उज्यालो हेर्ने ठाउँ
“नानी यता कता उज्यालो हेर्ने ठाउँ छ अरे, त्यो कति टाढा छ ?,” तीनजना वृद्ध माताहरुले
मलाई सोधे । उनीहरु उज्यालो हेर्ने ठाउँबाट उति टाढा थिएनन् । म पनि वास्तवमा त्यतै जाँदै थिएँ । उनीहरुको आशय बुझ्न मलाई बेर लागेन । उनीहरु दमक फन पार्कतिर लम्किरहेका थिए । गौरादहबाट पाहुना लाग्न दमक आएका माताहरु फन पार्कको रमिता हेर्न हिँडेका रहेछन् । घर नजिकै हिँडेरै पुगिने दूरीमा भए पनि म आफैं त्यस ठाउँमा पुगेकी थिइँन ।
पूर्व
नेपालको दमक एक पुरानो बजार हो । पूर्व प्रधानमन्त्रीको गृहनगर समेत भएकोले यो शहर
अझ चर्चित छ । तैपनि दमक ताकेर घुम्न आउने मानिसलाई झ्वाट्ट घुमाउने स्थान कुन
होला त भनेर निकैबेर सोच्नै पर्ने हुन्छ । केहि वर्षदेखि विकसित दमकको पुरानो
बजारको एक लेन सडक नमूना बजारले यो इज्जत टालिआएको थियो । तर हालसालै आएर केहि
व्यवसायीहरुको उत्साहि जमातले दमकको पहिचानका रुपमा दमक फन पार्कलाई अगाडि सारेका छन् । बेलडाँगीमा रहेको यस फन पार्कले स्थानीय तवरमा रोजगार र
व्यवसायका अवसरसँगै सबै वर्ग र उमेरका मानिसहरुका लागि घुम्ने र टहल्ने ठाउँको
सिर्जना गरिदिएको छ । दिनको उज्यालोमा त छदैँछ, रातको
अँध्यारोमा समेत यस पार्कमा बिजुलीका कौतुकमय दृष्यले मनोरम वातावरणको सिर्जना
गरेको छ । साना केटाकेटीले खेल्नेदेखि ठूलाहरुको स्काइ एलिभेटरजस्ता शाहसिक खेलहरु
भएको फन पार्क दमकको
नयाँ पहिचान बनेको छ । रात्रीकालीन भीड हेर्दा फनपार्क उदेकलाग्दो देखिन्छ ।
पुरानो पार्किङ स्थल सानो भएर नयाँ पार्किङ स्थल बनाउन थालिएको कुरा यसका एक
व्यवस्थापक तथा प्रवक्ता विप्लव दंगाल बताउँछन् । “अब कता लैजानु त घुमाउन नयाँ
पाहुनालाई भन्नु पर्दैन । फन पार्कले
दमकको यो खाँचो पूरा गरिदिएको छ ,” उनी भन्छन् ।
"हुने खानेहरु त टाढा कतै जालान्, रमाइलो गर्लान् तर मध्यम तथा न्यून आय हुनेहरुले कहाँ जाने त? हो, यहि सोच राखेर सबैका लागि भनेरै हामीले यो अभियान चलाएको हो,” उनले थपे । फन पार्कले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको रहेछ । “अब बैशाखबाट शुरु हुने बोटिङ्गले अरु थप मनोरञ्जन र रोजगारी समेत थपिने कुरामा हामी विश्वस्त छौं,” दंगालले थपे ।
नव
पुस्ताका युवाहरुको आवश्यकता र इच्छालाई ध्यानमा राखेर नीजि क्षेत्रले शुरु गरेको
यो फन पार्क दमकको एक
नयाँ पहिचान हो । यस कुरालाई एउटा सानो शहरको ठूलो उपलब्धी मान्न सकिन्छ ।
घामभन्दा पहिले
बिहान
झिसमिसेमै बजार निद्राबाट उठिसकेकै हुँदैन । गाडीहरु भर्खरै दिनको यात्रा शुरु
गर्न तयार भएका हुन्छन् । बिहानको कलेज र स्कूलका विद्यार्थीहरु पढ्न जान
हतारिइरहेका हुन्छन् । त्यति बिहानै दमक बजार आसपासमा हरिया लुगा लगाएका केहि
मानिसहरु सर्याक सर्याक सर्याक सडक किनारामा बढारिरहेका भेटिन्छन् ।
पहिलेको
तुलनामा दमक विस्तृत भएको छ । जनघनत्व बढेको छ । जग्गाहरु टुक्रिएका छन् । बढेको
जनघनत्व र साँगुरिएका जमीनहरुले दमकबाट उत्सर्जित फोहोर थेग्न हम्मे हम्मे परेका
बेला यी बिहानी सुगा चरीहरुले चमत्कार नै गरिदिएका छन् भन्दा फरक पर्दैन । सफा र
सुन्दर दमकका सडकहरुमा घुम्न पाउँदा हाम्रा शीर ठडिएका छन् । अन्य पूर्वेली शहरहरु
भन्दा दमक निकै सफा र सुन्दर छ भनेको सुन्दा हामीले आफ्नो बासस्थानप्रति गौरव गर्न
सक्छौँ । यस गौरवपूर्ण कार्यका लागि बिहानी चराहरु त धन्यबादका पात्र छन् नै त्यो
भन्दा पनि यसको व्यवस्थापन गर्ने नेक्स्ट एराको कार्यशैली प्रशंसनीय छ ।
“तपाईँहरु
यति बिहानैदेखि काम शुरु गर्नुहुन्छ । कति पाउनुहुन्छ?”
“घरबार
चल्छ,” चोकमा भेटिएकी सुगा रंग वस्त्रधारी सफाइकर्मीले भनिन् ।
“ओभरटायमसँग
त अठार बीस पनि हुन्छ ।” उनले थपिन् ।
“अनि
बिहानमात्र देखिनुहुन्छ । दिउँसो कता बिलाउनुहुन्छ?”
“दिम्सो हामी बाटाका छेऊछाऊ सफा गर्छम् । फोहोर ग्रेडिङ गर्छम् । माथि हम्से दुम्सेमा ठूलो कार्खाना बन्दैछ नि, तपाईँलाई था छैन ? त्याँ मल, ग्याँस बनाम्ने अरे,” उनले भनिन् । उनले आफ्नो सञ्चयकोश पनि जम्मा हुने कुरा बताइन् । उनलाई उनी जस्ता कति सफाइकर्मी दमकमा खटिएका छन् भन्ने कुरा यकिन चाहिँ थाह रहेनछ, “खै साठी सत्तरी होलान् कि,” उनले थपिन् ।
त्यसपछि
उनका कुरा घर परिवारतिर मोडिए । उनका श्रीमान् ट्रक चालक रहेछन् । घरमा नाति
नातिना समेत रहेछन् । “श्रीर्मान्ले कमार ख्वाकै थे । छोराहरु पनि काम गर्छन् तर
आफ्नो कमाइ भयो भनेँ आफ्नो मन बलियो हुन्छ नि । इज्जत पनि हुन्छ घरमा, आफन्तीमा, समाजमा
। नपढे पनि बाटै
बढार्ने भएनी जागिर छ । जागिर भन्या जागिरै हो । होइन त ?”
हो
नि, अलिकति भएपनि कमाई हुनु भनेको आत्मसम्मान नै हो । त्यसमा पनि
महिलाहरु आत्मनिर्भर बन्नु त ठूलो कुरा हो ।
घामभन्दा
पहिल्यै उठेर शहरलाई कोरिबाटि गरिदिने यी पात्रहरुलाई जहिले जहिले म देख्छु मेरो
शीर श्रद्दाले निहुरिन्छ ।
दमकको
शीरमा विशुद्ध मनोरञ्जनले भरिपूर्ण फन पार्क
भए जस्तै दमकका पुछारतिर भने कदम थिएटर रहेछ । केहि उत्साहि युवाहरु लागि परेर
सानो नपत्याउँदो टहरामा नित्य कलाकर्म गर्ने रहेछन् । सानो सिमेन्टब्लकले बारेको र
खरको छानामाथि प्लास्टिक ओढाएर तयार गरेको थिएटर देखेर ती युवा जमातप्रति मेरो
अगाध श्रद्धा पलाएर आयो । थिएटरको भित्रपट्टि सबैतिर कालो कपडाको पर्दा टाँगेर
उज्यालो निषेध गरिएको थियो । भूइँमा चकटी र केहि कुर्सी गरी १५० सीट क्षमताको
कदमले.केहि वर्षदेखि निरन्तर नाटक गरिआएको रहेछ । यस अभियानका लागि नगरपालिकाले
पाँच कट्ठा जमिन समेत प्रदान गरेको रहेछ । त्यस जमिनमा एउटा ठूलो र सुविधाजनक
थिएटरको परिकल्पना गरेर ढाँचा समेत तयार भइसके तापनि काम भनेँ अधकल्चो भएको रहेछ ।
“यहाँ
बजेटको चाँजोपाँजो मिलिसकेको छैन । आधारहशीला भनें तयार भएको छ,” व्यवस्थापक
दधि ढकालले भने ।
नाट्यकर्म
बाहेक पनि कदम थिएटरले कवि गोष्ठि, साहित्यिक छलफल
जस्ता सिर्जनात्मक कार्यहरु आयोजना गरिरहने रहेछ ।
भर्खरै क्याम्पस पढ्न शुरु गरेका केहि युवायुवतीहरुका झुण्ड कदम थिएटरमा चल्दै गरेको येल्लो कमेडी हेरेर बाहिरिए । तीमध्ये केहि केटीहरु कदमको निर्माणाधिन घरको सयलमा मेरै छेउमा आएर भित्तामा अढेस लागे । उनीहरु भर्खरै हेरेको नाटक हुदै नेपाली साहित्यका पुस्तकबारे छलफल गर्न थाले । स्वभावतः मेरो चासो बढ्यो । उनीहरु बुद्धिसागरको कर्णाली ब्लुजबाट धरावासीको राधा, नयनराज पाण्डेको लू र जियरासम्म पुगे । मैले उनीहरुलाई नसोधिरहन सकिँन , “ कहाँ पढ्नुहुन्छ नानीहरु ? ”
“यहि दमक मल्टिपलमा ।”
“कुन लेबलमा ?”
“हामी प्लस टु ।”
“अनि किताब कसरी पाउनुहुन्छ
त ?”
“ पब्लीक लाइब्रेरी, दमक
लाइब्रेरी अनि मन पर्दा साथी साथी मिलेर पैसा उठाएर किन्ने र पालैपालो पढ्ने ।”
युवा
पुस्ताका केटाकेटीहरुको साहित्य कला तर्फ़
यस्तो स्वस्फूर्त झुकाव कति
राम्रो कुरा ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 March 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).