Friday 4 February 2022

पैसाको बिस्कुन

 



        दन्त्यकथा जस्तो लाग्ने बाल्यकालको एक घटना म सम्झिन्छु । एउटी वृद्ध हजुरआमा हुनुहुन्थ्यो । उहाँ मेरी साथीकी बुढीफुपू हुनुहुन्थ्यो । सानैमा बैधब्य बेहोर्नुभएकी बूढी मान्छेको यस्तै दुई तीन वर्ष अगाडि मृत्यु भयो । सात वर्षमा विवाह भएकी ती हजुरआमाले एघार वर्षको उमेरमा नै पति गुमाउनुभयो । त्यत्रो लामो पट्यारलाग्दो जीवनमा कति निराशाको भारी लिएर बाँच्नुभयो होला उहाँ । हो
, तिनै बुढीफुपू एकदिन हिउँदका समयमा कौशीमा घाम ताप्न बसिराख्नु भएको थियो । हामी खेल्दै खेल्दै त्यहीं पुग्यौँ । उहाँले सानो सुकुलमा नोटहरु सुकाउन राख्नुभएको रहेछ । ती नोटहरु हावाले उडाउला भनेर ससाना गिट्टीहरुले एकएक गरी थिच्नुभएको रहेछ । हामी पैसा चिन्ने भइसकेका थियौँ । फुपूसँग भएको नोटहरु देखेर अलिकति त लोभ पनि पलायो तर क्षणभरमै हराइगयो । किन यसरी पैसा सुकाउनु परेको नि भनेर सोध्दा उहाँले भन्नुभयो– “यी कागज हुन् । ओसिन्छन् र नासिन्छन् । यिनको जतन गरे, आफूलाई आड हुन्छ नि ।” हामीलाई उहाँका कुराको भावार्थ बुझ्ने समय कहाँ थियो र ? हामी गट्टा खेल्नमा लाग्यौं । शायद निसन्तान फुपूको आड भरोसा ती निस्प्राण नोटहरु थिए होलान् ।

          साथीको परिवारले फुपूलाई ससम्मान राख्यो । उहाँले जोगाएका पैसा उहाँले खर्च गर्नुपरेन । तर उहाँ बितेपछि ती वर्षौंदेखि जतन गरेका रुपैँयाका मुठा भनेँ उहाँसँगै रहेछन् । मसिनो सूती कपडामा बाँधेर राखेका ती रुपैँया उहाँले आफ्ना कन्तुरमै छाडेर जानुभएको कुरा साथीले मलाई सुनाइन् । शायद यसरी गरेको जुगाड छाडिजानुपर्ने ज्ञान उहाँलाई थाहा थियो होला र त उहाँले एउटा सानो कथा सुनाएको मलाई अझसम्म सम्झना छ ।

          त्यो गोब्रे कीराको कथा थियो । गोबर भनेपछि हिरिक्क हुने र गोबर खेल्न मन पराउने कालो अह्ररो गोब्रे कीरा देखाउँदै उहाँले त्यो कथा सुनाउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो – “ल हेर, त्यो गोब्रे कीरा । यसले गोबर भेटेपछि त्यसैमा रुमलिन्छ । दिनभर लगाएर एउटा गोबरको कसार बनाउँछ र साँझ परेपछि ठेल्दै ठेल्दै आफ्नो बासस्थानतर्फ़ लैजान्छ । तर त्यो गोब्रे कसार त्यस प्वालबाट छिर्दैन भन्ने कुरा उसले त्यहाँ पुगेपछि मात्र थाहा पाउँछ । अनि त्यो कसार त्यहिँ छाडेर प्वालमा अलप हुन्छ ।” त्यो कुरा त कथा भन्दा पनि यथार्थ नै थियो । तर त्यस यथार्थको पछिल्लो खण्डमा उहाँ मानिसलाई जोड्नुहुन्थ्यो । मान्छे पनि गोब्रेकीरा जस्तै हो । कति हो कति भारी जम्मा गर्नु पर्ने तर रित्तै बाटो लाग्नु पर्ने । त्यो नीति कथा सुनाउने फुपू पनि अपवाद चाहिँ हुनुभएन क्यारे । उहाँले बाटेका कसार त यतै
छाडिजानुभयो ।

एउटा नयाँ पाठ

          फुपूको देहावसानपछि एकपटक तिनै पुराना कुराहरुका सन्दर्भमा उहाँको बुढेसकाल सुखद नै रहेको चर्चा चल्यो । यसै कुराका क्रममा उहाँलाई ‘राम्रोसँग पालिएको’ भन्ने वाक्यांशमा साथीको बुबाले आपत्ती प्रकट गर्नुभयो र भन्नुभयो – “गाई वस्तु, भेडाबाख्रा, कुकुर, बिराला पो पालिन्छ त । मान्छेले मान्छेलाई पाल्ने भन्ने कुरा त सुहाउँदैन । असक्त अवस्थामा हेरचाह गरिएला, त्यो बेग्लै कुरा हो ।” हो, त्यो कुरा मेरा लागि गतिलो पाठ थियो । हो पनि, कसरी आफ्ना जन्मदातालाई ‘म बाबुआमा पाल्दैछु’ भन्नु ? छोराछोरीहरु त बाबुआमाका कमाई हुन् । जसरी जुन तवरले भए पनि बाबुआमाले छोराछोरी हुर्काएका हुन्छन् र औपचारिक वा अनौपचारिक शिक्षा दिएका हुन्छन् । अनि बाबुआमा अशक्त भएका अवस्थामा छोराछोरीले पालिरहेका हुँदैनन् । तिनले त केवल आफ्नो कर्तव्य निर्वाह मात्र गरिरहेका हुन्छन् । बाबुआमाकै सम्पत्तिका भरमा बसेका छोराछोरीले पनि त्यो ‘बाबुआमा पालेको छु’ भन्ने वाक्यांश प्रयोग गरेको सुन्दा मलाई आजकल बाबुआमाको अनादर गरिएजस्तो लाग्छ ।

          हुन त यी अनादरका श्रृंखला शब्दमा मात्र नभएर व्यवहारमा पनि छ्यापछ्याप्ती पाइन्छन् । आफैंले हुर्काएका र शिक्षित भनिएका छोराछोरीहरुले समेत बाबुआमाका चित्त कुँड्याएका कुरा कथा, उपन्यास र फिल्मदेखि सामान्य जनजीवनमा प्रशस्त भेटिन्छन् । मेरी साथीकी बुढीफुपूले जस्तै बुढेसकालमा नोटका बिस्कुन लगाउँदै गरे अलि माया, प्रेम पाएका घटना पनि छन् ।

          एक व्यक्तिले बाँचेको समय, परिस्थिति र घटनाक्रम उसको पछिल्लो पिँढीले बाँचेको समयभन्दा फरक हुन्छ । यो कुरा दुवै पुस्ताले राम्रोसँग नबुझेको अवस्थामा गृहकलहको जन्म हुन थाल्दछ । हामीभित्र लुकेर रहेका शैतानहरु जाग्दछन् र हामीलाई निहुँ खोज्न हौस्याउँछन् । लियो टाल्सटायको ‘इभान द फुल’ भन्ने पुस्तकमा भएको एउटा शैतानको कथाले कसरी मान्छेको शान्त मनलाई  आफैंभित्र भएको शैतानले उद्वेलित पार्छ भन्ने कुरा प्रष्ट पार्दछ ।

एउटा गरिब किसान अति मेहनत गर्दो रहेछ । जति मेहनत गर्दा पनि प्रतिफल अति थोरै हुँदो रहेछ । तैपनि ऊ जे जति छ त्यसैमा आनन्द मानेर खुशीसँग रहँदो रहेछ । त्यो किसानको खुशी देखेर शैतानलाई सहिनसक्नु भएछ र एउटा दूतलाई दुःख दिन पठाएछ । त्यस शैतानका दूतले जमीनलाई कडा पारेछ । तैपनि किसानले काम गर्न छाडेनछ । अनि त्यसले किसानको खाजा पानी नै लुकाइदिएछ । तैपनि किसान कुनै मभन्दा दुःखी र भोको प्राणीले खायो होला भनेर ढुक्क परेछ । त्यति गर्दा पनि हल्लाउन नसकेपछि शैतानले किसानसँग मित्रता गर्ने र भुल्स्याँउने अठोट गरेछ । अनि शैतानले किसानलाई अर्को वर्ष खडेरी लाग्ने भएकोले धान नरोप, मकै रोप भनेछ । त्यस्तै नै भएछ । अनि शैतानको सल्लाह मानेर उसले रक्सी व्यापार थालेछ । मेहनत गर्न छाडेछ । अझ बढी कमाउने लोभ र रक्सीको लतले गर्दा ऊ व्यभिचारमा समेत लागेर रसातलमा पुगेछ ।

समय समयका कुरा

अघिल्लो पुस्ता एक समयमा परिवारमा पूर्ण निर्णायकको भूमिकामा रहेको हुन्छ । ऊ आफू सेवा निवृत्त भैसकेपछि परिवारको पछिल्लो पुस्ता निर्णायक स्थानमा आइपुग्छ तर अघिल्लो पुस्ताले नै निर्णायक हुन खोजिरहने हो भनेँ कलह शुरु हुन्छ । प्रायशः परिवारका अघिल्ला र पछिल्ला पुस्ताका बीचमा आउने समस्याका कारक तत्व यिनै हुन् । अघिल्लो पुस्ताले हरेक निर्णयमा हस्तक्षेप गर्न खोज्नु र पुरानो समयकै किसिमले चल्न खोज्नु अनि नयाँ पुस्ताले त्यस कुरालाई नस्वीकार्ने स्थितिले गर्दा असमझदारीको विकास हुँदै जान्छ र शैतानले खेल्ने मौका पाउँछ ।

          आमाबाबुले गरेको त्यागलाई एउटा स्याउको रुखको चीनियाँ कथाले


यसरी बुझाउँछ । एक समयमा एउटा ठूलो स्याउको रुख थियो । एउटा सानो बालक त्यस रुखका फेदमा खेल्थ्यो र रुखले पनि केटालाई असाध्यै माया गर्थ्यो । केटो रुखमा चढ्थ्यो अनि स्याउ टिपेर खान्थ्यो र त्यहिँ हाँगामा सुतेर आराम पनि गर्थ्यो । बिस्तारै केटो ठूलो भयो । रुखका वरिपरि आउन छाड्यो । एकदिन रुखका छेउबाट हिंडिरहेको केटालाई रुखले आएर खेल्न निम्तो दियो । तर केटाले भन्यो, “मलाई तिमीसँग खेल्ने मन छैन । म अब ठूलो भएँ । मलाई खेलौना किन्न मन छ तर पैसा छैन ।” रुखले उदारतापूर्वक स्याउ टिपेर लाने र बेचेर खेलौना किन्ने उपाय सुझायो । केटाले पनि त्यसै गर्यो। केटो फेरि धेरै वर्ष हरायो अनि एकदिन केटालाई देखेर रुखले बोलायो । तर केटाले आफूलाई फूर्सद नभएको कुरा सुनायो । “मलाई काममा जानु छ । एउटा घर बनाउनु छ । पैसा छैन,” भन्यो । रुखले उसलाई आफ्ना हाँगा काटेर लगेर घर बनाउन उपाय सिकायो । केटो फेरि वर्षौँ हरायो । अनि एकदिन फेरि रुखले खेल्न आग्रह गर्दा भन्यो, “म अब बूढो भएँ । मलाई एउटा नाउ भए यसो समुद्र विहारमा जान्थेँ,”। रुखले उसलाई काटेर नाउ बनाउने सल्लाह दियो । अलि समयपछि त्यो मान्छे फर्केर आउँदा रुखले भन्यो, “अब मसँग तिमीलाई दिन केहि रहेन । केवल जरा बाँकी छन् । ती पनि मक्काइसके । यिनलाई सिरान हालेर सुत ।” त्यो मान्छेले पनि रुखले भनेजस्तै गर्यो ।

          यो रुखको कथा हामी सबैको कथा हो । त्यो रुख हाम्रा बाबुआमाको विम्व हो । साना हुँदा हामी खुशीसँग बाबुआमाका वरिपरि खेल्छौँ । हामी हुर्किएपछि आफूलाई केही चाहियो भनेँ वा केही समस्यामा परेपछि मात्र बाबुआमा सम्झिन्छौँ । जुनसुकै परिस्थितिमा पनि बाबुआमा हामीलाई हामीले खोजेको कुरा दिन तयार नै हुन्छन् । उनीहरु रुखजस्तै सधैं रित्तिन तयार हुन्छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 February 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).