Saturday 12 February 2022

एक रातो गुलाफ तिमीलाई

 प्रिय कबीर,

                धेरै दिनपछि दिन उघ्रिएको छ । त्यसै त जाडोको मौसम, त्यसमाथि धुम्मिएका दिनहरु, सिमसिमे पानी अनि यो अदृश्य कोरोना भयले मलाई घरभित्रै थुनिदियो । चिया पकाएर पिउन समेत झिँजो लाग्छ आजकल त । सिरकभित्र पसेर पढिरहनु र मन उडाइरहनु मात्र मेरो दिनचर्या भएको छ केहि दिनदेखि । म केहि दिनदेखि तिमीलाई इमेल लेखौँ भनेर सोच्दै थिएँ । त्यो विचार पनि चिसोसँगै कठ्याङ्ग्रिएर बसिरह्यो । आज मात्र मनै उज्यालो हुनेगरि झलमल्ल घाम लागे ।


        मैले सोचेँ, एउटा गुलाफ तिमीलाई दिनुपर्ला फेब्रुवरी १४ पारेर । हुन त वैंशलाई दफन गरिसकेका उमेरका मानिस हामी । तैपनि त्यसले अर्थ राख्ला नि त । एउटा टिनएजरले दिने गुलाफ र अधवैँशेले दिने गुलाफमा भावात्मक फरक हुन्छ नि । आलाकाँचाहरु काँढारहित गुलाफ खोज्दछन् । भरिसक्ये रातै रंगको होस् त्यो गुलाफ भन्ने ठान्छन् । मलाई पनि रातै गुलाफ दिन मन छ तर काँढा सहितकै । त्यो प्राकृतिक नै होस्, आफ्ना भागको काँढा बोकेको । फेरि मैले तिमीलाई सर्प्राईज दिने विचार गरिन । एउटा गुलाफ लिएर म आउनेछु र हामी कफीसँगै पुराना गफ गर्नेछौँ । यो पुनर्मिलनको समय हुनेछ । हामी काँढाहरु सहितको गुलाफलाई साक्षी राखेर एक एक कप कफी पिउनेछौँ ।

        यो गुलाफ सम्झिँदा मैले सोचेँ– किन मानिसहरुले गुलाफलाई नै प्रेमको प्रतीकका रुपमा लिए होलान् । मखमली फूललाई छानेको भए पनि त हुन्थ्यो । रातै चाहिने भए लालुपाते थियो या घन्टी फूल पनि सुन्दर नै हुन्छ । फेरि आफ्नै मनले भन्यो– यो गुलाफको सर्वव्यापकताको र उपलब्धताको कारणले होला । यो फूल शायद संसारभर उपलब्ध हुँदो हो । अनि अरु फूलले भन्दा गुलाफले बढि स्याहार पनि खोज्छ । अनि प्रेमको प्रतीकको अर्थ म आफैंभित्र खुलेर आयो । यसको कोमलता, यसको माधुर्य र सौन्दर्यले गर्दा नै यो फूल अब्बल बनेको हुनुपर्छ । यी तीखा काँढा नहुँदा हुन् त कति सजिलै निमोठिन्थे होलान् गुलाफहरु । अनि यसका पत्रहरु मानव मनका पत्रहरु जस्तै । बडो जतनले मात्र चलाउन मिल्ने ।

        कबीर, मैले तिमीलाई धेरैपटक ब्रुसका बारेमा भनिसकेकी छु । बीस वर्षकै उमेरमा बास्केटबल खेल्ने क्रममा लडेर ढाडमा चोट लागेर असहाय जस्तो बनेको ब्रुस बढो दयालु मानिस हो । मैले भेट्दा नै ऊ झण्डै साठी वर्षको थियो । आफ्नी नब्बेमाथिकी आमासँग अष्ट्रेलियाको मेलवर्न सबर्बमा बसिरहेको इरानी मूलको ब्रुस र उसकी आमा गुलाफकै पर्याय थिए मेरालागि । आफ्ना घर अगाडिको फूलबारीमा उसले गुलाफ मात्र लगाएको थियो । बिहान बेलुकै आमा छोरा ती फूलमा पानी हाल्थे अनि झार उखाल्थे । ब्रुस बढो जतनसँग कैंचीले गुलाफका फूलसँगैका हाँगाहरु काट्थ्यो र उसका बैठककोठाका फूलदानहरुमा सजाउँथ्यो । प्रशस्त फूल फूलेको समयमा एकदिन आफ्नो बक्र काया लिएर ऊ मेरो ढोकामा आयो र आवाज दियो । ढोका खोल्दा ब्रुस एउटा फूल लिएर ढोकामा उभिएको थियो । “दिस इज फर माइ सिस्टर । ह्याप्पी भ्यालेन्टाइन डे,” उसले भन्यो । यो दिन त प्रेमीहरुलाई छुट्याइएको दिन हैन र ब्रुस ? भन्दा उसले बहाउल्लाहको भनाइ उद्धृत गर्दै हामी सबैले एक अर्कालाई प्रेम गर्ने भएकाले सबैलाई उत्तिकै महत्व राख्ने दिन हो भनेर मलाई बुझायो। ब्रुसको गुलाफले विशुद्ध प्रेमको प्रतिनिधित्व गर्थ्यो । त्यो उत्कट प्रेमीहरुले दिने जस्तो विषय, बासना र आसक्तिविहीन गुलाफ थियो ।

        कबीर, म यसपाली तिमीलाई यस्तै विशुद्ध प्रेमले भरिएको एउटा रातो गुलाफ दिन चाहन्छु । त्यसको बदलामा एउटा कविता तिमीले पक्कै सुनाउने नै छौ । एक कप कफी र एउटा कविताले कसरी समय रोक्न सकिएला र ? मलाई जस्तै तिमीलाई पनि सिनेमामा रस हुँदो हो त हामी त्यस विषयमा पनि कुरा गर्न सक्थ्यौँ । शायद हामी पुराना दिनमा फर्किन सक्छौँ । तिमी मलाई सोध्न सक्छौ किन हामी पुराना दिनहरुको सम्झना गर्दै त्यहि समयका कुरा दोहोर्याउनमा मज्जा मान्छौँ ? तिमीले र मैले एउटै कुरा नसोच्न सक्छौँ । मलाई त बारम्बार त्यो कुरा मनमा आइरहन्छ– हामी किन पुराना दिनमा फर्किन चाहन्छौँ ? पुरानो सौर्य, कान्ति र प्रतिष्ठा फेरि फेरि पनि खोजिरहन्छौँ ? तिमी शायद भन्छौ होला– अरु केहि उपाय नै छैन । भविष्य त कसरी बताउन सकिन्छ र ? हो, भविष्यका कुरा सबै काल्पनिक नै हुन्छन् । अनि वर्तमान त क्षणीक हुन्छ । वर्तमानमै टेकिरहन त ठूलो साधना चाहिन्छ । मन फुत्तै चिम्लेर विगततिर पुगी नै हाल्छ । तर सबै विगत कहाँ उत्साहप्रद हुन्छ र ? सामाजिक कसीमा अव्यवहारिक लाग्ने सम्पूर्ण विगतलाई हामी आफ्नै मनभित्र खाल्डो खनेर गाडिदिन्छौँ । ती नमीठा विगतका यादहरु नदोहोरिउन् भन्छौँ तर पानीभित्र डुबाउन खोजिएका बेलुनजस्तै ती माथिमाथि उत्रिरहन्छन् । तिमीलाई त्यस्तो लाग्दैन कबीर ? मलाई त एउटा गुलाफको फूलले हाम्रो सिङ्गो मनलाई प्रतिविम्वित गरेको जस्तो पनि लाग्छ । एउटा सुन्दर गुलाफको फूल अनि काँढाहरु । काँढा बिनाको गुलाफको फूलको परिकल्पना गर्न सकिँदैन । त्यस्तै त होला हाम्रो मन पनि । सुन्दर र असुन्दर विचारहरुको फूलबारी । यसले हाम्रो जीवनकै पनि प्रतिनिधित्व गरेजस्तो लाग्छ बेला बेला – सुख अनि दुःख, फूल र काँढाको संमिश्रण जस्तो ।


        सिनेमाको कुरा गर्दा मैले भर्खरै मात्र एउटा सुन्दर सिनेमा हेरेकी थिएँ । त्यसमा एउटा प्रेमीले प्रेमिकालाई दिन भनेर सोह्र वर्षको उमेरदेखि प्रत्येक वर्ष भ्यालेन्टाइन डे का दिन सुन्दर गुलाफको फूल किन्छ । तर के के व्यवधान आइपर्छन् र ऊ फूल दिन असमर्थ हुन्छ । ती फूलहरुलाई ऊ सुकाउँछ र जतनसँग राख्छ । दर्जनभन्दा बढि सुकाएका फूलहरु कुनै दिन त मौका पर्ला अनि दिउँला भनेर पर्खिरहेको हुन्छ । ती प्रेमीहरुका बीचमा भेटघाट र बोलचाल नभएको अवस्था भने होइन । ऊ केवल भ्यालेन्टाइन डे कै दिन गुलाफको फूल उपहार दिन चाहन्छ । तर दुर्भाग्यवश् त्यो दिन कहिल्यै आउँदैन । उसकी प्रेमिकाको एकदिन कार दुर्घटनामा मृत्यु हुन्छ । अन्त्यमा, त्यो प्रेमी ती फूलहरुलाई लगेर भ्यालेन्टाइन डे कै दिन पारेर चुपचाप आफ्नी प्रेमिकाको चिहानमाथि चढाइदिन्छ र भन्छ, “पश्चाताप छैन । यी तिम्रा लागि भनेर छुट्याइएका फूलहरु मैले तिमीसम्म पुर्याएको छु है ।” यी मर्मस्पर्शी हरफहरुले मेरो मन हुँडलेर ल्यायो । तिमीलाई सम्झेर केहि क्षण नयननीर (यो शब्द मैले गोपी दाजुबाट सापटी लिएको है कबीर) झारेँ । जीवनको क्षणभंगुरताको पराकाष्ठा देखाइएको यो सिनेमा मेरो मथिंगलमा अझै  आलै भएर घुमिरहेको छ ।

        कबीर, त्यही फिल्मको प्रभावमा परेर मैले तिमीलाई फूल दिने निर्णय गरेको भन्ने तिमीले ठानेका छौ भनेँ तिमी गलत । एउटा गुलाफ मैले त्यो सिनेमाको पात्रले झैं मनमनमा तिमीलाई दिने इच्छा गरेकै हो । तर मनमा राखेको फूल नओइलाउँदो रहेछ । हरेक भ्यालेन्टाइन डे मा दिउँला भनेर मनमै साँची राखेका फूलहरु मनमा मगमगाउँछन् । तर यसपाली भनेँ (सिनेमाकै प्रभाव होला) तिमीलाई एउटा फूल दिइछाड्ने बाचा गरेकी छु । यो क्षणभंगुर चोला, एउटा फूल दिन नपाई ओइलाइजाला कि भनेर नि ।

       


    अँ कबीर, यो सिनेमा स्क्रिनको कुरा गर्दा फेरि तिमीलाई सम्झिन पुगेँ । तिमी भन्थ्यौ नि हामी स्क्रिनभित्रका दृश्यावलीसँग बग्दै जान्छौँ; तिनै दृश्यहरुसँग बहकिन्छौ तर स्क्रिन देख्दैनौँ । संसारलाई पनि एउटा त्यस्तै ठूलो सिनेमाको स्क्रिन मानेर हेरिहेर त भनेर तिमीले भनेको म कहिल्यै बिर्सन्न । साँच्चै नै एक्लै बसेर यो विशालकाय संसारको आँखाभरिको दृश्य हेर्दा त मलाई ठूलो पर्दामा सिनेमा हेरेकै भान हुन्छ । तर त्यो एकाग्रता कहाँ टिकिरहन्छ र !

        म फेरि पनि त्यहि सिनेमाको पात्रका हरफ सम्झिरहेछु । अस्तिसम्म आफ्नो फूलबारीमा पानी हाल्ने ब्रुसकी आमा मरियम बितेको खबर सम्झिन्छु । अब एउटा गाढा रातो रंगको गुलाफ लिएर म भ्यालेन्टाइन डे कै दिनमा तिमीलाई भेट्नेछु । त्यो एउटा नओइलाउने फूल हुनेछ । त्यो फूल हाम्रो जीवनको क्षणभंगुरता सम्झाउने एक प्रतीक हुनेछ । म फूल लिएर अवश्य आउनेछु, पर्खिराख है कबीर ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 February 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).