Friday 4 March 2022

महाभाराका कुइनेटाहरु

 

    


     बसन्त बस्नेतको ‘महाभारा’ उपन्यास केहि महिनादेखि साहित्य चर्चाको अग्रपंक्तिमा उभिएको छ । फाइनप्रिन्टको नयाँ नयाँ प्रचारशैलीले मात्र नभई पुस्तकको समग्र स्वरुपले पनि यसलाई अग्रपंक्तिमा रहिरहन संघाएको अनुमान गर्न सकिन्छ । नेपाली प्रकाशन जगतमा विरलै चल्ने सम्पादन निखारले  महाभारालाई अझ तिखारेको मान्न सकिन्छ । दमकको कदम थिएटरले आयोजना गरेको पुस्तक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा लेखक बस्नेतले पुस्तक सम्पादनको तेह्रौँ चरणमा मात्र पढ्न लायकको ठहरिएको कुरा भनिरहँदा सम्पादन प्रमुख अजित बराल मुसुमुसु हाँसिरहेका थिए । आज लेख्यो, भोलि छाप्यो र बाँकि समय पछुतायो गर्न बानी परेका हामीलाई तेह्र पटक सम्पादन गरिएको पुस्तक भन्ने सुन्दा अलि अनौठो लाग्नु स्वभाविक नै हो । यसको मूल शीर्षक समेत परिवर्तन भएको कुरा सुन्दा कतिपयले पुस्तकको मर्म ज्यूँदो रह्यो कि रहेन भन्ने तर्क पनि गरेका छन् । तर मेरो आफ्नो बुझाइमा पुस्तक लेखेर प्रकाशन गर्नु भनेको पाठकको जिम्मा लगाउनु हो । पाठकले खोजेको स्वाद अनुसारको बनाउन कसरत गर्दा निफन्ने र खोष्टा उडाउने काम त गर्नै पर्छ ।

            पुस्तक अन्तरक्रिया कार्यक्रमको एक टिप्पणीकार भएका नाताले आफूले गरेका टिप्पणी र थप केहि कुरा मैले यहाँ राख्न आवश्यक ठानेँ । पुस्तकको मुख्य पात्र डुक्पा र उसको जीवनसँग जोडिन आएका पात्रको सहयोग लिएर उपन्यासकार पूर्वी नेपालको पहाडी भूभागको एउटा सजीव तस्वीर उतार्न सफल भएका छन् भन्ने मैले ठानेकी छु । एउटा सिंगो समुदायको निम्न वर्गीय सदस्यहरुको जीवन शैली, जीवनका आरोह अवरोह, सामाजिक व्यवस्था र तत्क्षणमा सिर्जित समस्याहरुको प्रस्तुती उपन्यासभित्र रहेको छ । हामीले जे जे देख्छौँ, सुन्छौँ र भोग्छौँ, तिनै कुराहरुलाई घोलेर नयाँ ढंगले प्रस्तुत गर्न खोज्नु नै साहित्य लेखन हो । लेखकले पनि यो उपन्यासमा त्यहि गरेका छन् । महाभारा श्रृंखला वरिपरिका पात्रहरुलाई लिएर, जनयुद्धकालको समयक्रम पक्रिएरतत्कालिन समयमा जनताले भोगेका पीडा, सन्त्रास, विश्मयलाई बसन्त बस्नेतले उपन्यासमा उतारेका छन् । अरु अरु आख्यान झैं यसमा पनि कल्पना र यथार्थताको सम्मिश्रण छ । त्यति हुँदाहुँदै पनि यी महाभाराभित्रका उपकथाहरुमा लेखकले पूर्वी पहाडी लवज टपक्क टिपेर राखिदिएका छन् । त्यसले पुस्तकलाई आदिदेखि अन्त्यसम्म जीवन्त राखेको छ । यसको कथा हाम्रै सेरोफेरोमा बुनिएको छ । इलाम, फिदीम, राँके, माङसेबुङ, लारुम्बा, विर्तामोड, चारपाने, झिलझिले, दमक, पाडाजुँगी जस्ता ठाउँ यहाँ भेटिन्छन् ।

            समग्रमा भन्नुपर्दा महाभारा एक ऐतिहासिक उपन्यास हो । यसको समय जनवादी युद्धकाल भए पनि यहाँ पन्चायतकालदेखि माओवादी आन्दोलन भएसम्मका मुख्य मुख्य राजनीतिक घटनालाई छोइएको छ । यहाँ सत्तापक्ष, माओवादी र किराँत धर्म बीचको त्रीपक्षीय द्वन्द भेटिन्छ । यसले के देखाउँछ भनें संकटकालमा सबै आफ्नो शक्ति प्रदर्शन गरेर सोझा साझा जनतामाथि आधिपत्य जमाउन खोज्ने रहेछन् ।

मनोविज्ञान

            उपन्यासमा खासगरी पुरुषले महिलाको कल्पना गरेरै यौन सन्तुष्टि लिने गरेको कुरा देखाइएको छ । विषेशगरि बाबुछिरी भन्ने पात्र आफ्ना काल्पनिक प्रेमिकाका बारेमा अनेक किसिमका मनगढन्ते कुरा गरिरहन्छ । आफ्नी श्रीमतीको मृत्युपश्चात दुई नाबालक छोराहरु हुर्काउने जिम्मा लिएको बाबुछिरीको पट्यारलाग्दो एक्लो जीवनलाई यी काल्पनिक प्रेमिकाले केहि रसिलो बनाएका छन् ।

            डुक्पाले आमा नहुनुको पीडाबोध गर्नु, आफू गरीब भएर स्कूलमा हिनताबोधले भरिनु, उसमा आफूलाई हेप्ने शिक्षकका विरुद्धमा इख भरिनु, उसले उसलाई जिस्काउनेहरुलाई एकदिन जितेर छाड्छु भन्ने प्रण गर्नु, ऊ सधैं रंगीन सपनामा डुब्नु जस्ता पक्षले डुक्पाको बाल मनोविज्ञानलाई दर्शाएका छन् ।

            गोलमटोल शिक्षा नीतिको दुष्परिणामले कसरी केटाकेटीको सिर्जनात्मकतालाई कुच्याएको छ भन्ने कुरा पनि उपन्यासको मुख्य पात्र डुक्पाको माध्यमबाट देखाइएको छ । डुक्पा नाच्ने, गाउने, चित्र बनाउने जस्ता क्षमता भैकन पनि सधैँ नजान्ने र पढिखान नसक्ने विद्यार्थीमा दरिनु यसको उदाहरण हो । एउटा प्रसंग :

            “डुक्पाले यस्ता कुरा कहाँ सिक्यो, कताबाट सा/\यो, सरहरुले चासो राखेनन् । उसका साथीहरुले पनि सोधेनन् । स्कूलले डुक्पा के जान्दछ भन्ने कुरा जान्दैनथ्यो, उसले के जान्नुपर्छ भन्ने मात्रै जान्दथ्यो ।” (२२)

जीवन दर्शन

हामीले बाँच्ने जीवन सिर्फ एउटा नाटक हो भन्ने कुरा डुक्पालाई दिएका विभिन्न नाम र ती नाम अनुसारका कामहरुले चरितार्थ गर्छन् । ऊ डुक्पाको चरित्रमा पस्दा एक गाउँले बिन्दास ठिटो बनिदिन्छ । सोहि पात्र डेनीमा रुपान्तरित हुँदा आफ्नो ड्राइभर हुने सपना पछ्याउँदै शहर पसेको र त्यहिंको जीवन शैलीमा भिजेको देखिन्छ भने थेबाको खोल ओढेर ऊ माओवादी कार्यकर्ताको भूमिका निभाउँछ । डुक्पाले जीवनलाई एक संघर्षको मैदान हो भनेर अर्थ्याउँछ । उसको जीवनप्रतिको यहि दृष्टिकोणले गर्दा नै ऊ जीवनमा परिआएका जुनसुकै चुनौतिको सामना नडराई गरिरहन्छ । महाभाराकी अर्की महत्वपूर्ण पात्र सुक्मतीका अनुसार विगतलाई सम्झेर बाँच्नु आपैंm दुःखी हुनु मात्र हो । दुःखको कारण मानिस स्वयम् हो । अधिक सोचले मानिसलाई द्विग्भ्रमित पार्ने हुनाले नसोच्नु नै वेश हो भन्ने सुक्मतीको ठम्याई छ । यसो हेर्दा  नियमित आकस्मिकता पनि जीवनको अपरिहार्य पाटो बनेर देखा परेको छ यो उपन्यासमा । नत्र के सोचेर मधेस झरेको डुक्पा, समयले उसलाई उडाउँदै किन यता र उता पार्दो हो !

            यी सबै घटना परिघटनाका बीचमा उनिएको डुक्पा र सुक्मतीको प्रेमकथा हो महाभारा जसले पाठकलाई अन्तिमसम्म तानिरहन्छ ।

नारीपात्र

            यहाँ मुख्य रुपमा तीनजना नारीपात्रको उल्लेख गरिएको छसुक्मती, गुराँस र मेरिना । गुराँस र मेरिना उपन्यासको  बीचतिर उदाउँछन् र बीचमै बिलाउँछन् । सुक्मती एकमात्र महिला पात्र हो जो अन्तिमसम्म पाठकसँग रहन्छे । यसरी हेर्दा तुलनात्मक रुपमा लेखकले यो उपन्यासका पुरुष पात्रलाई संख्यात्मक र चरित्र निर्वाहका आधारमा जति ठाउँ दिएका छन्, उति महिलालाई दिएको देखिँदैन । यो पक्षले लैंङ्गिक समानतामाथि प्रश्न उठेको छ ।

            अर्को कुरा, नारीलाई पुरुषले विशेष गरी सौन्दर्यपान र वासनाका लागि बुझ्ने गरेको देखाइएको छ । यसका केही उदाहरणका रुपमा पुस्तकमा प्रयोग गरिएका निम्नलिखित प्रसङ्गलाई लिन सकिन्छ ।

            क) ...उसले मेरिनालाई छाँटले नियाल्न थाल्यो र तत्कालै स्वादिलो निष्कर्ष निकाल्यो केटी राम्री छे । ...मेरिनाको फतरफतरलाई उसको सौन्दर्य हेर्न पाएको मूल्यमा सुनिदिने पक्षमा थियो ऊ...। (१४६–१४७)

            ख) इन्स्पेक्टर चिच्यायो, “कति जना छाउरा ल्याएर सुताइसकिस् है, रण्डी ।” (३३६)

            ग) ...कैलेकाईं दिउँसो केटी लेर आको बेला चैँ छोड्देऊ दुईतीन घण्टालाई ।  (३५४)

घ) यस्तो बेला प्रेम भावनाभन्दा बढी वासना भइदिन्थ्यो उसका लागि । शरीर छुन नपाई गरिने प्रेम, के प्रेम मुखले गर्छु नभनेर पनि भएन । भन्दिएकै भरमा भइबस्छ र प्रेम ?  (१४९)

ङ) डुक्पा मेरिनाको सौन्दर्य र यौवनमा झुमिरहेको कर्मीमौरी थियो । उसका लागि त धर्म एउटा गफको बहाना थियो, मेरिनासँग झुम्मिरहने ।  (१५३)

जनयुद्w नेपालको इतिहासमा एउटा त्यस्तो कालखण्ड थियो, जतिबेला महिला शसक्तिकरणलाई पनि एउटा ठूलो मुद्bf बनाइएको थियो । त्यो समयको परिप्रेक्ष्यमा  लेखिएर पनि महाभाराले महिलालाई परम्परागत छवीमै किन उतारेको होला ?


    नारी पात्रले आपूmले आपैँmलाई सबल बनाएको उदाहरणका रुपमा भनें सुक्मती प्रस्तुत भएकी छ । डुक्पाले उसलाई प्रेमको बाटोको बीचमै छोडेर मधेसतिर झर्दा पनि उसले आपूmलाई सम्हालेकी छ । उसले युद्ध र धर्मको बीचको भेद छुट्याएर धर्मतिर लागेकी छ । उसले आफूलाई बुझ्ने क्रममा आफ्ना कुराहरु डायरीमा लेखेकी छ । उसमा आफ्नो जीवनको बारे निर्णय गर्न सक्ने क्षमता पनि छ । लारुम्बाबाट आफ्नो गाउँ सार्ताप फर्केपछि उसले आफ्नो शिक्षालाई अगाडि बढाएकी छ र स्कूलकी शिक्षिकासमेत भएकी छ । यस अर्थमा उसले आफ्नो जीवन आपैm सुधारेकी छ ।

            यसरी सुक्मतीको चरित्रले हाम्रो समाजमा नारीले आफ्नो स्थान आपैm अगाडि सरेर मात्र बनाउन सक्छन् भन्ने कुरा दर्शाएको छ ।

            जे होस्, करिब ४०० पृष्ठको पुस्तकले आजसम्म नलेखिएको र अनदेखा गरिएको पाटोलाई मीठो गरी प्रस्तुत गरेको छ । डुक्पाकै लवजमा भन्नुपर्दा उपन्यास ‘ओक्के छ त !’

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 March 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).