Monday 17 October 2022

स्मृतिको उत्खनन्

 

 

          स्मृति बिम्बहरुमा आफ्नो बाल्यकालको स्मृति अत्यन्त प्यारो हुन्छ । ती बाल्य स्मृतिहरु सम्झेर ल्याउँदा सुखद् अनुभूति हुन्छ । ती नफर्किने दिनहरुका पृष्ठभूमिमा तयार गरिएको फिल्म ऐना झ्यालको पुतली हेर्दा मलाई त्यस्तै अनुभव भयो । पचासको दशकको सेरोफेरोमा बनाइएको यो फिल्मलाई मैले नेपाली सिनेमा जगतको एक उत्कृष्ट कलाकारिताको नमूना नै मानेँ । मेरो सामान्य बुझाइलाई यो फिल्म नेपालबाट ओस्कार अवार्डका लागि छनोट भएको कुराले पनि पुष्टि गरेको छ ।


          एउटा निम्न मध्यम वर्गीय परिवारले बेहोर्नुपर्ने घनचक्कर भित्र पिसिएर सामान्यजनका सपना कसरी धुलिसात् हुन्छन् भन्ने कुरा फिल्मको नामले नै भन्छ — ऐना झ्यालको पुतली । शीशाको झ्यालबाट बाहिरी दुनियाँ त देखिन्छ तर उडेर जौँ न त बाहिर भन्दा पुतली ठोकिइजान्छ । ऊ तल खस्छ । बाहिर उज्यालो छ भन्ने जान्नु, उडिजाने प्रयत्न गर्नु तर बेगिन नसक्नु आममानिसको नियति नै हो । यहि माखेसाङ्लालाई श्रव्य दृश्यमा दुरुस्त उतारिएको कथा हो ऐना झ्यालको पुतली । यस कथामा एउटा सानो परिवार छ । आमा बाबु र दुई छोरा छोरी छन् । सरल र सहज कथा छ तर कथाले सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्छ । थोरै पात्रहरु लिएर सरल कथामार्फत निर्देशकले यस फिल्मद्वारा दर्शकहरुलाई भावनात्मक यात्रामा डोहोर्याउन सफल भएको मैले पाएँ ।

विद्याको विद्रोह

          फिल्मकी एक मूल पात्र विद्याका वरिपरि कथाले फन्को मार्छ । किशोरावस्थाकी विद्या पढाइमा तीब्र छ । उसलाई उच्च शिक्षाको चाहना पनि छ । बल्लतल्ल उसले कक्षा आठ पास गर्छे । पारिवारिक रुपमा निम्न आर्थिक स्थितिकी विद्या मुस्किलले घरमा आमासँग रोड्याईँ गरेर घरबाट टाढा गएर डेरा बसेर पढ्न अनुमति पाउँछे । तर दैव दशा ! उसकी आमाले कानका गहना बेचेर छोरी पढाउन भनेर जुटाएको खर्च चोरी हुन्छ । विद्याका सपना धुलिन्छन् । आमा मर्माहत हुन्छिन् र आखिरमा आमाको जस्तै नियति विद्यामा पनि दोहोरिन्छ । उसको विवाह हुन्छ ।

          मलाई यस फिल्ममा राम्रो लागेको एउटा पक्ष के हो भने विद्याले पढाइको महत्व बुझेकी छ । पढ्यो भनेँ वर्तमान अवस्थामा परिवर्तन आउँछ भन्ने दृढ विश्वास विद्या र उसकी आमामा छ । उसको जड्याँहा बाबु पूर्णतयाः लम्फू छ । ऊ घरमा केहि काम गर्दैन र रक्सीको नसामा डुबिरहन्छ । अन्त्यमा त्यसै कारणले नै बाबुको मृत्यु हुन्छ । यसै बिचमा  एकदिन विद्या घरको अन्न बेचेर रक्सी खान भनेर हिँडेको बाबुलाई रोक्न खोज्छे । ऊ अन्नको धोक्रो तान्छे । तर आमाले उल्टै छोरीलाई नै हतोत्साहित गर्छिन् । तर विद्याले हारे पनि ऊभित्र भएको त्यो विद्रोहको झिल्को विद्याको उमेरसँगै हुर्कियो होला भनेर म कल्पना गर्छु । विद्याभित्र भएको विद्रोही भाव र पढ्ने अनि केहि गर्ने आकांक्षाले विद्याको जीवनमा परिवर्तन ल्यायो होला, विद्याकी आमाजस्तै विद्याले दमित भएर जीवन बाँच्नुपरेन होला भन्ने कल्पना मेरो मनमा आउँछ । यो फिल्मको कथाभन्दा पर्तिरको कुरा भएपनि निर्देशकले दर्शकलाई कल्पना गर्ने ठाउँ प्रशस्त गरिदिएका होलान् भन्ने मलाई लाग्छ ।


समययात्रा

          फिल्मका निर्देशकले अति सहज ढंगले दर्शकलाई आफ्नो जीवनको एउटा कालखण्डमा पुर्याइदिएर स्मृतिको उत्खनन् गर्न प्रेरित गर्छन् । मलाई लाग्छ, हरेक दर्शकले यो फिल्म हेर्दा एकपटक आफ्नो वाल्यकालको स्मृतिमा एक फन्को मार्छन् । कथाका पात्रहरुसँग आफूलाई दाँज्छन् । कथामा हाम्रा नजिकको अतीतलाई विभिन्न माध्यमबाट देखाइएको छ । पचासको दशक भन्ने शब्दहरु प्रयोग नगरी यो कथा पचासको दशकको हो है भन्ने कुरा देखाइएको छ । त्यसबेला गोरखापत्र संस्थानबाट निस्कने वालपत्रिका मुना पढ्ने र त्यसमा लेख्ने अनि छपाउने कुरा चानचुन थिएन । त्यसमा अझ आफ्नो रचना नै छापिनु त ठूलो गौरवकै विषय हुने भयो । विद्याको रचना मुनामा छापिँदाको हर्षलाई म आफैंले पनि अनुभव गरेँ । मेरो बाल्यकाल मुनाभन्दा धेरै अगाडिको हो । ऊ बेलामा भनेँ, घरमा रेडियो हुनु र छेउमा बसेर साँझमा आउने बाल कार्यक्रम सुन्नु कत्रो खुशीको विषय थियो । साँझमा हामी सास दबाएर बाल कार्यक्रम सुन्न रेडियो छेउमा बस्थ्यौँ । मीठो धुनसँगै बासुदेव मुनालको स्वरमा, “आऊ, मेरा प्यारा भाइ बैनीहरु रेडियो नजिक आऊ” भन्ने स्वर सुनिन्थ्यो । उनी को भन्दा को कम भन्ने प्रतियोगितात्मक कार्यक्रम पनि चलाउँथे । यसै उपक्रममा एकदिन मैले पठाएको मेरो कथा ‘उसको अपूरो इच्छा’ पनि रेडियोमा सुनियो । पछि यो कथा प्रतियोगितामा प्रथम भएको सुन्दा मेरो बाल मस्तिष्क खुशीले झण्डै नपड्किएको ! त्यो खुशी र त्यो अनुभव आजका मोबाइल युगका बालकहरुसँग हुँदैन ।

          फिल्ममा त्यस समयलाई दर्शाउने अरु कुराहरु पनि छन् । जस्तै रेडियोमा बिहान बज्ने शंख ध्वनी । रेडियो नेपालको समाचार । गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रित्वकाल आदि कुराले फिल्मको समय सन्दर्भ खुट्याउन सकिन्छ ।

बाङ्गेको नियति

         


फिल्ममा विद्याको भाइ बसन्त बढो मन परेको पात्र हो मलाई । सानो भाइ फिल्म हेर्नमा क्रेजी छ । गाउँमा भिडियो देखाउने चलन हुन्थ्यो त्यसबेला । बसन्त पैसा चोरेर, स्कूलबाट भागेर फिल्म हेर्छ । चाइनिज कलम साथीसँग बाँकि लगेर पैसा तिर्दैन । साथीहरुसँग कुस्ती गर्छ । घुर्क्याएर घरबाट हिँडिदिन्छ । आँखा छलेर, ठूलाले भनेको नमानेर पौडि खेल्न गइदिन्छ । दिदीले पठाएको कविता स्कुलमा दिनै बिर्सिन्छ । एउटा हुर्किंदो उमेरको बालकले गर्ने सम्पूर्ण बद्मासीको झलक बसन्तले दिन्छ । बसन्तको एउटा साथी छ — बाङ्गे । बिचरा बाङ्गे घरेलु हिंसाबाट प्रताडित छ । ऊ बारम्बार बसन्तलाई फकाउँछ । शहर जौँ, भागौँ भन्छ । शहर जाने र धेरै पैसा कमाउने सपना देख्छ । तर वास्तवमा ऊ घरेलु हिंसाबाट उन्मूक्ति चाहन्छ ।

          ऐना झ्यालको पुतली  एउटा कालखण्डको करिब दुई घन्टाको कथा हो । व्यक्त र अव्यक्त माध्यमबाट फिल्मले दर्शकको मन मस्तिष्क झक्झक्याएको छ । दर्शकलाई आफ्नो अतीततिर डोहोर्याएको छ । कति सरल र सहज ढंगले पनि एक उत्कृष्ट फिल्म बन्न सक्ने रहेछन् भन्ने कुरा यस फिल्मले देखाएको छ ।

          म फिल्मको पारखी नभएपनि सामान्य हेराइमा यो एक उत्कृष्ट फिल्म हो । सुन्दर कला र सरल प्रस्तुतिको समायोजनले फिल्मलाई उत्कृष्ट बनाएको छ । अझ फिल्मकी आमा पात्र बाहेक अन्य पात्रहरु ‘नन्— एक्टर’ हुन् भन्ने थाहा पाएपछि ती पात्रहरुको भूमिका प्रति गर्व लागेको छ । जीवन ससाना कुराहरुको संमीश्रण हो । यो फिल्म पनि ससाना क्षणहरुको कोलाज नै हो भन्दा फरक पर्दैन ।

          यति हुँदाहुँदै पनि यो फिल्म सर्वगुण सम्पन्न चाहिँ होइन । एक समयको कथा र व्यथा यसमा देखाइएको छ । फिल्ममा राम्रा विषयवस्तुहरुको उठान गरिएको छ तर पात्रहरु जुन अन्यमनस्क स्थितिमा कथाको उठानमा थिए, उनीहरु त्यहि त्यहि अवस्थामा रहेका छन् । विद्या, बाङ्गे र उसको साथीको प्रगतिको कल्पना गर्न सकिन्छ तर त्यस्ता बलिया सम्भावनाहरु प्रष्टसँग कथामा देखाइएको छैन । तर जे जस्तो भएतापनि फिल्म राम्रो बनेको छ । अर्थपूर्ण छ । एकपटक हेरेर पश्चात्ताप गर्नुपर्दैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 October 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).