मेरो मनको मध्यभागबाटै तमोर बग्छ, घना अमेजन जङ्गलका बीचबाट अमेजन नदी बगेजस्तै । यो मन कहिलेकाहिँ त पार पाइनसक्नु आटव्य जंगल जस्तै नै हुन्छ । बढो होशियारीपूर्वक फुकी फुकी पाइला नचाल्ने हो भने ठूलो दुर्घटनामा परिने जस्तै । भयानक जंगलमा पस्दा पनि त्यहि हो । जंगल र मन दुवै भयावह मात्र हुँदैनन्, यीभित्र प्रचुर संभावनाहरु पनि लुकेका हुन्छन् । यिनै त्रासदी र संभावनाका बीचबाट मेरा मनको तमोर बग्छ । तमोरलाई मैले शान्त भएर बगेको देखेकी छु । यसलाई उर्लिएको देखेकी छु र यसको प्रलयकारी रुप पनि देखेकी छु ।
यसपाली
दशैँ दशैँजस्तो थिएन । सधैँ सँगै नभए पनि हामी घरतर्फ़का छोराछोरीहरुको गन्ती
बाह्रबाट घटेर एघार पुगेको वर्ष थियो हाम्रा लागि यो । शीरदेखि गनिल्याउँदा अंक
नौँ अब हाम्रो परिवारमा छैन । यसैगरी माइततर्फ़ पनि
हामी पाँचबाट घटेर चार छोराछोरी भएको दूर्भाग्यपूर्ण वर्ष यो ; नम्बर
चार हेर्दाहेर्दै अनन्तमा बिलाइगयो । यसै पनि बा–आमाहरु नहुनुभएपछि मूलघर सकिएको छ
। पुराना पुस्ताका मानिसहरु या त अशक्त भए, या त परमधाम नै
गए । नयाँ पुस्तालाई बाँध्ने डोरिहरु छिनेका छन् । अझ सम्झेर ल्याउँदा अहिलेका
केटाकेटीहरु त चंगा झैं कता हो कता फर्फ़राइरहेका छन् । यसपालि
त दशैँभर आकाश वर्षिरह्यो । निरन्तरको झरी कुनैबेला रोकिएन । दुई जनाको जहानमा
सल्लाह मिल्न कति बेरै नलाग्ने ! यो लामो फूर्सदीमा केहि दिन धनकुटा जाने अनि
त्यहाँबाट भोजपूर चैनपूर पुग्ने योजना बने । झोला कसिए । तर निरन्तरको झरीले
झोलाहरु धनकुटामै थन्किए । त्यो पनि राम्रै भयो । मधेशको गर्मीबाट उन्मुक्ति पाइयो
। आकाश उघ्रेका बेला वरिपरि रमाइयो ।
तर मनले तल तमोर झर्न भित्रभित्रै ठेलिरहेको थियो । समय बदलिँदा धेरै कुराहरु सहज भएका छन् । धनकुटाबाट एउटा अटोमा चढेर हामी तल तमोर झर्यौ । अटोवाला भाइ बढो रमाइला रहेछन् । उनले आफ्ना पेशा सम्बद्ध धेरै किस्सा सुनाए । एकपटक उनले एउटी महिलालाई, ‘जाने हो ?’ भनेछन् । उसले पनि, ‘लाने भए जाने नि, म सिङ्गल हो,’ भनेपछि आफ्नो गाडी हुँक्याएछन् । ‘आपत् पार्ली भनेर भागेँ नि । भरे छाड्दै छाडिन भनेँ के गर्नु ? हेन्सम हुनु पनि पिरलो पो छ,’ भन्दै अटोवाला भाइ हाँसे ।
ओहो
! आफ्ना बुवाले तीस पैतिस वर्षसम्म तन, मन, धनले
सेवा गरेको विश्रान्ति मन्दिर परिसर पनि भव्य बनेछ । विशाल घरहरु खडा भएछन् ।
त्यहाँ बस्ने ४३ वृद्धवृद्धाहरु विश्रान्ति पुण्यस्थलमा बिहानको खानापछि सुस्ताएर
बसेका थिए । जो जो पुरानाहरु थिए, बुवा मुवाँको कारणले मलाई चिनेर मसँग
बोल्न आए । ममता दर्शाए ।
एकजना
सेवा निवृत्त शिक्षक सपत्नी नै त्यहाँ रहेछन् । ती गुरुले समय दिएर हामीलाई सबै
घुमाइ देखाइ गरे । एउटा भव्य लाइब्रेरी, आगन्तुक कक्षहरु, मलामी
विश्राम स्थल, क्रिया स्थल लगायतका सुविधाहरुले भरिपूर्ण विश्रान्ति मन्दिर देखेर
मन प्रशन्न भयो । आफ्नै बाबु, आमा, ठूलीआमाहरु
समेतको अन्त्येष्टि भएको स्थान हो यो । तमोरकै किनारमा एउटा भव्य भवन रहेछ । तमोर
उर्लेर आउँदा पर्खाल नाघेर पानी र लेदो भित्र पसेको र तल्ला तलाका फलामे ढोकाहरु
समेत बङ्ग्याएको, भत्काएको काफ्ले गुरुले देखाए । नदीको त्यो रौद्र रुपसँग उनले कुनै
रोष प्रकट गरेनन् । बरु ‘यी नदी छिन् र त
यो हामी छौँ,’ भनेर बढो सौम्य भावमा
बेलिविस्तार लगाए ।
हो
नि, यो तमोर सदियौँदेखि, सृष्टीको आरम्भदेखि निरन्तर बहिरहेको छ
। समयका उतार चढाव, सिमानाका परिवर्तन, व्यवस्थाका परिवर्तन, आधुनिकीकरण जस्ता कुनै कुराले यसलाई छोएको छैन । यो निरन्तर
बगिरहेको छ । नदीले विध्वंश गरेको कुरा हामी गर्छौँ तर वास्तवमा नदीले विध्वंश
गर्दैन । उसले त हाम्रा विध्वंशहरुलाई साइजमा ल्याइदिने हो । नदी कज्याउँने
प्रयासलाई कहिलेकाहिँ प्रकृतिमाथि अत्याचार नगर है भनेर नदीले चेतावनी दिने हो ।
प्रकृति अविजेय छ भनेर ध्वङ्सात्मक प्रजातिको मान्छेलाई सम्झाउने हो ।
आफ्ना बुवाले नामाकरण गर्नेदेखि त्यसलाई हुर्काएर आजको स्थितिमा ल्याइपु¥याएको तमोर किनाराको विश्रान्ति धाम मेरा लागि त चार धाम नै हो । तमोरले न जसको ख्याल गर्छ, न अब्जसको ख्याल गर्छ, न त उसले प्रसिद्धी हेर्छ, न त अमर हुने इच्छा गर्छ । अहिले मलाई लाग्छ, तमोरले नै बुवालाई त्यो गुह्य ज्ञान दियो होला । त्यसैले उहाँले तमोरको साथ नछोड्नुभएको होला । तमोरले जस्तै उहाँले आफूले सकेको काम मात्र गरिरहनुभयो । न त प्रसिद्धीको पछि लाग्नुभयो, न त जस अब्जसको ख्याल राख्नुभयो । उहाँ तमोर बाँच्नुभएछ । त्यसैले मलाई तमोर प्यारो छ । यो मनको माझैबाट तमोर बग्छ ।
तमोरको
किनारामा उभिएर सोचेँ — अब कुनै दिन सेवानिवृत भएर आएर यतै बस्नुपर्ला । यतै सकेको
सेवा गर्नुपर्ला । यस कुराको त निर्क्योल गरिहाल्नु पर्छ जस्तो मनमा भाव आयो ।
काफ्ले गुरु विश्रामेश्वर मन्दिरको नयाँ रुपको वर्णन गर्दै थिए । मैले सोधेँः
‘के
यहाँ आफैं आश्रम बनाएर बस्न
पाइन्छ, गुरु ?’
‘पाइन्छ
। ऊ त्यहाँ तीन जना दाताहरुले आ–आफ्ना कोठाहरु निर्माण गर्नुभएको छ ।’
हामी
त्यतै गयौँ । हो, रहेछ तीनतले घरको माथिल्लो तलामा लहरै तीनवटा कोठा रहेछन् । अट्याच
बाथरुम सहितका सुविधायुक्त कोठा रहेछन् । मनमा मेरो लोभ पलायो — यस्तो पुण्यस्थलमा एउटा कोठा मेरो
पनि भए त कहिलेकाहिँ म आउँथे होला ।
‘अनि
आफू नबस्दा ताला
लगाएर हिँड्न पाइयो नि ?’
‘त्यसो
चाहिँ मिल्दैन । तपाइँहरुले प्रयोग नगर्दा अरु कसैले गर्छ । खुल्लै रहनुपर्छ यी
कोठा ।’ गुरूका कुराले मेरो चेतनाको ढोका उघारिदियो । आश्रममा आउँदा नै नीजत्व भाव
त्याग्नु पर्ने रहेछ । मन नाङ्गो हुनुपर्ने रहेछ । वस्त्रले त शरीरको नाङ्गोपन
मात्र पो छोप्ने रहेछ त ! मनमा अमेजनको जङ्गल बोकेर मन्दिर, आश्रम
र तीर्थ दौडनुको अर्थ रहेनछ । सम्पूर्ण म र मेरो त्याग्न नसक्ने हो भनेँ र तमोर
बन्न नसक्ने हो भने घरमै बसेको बेस रहेछ । आश्रमका कोठाका ढोकाहरु जस्तै मनका ढोका
खुल्ला राख्ने आँट नगरुन्जेल दिनदुनियाँमा रमाउनु नै बेस रहेछ । दिनदुनियाँको
झिलिमिलिलाई पनि प्राथमिकतामा राख्नु र परमार्थ चिन्तन पनि गर्नु असम्भव रहेछ
जस्तो विचार मेरा मनमा आयो ।
तमोरले
सिकाउने कुरा पनि त्यहि नै हो जस्तो मलाई लाग्यो । तमोर क्षण क्षणमा मात्र बाँच्ने
रहेछ । एक निमेष अघिको तमोर एक निमेष पछि नरहने रहेछ । अहिले भर्खर छोएको पानी
फेरि त्यसै गरी छुन नसकिने रहेछ । मेरो मनको तमोर पनि निरन्तर उसैगरी बहिरहेछ ।
यसलाई छेक्ने, थुन्ने र यथास्थितिमा राख्ने दैया मसँग छैन । विश्रान्ति भ्रमण र तमोर
दर्शनले एउटा ज्ञान भने मलाई दियो — निरन्तर बगिरहनु नै जीवन हो । न त यो जीवनको
वहावलाई थुनछेक गर्न सकिन्छ, न त पुनः पछाडि फर्केर सच्याउन सकिन्छ
। यो निरन्तर जसरी जहाँबाट हुन्छ सागरमा नपुगुन्जेल बहि नै रहने हो ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 October 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]