मानिसको जन्म र मृत्युमा साइत हेरिंदैन । हुन त आजकल जन्माउने समयको शुभ साइत पनि हेरेर अप्रेसन गरिकन बच्चा जन्माउने पनि निस्केका छन् । तर ती कुराहरु प्राकृतिक चाहिं होइनन् । अन्य सबै कार्यका लागि हामी साइत हेर्छौं । साइतले पनि सधैं काम चाहिं गरेजस्तो लाग्दैन मलाई । कतिपय साइतमै शुरु गरिएका कामहरु बिथोलिएका छन्, भाँडिएका छन् ।
केहि
दशक अगाडिकै घटनाका बारेमा म चर्चा गर्दैछु । हरेक दिनको दैनिकी भित्र पर्ने भएरै
पनि यो साइत र कुसाइतको सीमारेखा बाहिरकै घटना हो । यो घटना आजभन्दा धेरै अगाडिको
भएपनि मलाई हिजो अस्ति घटेजस्तो लाग्छ । त्यतिबेला हाम्रो बसाई कीर्तिपुरको
ट्याङ्गलाफाँटमा थियो । त्यस समयको ट्याङ्गलाफाँटको बाटोको कुरा के गर्नु र ! हिउँदमा त ठिकै हो, तर
वर्षामा अति बिजोग हुने ! सधैं हिलो ग्याजग्याज ! हिलो बाटो नाघेर सुख्खा ठाउँमा
पुग्नका लागि मानिसहरु जुत्ता हिलोले नपुरियोस् भनेर जुत्ता लगाएको ठाउँदेखि घुँडा
सम्म टनटनी प्लास्टिक बाँध्थे ।
युवा
उमेरमा जति पनि काम गर्न सकिने समय थियो त्यो । दिउँसोको जागिर भ्याइसकेर
काठमाण्डौ शिक्षा क्याम्पसमा रात्रीकालिन कक्षामा पनि म पढाउथें । श्रीमान् को
पत्रकारीता पेशाको समय बेटुङ्गाको थियो । तैपनि धेरैजसो उहाँको काम सकिने समय र
मेरो क्लास सकिने समय करिब करिब उस्तै भएकाले हामी बाइकमा संगै घर फर्कने गर्थ्यौं
। वर्षा मौसमको एक रातको घटना थियो त्यो । कीर्तिपुर रिंगरोडसम्म त समस्या थिएन तर
मूलबाटो छाडेर तलतिर झर्नासाथ अनन्त भाष जस्तो बाटो । एक साल त माथि बाटैको घरको
एउटा कोठा भाडा लिएर बाइक राख्ने गरेको थियो तर पछि त त्यहि कोठामा पनि भट्टि
खुल्यो । जाँडका पारखी भक्मिले साहुले कोठा दिएनन् ।
श्रीमान् लाई हिले बाटो कटाएर घरसम्म बाइक
पुर्याउनु, त्यसमाथि मलाई सुरक्षित पछाडि बसाएर, अति नै
चुनौतीपूर्ण काम थियो । एकदमै होशियार भएर उँहा सबभन्दा कम गतिमा बाटाको छेउ
छेउबाट बाइक लाँदै हुनुहुन्थ्यो । म कहिले यो हिलो कट्छ र बाइक बाट ओर्लिनु भन्ने
सोच्दै डराएर पछाडि दुब्केर बसेकी थिएँ ।
अलि अगाडि बढेपछि, होस् गर्दा गर्दै, बाइकको सन्तुलन बिग्रियो । मैले श्रीमान् ले “ला... !” भन्नुभएको सुनें र अनायास मेरो मुखबाट, “गइयो ?” भन्ने शब्द निस्कियो । उँहाले पनि, “गइयो...,” भन्नुभयो । त्यसपछि मेरो सबै होस् हरायो, म चेतनाशून्य भएँ । जब होस् आयो, तब मैले आफूलाई बाटोभन्दा करिब २० फीट तलको धान खेतमा पसारिएको अवस्थामा पाएँ । चारैतिर अँध्यारो थियो । सबै घटनाक्रम सम्झिनलाई मलाई केहीबेर लाग्यो । आफ्नो चेतना पूर्ण रुपमा फर्केपछि म बिस्तारै उठेर बसें र आँखा च्यातेर वरिपरि हेरें । म भन्दा अलि पर्तिर गोडा पसारेर बसिरहनुभएका श्रीमान् जीको छायाँ देखें । उहाँले बिस्तारै हात लम्काएर मलाई छाम्छुम पार्न थाल्नुभयो । त्यस्तो संकटको घडीमा नि मलाई हाँस उठ्यो र मैले हाँस्दै सोधें, “मरी कि ज्यूँदै छ, भनेर छाम्नु भएको हो ? ” उहाँले मलीन स्वरमा, “अँ,” भन्नुभयो ।
केहिबेर त्यत्तिकै बसेपछि श्रीमान् लाई बाइकको
सम्झना आएछ । “बाइक खोइ त?“ भन्दै उहाँले यताउता हेर्नुभयो ।
त्यतिन्जेलमा हाम्रा आँखा अँध्यारोमा अभ्यस्त भैसकेका थिए । हाम्रो बाइक त
बाटोको भित्तामा पलाएको तितेपातीको सानो र कमजोर झ्यांङ्गमा पो अड्किएको रहेछ !
बाफ रे ! त्यो बाइक तितेपातीको झ्यांङ्गमा नथामिई हामी सँगसँगै खसेको भए त किचेर
ठहरै मार्ने रहेछ नि ! त्यो धान खेतमा कुनै चुच्चो ढुंगा, सीसा
अथवा किल्ला भएको भए, र मेरो हेल्मेट नलगाएको टाउको त्यहिँ
जोतिएको भए ! यस्ता कल्पनाले मेरो मन सिरिङ्ग सिरिङ्ग हुनथाल्यो ! धन्न त्यहाँ
हिलो मात्र थियो !
हामीमा
त्यहाँबाट उठेर हिंड्ने शक्ति आइसकेको थिएन । कहाँ गएर हो हाम्री भतिजी रिचा पनि
अलि ढिलै घर फर्कंदै रहिछ । तितेपातीको झाङ्गमा काकाको बाइक देखेर उसलाई उदेक
लागेछ र ऊ निहुरी निहुरी, “काका... काका...,” भन्दै
बोलाउँदी रहिछ । बीस फीट तलबाट मैले “रिचा...!” भनेर बोलाएको सुन्दा एकछिन् त उसको
हंसले पनि ठाउँ छोडेछ र मेरो आवाज पछयाउँदै केहि बेरपछि ऊ बाटो घुमेर हामी भएको ठाउँमा आइपुगी र हामीलाई
लिएर घर गई ।
घरको उज्यालोमा पो देखियो, म त शिरदेखि पैतालासम्म पुरै हिलै हिलो पोतिएर हिले माछो जस्ती भएकी रहेछु । त्यसैले त अर्की भतिजी सेवा मलाई देख्नेबित्तिकै, “आमा...! सानिमा, के भयो?” भन्दै अत्ताल्लिई र कराई । त्यो कोलाहलले घरका अरु सदस्य र टोल छिमेकका मानिसहरुको पनि शान्ति भङ्ग गरेछ क्यारे । एक एक गर्दै सबैजना हातमा टर्च लिएर आए । माथि झाडीबाट कसैको सहयोग लिएर छिमेकी बनमाली दाइले बाइक घिस्याउँदै ल्याइदिनुभयो ।
मलाई
लाग्छ, त्यो रात मान्छेको कल्पनाभन्दा धेरै बाहिरको कुनै अदृश्य शक्ति आएर
हामीलाई बँचाएको थियो । नत्र साधारण अवस्थामा २–३ किलोको तितेपातीको झ्यांङ्गले
८०–९० किलोको मोटरसाइकल थाम्न सक्छ र ? अनि त्यत्रो
भीरबाट सिधै तल पछारिंदा कतै, केहीमा नठोकिइ, कुनै
ठुलो चोट पटक नलागी सर्लक्क उम्किने सम्भावना कत्तिको हुन्छ ? भोलिपल्ट
उज्यालामा आफू लडेको ठाउँ हेर्दा त आङ्ग नै सिरिङ्ग
भयो । धन्न बाँचिएछ जस्तो लाग्यो । त्यहाँ त बडेमानका चुच्चे ढुङ्गा पनि रहेछन् ।
त्यहाँ टाउको बजारिएको भए आजको कथा लेखिने थिएन होला ।
एकचोटी
मेरी माइली दिदीको सानु छोरो ऋषभ खेल्दाखेल्दै
कता हो कारमुनि पसेको थियो अरे । धन्न उसलाई केहि भएनछ ! पछि त्यस्तो कुरो
सुन्दा मुवाँले रिसाउँदै माइली दिदीलाई
हकार्नु भएको थियो, “ए रंजी ! त्यो छोरोलाई राम्ररी हेर्नु पर्दैन ? त्यो
बालखलाई कारले किचेको भए तँ के गर्थिस्?” दिदीले चाहिँ केहि नभए जस्तो
गरेर आरामले जवाफदिनुभएको थियो, “आ... के हुन्छ र ? काल
नआई केहि हुँदैन ! भगवानले हात थापिहाल्नु हुन्छ नि !” मेरी माहिली दिदीको जस्तो
सजिलो तर्कसंग म पूर्णतः सहमत नभएपनि
हाम्रो त्यो दुर्घनाग्रस्त रातमा भनें भगवानले पक्कै हात थापिदिएको कुरामा म
विश्वस्त छु ।
मथि उल्लेखित दुवै घटना समय र
परिस्थितिका उपज थिए । यसमा साइत वा कुसाइतको कुनै कुरा थिएन । जस्तोसुकै साइतमा
बनाइएका घरहरु पनि समय क्रममा धुलिएका छन् । जस्तो साइतमा जन्मे पनि मृत्यु
अवश्यभावी छ । समयका अगाडि केहि पनि अमर छैन । जीवनका बचाई क्रममा आइपर्ने उतार
चढाव जीवन रहुन्जेल रही नै रहन्छन् । साइतमा चलेपनि नचलेपनि ठक्कर त लाग्दै गर्छ ।
लड्दै गरिन्छ । लडिगए उठ्नु र धुलो टक्टक्याउदै अघि बढ्नुचाहिँ छाड्न नहुने रहेछ
।
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).