Saturday, 9 July 2022

कैदी नम्बर १

 प्रिय कबीर,

          समय क्रमको प्रभावले होला मैले आफूलाई कैदी जस्तो पो ठान्न थालेकी छु । अलिअलि कुरा बुझ्न थालेदेखि म आफूलाई स्वतन्त्र पन्छी ठान्थेँ । यो स्वतन्त्रताभाव मेरो मनमा जरा गाडेर बसेको थियो । तर केहि समय यता म आफू लाई एक कैदीको रुपमा पाइरहेकी छु । मैले छानेको र ठानेको स्वतन्त्रताकै बन्धक पो रहेछु म त । म आफू  बन्धक बनेको ज्ञान मलाई भर्खरै भयो । म त ज्ञानको, पदको, धनको, शक्तिको, नामको र अरु थुप्रै शान बघार्ने कुराहरुको बन्धक रहेछु । यी धेरै कुराहरुबाट घेरिएर म कैदी जस्तो जीवन बाँचिरहेकी रहेछु । म आफू  हुनुमा जे जे कुरामा गर्व गर्थें, ती सबै


कुराहरुले मलाई कुँज्याइरहेको अनुभूति गर्दैछु, हिजोआज ।

ठूलो नहुनू

          ती भर्खरै बहुसंख्यक धरानेहरुले छानेका स्वतन्त्र युवा नेता हर्क साम्पाङ्ग बारम्बार भनिरहन्छन्— ठूलो हुनु त धूलो हुनु हो । हो रहेछ जस्तै लाग्यो मलाई पनि । मानिसलाई ठूलो के कुराले पार्छ ? त्यहि पदले, शक्तिले, पैसाले नै होइन र ? हो, यी कुराहरुले मानिसलाई मानिस हुन नदिने रहेछ । एक अर्काबाट टाढा पार्ने रहेछ । अर्को व्यक्तिको सामान्य पहुँचभन्दा पर भएपछि, अरुलाई अर्कै प्रजातिको जस्तो ठान्ने भएपछि मान्छे मान्छे नै नरहँदो रहेछ । त्यो ‘ठूलो’ विशेषण धारण गरेको व्यक्ति वास्तवमा धूलोमै परिणत हुने रहेछ । वी.पी. कोइरालाले समेत त्यहि कुरा भनेका रहेछन्— ठूलो होइन असल बन्नू भनेर । ठूलो नहुने प्रयासमा लागेका धराने साम्पाङ्गलाई देख्दा एक प्रकारको उत्साह जागेर आउँछ । सानै रहन, मान्छेकै तहमा रहन प्रयासरत साम्पाङ गिट्टी कुटिरहेका हुन्छन्, खनिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् । यी मान्छे मात्र भइरहेका हुन्छन् । मान्छे हुने यिनको प्रयासले पनि मलाई छोयो, कबीर । म त सधैँ मान्छे बन्ने प्रयासमा अमान्छे पो हुँदै गइरहेकी रहेछु ।

नाङ्गो भएर हेरेँ

          मैले आफूलाई नाङ्गो भएर हेरेकी रहिनछु । अहिले भर्खरै मात्र मैले आफूलाई कति धेरै आवरणले ढाकेको रहेछ भन्ने कुरा थाहा पाएँ । उहि मैले अगाडि भनेजस्तो नाम, सम्मान, पद, हैसियत जस्ता परिधानले म हलचल गर्न नसक्ने गरी पुरिएकी रहेछु । म तिनलाई बढो जतनपूर्वक बच्चाले खेलौना च्यापेजस्तो गरी च्याप्दी रहिछु । ती हराउलान् भनिकन डराउँदी रहिछु । अनि अर्कोतिर फर्केर अरुसँग ती आफूसँग भएका कुरा छन् कि छैनन् भनेर हेर्दिरहिछु । हो, यो अर्कातिर हेर्ने भाव अति विषाक्त रहेछ । यसले द्वेष, राग, भय, क्रोध, ग्लानी जस्ता घातक भाव पो उब्जाउने रहेछ । यति जाबो कुरा मेरो मगजमा किन उहिल्यै नपसेको होला भनेर अहिले मलाई हाँसो उठ्छ । अहिले यो प्रकारको चेत आएपछि पो मैले आफूलाई नांगो पारेर हेरेँ । मैले मेरो नाम नै बिर्सेर हेरेँ । सम्पूर्ण सम्बन्धहरु हुत्याएर हेरेँ । आफूसँग जोडिएका सम्पूर्ण अलंकार र विशेषणहरु बिर्सिएर हेरेँ । ओहो, म त सर्लक्क मान्छे मात्र पो रहेछु ।

          त्यति मात्र होइन, कबीर । मसँग अझै पनि मेरो पहिचान बाँकी नै रहेछ । मलाई चिन्नेहरुले कसरी चिन्लान् त भन्ने सोचेर हेरेँ । ओहो ! मेरो शरीर, नाक नक्सा, रंग पनि त मेरा पहिचान रहेछन् नि । त्यसपछि त मैले मेरो छाला काढेर एकातर्फ़ थुपारिदिएँ । त्यति त थियो मेरो दृश्य रुपको परिचय । छाला काढिएको मान्छे कस्तो होला ? दश बीसजना मान्छेलाई छाला काढेर लहरै उभ्याइदिँदा कस्तो देखिएला त ! कसैले हेर्नासाथ त्यसलाई चिन्ला र ? त्यो छाला काढिएको जीव मान्छे नै हो भन्ने सम्म थाहा हुन्छ तर कसको छाला काढियो भनेर खुट्ट्याउन त ठूलै अनुसन्धान गर्नुपर्छ होला । हो, मैले पनि आफूलाई छाला काढेर मूढो बनाएर लडाएर हेरेँ । अनि मात्र मैले देखेँ— म केवल मान्छे नै मात्र त रहेछु । म अहिलेसम्म आफूले बोकेका आवरण वा अदृश्य भारिहरुबाट नमीठो गरेर किचिएकी रहेछु । त्यसैले पो त म निस्फिक्री हाँस्न सक्तिन रहेछु । बोल्न नसक्दी रहेछु । मलाई म हुनबाट म आफैंले अज्ञानतावश रोकेकी रहेछु । यसरी म आफैंले सिर्जना गरेको झ्यालखानाको कैदी बनेकी रहेछु ।


          कबीर, तिमी सोच्दा हौ — यति कुरा बुझिसकेपछि त म एक निस्फिक्री जीवन बाँचिरहेकी हुँला । तर होइन । यो जीवन त एउटा पखेटा काटिएको पिंजडाको चरा जस्तै हुने रहेछ । पिंजडाबाट मुक्त गरिदिए पनि उडेर भाग्न नसक्दो रहेछ । त्यो त्यहिँ पिंजडाकै वरपर डुलिहिड्दो रहेछ । मेरो मन अहिले त्यहि पिंजडाबाट मुक्त चरा जस्तै बन्न पुगेको छ । मैले आफूलाई निर्मुक्त ठाने पनि त्यहि सांसारिक कुरा  वरिपरि नै गाँजिएको, अल्झिएको पाउँछु । बिहान उठेका आँखा खोल्ने बित्तिकै म फेरि पनि त्यहि संसारको भारि ग्रहण गर्दी रहेछु, अनि अनगिन्ति समस्याको जालो पन्छाउन खोज्दी रहेछु । हरेक समस्यालाई म आफ्नै पहिचानसँग जोडेर हेर्दी रहेछु । समस्या सुल्झिए एकछिनलाई आफू सिकन्दर महान बनेको ठान्दी रहेछु र समस्या नसुल्झिए एक प्रकारको हरुवा भावले मन कोतरेर बस्दी पनि रहेछु । म त यिनै दैनिकीहरुका गुत्थीभित्र अल्झिएकी अनन्त समयदेखिकी कैदी रहेछु ।

          कबीर, धेरैपल्ट सुनिएको एउटा कथा छ नि चोर आयो, चोर आयो भन्ने सुगाको कथा । कथामा एउटा मानिसले सुगा पालेको हुन्छ । हरेक पटक घरमा कोहि अपरिचित व्यक्ति प्रवेश गर्दा ऊ ‘चोर आयो, चोर आयो’ भनेर कराउँदो रहेछ । हो, हाम्रो जीवन पनि यहि सुगाको जस्तै रहेछ । जन्मेपछिको यात्रा एकदिन सपना जस्तै टुङ्गिने कुरा त हामी सुगाले चोर आयो भनेजस्तै रटिरहँदा रहेछौँ । तैपनि एउटा अनन्त मोहभावमा लडिबडी खेलेर कहिल्यै नअघाउने रहेछौँ । असंख्य कृत्यहरुमा हामी सम्मिलित भइरहने रहेछौँ । आँखै अगाडिको चोरलाई पहिचान गर्न नसक्ने रहेछौँ ।

          अहिले म बेलाबेला आफूलाई मान्छे मात्र भएर हेर्न कोशीश गर्न थालेकी छु । कुनै उल्लास, हतास, खुशी, विरक्तिबाट आफूलार्ई अलग राखेर हेर्न सिक्दै छु । मैले अघि तिमीलाई भनेजस्तो आफ्नो छाला काढेर पहिचानबिनाकी भएर संसार हेरे बढो आनन्द पो आउने रहेछ । यो आफूले देखेको संसारमा मान्छेजति हतासिएको, आत्तिएको, बौलाएको, छट्पटाएको कोहि नै नहुने रहेछ । संसारका अरु जीवात् त आफ्नै सुरमा चल्ने रहेछन् । मानिस जातिको यो अनन्त छट्पटिले हाँसो उठ्ने रहेछ । मानिसहरुमा नीहित अमरत्व खोज्ने भावले मानिस आफैं बौलाएको चाल नपाउँदो रहेछ । ऊ एकछिनमा रमाउँदो रहेछ, एकैछिनमा दुःखी बन्दो रहेछ । अझ त्यतिले नपुगेर घात, प्रतिघात पनि गर्दो रहेछ । अनन्तदेखि चलिआएको यो मानवीय प्रवृत्ति बढो रमाइलो किसिमको रहेछ ।

अष्टवक्र उवाचः

         


    यो मानव प्रवृत्तिको प्रथम अध्येता मैं हुँ भनेर मैले भन्न खोजेको होइन नि कबीर । यस्तो कुराको खोज आदिकालदेखि सन्त ऋषिमुनिहरुले गर्दै आएका रहेछन् । म केहि समयदेखि अष्टवक्र गीतालाई बुझ्ने कोशीशमा छु । जीवन जगतलाई राजा जनकका दृष्टिमा र सन्त अष्टवक्रका दृष्टिमा हुने भिन्नता बारेमा हेर्न खोज्दैछु । शान, वैभव र शक्तिमा निर्लिप्त राजा जनकले बुझेको संसारलाई कसरि अष्टवक्रले झूठो हो भनेर प्रमाणित गरिदिए भनेर बुझ्न खोज्दैछु । साँच्चै भन्नुपर्दा मलाई घत लागेको छ । हामीले निदाएका बेला देख्ने सपना र आँखा उघारेका बेला देख्ने बिपना बिचमा कुनै अन्तर छैन भनेर अष्टवक्रले जनकलाई नाङ्गो पारेर मान्छे मात्र बनाएर देखाइदिँदा जुन अहोभाव जनकमा आयो, त्यसले मलाई समेत छोएको छ । अन्त्यमा म एक श्लोक तिमीलाई सुनाएर यो पत्रको अन्त्य गर्छु है त कबीर !

          नाहं देहो न मे देहो जीवो नाहमहं हि चित् ।

          अयमेव हि मे बन्ध आसीद्या जीविते स्पृहा ।।

          अर्थात्, म शरीर पनि होइन, नत शरीर नै मेरो हो । म त चेतना मात्र हुँ । यो जीवन जगतप्रतिको आसक्तिले नै मलाई कैदी बनाएको हो । 

          अनि अर्को कुनै पत्रमा अष्टवक्र गीताको बारेमा मैले बुझेका कुरा पनि तिमीलाई सुनाउन मन छ । अहिलेलाई यति है त !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 July 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).