एउटी अग्ली, सुरिली
र हँसमुख महिला हातमा दुईवटा ठूला ठूला प्लास्टिकका झोला बोकेर हाम्रो टोलमा
घुमिरहन्छिन् । उनलाई मैले छरछिमेकमा पस्ने र बस्ने गरेकी पनि देखेकी थिएँ । अस्ति
भर्खरै मात्र हो म तल बरण्डामै हिँडिरहेकी थिएँ । वर्षाको मौसम छ । बेला कुबेला
पानी पर्छ । बाटो पनि हिलो छ । यी सबै कारणले गर्दा आजकल मेरो मर्निङ वाक बन्द
प्रायः छ । शरीर नकुँजियोस् भनेर आफैंले अक्कल
लगाएँ — बरु यो पुरानो घरको
बरण्डामा हिँडेरै १०,००० पाइला पुर्याउँछु ।
आकाश
धुमिल थियो । साँझ पर्न एक घन्टा बाँकी नै हुँदो हो । अचानक ठूला ठूला थोपा पानी
वर्षिन थाल्यो । नजिकका फूलका पातहरु र आँपका पातहरुबाट पटटट आवाज आयो । छिनभरमै
जस्ताबाट पानीका सहस्र धाराहरु झरे । हो, त्यति नै बेला
हुर्दुराउँदै ती बहिनी दुईवटा ठूला ठूला झोला झुण्ड्याउँदै खुल्ला बरण्डामा आइन् र
खाटका छेउमा बसिन् । उनलाई देखिरहे पनि उनको पेशा र परिचयको जानकारी मलाई थिएन ।
उनी पुरानो चिनारु जस्तै गरी मुसुक्क हाँसिन् र थचक्क बसिन् । “तपाईँ बेलुका
बेलुका यसैगरी हिडिँरहनुहुन्छ । म देख्छु नि, यता बाटो
हिँडेका बेला, ” उनले आइस ब्रेक गरिन् । उनका चनाखा आँखा र बोलक्कड स्वभावले गर्दा मैले
अन्दाज लगाएँ — यी महिला मगन्ते होइनन् बरु कुम्ले व्यापारी होलिन् । उनको
जिज्ञासा मैले पहिले शान्त गर्नु थियो तर उनले म बोल्नु भन्दा पहिले नै थपिन्–
“दिम्सोमा त घरमा तालाबन्दी हुन्छ । तपाईंहरु जागिर खानुहुन्छ ?”
म
हिँड्न छाडेकै थिइन । उनी बसेर म जता जान्छु उतै टाउको लर्काउँदै बोल्दै थिइन् ।
निकै दिन त म वर्षादको कारणले हिँडेकी पनि थिइँन । फेरि एक दिन झल्याँस्स प्रोफेसर
झाकी श्रीमतीलाई सम्झें । झा दम्पत्ति काठमाडौँमा हाम्रो भन्दा ठ्याक्कै तलको
फ्ल्याटमा बस्थे । त्रिभुवन विश्वविद्यालयबाट रिटायर्ड प्रोफेसर झा असी नाघिसकेका
थिए । छोराहरु अमेरिकातिर बस्ने र उता तराईको गाउँमा गर्मी पनि हुने अनि
दवाइपानीको समेत समस्या हुने भएकाले उनीहरु काठमाडौँतिरै बस्थे । झा सर बिहानै
एउटा मेच बाहिर निकाल्थे र दैनिक पत्रिका पढिबस्थे । उनलाई अंग्रेजीमा संवाद गर्ने
ठूलो शौक थियो । यसो मान्छे हेरेर वार्ता शुरु गरिहाल्थे । चिया नास्ता खाइसकेर
उनी चिटिक्क परेर छत्रे टोपी लगाउँथे र लट्ठी टेक्दै गोराहरुका चालमा अघि लाग्थे ।
उनका पछिपछि सानो लिखुरे ज्यान भएकी उनकी जहान हुन्थिन् । हो, तिनै
प्रोफेसर मेडमले मलाई एक दिव्य ज्ञान दिइन् । उनको फ्ल्याट अगाडि एउटा तुलसीको मोठ
थियो । ती मेडम आफ्नो फूर्सदको बेलामा विशेषगरी साँझ र बिहान त्यस तुलसीको मोठका
वरिपरि हिँडिरहन्थिन् । त्यतिमात्र होइन । उनका हातमा हनुमान चालिसा हुन्थ्यो र
त्यो पाठ गरिरहन्थिन् । दायाँबायाँ कतै नहेरी फन्फनी घुमिरहने र गुनगुन गर्दै पाठ
गरिरहने । मन र शरीर दुवैलाई शुद्दिकरण गर्ने कति राम्रो उपाय ! उनी उति बोल्न मन
पराउँदिन थिइन् । बोल्नेजति कार्य सबै प्रोफेसर साहेबकै जिम्मामा भएजस्तो ! उनै झा
मेडमलाई देखेर सिकेको ज्ञानको प्रयोग गर्दै म हिँडिरहेकी थिएँ ।
पानी राम्रैसँग दर्किन थाल्यो । ती व्यापारी बहिनी खाटमा बसिरहेकै थिइन् । म उनले बोलेको बुझ्न छाडें । अनि उनकै छेउमा एउटा कुर्सी तानेर बसेँ । “अनि तपाईँ कहाँबाट ओत लाग्नु आइपुग्नुभयो ?” मेरो प्रश्नको उत्तर दिँदै उनले भनिन्, “म त लुगा कपडा बेच्छु नि । तपाईलाई हुने पनि राम्रो राम्रो लुगा छ । हेर्नू न, पानी पर्न लाग्यो । साइकल छैन । अनि ओत लाग्न छिरेकी । ईश्वरले तपाईसँग भेट गराइदिए । धन्य प्रभू !” अनि उनले आकाशततर्फ़ हेरेर जम्लाहात गरिन् ।
मैले
मनमनै सोचेँ— ‘अहँ मलाई केहि चाहिएको छैन । अस्ति यस्तै कुम्ले व्यापारीको शब्द
जालमा परेर रु. १,१०० मा चार वटा
सुरुवाल किनेकी, लाउनेबित्तिकै च्यातिएर झ्याङप्वाल भए । अहँ, म
आज फँस्दिन ।’ तर ती बहिनी तराईवासीको मीठो लवजमा कुरा थप्दै झोला खोतल्न थालिन् ।
उनले लुगा खोज्दाखोज्दै उनको घर मामाचोकमा भएको, बूढा पक्षाघातले
थला परेको र तीन भाइ उमेर पुगेका छोराहरु पनि काम नगर्ने भएकाले जाहान उनैले
पाल्नुपरेको सम्म बयान सुनाइन् ।
त्यतिबेरमा
उनले मेरो संवेदनाको कुनामा डेरा जमाइसकेकी रहिछन् । मलाई कताकता दयाभाव पलायो ।
अनि उनले मलाई एउटा फूलबुट्टे जामा देखाएर त्यसको महिमा गाउँदै अति राम्रो र
त्यसले सुहाउने कुरा बताइन् । “जामा ! यो उमेरमा !.” मेरो मुखबाट हठात् यी शब्द
आउनासाथ उनले भनिन्, “हेर्नोस् । अहिले जस्ले पनि लगाउँछ । यो लामो छ । सिरियलमा
हेर्नुहुन्छ नि कति राम्रो राम्रो । तपाईलाई पनि कत्ति सुहाउँछ । यसमा पेटिकोट
चाहिँदैन । यी यो बुच्चे सुराल लाएपछि टन्टै साफ । फेरि तपाईंको उमेर कति नै भको
होला र ?”
मलाई थाहा थियो म झूठो प्रसंसामा फँस्दैछु भन्ने कुरा । तैपनि मैले त्यो वस्त्र उचालेर हेरेँ । त्यसको नाप नक्सा हेरेँ । मेरो सोचाइभन्दा राम्रो कपडा थियो । ससाना गुलावी रंगका बुट्टा भएको जामा अब मलाई आकर्षक पनि लाग्न थाल्यो । तर फेरि मनमनै सम्झें — ‘यो वस्त्र लगाउँदा सुहाउला र ?’ त्यो व्यापारी त मेरो मनस्थिति पढिरहेकी रहिछ क्यार ! उसले मलाई हौस्याएर भनी, “हेर्नू, तपाईंले नलगाएर मात्र हो । तपार्इं जस्तो मान्छेलाई लास्टै खुल्छ । हिरोनी जस्तो देखिन्छ ।” ऊ अझ केहि थप्न खोज्दै थिई, मेरा श्रीमान् पानीमा रुझ्दै आइपुग्नुभयो । उहाँ पनि घरभित्र नपसेर त्यहिँ रमितामा सामेल हुनुभयो । म ती वस्त्र किन्ने कि नकिन्ने दोधारमै थिएँ । अचानक आइलागेको झमेला जस्तो भइरहेको थियो मलाई । पानी अझअझ कस्सिएर पर्न थाल्यो
। ऊ आफ्ना सामान बिकाउन अझ कस्सिन थाली । परल मूल्यमै दिन तयार भई ।
सानो
समूहमा खरिद विक्रीको खेल रमाइलो हुँदैन भनेर श्रीमान् ले पल्लोघरमा हुनुभएकी मेरी जेठानी निर्मला दिदीलाई
फोन लगाउनुभयो । मधेसी बस्तीमा हुर्किनुभएकी निर्मला दिदी स्थानीय भाषा पनि जान्ने
, अनि भाऊ घटाउन पनि सिपालु । अब मात्र हटिया जस्तो भयो । निर्मला
दिदीले पनि एउटा म्याक्सी खरिद गर्नुभयो । म अझै पनि
त्यो जामा पन्छाउन नै प्रयत्न गर्दैथिएँ । उसले सकेसम्म पैसा घटाइरहेकी थिई ।
नरिसाइकन मलाई फकाइरहेकी थिई । अन्त्यमा यसो मौका पारेर मेरो छेवैमा आई र साउती
गरेजस्तो स्वरमा ती लुगाहरु मेरा पोल्टामा थमाइदिँदै बोली, “यो
लगाउनुस् । लोग्नेको माया अझ बढेर आउँछ ।”
मलाई
त त्यसका कुराले अलिअलि झ्वाँक पनि चल्यो । फेरि सोचेँ— ‘तीनवटा छोरा र बिरामी लोग्ने उसलाई पर्खिबसेका होलान् । लगाए लगाउँला; नलगाए
कसैलाई दिउँला । होस्, हत्ते गरी किनिदिन्छु ।‘ कारोबार सकिएको एकछिनमा पानी ओछायो । ऊ अर्को घरतिर लागी । बिचरा त्यो आइमाईले कसरी जानेकी होला— नारी
संवेदना कसरी हल्लिन्छ भन्ने । लोग्नेको माया बढ्ने सुत्र सुनाएर हरेक घरमा राम्रै
व्यापार गर्दी हो त्यो कुम्ले व्यापारी ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 1 July 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).