हिजोआज सामाजिक सञ्जालमा वरिष्ठ सिने कलाकार बी.एस्. राणाको परिवारको अवस्थाका बारेमा बनाइएका भिडीयोहरु भाइरल भइरहेका छन् । हुन त चार वर्षअगाडि कलाकार राणाको मृत्यु भएको बेलामा उनको परिवारसँग कात्रोसम्म किन्ने पैसा नभएकाले अन्य कलाकार मिलेर उनको अन्तिम संस्कार गर्न पैसा जुटाएको समाचार सञ्चार माध्यममा आएको थियो । त्यसपछि राणाको परिवार कता गयो, के गर्यो भन्ने केही समाचार आएन र मानिसहरुले बिस्तारै यो कुरा बिर्सँदै गए । अचानक यो परिवार अहिले फेरि चर्चाको शिखरमा छ ।
उनीहरुको दयनीय स्थितिको भिडीयो
सार्वजनिक भएको एक हप्ता नबित्दै धेरै सहयोगी मनहरु कलाकार राणाको परिवारलाई पुनः
स्थापित गर्ने कर्ममा जुटेका छन् । राणाका एक पत्नी, जेठी छोरी
नन्दिनी र सुस्त मनस्थितिकी कान्छी छोरी आरती रहेका छन् ।
बी.एस्. राणाको परिवारको कथाले मलाई
धेरै कुरा सोच्न वाध्य बनाएको छ । सर्वप्रथम त मानिसले आफ्नो भविष्यको लागि केही
बचत नगरी कमाउन्जेल बेपर्वाह खर्च गर्दा जिन्दगी भयावह हुने रहेछ भन्ने कुराको
राम्रो उदाहरण हो यो । राणालाई नजीकबाट चिन्ने एकजना कलाकारले त आफ्नो परिवारको
बारेमा केही नसोच्ने बी.एस्. राणा ‘गैरजिम्मेवार’ व्यक्ति हुन् सम्म भनेका छन् ।
मर्ने त मरिहाल्छ । तर यदि परिवार त्यहि व्यक्तिमा आश्रित छ भने परिवारको बिजोक
हुने रहेछ ।
राणाको मृत्युपश्चात् आफूले बाँची आएको
सम्भ्रान्त जीवनलाई गरीबीको अन्धकारले छोपेपछि उनकी पत्नीले मानसिक सन्तुलन नै
गुमाइन् । जेठी छोरी नन्दिनीको काँधमा यस्ती आमा र सुस्त मनस्थितिकी बहिनी आरतीको
जिम्मेवारी आइपर्यो । नन्दिनीको अदम्य साहसले जो कोहीलाई पनि प्रभावित पार्न सक्छ
। निराधार उनले कसरी चार चार वर्ष यो परिवारलाई समेटेर राख्न सकिन् होला ?
उनका कुरा सुन्दा उनी एक सकारात्मक सोच
भएकी व्यक्ति जस्तो लाग्छ । आफ्नी आमाकी दिदी, उनकी ठूलीआमाले
उनीहरुको खानपिन र घरभाडाको बन्दोबस्त गरिदिए पनि उनीहरुका अन्य अनगिन्ती अभावका
खाडल देखिन्छन् । तर नन्दिनीलाई एकदिन यी सम्पूर्ण समस्याबाट पार पाइन्छ भन्ने
पूर्ण विश्वास भएजस्तो लाग्छ ।
अहिलेको परिप्रेक्ष्यमा आर्थिक मन्दीका
कारण निराश भएर आत्महत्या गर्न पुगेका विभिन्न उद्यमी, व्यवसायीहरुका
खबर हामी सुनिरहेका, पढिरहेका हुन्छौँ । यस्तो नैराश्यपूर्ण वातावरणमा नन्दिनीले पक्कै
पनि आशा जगाएकी हुन् कि जस्तो लाग्छ । विगत चार वर्षभित्रै हामीले कोरोना काल
खप्यौँ । त्यो समयमा उनले आफूमा पूर्ण आश्रित आमा र बहिनीको कसरी सुरक्षा गरिन्
होला ? आफूलाई सहयोग गर्नुपर्ने आफन्त सबै टाढिँदा पनि यी महिलामा कुनै
गुनासो देखिँदैन । यी आफूले गर्नसक्ने काममा निरन्तर लागि नै रहेकी रहिछन् भन्ने
कुरा उनलाई सुनेपछि बुझ्न सकिन्छ ।
मुम्बईमा शिक्षादीक्षा पाएकी र राम्रो
संस्कारमा हुर्किएकी नन्दिनी आफ्नो प्रतिकूल परिस्थितिबाट बिलकूलै विचलित भएजस्ती
देखिन्नन् । आफ्नो जीवनमा एकदिन पक्कै सूर्य उदाउँछ भन्ने कुरामा उनी ढुक्क
भएजस्ती सुनिन्छिन् । उनले प्रयोग गर्ने भाषा पनि उच्च स्तरको छ । एकजना
पत्रकारसँग कुरा गर्ने र आफूसँग भएका सामान देखाउने क्रममा नन्दिनी पुरानो
ट्याङ्काबाट “क्रोकरी” निकालेर देखाउँछिन् । यो शब्दको अर्थ नबुझेर पत्रकार
अल्मलिन्छन् र पुनः के भन्नुभएको भनेर सोध्छन् । नन्दिनी उसले बुझ्ने भाषामा यो
डिनर सेट हो जापानदेखि ल्याएको भन्छिन् । पहिले पहिले हाम्रो घरमा पार्टी भैरहँदा
गेष्टहरुलाई यिनैमा खान दिइन्थ्यो भनेर उनी प्रष्ट पार्छिन् । यसबाट के देखिन्छ
भने मानिसको हैसियत सधैँ एकै नासको भैरहँदो रहेनछ । कहाँ राजपरिवारको जस्तो
ठाँटबाटमा आफ्नो पूर्वार्धको जीवन बिताएका बी.एस्. राणाका पत्नी र छोरीहरु
उत्तरार्धमा आएर अरुको मुख ताक्ने स्थितिमा पुगेका छन् । यसबाट परिवारका दुई सदस्य
विचलित भएका देखिन्छन् भने एकजनाचाहिँ आफ्नो परिवार जोगाउन कटिबद्ध भएर लागेकी
देखिन्छिन् ।
नन्दिनी आफूलाई पनि आफ्नो बुबाजस्तै ठूलो कलाकार भएर नाम कमाउने इच्छा भएको कुरा व्यक्त गर्छिन् । फेरि उनी त्यसै कलाकारितामा हाम फाल्ने पक्षमा पनि देखिन्नन् । आफ्नो परिस्थितिमा सुधार आएपछि आमा र बहिनीको उपचार गर्ने र उनीहरु ठीक भएपछि आफू मुम्बई गएर अनुपम खेरको इन्स्टिच्यूटमा अभिनयसम्बन्धी तालीम लिने, अनि मात्रै कलाकारिताको क्षेत्रमा आउने भन्ने कुरा नन्दिनी आत्मविश्वासका साथ बताउँछिन् ।
हुन त उनलाई पनि समस्या नभएको होइन तर
आमाको र बहिनीको समस्याका अगाडि आफ्नो भाँच्चिएको खुट्टाले दिने दुःख उनलाई नगन्य
लाग्छ । नन्दिनीलाई सुनिरहँदा उनी चारदिवारबाट मुक्त भएर स्वतन्त्र जीवन बिताउन लालायीत
भएकी जस्ती लाग्छ । तर उनी आफ्ना आमा र बहिनीलाई बिचल्लीमा छोडी आफ्नो
कर्तव्यपथबाट बिमुख हुनेजस्ती पटक्कै छैनन् । उनको पहिलो प्राथमिकता भनेको
परिवारका सदस्यलाई सामान्य अवस्थामा फर्काउनु नै छ । एकदिन यो सम्भव छ भन्ने
कुरामा उनी ढुक्क भएजस्तो गर्छिन् । उनीहरुको जीवनको टुङ्गो लागेपछि मात्र
आफ्नोबारेमा सोच्ने भन्ने भाव उनी व्यक्त गर्छिन् ।
यसरी मानिसको जीवन सधैँ एकनासको हुँदैन
भन्ने कुराको उदाहरण कलाकार बी.एस्. राणाको परिवारले पेश गरेको छ । यो परिवारले
चरम सुखभोग गर्यो । त्यसपछि कसैले कल्पना नै गर्न नसक्ने समस्या र अभावको दलदलमा
यो परिवार फँस्यो । अहिले फेरि यो परिवारमा सुधारका संकेत देखिँदैछन् । उनीहरु
मानिसका आँखामा परेका छन् । एउटा सामाजिक संस्थाले उनीहरुको उद्धार गरेको छ ।
उनीहरुको जीवनशैली परिवर्तित भएको छ ।
यो सबै कसरी सम्भव भयो त ?
मेरो विचारमा मुख्य रुपमा यो नन्दिनीको
हिम्मतले गर्दा नै भएको हो । कुनै मान्छे आफ्नो वर्तमान परिस्थितिसँग विचलित भएर
डगमगाउन थाल्यो भने अंग्रेजीमा ‘ह्याङ्ग इन देयर’ भन्ने गरिन्छ । यसको अर्थ के हो
भनें हामीले मैदान छोडेर भाग्नु हुँदैन । यसको एउटा उदाहरणका रुपमा नन्दिनीलाई लिन
सकिन्छ । आफ्नो परिस्थिति देखेर उनी पनि बेला बेला आत्तिइन् होला ! तर फेरि आफूलाई
सम्हालेर कर्तव्यपथमा लागिरहिन् नन्दिनी । एउटा अन्तर्वाताका क्रममा उनले बाबूले
उनलाई ‘हेड अफ द फेमिली’ बनाएको कुरा गरेकी थिइन् । उनले त्यो जिम्मेवारी यथासक्य
निभाइन् पनि ।
विशेषतः कोरोनाकालपछिको समयमा धेरै मानिसहरु निराशातर्फ़ धकेलिएका समाचारहरु सञ्चार माध्यममा आइरहन्छन् । सबैको कारण भने एउटै छ— आर्थिक मन्दी । व्यापार व्यवसाय नचल्नु, करोडौँको ऋणको भारी आफ्नो टाउकामा हुनु र बैंकहरुले पैसा तिर्नका लागि बारम्बार ताकेता गरिरहनु । तर यस्तो प्रतिकूल समय सधैँभरि नरहने रहेछ । त्यसैले हामी जे जस्तो विषम परिस्थिति आए पनि हिम्मत नहारौँ । एकदिन यस्तो असहज समय सहज भएर आउनेछ । बी.एस्. राणाकी छोरी नन्दिनीले यहि कुराको पुष्टि गरेकी छन् ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 March 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
This piece about Nandini is inspirational as usual, Benu. Yes, “Hanging in there,” is an art of living, I can tell.
ReplyDeleteSalute to the bravery of Nandini sister. Good luck for her future career
ReplyDelete