प्रिय कबीर,
यसपाली आँप बेजोड फुलेको छ । आँपका मुजुरा पलाउन थालेदेखि नै मैले वसन्त ऋतुको छनक पाइसकेकी थिएँ । हरेक वर्ष आउने वसन्त ऋतुले सारा चराचरमा ल्याउने उमंगसँगै मेरो मनमा तिमीलाई छोएर बग्ने शीतल बतास चलेको छ । यता तापमान बढ्न थालेको छ । पानी अन्तिम पटक कहिले परेको थियो भन्ने समेत मैले बिर्सिसकेँ । अब फेरि एकपटक म तिनै झपक्क परेका आँपका फेदमुनि बस्न थालेकी छु । दिनभरिको घामले तातिएको घरभित्र पस्न र बस्न अलि निशास नै हुन्छ । फुर्सद भए बिहानैका चराहरु सँगै उठेर हातमा चिया बोकेर ती रुखका फेदमा जानुहुन्थ्यो । चर्केको घाम छल्न सानो सुराहीमा पानी भरेर त्यतै बस्दा हुन्थ्यो । चराहरु पखेटा फिँजारेर गर्मी छल्न बसेको हेर्न हुन्थ्यो । तर ती बिहानी र मध्यान्हका समय मैले बेचेकी छु । जानाजानमै मैले आफ्नो खुशी बेचेर माना चामल जुटाउनमा लागि परेकी छु । म बारम्बार तौलेर हेर्छु – अब कति भए मलाई पुग्ला ? अनि फेरि अलिकति रोकिन्छु, लामो श्वास फेर्छु र विचार गर्छु – यो हरेक पटक ननिदाउन्जेलको यात्रा हो ।
साँझको
एकछिनको समय म तिनै आँपका रुखमुनि निदाउँदी रहिछु । मेरो अवचेतनमा सिर्सिरे हावा
चलिरहन्छ, चराहरु कराउँदै नाँच्दै गरिरहन्छन्, टाढा मानिसहरु
बोल्छन्, केटाकेटीहरुको कल्याङ मल्याङ पनि सुँनिदै गर्छ । मेरा आँखा उघारै
हुन्छन् तर मष्तिस्क निदाएको हुन्छ । यो एक चोइटो साँझ मलाई तिमी जत्तिकै प्यारो
लाग्छ ।
वसन्त
ऋतुले नयाँ पाइलासँगै केहि उत्सवहरु बोकेर ल्याउँछ । त्यसै पनि धर्ती उत्सवमय भएको
बेला हो यो । अलिकति न्यानो, उज्यालो, फूलहरुले ढकमक्क
र हरियालीले छपक्क ढाकेको बेला हो यो । त्यससँगै आउने रंगउत्सवको समय हो यो ।
प्रकृति उत्सवसँग तादाम्यता मिलाउन मानव सृजित रंग मेलाको बेला पनि हो यो ।
शास्त्रीय रुपमै हेर्ने हो भने पनि यस वसन्त ऋतुका समयमा पञ्चतत्वले आफ्नो उग्ररुप
छाडेर सौम्य भाव प्रकट गरेका हुन्छन् । तिमी मास्तिर फर्केर हेर त कति स्वच्छ र
निर्मल देख्छौ यो गगन । हावा, घाम र पानी समेत सुखदायी हुन्छ यसबेला !
कबीर, यो
ऋतु सम्पूर्ण जगत र चराचर प्रेममा बहकिने ऋतु पनि हो । पौराणिक कथाले समेत
वसन्तलाई कामदेवको पुत्र मान्दो रहेछ । यिनै प्रेमका देवता कामदेवको पूजा अर्चना
गर्ने क्रममा रंगउत्सवको शुरुवात भएको थियो भन्ने एउटा तथ्य रहेछ । आदि कालदेखि
चलिआएको रंगोत्सव पछाडिका कथा पनि उत्तिकै चखिला हुने रहेछन् । यी हरेक कथा र
तिनका पात्रभन्दा पनि तिनको सान्दर्भिकता चाहिँ मलाई रुचिकर लाग्छ ।
जाडो महिनाका शुष्क र कठ्याङ्ग्रिएका दिनहरुको अन्त भएपछि आउने चैत्र र वैशाख महिनामा पर्ने वसन्त ऋतुलाई खुशीयालीको मौसमका रुपमा चर्चा गरिँदै आएको रहेछ । भागवत पुराणका अनुसार हिरण्यकश्यपु राजाले अजर अमर हुने वरदान पाएको रहेछ । उसलाई आफ्नो शक्तिप्रति घमण्ड बढ्दै गएछ र उसको पूजा सबैले गर्नुपर्ने फर्मान जारी गरेछ । तर उसका आफ्नै छोरा प्रल्हादले त्यस कुरालाई नमानेर विष्णुको आराधना गर्न थालेछन् । त्यस कुराले क्रुद्ध हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्नु भनेर अह्राएछ । होलिका आगोले नष्ट नहुने बरदान प्राप्त नारी रहिछे । तर परिणाम विपरित आयो । होलिका भष्म भई, प्रल्हाद सग्लै रहे । यसै सम्झनाको निरन्तरताका लागि होलिका दहन गरिने रहेछ । असत्यको दहन गरिने रहेछ ।
त्यसै
प्रसंगमा कामदेवको कथा पनि जोडिने रहेछ । पार्वती शिवसँग विवाह गर्ने चाहना
राख्दिरहिछन् । तर महादेव ध्यानमा लिप्त भएका रहेछन् । त्यसै बेला कामदेवले
शिवमाथि प्रेमील तीर वर्षाएर ध्यान भंग
गराइदिएछन् । शिवजीलाई त्यस कुराले रिस उठेछ र कामदेवलाई भष्म पारिदिएछन् । उता
कामदेवकी पत्नी रतीले अलाप विलाप गरेर शिवलाई विन्ति गरिछन् । फलस्वरुप कामदेवलाई
शिवले पुनर्जीवित गराइदिएछन् । त्यो प्रेमको देवता जागृत भएको दिनलाई नै रंगोत्सव
भनेर मनाइन्छ भन्ने कहावत समेत रहेछ ।
महाभारतमा
समेत होलीको सन्दर्भ जोडिने रहेछ । कृष्णले युधिष्ठिरलाई सुनाएको कथा अनुसार रामका
पूर्वज रघुको पालामा एक असुर महिला रहिछ । उसलाई कसैले मार्न नसक्ने रहेछ । तर
सडकमा, चौरमा खेल्ने बालकहरुसँग भने त्यो असुर असाध्यै डराउने रहिछ । त्यो
आसुरी महिलाको मृत्यु रहस्य बारेमा गुरु वशिष्ठ जानकार रहेछन् । उनले सिकाएछन् –
दाउरा, घाँस बटुल्नू र एक ठाउँमा थुपार्नू ।
अनि अग्नी दहन गर्नू । केटाकेटी नाचुन्, गाउन्, बाजा
बजाउन् । त्यसपछि त्यस महिलाको मृत्यु हुनेछ । हो, त्यस्तै नै भएछ
। त्यो समयदेखि नै क्षुद्रभावको अन्त्य भएको सम्झनामा होली उत्सव मनाइने रहेछ ।
यो प्रेमोत्सव कृष्णसँग नजोडिने त कुरै भएन । यस उत्सवलाई राधा कृष्णको प्रेमको प्रतीकका रुपमा पनि लिइने रहेछ । पौराणिक कथाका अनुसार कंशले कृष्ण गोकुलमा रहेको पत्ता पाएछ । त्यसपछि उसले पुतना नाम गरेकी असुरलाई गोकुलमा जन्म लिने सबै बालकहरुलाई मारिदिनू भनेर अह्राएछ । पुतना स्तनपानको बहाना गरेर विषपान गराउने र बालकहरु सिध्याउने योजनामा रहिछ । कृष्णले यो कुटील योजनाको गन्ध पाएपछि पुतनाको विषाक्त दूध पिएर उसको अन्त गरिदिएछन् । त्यहि विषाक्त दूध पिएर नै कृष्ण नीला काला भएका पनि भनिँदो रहेछ । अनि त्यो विजयको उत्सव मनाउनका लागि रंग महोत्सवको शुरुवात भएको हो भन्ने कुरा रहेछ ।
यसरी, आदिकालदेखि
मनाउँदै आएको रंगोत्सवले पूर्वीय हिन्दू संस्कृतिमा जरा गाढेको रहेछ । यो बाहिरी
रुपमा रंगोत्सव भए पनि मन मष्तिस्क नै रंगाउने चाड हो नि, होइन
त कबीर ? भित्रका
आसुरी प्रवृत्तिहरुलाई दहन गर्ने चाड हो । वसन्तमा फूल्ने रंगीन फूलहरु झैं मनलाई
फूलवारीमा परिणत गर्ने चाड हो ।
कबीर, तिमी सम्झिन्छौ कि बिर्सिसक्यौ – हातमा लोला लिएर पीचकारी बोकेर हिँडेका केटाकेटीले मलाई रंग छ्याप्न खोज्दा म रिसाएकी ? अहिले म फेरि तिनै पुराना घटना आँपका फेदमा बसेर सम्ँझदैछु । ती बच्चाहरुलाई मैले झम्टेकी थिएँ । तर तिमीले रोक्यौ । यी अबोध बालकहरुलाई हाँस्न दिऊँ, नाच्न दिऊँ भनेर मलाई सम्झायौ । अहिले म सोच्छु, त्यो कुरा ठिकै रहेछ । साना नानीहरुलाई आफ्ना दैनिक पढाइ लगायतका बोझलाई बिर्सेर एकछिन रंगीन बनेर खेल्न दिनुपर्छ । अलिकति क्षुद्र्याईँ गर्न दिनुपर्छ तिनलाई । हाँस्न, रमाउन दिनुपर्छ तिनलाई । हामीले तोकिदिएका सीमाहरु भत्काउन दिनुपर्छ तिनीहरुलाई ।
अनि
ठूलाहरुका हकमा नि त ? उनीहरुका हकमा पनि त्यहि हो । आफूले आफैंलाई
बाँधेका हजारौँ अदृष्य साङ्ला चुँडाएर, आफैंले सिर्जना
गरेका जेलहरु भत्काएर एकदिन भए पनि उन्मुक्त हाँस्नुपर्छ, उन्मुक्त
नाच्नुपर्छ । रंगोत्सव त मनाउनुपर्छ । मनको कालो मैलो धुनुपर्छ । अब तिम्रो नाममा
शुशील शर्माका दुई टुक्रा दोहा है त । यसैबाट अन्दाज लगाउनु कबीर मैले तिमीलाई कति
मिस गरिरहेकी छु ।
गालोँ
पर साजन मले प्यारे प्यारे रंग ।
गोरी
इठलाती चले, चढे प्रेमकी भंग ।
होली
मे प्रियतम नहीँ, छूटा मनका धीर
अभी
नही आये बलम, मलने मुझे अबीर ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 March 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]