Saturday 1 October 2022

हामी चुक्दै त छैनौं ?

 


    केही दिनअगाडि मेरो एकजना मित्रसँग भेट भएको थियो । गफ गर्ने क्रममा हामीले केटाकेटीको पढाइका विषयमा प्रवेश गर्यौं । विद्यालयमा पढ्ने केटाकेटीले खालि पाठ्यपुस्तकमा मात्र भर नपरी समय पाएसम्म वाह्य पुस्तक पनि पढ्नुपर्छ भन्ने मेरो धारणा थियो । मसँग मेरा मित्रको पनि विमति थिएन । उनले मलाई सोधे, “मेरो छोरालाई कुन कुन पुस्तक पढ्न सुझाव दिनुहुन्छ त, म्याडम ?” मैले दुई/चारवटा नाम चलेका नेपाली पुस्तकको नाम भनेँ । मेरा मित्र अलि अक्मकाए र भने, “ऊ नेपाली पुस्तक पढ्नै मान्दैन । बुझ्दिन भन्छ ।” उनको  स्वरमा गर्व मिसिएको अनुभूति गर्न मलाई धेरै समय लागेन । यस्ता कुरा सुनेर म भनें तीन छक्क परें । नेपाली भएर नेपाली पुस्तक पढ्न मन नलाग्नु कुनै खुशीको कुरा हो र ? फेरि त्यो केटो विदेशमा भएको भए पनि एउटा कुरा ! नेपालमै बसेर, एउटा नौ/दश कक्षामा पढ्ने विद्यार्थीलाई नेपाली पुस्तक पढ्न मन नलाग्नु र त्योभन्दा बढि नेपाली पुस्तक नबुझ्नुले मलाई सोचमग्न बनायो ।

          भाषा सधैँ व्यक्तिको पहिचानसँग जोडिएको हुन्छ । आफ्नो मातृभाषालाई बेवास्ता गर्नु भनेको आफ्नै पहिचान धरापमा पर्नु पनि हो । मैले करिब एक दशकअगाडि आफू अष्ट्रेलियामा भएको बेला आफ्नो चार/पाँच कक्षामा पढ्ने छोराले नेपाली पढ्न लेख्न बिर्सिने हो कि भनेर आफू चिन्तित भएको सम्झिएँ । नेपाली भाषासँग उसको नाता नछुटोस् भनेर मैले एउटा उपाय निकालेँ । मैले एउटा डायरीमा हरेक दिन एक पन्ना लेखेर उसलाई पढ्न दिन थालेँ । उसले त्यहाँ लेखेको कुरा पढेपछि आफूलाई मनमा लागेको कुरा नेपालीमै एक पन्ना लेख्नु पर्थ्यो  । हामी बीचको कुराकानीको त्यो डायरी अझै मैले सुरक्षित राखेको छु । शायद यहि अभ्यासले होला ऊ हामी नेपाल फर्किएपछि आफैं  नेपाली पढ्ने र लेख्ने गर्न थाल्यो । 

          एउटा बहुभाषीक र बहुसाँस्कृतिक मुलुक भएका कारण अष्ट्रेलियामा अनेक मुलुकका मानिसहरु छन् । यी हरेक भाषीक समूहहरुले आफ्नो मातृभाषा सिकाउनका लागि गरेका प्रयत्नहरु पनि मलाई प्रभावकारी लाग्छन् । प्रत्येक आइतबार छुट्टिका दिन पारेर चल्ने भाषा इन्डोनेशिया सिकाउने र चाइनिज म्यान्डारिन पढाइने सन्डे स्कुलहरुमा साथीहरुसँग म गएकी छु । साना साना नानीहरुलाई आफ्नो मातृभाषा सिकाउन गरेको उनीहरुको प्रयत्न देखेर म नतमस्तक भएकी छु ।


          नेपाली भाषालाई कसरी माया गरेर जीवन्त राख्नुपर्छ भन्ने कुराको सानो झलक मैले पाँच/छ महिना पहिले असम भ्रमणमा गएका बेला देखेकी थिएँ । त्यहाँ हामीले जतिजनालाई भेट्यौँ, सबैको नेपाली भाषाप्रति अगाध लगाव भएको देख्यौँ । आमाबाबु त आमाबाबु भैगए, छोराछोरीहरु पनि उत्तिकै उत्साही भएर नेपाली भाषा प्रयोग गर्थे । उनीहरुको विद्यालयको पाठ्यक्रममा नेपाली भाषा समावेश गरिएको छैन । तैपनि उनीहरुलाई यो भाषा सिक्नबाट केहिले छेकेको थिएन । यसमा उनीहरुका बाबुआमाको ठूलो हात थियो । मैले दुई चारजनासँग सोधेकी पनि थिएँ, “बोल्न त लौ घरमा आमाबाबुले त्यही भाषा प्रयोग गर्ने हुनाले केटाकेटीले सक्छन् । तर लेख्न पढ्न चाहिँ कसरी सिक्छन् ? उनीहरुले स्कूलमा नेपाली त पढ्नुपर्दैन !” उनीहरुको एउटै जवाफ थियो, “नेपाली भाषाको र हिन्दी भाषाको लिपी एउटै भएको हुनाले केटाकेटीलाई नेपाली पढ्न लेख्न सहयोग पुगेको छ। नेपालीमा पुस्तक लेखेर छपाउनु पनि त्यहाँ ठूलो क्रेज रहेछ । सबै पुस्तक फेरि चिटिक्क हार्ड कभरमा छापिएका । मैले पचास पेजका, बीस पेजका ससाना पुस्तक पनि यस्तै रुपमा देखेकी थिएँ । लेखक बाउआमाका २०/२२ वर्षका छोराछोरीले पनि आफ्नो नाममा पुस्तक लेखेर छपाइसकेका । यी असमी नेपालीको नेपाली भाषाप्रतिको लगाव देखेर म प्रभावित भएकी थिएँ ।


          हाम्रा बोर्डिङ्ग स्कुल जाने नानीहरुमा बिशेषगरी ‘नेपाली त मलाई आउदैन’ भन्ने प्रचलन नै जस्तै बनेको छ । अभिभावकहरुले पनि गर्वका साथ यसलाई नेपाली आउँदैन भनिदिएपछि नानीबाबुहरुको मेहनतमा कमी आइहाल्छ । तर अपवादलाई छाडेर वास्तविकता के हो भनें जो नेपालीमा कमजोर छ र मेहनत गर्दैन, त्यो विद्यार्थी अरु बिषयमा पनि अब्बल हुन सक्दैन । 

          यसपालीको दार्जिलिङ्ग भ्रमणले मेरो अनुभव अझ फराकिलो भयो । त्यहाँ विश्व नेपाली साहित्य महासंघ, भारत शाखाले विराट साहित्य उत्सवको दुई दिने कार्यक्रम राखेको थियो । त्यहाँ भारतका विभिन्न ठाउँबाट आएका विद्वानहरुले उनीहरुको ठाउँमा नेपाली भाषा र साहित्यको विकासका बारेमा चर्चा गरेका थिए । उनीहरुको भनाइबाट के प्रष्ट हुन्थ्यो भने उनीहरु नेपाली भाषाको उन्नयनका लागि निरन्तर खटिरहेका छन् । यी नेपाली भाषा प्रेमीहरुले प्रस्तुत गरेका कार्यपत्र मध्य मेरो ध्यान सिलाङ्गका डा. बी. आर. जोशीको कार्यपत्रले खिचेको थियो । उनले मेघालयमा आफूहरु नेपाली भाषा जोगाउने काममा अहोरात्र लागिरहेको बताएका थिए । उनले भनेअनुसार पहिले पहिले त्यहाँ कुनै नेपाली पुस्तक प्रकाशित हुँदैनथे । त्यो समयमा पनि विद्यालयमा नेपाली पढ्ने विद्यार्थीलाई पुस्तकको कमी हुन नदिन उनीहरु दार्जिलिङ्गबाट पाठ्यपुस्तक खेप्थे रे । अहिले भने मेघालयमा नै नेपाली पाठ्यपुस्तक छापिन्छन् । यसरी डा.बी.आर. जोशीजस्ता व्यक्तिहरु मेघालयमा नेपाली भाषा जोगाउने र धेरैभन्दा धेरै लेखक र साहित्यकार जन्माउने काममा लागिपरेका छन् ।

          यसै सिलसिलामा सिलाङ्गका अर्का विद्वान सलील ज्ञवालीसँग हालसालै मेरो कुरा भएको थियो । ज्ञवालीका अनुसार तुलनात्मक रुपमा अहिले विविध कारणले गर्दा सिलाङ्गमा नेपाली भाषीको संख्या कम हुँदै गएको छ । यी मध्य बसाइ सराइ प्रमुख कारण रहेको उनले बताए । यसले गर्दा विद्यालयहरुमा स्वतः नेपाली भाषा पढ्ने विद्यार्थीको संख्या घटेको छ । पहिले पहिले त नेपाली भाषाको प्रभाव अरु मातृभाषा हुने केटाकेटीमा पनि पर्ने गर्थ्यो रे । फलस्वरुप नेपालीले मात्र होइन खासी र बंगला भाषीहरुले पनि विद्यालयमा नेपाली भाषा पढ्थे रे । परिस्थिति जस्तो भए पनि मेघालयका नेपाली भाषीहरुले आफ्नो भाषाको संरक्षण र संवर्धनमा गरेका प्रयाश सह्राहनीय छन् ।

          असम र मेघालय त खाली उदाहरण मात्र हुन् । विश्वभरि छरिएर रहेका प्रायः सबै नेपालीलाई आफ्नो भाषा कसरी जोगाउने भन्ने चिन्ता छ । आफ्ना छोराछोरीले आफ्नो मातृभाषा नबिर्सिउन् भन्ने कामना उनीहरुको छ । विभिन्न किसिमका संघसंस्था, विद्यालय अथवा तालिमकेन्द्र खोलेर उनीहरु नेपाली भाषाको संरक्षणका लागि अनेक कार्य गरिरहेका छन् ।

          यो परिप्रेक्ष्यमा मेरा मित्र पुत्रको नेपाली भाषाप्रतिको उदासिनता सुनेर मेरो मन अलि खिन्न पनि भयो । शायद नेपालमा नै भएर उसलाई आफ्नो मातृभाषाको  महत्व कम भएको हो कि ! नेपाली भाषामा चलेको उखान “नजिकको तीर्थ हेला” भनेको यस्तै होला ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).