आफ्ना भोगाइ सबैलाई महत्वपूर्ण नै हुन्छन् । त्यसै भएर होला ती भोगाइहरु स्मृति र वार्तामा बारम्बार दोहोरिइ रहन्छन् । सयभन्दा बढि परिवार बस्ने ससानो बस्ती भूइँचालोले हल्लाइदिँदा मान्छेहरु भुरुरुरु आ–आफ्ना गुँडबाट निस्किए । रोटे कमिलाको गोलालाई कुनै बच्चाले घोच्दा कमिलाहरु छरपस्ट भए झैं मान्छेहरु छताछुल्ल भए । यो पूर्वसंकेतबिनाको आतेस थियो । शनिबारको दिन हामीजस्तै अन्य परिवारहरु पनि बिहानको खानापछि सुस्ताएका थिए होलान् । हाम्रा अघिल्तिर आफ्नो भित्तो चिरियो । हामीले भर्खरै किनेर सरेको अपार्टमेन्ट थियो त्यो । भर्खरै रंगरोगन लगाएर टिलिक्क पारेको । हेर्दाहेर्दै भित्ताका सिमेन्ट प्लाष्टर पक्पकी उक्किए । त्यो उल्का नसेलाउँदै तलबाट साइरन बज्यो । हामी बाहिर निस्कँदा त आधाजसो मान्छे आँगनमा उभिएका थिए । सबैका अनुहार विष्मयकारी थिए । पृथ्वी डगडग काँपिरहेकै थियो । हामी अग्ला अग्ला अपार्टमेन्टतिर हेर्थेउँ । हरेक पटक जमीन थर्थराउँदा धूलोको मुस्लो छुट्थ्यो । मानव कोलाहल मच्चिरहेको थियो । फोनहरु झ्याप्प भए । पर बल्खुतिर धूलाको मुस्लो मडारिइरहेको थियो । छिमेकी अपार्टमेन्ट बिल्डिङ्को माथिल्ला तलाका भित्ताहरु झरिसकेका रहेछन् । त्यहाँ अस्थिपंजर मात्र देखियो । यो अकल्पनीय भयानक दृष्य थियो । मानिसहरु निहत्था र निसहाय साबित भएका थिए । यो मध्य दिउँसोको घटना थियो तर छिनभरमै साँझ पर्यो । पानी थिएन । बत्ती थिएन । घरभित्र पसेर खाद्य वस्तु बाहिर ल्याउने साहस कसैमा थिएन ।
हो, त्यतिबेलै
नन्दु दाइको उदय भयो । उनले मानिसहरुलाई एकत्रित गरे । निर्बलहरुलाई बस्ने
व्यवस्था गर्न र केही खानेकुरा तयार गर्न अगुवाइ गरे । छिनभरमै नन्दुका अगुवाइमा
ठूलो झ्याँगा बस्यो । चाउचाउ तयार भयो । हामी सबै लाइनमा उभियौँ । यस समयमा कसले
के खान्छ र कसलाई के मन पर्छ भन्ने कुराको कुनै अर्थ रहेन । त्यो लाइनमा फिल्मका
डाइरेक्टर थिए, राष्ट्रिय रुपमा पहिचान बनाएका गायक थिए, पत्रकार
थिए, व्यापारी थिए, मुक्केवाज थिए, ठेकेदार
थिए, लेखक थिए, प्राज्ञ थिए, राजनीतिकर्मी
थिए, प्रोफेसर थिए र अरु थुप्रै पहिचानवालाहरु थिए । जो जो जे जे रुपमा
चिनिएका भए पनि त्यस विपदका घडीमा ती कोही थिएनन् । त्यो भयंकर प्राकृतिक विपदमा
ती सबै निरीह मानव मात्र थिए । जमीन काँपिरहेकै थियो । त्यसमाथि अँध्यारो थपियो ।
आठ–नौ बजेसम्म त विभिन्न अड्कलबाजी र बहस चले । त्यसपछि बालक र वृद्धहरुको क्लान्त
शरीरले आराम खोज्न थाल्यो । त्यतिबेला पनि नन्दु दाइ केही म्याटहरु लिएर अघि बढे ।
उनले कम्युनको उदाहरण दिदै सबैलाई अटाएर ढल्किने बन्दोबस्त मिलाउन अगुवाइ गरे ।
नन्दु छैठौँ
तलामा बस्थे । मलाई लाग्थ्यो नन्दु ठूलै मान्छे हुनुपर्छ । ‘ठूलै’ को अर्थ उनी
कुनै जागिरे, व्यापारी वा यस्तै केही हुनुपर्छ । बिहान बेलुकै पालेले उनलाई कसेर
सलाम ठोक्थ्यो । हामी गेटबाट भित्र बाहिर गर्दा मन नपरी नपरी गुड मर्निङ मात्र
भन्ने पाले दौडेर नन्दुको व्याग बोकेर सिंढीसम्म आइपुग्थ्यो । तर नन्दु एक अवकाश
प्राप्त व्यापारी रहेछन् ।
उमेर ढल्किसकेका र दुर्बल नन्दुको धपेडि देखेर उनकी श्रीमतीले धेरै कुदाकुद नगर्न अलि कडै स्वरमा भनिन् । तर नन्दुले नरम स्वरमा नजिकै आएर भने, “गर्ने नै परेका बेला हो । हामी संसारै बदल्न त सक्दैनौँ नि । तर केही आफूले सकेको प्रयास गर्न सक्छौँ ।” त्यसपछि उनी टुक्रुक्क बसे र नीति कथा सुनाए । एउटा मानिस सधैँ सधैँ मर्निङ वाक गर्न समुद्र किनारातिर जाँदो रहेछ । एकदिन त्यसरी नै हिँड्ने क्रममा उसले धेरै स्टारफिसहरु किनारातिर आएर थुप्रेका देखेछ । अलि पर पुग्दा एउटी सानी नानी ती फिसहरुलाई एक एक गर्दै पानीतिर हुत्याउँदी रहिछ । त्यो देखेर बूढाले सोधेछ – “के गरेको नानी ?”
केटीले
उत्तर दिई –“यी
स्टारफिसहरु पानीमा फर्केर जान सक्तैनन् । यिनलाई पानीतिर हाल्दैछु ।”
अनि
त्यो बूढो मान्छेले भनेछ – “त्यस्ता
स्टारफिस समूद्री किनारभरी छन् । कसरी सम्भव हुन्छ त ?”
“सबै
फाल्न त सम्भव नहोला । तर मैले जति सक्छु, तिनीहरुले त
फेरि नवजीवन पाउँछन् नि ।”
अनि बूढालाई लागेछ, हो नि कुरा । त्यसपछि ऊ पनि सानी केटीलाई सघाउन थालेछ । त्यति
सुनाएर उनी फेरि भीडमा अलप भए ।
ती अजङ्गका अपार्टमेन्ट हाउसहरु
अँध्यारा गुफा जस्ता, सुरुङ जस्ता देखिन थालेका थिए । त्यो
शनिबार राती कसैले फर्केर फेरि गुफामा छिर्ने आँट गरेन । भोलिपल्टको उज्यालोले
विध्वंशका सन्देशहरु बटुलेर ल्यायो । मानव निरीहताको उदांगो तस्वीर हामी सबैसामु
पेश गर्यो।
केहि
दिन तितरबितर भए पनि हामी सबैले धूलो टकटक्याउनु नै थियो । मानिसहरु जागे ।
संरचनाहरु भत्काइए, टालिए, छोपछाप पारिए । हाम्रा भरंग भएका मनहरु पनि कसोकसो थुम्थुम्याइए ।
मानिस आफ्नै लयमा फर्कियो । आ–आफ्नो पहिचानको कोट धारण गर्यो र पुनः पुरानै
स्वरुपमा फर्कियो । आफ्नै कुरा गर्दा हाम्रो अपार्टमेन्ट मर्मत गरेर बस्न लायक
ठहरियो । मर्मत क्रममा दिनहरु फूर्सदिला बने । अनि नन्दु दाइका गफमा सामेल हुन
मौका पाइयो । जमीन काप्ने क्रम आक्कल झुक्कल चलिरहेकाले मान्छेहरु उज्यालामा
बाहिरैतिर हुन्थे । अझ तलका वृद्ध प्रोफेसर ‘झा सर’ र नन्दु त बिहानैदेखि बगैंचामा
मै हुन्थे । गफ सुन्न बसेका ससानो झुण्डमा म पनि मिसिएँ । उनी उता उनको जन्मस्थल
धनगढीदेखि नेपालगञ्ज हुँदै पूर्व सिक्किम सम्मका अपडेटहरु ल्याउँदै थिए । गफ कुनै
सिलसिलामा चलिरहेको थिएन । भूइँचालोको विषयमा उनले भनेको कुरा मलाई घत लाग्यो, “हाम्रो
नियन्त्रणमा के छ ? आफ्नै दिसा पिसाब पनि छैन । आएपछि आयो, आयो । रोक्ने
तागत कसैमा हुँदैन । यो श्वास आफैं
फेरिन्छ, यो मुटु आफैं चल्छ । हाम्रो शरीरका धमनीहरुमा आफैं रगतका खोलाहरु बग्छन् । हाम्रो नियन्त्रणमा सबै
भएजस्तो लागेको मात्र हो । तर यो महाभ्रम हो । हाम्रो नियन्त्रणमा न त हाम्रो जन्म
छ, न त मृत्यु ।” त्यति भनिसकेर उनले वरिपरि हेरे । ठूलो महत्वको कुरा
गरेझैं लागेछ क्यारे, उनी प्रफूल्ल देखिए र भने, “नन्दुका
बतासा ।“ तर गफ बतासे
नभएर सत्यमा आधारित थियो ।
“आउनूहोस
न बसौँ, एकछिन् नन्दुका बतासे गफ सुनौँ । हेर्नोस्, मेरा
गफ हानीरहित छन् । म कसैलाई घोचपेच गर्दिन । सानो पार्दिन ।“ नन्दुले मलाई देखेर भने । नन्दुका वरिपरि महिला, पुरुष
बराबर थिए । म एकजना पाकी भनिन मन नपराउने तर पाकै उमेरकी भद्र महिला छेउमा बसेँ ।
ती महिलाले थपिन्, “हो, यो नन्दुका गफ कटन क्यान्डी जस्तै हुन्छन् । हेर्नमा राम्रो । खानमा
मिठो । फुस्स बिलाइजाने किसिमको ।“
त्यो राम्रो उपमा थियो । उता नन्दु आफ्ना सुरमा गफ मारिरहेकै थिए ।
त्यहाँ भुकम्पले थपेका समस्यामा कुरा उठे । अनन्त चिन्ताका पहाड पन्छाउँदै फेरि नन्दु दादा बोले । “यी चिन्ता टेन्सन लेनेका नही देनेका है ।“ नन्दु भन्दै थिए, “एउटा तपाईँ हामीजस्तै सामान्य मानिस रहेछ । उसलाई सामान्य खान लाउनको दुःख रहेनछ । तैपनि ऊ एकपछि अर्को चिन्ताले गर्दा त्यसै छट्पटाउँदो रहेछ । उसले गाउँमा एउटा फकिर घुम्दै आएर खोला किनारामा बसेको छ भन्ने सुनेछ । त्यो फकिरसँग जस्तो पनि समस्याको समाधान हुने रहेछ । त्यति भएपछि त के चाहियो! मानिसहरुको लर्को त्यतै लागेछ । अनि त्यो दुःखी मानव पनि भीडमा छिरेछ र लाइनमा उभिएछ । साँझपख उसको पालो आएछ । अनि फकिरले सोधेछन्, “तिम्रो के समस्या छ ?”
“हजुर, यी
समस्याले मलाई छाडेनन् । एउटा समस्या सामाधान गरिसक्दा, अर्को
आइलाग्छ । यिनबाट पार पाउन पाए, जीवन कस्तो धन्य हुन्थ्यो होला ।“
“ल
तिम्रो समस्या जटिल रहेछ । त्यसको समाधान भोलि बिहान म गरौँला । अहिलेलाई एउटा काम
गर । ऊ त्यहाँ पचासवटा ऊँट छन् । ती ऊँटका हौदा हेर्ने मान्छे आज विमारी छ । अब
तिमीले तिनीहरुलाई दानापानी गर र सबै ऊँटलाई बसाएर तिमी पनि सुत्नू । त्यति काम
गरेर भोलि भेटुम् है त ।“ फकिरले अह्राएछन्
।
त्यो
मान्छेले पनि आफ्नो समस्याको समाधान हुने आशामा “हुन्छ” भन्ने उत्तर दिएछ ।
त्यसपछि उसले ऊँटलाई दाना पानी दियो र बसाउने प्रयत्न गर्न थाल्यो । केहि ऊँट
सजिलै बसे । केहि आफैं बसे । केहि चाहिँ मरिगए बसेनन् । फेरि केहि बसेका ऊँट पनि
उठेर उग्राउन थाले । उसले रातभर प्रयास गर्यो तर सबै ऊँट एकैचोटि बस्दै बसेनन् र
उसले पनि सुत्न पाएन ।
भोलिपल्ट
राता गोल्भेडाजस्ता अनिँदा आँखा लिएर ऊ फकिरकहाँ गयो । फकिरले सोधे –“निद्रा राम्रो पर्यो होला नि ?” अनि उसले बेलिबिस्तार लगायो
– “कहाँ लाग्नु र निन्द्रा ? ऊँट हरु एकैचोटि
नबस्दा रहेछन् ।” फकिरल भने, “हाम्रो जीवनमा आउने समस्या पनि यिनै
पचास ऊँटका हौदा जस्तै हुन् । एउटा सुते अर्को उठ्छ । कुनै समस्या सहजै सुल्झिन्छ, कुनैलाई
कति प्रयत्न गर्दा पनि सुल्झिदैन । लौ भयो त भनेर माया मार्यो फेरि सुल्झिन्छ । सबै ऊँट सुताएर सुत्छु भन्नु र
समस्याजति सबै सुल्झाएर ढुक्क हुन्छु भन्नु उस्तै हो । अब त कुरा बुझ्यौ होला ।”
यो
नन्दुको बतासे गफ मात्र थिएन । भूइँचालाले उत्पन्न गराएका हजार समस्याहरुको एउटा
समाधान पनि थियो । यसरी भूइँचालाको सम्झना मात्रले पनि नन्दु दादाका चित्र अगाडि
आउँछन् । हँसी ठट्टामा पाका दादा आफ्नो कलप लगाएको जुल्फी फर्काएर घोप्टे जुँगा
हल्लाउँदै सुसुप्त रुपमा कतै आत्मज्ञान बाँडिरहेका होलान् जस्तो लाग्छ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 February 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]