चिया धेर भएर मेरो त भोक निन्द्रै हरायो । टि टि टि टु मच टि” भन्दै हाँस्थ्यो त्यो । उनीहरु आफैंले चिया बनाउँदा भने दूध, चिनी, चियापत्ती र चिया मसला हालेर भकभकी पकाएको देखिँन मैले । उनीहरु तातो पानी छुट्टै, चिनी छुट्टै र चियाका पोका छुट्टै राखेर आफ्ना खुशीले मिलाएर खान्छन् । यस्तो बाक्लो चिया खाने हाम्रो जीब्रालाई त्यस्तो किर्तने चियाको त स्वादै नहुने । बरु चिया कमानतिर एउटा ठूलो कित्लीमा पाकिरहने पातलो रातो चियाको स्वाद मीठो । बगानमा काम गर्ने कमानेहरु आफ्ना आफ्ना मग भर्छन् र चियालाई पानीका रुपमा सिरिप सिरिप पार्छन् । अनि फेरि कित्लीमा पानी थपिन्छ । एक छुस्को चियापत्ति पनि थपिन्छ । भूटानतिर पनि ठूला डबकामा भरी पातलो फिका चिया खाने चलन थियो क्यार । हाम्रो घरतिर बा आमा त्यसै गर्नुहुन्थ्यो । थोरैले उहाँहरुको धितै नमर्ने । 


पहिले पहिले हाते पत्ती भनेर खस्रो चिया पाइन्थ्यो । त्यसलाई फिका चिया खानमा प्रयोग हुन्थ्यो । अहिले ग्रीन टी प्रचलनमा छ । चियाको गुणवत्ताको कुरा गर्ने क्रममा एकजना सज्जनले नौलो कुरा सुनाएका छन् मलाई । उनी चाहिँ ग्रीन टी उमालेर बाँकी भएका छोक्रा जम्मा गर्ने रहेछन् । अनि ती ढाडिएका छोक्रालाई मसिना किचिरे आलुसँग मिसाएर भुटेर तरकारी पो खाने रहेछन् । त्यस्तो गर्न चाहिँ मलाई अहिलेसम्म जाँगर चलिहालेको छैन । तर चियाका छोक्रा भने हल्का चपाउन थालेकी छु म ।

अनि चिया कफी नै नखाने साथीहरु पनि भेटेकी छु मैले । कुनै हानी नोक्सानी गरिनहाल्ने चिया कफी किन नखाएका होलान् जस्तो लाग्छ मलाई । चियाकै कुरा गर्दा मलाई एकजना छट्टु साथीको याद आउँछ । क्याम्पस पढ्दा साथीहरुका समूहहरु हुन्थे । आफ्ना समूहका सदस्यहरुले एक एक दिन सबैलाई चिया खुवाउने पालो हुन्थ्यो । त्यो छट्टु साथी पनि समूहमा छिरेर दुई चार दिन चिया खान्थ्यो र उसको पालो आउने बेलामा अर्कै समूहतिर पसेर गफमा व्यस्त भएजस्तो गर्थ्यो । म आउँछु है भन्न पनि नछाड्ने तर पालो आएपछि अर्कातिर लाग्ने । क्याम्पस सकिएसँगै हराएको त्यो साथी फेला परेको छैन । कहिँ कतै चिया दाउ गरिरहेको होला त्यो मित्र ।

चिया कफीसँग गाँसिएका हजारौँ याद छन् । हरेक दिनका चियासँग नयाँ कुराहरु गाँसिइरहेका हुन्छन् । त्यसैले चियासँग हजारौँ यादहरु घोलेर पिइरहेकी हुन्छु म । तपाईं चाहिँ के रोज्नुहुन्छ — चिया कि कफी ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 16 December 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




2 comments:

  1. एस्तो ग्यान र अनुभवले भिजेको लेख पढ्न कमै पाइन्छ।

    ReplyDelete
  2. तर ती किचिरे आलु र छोक्राभुटी खानेको नाम आयेन।तेस्तै आसाम चियाका प्रायोजक ज्ञान छेत्री बहादुर छेत्री एबम मनमायादेवी अथवा मुक्ती बराल सरको नाम छुटेछ। तेस्तै च्याङ्थापु चिया पारखी माल्दाजुको नाम आयेन अब त्यो चिया बन्द हुन सक्छ।

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).