प्रिय कबीर,
तिमीलाई नसम्झेको क्षण त म मरिसकेकी हुने रहेछु । आजै बिहान मात्र मलाई त्यो कुराको ज्ञान भयो । यो झरिको मौसम । पानी सिमसिम परिरहेको थियो । म चिया लिएर टेबुलमा बसेँ । कपबाट उडेको तातो चियाको बाफ तिम्रै सम्झनाको प्रतिरुप जस्तो लाग्यो । त्यो बाफ गोलाकार स्वरुपमा मैतिर लम्किरहेको थियो । चियाका हरेक सुरुपहरुसँग मैले तिम्रै सम्झना निलिरहेँ ।
मौसम
बदलिइरहन्छ र सँगसँगै मानिसको मनोदशा पनि निरन्तर परिवर्तन भइरहन्छ । सिमसिमे
पानीमा पनि म तिमीसँगै रुझिरहेकी हुन्छु । मुसलधारे पानीमा पनि एउटै छाता शेयर
गरेर हिँडिरहेकै हुन्छु । मलाई चट्याङ जस्तै उज्यालो बनेर आउने सम्झनाका तरंगहरु
उत्तिकै प्यारा लाग्छन् । कति युगसम्म मलाई तिम्रो सम्झनाका उर्जाले बचाउला कबीर !
धन्य
हामी आधुनिक समयमा जीवित छौँ । नत्र तिम्रा सम्झनाका लिखतका ठेलीहरु कति हुँदा
हुन् । मलाई लाग्छ, म एक दिनमै बीसौँ पन्ना तिम्रा नाममा अक्षरहरु लेख्थेँ होला । धन्य, यो
मोबाइल फोन छ । तिमी हामी एकार्कालाई हेरेरै मन साटासाट गर्न सक्छौँ । कपालमा
लगाएको रंगको शेड घाममा चम्किँदा कस्तो देखिएछ भन्न सक्छौँ । त्यो आजसम्म मेरा
निकटका कसैले नदेखेको हाँस्दाखेरि देखिने मेरो गालाको डिम्पल औँल्याइदिएर तिमीले
मलाई आश्चर्यमा पारिदियौ । अनि मलाई लाग्यो कसैले कसैलाई मन पराउनु नितान्त
व्यक्तिगत कुरा रहेछ । ती मन पराइने पात्रहरु सर्वस्वीकार्य हुनु जरुरी रहेनछ ।
त्यसैले नै होला, तिमी मेरो मनको सिंहासनमा मनको राजा भएर बसेका छौ ।
जमाना
हाते फोनकै भए पनि शब्दको सामर्थ्य तिमीले राम्ररी बुझेका छौ । त्यहि भएर हुनुपर्छ
लामो समयपछि तिमीले लेखेको खामबन्दी पत्र मकहाँ आइपुगेको छ । म सुन्थें, पहिले
पहिले कसैको मृत्यु हुँदा टाढा परदेशबाट लेखिएको पत्र त्यस मृतकको वार्षिकी हुने
बेलासम्ममा मात्र ठेगानामा आइपुग्थ्यो रे । यातायात नभएको समयमा हुलाकीले नै पत्र
ओसारपसार गर्ने युगमा कति गाह्रो हुँदो हो प्रेमभाव व्यक्त गर्न । मायालुले टाढा
देशबाट ल्याइदिएको अलिकति अत्तर अथवा एउटा मालाका भरमा बर्षौ पर्खनु कति गाह्रो
हुँदो हो । एउटा खोला वारिबाट बाँसका ढुङ्रामा खाँदेर हुत्याइएका पत्रका बिटा
पानीमै खस्दा कति सपनाहरु बगिजाँदा हुन् ।
कति कुराहरु त व्यक्त नगरुन्जेल धेरै प्यारा लाग्ने रहेछन् । त्यो तिम्रो पत्र देखेर मलाई त्यस्तै भयो । पत्र पढ्न मन आतुर नभएको होइन तर त्यसको मीठास जोगाएर राखिरहुँ जस्तो भयो । म कति समय त्यो खामबन्दी मायाको पोको नखोली राख्न सक्दिरहिछु र ! तिम्रा शब्दहरुले मलाई छोए । उखुम गर्मीले निसास भइरहेको साँझमा ती शब्दहरुका शीतलताले मनमा सिर्सिरे बतास चलाए । हिउँका ढिकाजस्ता बनेर बसेका कतिपय मनोभावहरु शब्दका न्यानाले पग्लिएर पानी बने ।
मलाई
थाहा छ कबीर, तिमी शब्दका जादूगर नै हौ । तिमीले जति शब्दहरु खेलाउन जान्ने भए म
अर्को महाभारतको रचना गर्थें होला । मैले यहाँ महाभारतका सट्टामा विश्वप्रसिद्ध
प्रेमग्रन्थहरुको नाम लिनु पर्थ्यो ।
मैले रोमियो–जुलियट, हिर–राँझा, ह्याजल–अगस्टस्, मुना–मदन, शाहजहाँ–मुमताज, बाजीराव–मस्तानी
जस्ता प्रेमीहरुको नाम नलिएर महाभारत नै रोजेँ । म कबीरलाई कृष्णजस्तै अमर, सार्वकालीन, सर्वव्यापी
पात्रका रुपमा उभ्याउन चाहन्छु । यहाँ अनर्थ नलागोस् है कबीर, म
वेदव्यासलाई एक लेखक र महाभारतलाई एक कृतिका रुपमा अनि त्यसभित्रका पात्रहरुलाई केवल
पात्रका रुपमा सिर्जना गरिएको हो भन्न मात्र खोज्दैछु । यति धेरै पढिएको, अकाट्यरुपमा
तार्किक मानिएको, व्याख्याहरुका ठेली एक जीवनमा एक
जनाले पढेर नसकिने गीताका हिरो त कृष्ण नै हुन् नि । कबीरलाई म त्यस्तै पात्रका
रुपमा उभ्याउने कल्पना मात्र गर्न सक्छु । यस संसारमा कति किताबहरु रचिए । कति अझै लेखिदैछन्
। तर तिमी विचार गरेर भन त, त्यस्ता उल्का पात्रहरु सिर्जना गर्न
सक्ने को छ वेदव्यास बाहेक ? मेरो यो बहकाउपन र अल्पज्ञानको ढिपी
सुनेर तिमीले के ठान्यौ होला है ?
ए, म
तिमीलाई शब्दको जादूगर भन्दै थिएँ नि ! त्यो पक्का कुरा हो । तिमी शब्दमा प्राण
हाल्न सक्छौ । शब्दमा सुगन्ध भर्न सक्छौ । तिनमा शीतलता र न्यानोपन भर्न सक्छौ ।
यिनै दैनिक बोलिआएका र सुनिआएका शब्दलाई तिमी अति प्रिय बनाइदिन सक्छौ । मलाई
त्यस्तै अनुभूति भयो यसपाला । पत्रका शब्दहरुले मलाई कल्पनाको गगनमा उडाए । हरियो चौरमा
तिमीसँग हात समाएर घुमाए । सुगन्धित इरानी इत्र मेरो मगजभरि छरिदिए ! म स्वप्नमा झैं
मुस्कुराइरहेँ । म बारम्बार हराइरहेँ । यो काम कबीर बाहेक कसले गर्न सक्छ ! तिमी
बाहेक अर्को शब्दको जादूगर को पो हुन सक्छ ?
मैले
विश्व विजेता सिकन्दरले उसकी प्रेमिका जोसेफाइनलाई लेखेका पत्र पढेकी छु । मैले
अंग्रेज कवि जोन किट्सले उसकी प्रेमिका फ्यानी ब्राउनलाई लेखेका पत्र पनि पढेकी छु
। तर तिम्रा शब्दका जादूका अगाडि ती सबै फिका लाग्छन् प्रिय । शरीरभरि रेशमी काँडा
उमार्न सक्ने प्रेमपत्र तिमी बाहेक शायदै कसैले लेखेको हुँदो हो । तिमीले लेखेका
पत्रका शब्दहरुले त मलाई सम्मोहित गरे । फोनमा बोल्नु, च्याटिङ्ग
गर्नु र पत्रमा भावना व्यक्त गर्नुका बीचमा पनि कत्रो अन्तर हुँदोरहेछ भन्ने मलाई
लाग्यो । त्यो हातेफोनमा बोलिएका र मसिनको सहायताले लेखिएका च्याटका अक्षरहरु त
अँध्यारोमा हानिएका घुएत्रा जस्तो लाग्यो मलाई । तिनमा कुनै भाव नै नभएको जस्तो
लाग्यो । दाँजेर हेर्दा, मन घोप्ट्याएर कुँदिएका पत्रका
अक्षरसँग अन्य माध्यमको तुलना नै नगरे पनि हुने देखेँ मैले ।
मैले प्रेममा शब्दको दुरुपयोग हुँदैन भन्ने अर्थमा यी माथिका कुराहरु भनेकी हुँ कबीर । छरपस्ट शब्दहरुलाई गुथेर माला बनाउन सकिन्छ । तिनै शब्दहरुलाई विशाक्त तीर पनि बनाउन सकिन्छ । शब्दले सुन्दर सन्सार निर्माण पनि गर्दछ र एउटा सुन्दर संसारलाई भताभुङ्ग पार्न पनि सक्छ । यहाँ मैले प्रेमिल शब्दका प्रयोगको मात्र कुरा गरेँ है कबीर । यी तिमीले लेखेका शब्दहरु शब्द मात्र नभई उर्जा हुन् । यी जीवनदायी शक्ति हुन् । यी तिम्रा शक्तिशाली शब्दहरुका अनन्त गहिराई भित्रको आनन्दको अनुभूति गर्न पाउनु नै मेरा लागि अहोभाग्य हो । तिम्रा जीवनदायी शब्दहरुले भरिएको यो पत्र दोहोर्याएर पढिरहँदा मेरो कानमा कतैबाट एउटा गीत ठोकिन पुग्यो ।
फूल
अधूरो बास्ना बिना
जून
अधूरो तारा बिना
घाम
अधूरो छायाँ बिना
जीवन
अधूरो माया बिना ।
यो
गीतको मर्मले मलाई छोयो । मेरै कानका नजिक आएर तिमीले गुन्गुनाए जस्तो भान भयो ।
वास्तवमा, तिमी बिना मेरो जीवन अधूरै हुन्छ । म सोच्छु तिमीले मेरो मन
मष्तिष्कमा कब्जा जमाएका छौ । हरेक सुन्दर वस्तुहरुमा म तिमीलाई अनुभूत गर्छु ।
प्रत्येक लयवद्ध गीतहरु तिमीले नै मेरा लागि गुन्गुनाएको ठान्छु । मैले जति नै
शब्दहरुको बयान गरे पनि शब्दहरु यी
मेरा मनका सम्पूर्ण भावनाहरु व्यक्त गर्न काफी छैनन् । कविताका लिखित हरफहरुका
बीचमा अदृश्य र लुप्त संवेगहरु भए जस्तै मेरा शब्द पछाडिका भावलाई तिमीले बुझेर
ग्रहण गर्नेछौ भन्ने आशा छ । आजलाई यति नै ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 July 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]