चीज र रक्सी जति पुरानो भयो, उति स्वादिलो हुन्छ भन्छन् । यो लेखन भन्ने कुरा पनि उमेरसँगै खारिने रहेछ । उमेर छउन्जेल हजारौँ झै झमेलाले मान्छेको लेखन कार्य ओझेल पार्ने रहेछ । लेखन शक्ति हुँदाहुँदै पनि सांसारिकताले अठ्याएर त्यता फर्किन नदिँदो रहेछ । हामीले दिनदुनियाँका अदृष्य धापमा हिँड्नुलाई जीवन पर्याय मानिल्याएका छौँ । त्यस अर्थमा एउटा गोडो उचाल्यो अर्को गोडो भासिएर रसातलमा पुग्ने रहेछ । अनि जीवनका अति महत्वपूर्ण मानिएका कर्महरु समाप्त गर्दै लगेपछि अलिकति डाँडाको सिर्सिरे बतासमा बसेर जीवन चिन्तन गरेपछि बेहोशीबाट बौरिएजस्तो मानिसलाई चेत पलाउने रहेछ । आजसम्म मैले के गरेँ त भनेर सोच्दा उहि सबैले गरेको कर्म नै गरिएको हुने रहेछ । जीवन तँछाड, मछाड, ठेलाठेल, घुस्साघुस्सी गर्दै रेलवे स्टेसनमा रेल पर्खिबसेका यात्रु भन्दा पर्तिरको केहि नहुने रहेछ । जहाँ जुन कुनामा बसेपनि, जे जे खाएपनि, जस्तै आलिसान जीवन बिताएपनि आगमन र बहिर्गमन एकै हुने रहेछ । हाम्रा गन्तव्य फरक होलान् तर यात्रा अनुभव उस्तै उस्तै हुन् ।
दमकमा
चिनिएका तीन गुरुहरु नारायण प्रसाद फुँयाल, पदम प्रसाद ओली
र कमलराज भट्टराईले सेवानिवृत्त भैसकेपछि भर्खरै एक एक पुस्तक प्रकाशन गरे । फुँयाल
सरको समीक्षा सम्बन्धी पुस्तक केही नवीन कृति समीक्षा, ओली
सरको संस्मरणात्मक निबन्ध संग्रह स्मृतिका छ थुङ्गा उपहार र भट्टराई सरको सम्झनाका
गोरेटोमा छब्बीस पाइलाहरु नामक
संस्मरणात्मक निवन्धहरुको संगालो एकैचोटि प्रकाशन भए । झण्डै चार दशकजति उनीहरुले
शिक्षण कार्य गरे । सानो टुहुरे दमक बजारलाई अहिलेको वृहत् शहरको रुपमा फैलिएको
देख्ने साक्षी बने । यसबिचमा व्यवस्थाहरु बदलिए । उनीहरुले पढाएका विद्यार्थीहरुले
सातै महादेशमा आफ्ना सुकर्म गरिरहेका होलान् । यी समयक्रममा खारिएका गुरुहरु
अहिलेमात्र लामो धपेडीपछि खोला तीरमा सुस्ताएका छन् । सेवानिवृत्त भएको निकै
समयपछि, उनीहरुकै शब्दमा ‘हाम्रा पनि गुरु महागुरु’ डा. गोविन्दराज भट्टराईले
उनीहरुलाई झक्झक्याएछन् । यो आजसम्मको ज्ञान र परिपक्वतालाई लिपीवद्ध गर्न
हौस्याएछन् । अनि एकैचोटि कलमहरु उठे —
तीनवटा पुस्तक निस्किए । आकारमा साना होलान् । लेखनी उत्रो चहकिलो नहोला तर
उनीहरुको आँट, शाहस र उत्साह प्रशंशनीय छ, वन्दनीय छ ।
गुरुले त भित्रको ज्ञानरुपी दियोमा सलाई पार्दिने त हो । तेल त आफै थप्दै
गर्नुपर्छ । पुस्तक प्रकाशित भैसकेपछि तीन गुरुहरु महागुरुका पछि लागेर मणीपुर
दौडिए — एक एक अंगालो पुस्तक बोकेर । उताको नेपाली साहित्यवृत्तमा पुस्तक विमोचन
गरे । अनि हुर्दुराउँदै दमकमा एउटा लोभलाग्दो समीक्षा गोष्ठी गरे । त्यो थकान
नमेटिँदै महागुरुका पछि लागेर च्याङथापु पुगे, इलाम भ्याए अनि
फिदिममा समेत आफ्ना अनुभव सुनाएर आए ।
पठनपाठन
कर्ममा जीवन बिताएका; लेख्नुपर्छ, पढ्नुपर्छ
भनेर हजारौँ शिष्यहरुलाई रटाएका गुरुहरुले आफै पुस्तक लेखेर समाजमा ठूलो उर्जा
भरेका छन् । जीवन बचाईका क्रममा उनीहरुले देखेका र भोगेका कुराहरुलाई लिपीवद्ध
गरिदिएर एक किसिमको गुण लगाएका छन् । त्यो भन्दा पनि ठूलो कुरा एउटा पेशाबाट
निवृत्त भएपछि अर्को सुखानुभूति हुने युगान्तकारी मार्ग उनीहरुले समाएका छन् ।
मेरो दृष्टिकोणमा उनीहरु सच्चा अर्थमा गुरु हुन् र जीवनभर उनीहरु विविध रुपमा
मार्गदर्शक नै रहिरहने छन् ।
हाम्रा आँखा अगाडि तीन गुरुहरुले अहिले यो उदाहरणीय कार्य गरेपनि मानव समूदायमा भनेँ यस्ता जाँगरिला गुरुहरु धेरै पहिले देखिएका हुन् । ठ्याक्कै मैले चर्चा गरेजस्तै एकजना आइरिस लेखक फ्र्यांक म्याकोर्टलाई म सम्झिन्छु । उनले पनि हाइस्कूल शिक्षणबाट सेवानिवृत्त भएपछि नै लेखेको पुस्तकले पुलिट्जर पुरस्कार पाएको थियो । म्याकोर्टको ‘एन्जेलाज् यासेज्’ मैले दुईपटक पढेकी छु । उनको लेखनी, कथाले तान्ने जादूमय तरिका देखेर मैले एक्लै ओहो ओहो, ओहो भनेकी छु । आफ्नो गरीबीले धसारिएको बाल्यकाल, बसाइ सराइ र आमाको सम्झनाले भरिएको म्याकोर्टको लेखाइले मेरो तन्तु तन्तुमा छोएको छ; त्यसै मोहले तानिएर त्यसको दोश्रो खण्ड इट इज पनि नपढि सकिँन मैले । उनको तेश्रो पुस्तक टिचर म्यान मलाई सबैभन्दा मन पर्नेमध्ये एउटा पुस्तक हो । आयरल्याण्डमा म्याकोर्टले भोगेका दुःख हुन् वा नेपालमा हाम्रा अग्रजहरुले, प्रकारान्तरले उनीहरुले एकै किसिमका दुःख बेहोरेका हुन् । ती पुस्तकमा वर्णित कुरा जस्तै मानिसले युगौंदेखि अजङ्गका दुःखका पहाडहरु भत्काउँदै आएको छ । ठूला ठूला पीडाका, दुःखका र कष्टका भारी बोक्दै आएको छ ।
म्याकोर्टले
भोगेका आफ्नै समयको कथाले संसारभरका पाठकलाई मन्त्रमुग्ध पारेको छ । हामी सबैका
आफ्ना आफ्ना कथा छन् । यी कथाका शब्दहरुलाई उचित रुपमा प्रस्तुत गर्ने र समायोजन
गर्न सक्ने हो भनेँ अरुको मन छुन सक्छ । लेखनलाई ढिलो नुहँदो रहेछ । बेलायती लेखक
मेरी वेस्लेले सत्तरीका उमेरमा पहिलो उपन्यास ‘जम्पिङ्ग द क्यू’ प्रकाशन
गरिन् । प्रकाशनपश्चात् त्यो किताबको तीस लाख प्रति विक्री भैसकेको छ । यी पछिल्ला
समयमा जागेका लेखकहरुको लामो सूची देख्दा मलाई थोरोको एउटा भनाइ स्मरण हुन्छ — ‘जीवन नै नजिएकाहरुले कलम समाएर
लेख्न बस्नु व्यर्थ छ ।’ त्यस अर्थमा थोरोले अनुभवलाई लेखनको जरो हो भन्न खोजेका
होलान् । अनुभवले खारिएर परिपक्व दिमागले जे जति कुरा विवेकपूर्ण तरिकाले प्रस्तुत
गर्छ, त्यति आलाकाँचाले पक्कै सक्दैनन् । सेवा निवृत्त भैसकेपछि आफ्नो
जीवनी लेख्नेहरुको त यहाँ बाढि नै लागेको छ । स–साना जागिरेहरुदेखि लिएर
सूर्यबहादुर थापा, रुक्माङ्गद कटुवाल अनि अरु धेरै राजनीतिज्ञहरुका जीवनी आइसकेका छन् ।
तर ती ठूला मान्छेहरुका बडा कथा भन्दा भुइँ मान्छेका, औसत
मान्छेका कथाहरु नै रोचक हुन्छन् । आउनोस् हामी पनि हाम्रा कथा लिपिवद्ध गरौँ । यो
जीवनका सन्तुष्टि र असन्तुष्टिहरुलाई शब्दमा उतारौँ ।
हाम्रा कान्छा काका ससुराबाले चौरासीका उमेरमा एउटा र पचासीमा अर्को पुस्तक आफ्नै जीवन भोगाइका विषयमा लेखेर हामी सबैलाई उर्जा दिनुभयो । मौखिक वार्तामा आधारित ‘हाम्रा पनि कथा छन् प्रकाशनमा आएपछि झण्डै असीकै हाराहारीकी कान्छी काकी सासूका समयका कुरा हामीले पनि पढ्न पायौं ।
लेखनकर्म
धेरै अर्थमा दवाइ नै पनि हो । यो कार्य मुख्यतयाः दिमागी औषधि हो । अझ समय
घर्किँदै गएपछि, छेउमा बसेर कुरा सुनिदिने मान्छे नभएपछि मनमा तिक्तता लिएर
बसिरहनुपर्ने अवस्थामा एक पाना कागज भर्न सके, मनका कुरा कोर्न
सके अर्कै महसूस हुने रहेछ । ती कुरा कसले पढ्ला भन्नु नपर्ने रहेछ । मेरो आफ्नै
अनुभवमा पनि जब जब म मेरा दिवंगत माता पितालाई सम्झन्छु — उहाँहरुका लेखनी हेर्छु । बुवाका पुस्तकहरु पढ्छु अनि मुवाँका
दैनिकी लेखनीले भरिएका डायरीहरु हेर्छु । तास खेल्नु, जुवा
खेल्नु, गफमा समय गाल्नुलाई दुर्व्यसन भनेपनि लेखेर र पढेर सेवानिवृत्त जीवन
जिउने उत्तम कार्य गर्न सकिन्छ है भनेर मार्गदर्शन गर्ने तीनै जना गुरुहरुमा मेरो
आदर भाव प्रकट गर्दछु । यस अर्थमा तीन गुरुहरुले आफ्ना समकालीन मित्रहरुका बीचमा
पनि एउटा उदाहरण पेश गरेका छन् । जीवनको सार्थकताको ज्ञान समाजमा प्रवाहित गरेका
छन् । आउने पुस्ताका लागि एउटा दस्तावेज तयार गरिदिएका छन् ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 December 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]