मलाई लाग्दैनथ्यो कुनै दिन कलम समातेर म ट्वाइलेटको कथा लेख्न बस्नेछु । अहिले यो लेख लेख्दै गर्दा मलाई आफूले ४÷५ वर्षअगाडि हेरेको हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ को पनि सम्झना भैरहेछ । यो चलचित्र खासगरि भारतको ग्रामीण क्षेत्रमा ट्वाइलेटको अभावमा महिलाहरुले भोग्नुपर्ने समस्याका वरिपरि घुमेको छ र त्यही विषयवस्तुभित्र चलचित्रका नायक र नायिकाको प्रेम पनि अटाएको छ ।
मेरो ट्वाइलेट कथा भने ठीक यसको विपरित छ, अर्थात् ट्वाइलेटसँगै उब्जेको कथा । कथा शुरु
गरौँ है त । यसपालीको होलीको छुट्टीमा मलाई झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ्गसम्मको यात्रा जुरेको
थियो । यो यात्रा पारीवारिक र साहित्यिक यात्राको सम्मिश्रण थियो । चालक भाइसमेत
जम्मा एघारजना यात्रु सम्मिलित यो यात्रा ५ दिनको थियो । शनिबार बिहान भालेको
डाकसँगै, दमक १, भाङ्बारीबाट हाम्रो यात्रा शुरु भयो ।
सुरुङ्गामा पुगेपछि चिया खान हामी रोकियौँ । काठमाडौँबाट आउनुभएकी
एकजना सहयात्री बैनीले झापाको भक्काको कुरा मात्रै सुनेको तर यो के कस्तो हुन्छ
नदेखेको कुरा गर्नुभएको थियो । “मेम, मैले
हजुरको ‘भक्कावालीका पक्का गफ’ आर्टिकलमा भक्काको बारेमा पढीँ । यसपाली त भक्का
चाख्नी है,” उहाँले लमजुङ्गे लवजमा आफ्नो इच्छा
व्यक्त गर्नुभएको थियो । त्यसैले हाम्रो टोली पहिले भक्कामा भिड्यो । एकैचोटि
एघारजना भक्का पाकिरहेको भाँडो वरिपरि झुम्मिँदा भक्का पकाउने बैनी पनि एकछिन त
आत्तिए झैं गरिन् । तर एकैछिनमा स्थिति सम्हालिन् र हामी सबैलाई पालैपालो तात्तातो
भक्का ख्वाउन भ्याइन् । त्यसपछि चिया पिइयो । अर्को बिसौनीमा पुग्नुअगाडि
गर्नुपर्ने अन्तिम काम रह्यो— ट्वाइलेट गइ हल्का हुने । प्रायः चियाखाजा अथवा खाना
खाने ठाउँमा ट्वाइलेट हुने गर्छ । तर सुरुङ्गाको चिया पसलेले हामीलाई करीब पचास
मीटर पर भएको पब्लिक ट्वाइलेट देखाइदियो । तिनै लमजुङ्गे बैनी, म र मेरी जेठानी दिदी पहिलो लटमा गयौँ ।
बिहानै थियो,
सबैतिर सुनसान । हामीले बाहिरफेर हे¥यौँ, कोही देखिएन । आफ्नो काम सकेर हामी फर्कदैँ थियौँ । पछाडिबाट एउटा
तीखो स्वरले टोकस्यो, “खोई पैसा दिएको ?” छक्क पर्दै हामी पछाडि फर्कियौं । यसो पालेघरजस्तोको सानो झ्यालमा एउटी
१४÷१५ वर्षकी केटीको अनुहार देखियो ।
हामीले मुखामुख ग¥यौँ
। संयोगवश् कसैले खुद्रा पैसा बोकेको रहेनछ । “कति हो एकजनाको ?” मैले सोधेँ । “दश रुपैयाँ,” उसले च्याँट्ठिएरै जवाफ दिई । “पिसाब मात्रै
फेरेको नि दश रुपैयाँ ?” जेठानी दिदीले पनि कडै स्वरमा
सोध्नुभयो । केटीले हामीलाई आँखा तरी र भुत्भुताउन थाली, “पैसा दिएर मात्र जानू है ! ट्वाइलेट गएपछि पैसा
तिर्नुपर्दैन ?...” यस्तै यस्तै । मसँग हजारको नोट थियो ।
मैले सोधेँ, “हजारको साट्ने छ ?” उसले फेरि रिसाएको अनुहार लगाई । लमजुङ्गे बैनी, “ला, अब
हामी ट्वाइलेटको बन्दी भयौँ ! क्यार्ने ?” भन्दै
ठट्टा गर्न थाल्नुभयो । मैले श्रीमानलाई फोन लगाएँ । फोन उठे पो ! हामी आफ्नै
सुरमा अब के गरेर पैसा मागी ल्याउने अथवा त्यही केटीलाई नै उता लगेर पैसा दिने कि भनी
छलफल गर्दै, आफ्नो अवस्था देखेर हाँस्दै थियौँ ।
अचानक केटी बाहिर निस्किई र च्याँट्ठिई, “पैसासैसा
नतिरी, हिँ...हिँ... हाँस्तै जान लाज लाग्दैन ?” हामीले नतिर्ने त भनेकै थिएन । सारै पो गाली
गरी यसले त । जेठानी दिदीको नि पारा तातेछ । उहाँ पनि कस्सिनुभो, “लाग्दैन लाज हामीलाई...!” खानेजति गाली खाइहालियो ल जाउँ अब भनेर हामी हिँड्यौँ । यता
हाम्रा सहयात्रीहरु भने कत्रो बेर लगाएको भनेर गनगनाउन थाले । हाम्रा कुरा सुनेर
कसैले पनि त्यो ट्वाइलेटमा जान मन गरेन । अब अर्कै ठाउँमा जाउँला भनी हामी सबै गाडीमा
चढ्यौँ ।
हाम्रो पहिलो दिनको यात्रा फिदिमसम्मको थियो । त्यसैले हामीले बिहानको खाना इलामको बिब्ल्याँटेमा खाने निधो गरेका थियौँ । त्यहाँ पुगेर यसो वरपर खोजेर, एउटा राम्रो र सफा देखिने होटलमा पस्यौँ । फेरि पहिलो नम्बरमा त ट्वाइलेटमा नै जानु थियो ! त्यहाँको ट्वाइलेटमा लेखिएको भाषाले हामी सबैको ध्यान खिच्यो । संसारका धेरै ठाउँ घुमियो तर ट्वाइलेटको यस्तो नाम कतै देखिएको थिएन । एउटा ट्वाइलेटमा ‘ट्वाइलेट किङ्’ र अर्को ट्वाइलेटमा ‘ट्वाइलेट क्वीन’ लेखिएको थियो । आहा ! त्यो देख्दै कस्तो ‘गुड फिलिङ्’ आउने ! यो होटलवालाको शायद ग्राहकहरुलाई सम्मान गर्ने शैली थियो । हो नि त, हामी सबै आफ्नो आफ्नो संसारका राजा रानी नै त हौँ । ट्वाइलेटमा पस्दा पनि आफूलाई राजा अथवा रानीको जस्तो अनुभूति हुने । सुरुङ्गाको ट्वाइलेटमा पैसा नभएर भिखारी भएको अवस्थाबाट बिब्ल्याँटेमा आएर रानी हुन पाएका थियौँ हामी । समयचक्र नि विचित्र छ ।
यसरी यसपालीको भ्रमणमा पहिले कहिल्यै नभेटिएका नौला ट्वाइलेट कथा
भेटिए । म यतिबेला उहिले उहिले आफू धनकुटाबाट
नाइट बस चढेर काठमाडौँ गएको पनि सम्झँदैछु । त्यतिबेला बाटामा कतै ट्वाइलेट
हुँदैनथ्यो । अँध्यारामा चालकले बाटोको छेउमा गाडी रोक्थ्यो र “लु है दिसा, पिसाब गर्न जानू । यसपछि गाडी रोकिँदैन नि,” भन्थ्यो । केटाहरु त दायाँ बायाँ लागेर
उभिइहाल्थे । केटीहरुलाई महासमस्या । उनीहरुले २÷४ जनाको समूह बनाएर अलि पर जानुपर्ने र यसो
झाडीमा छलिएर बस्नुपर्ने । हेड लाइट बाल्दै विपरित दिशाबाट अर्को गाडी आउँदा आफूले
खप्नुपर्ने आपतको बयान कसलाई गर्नु र ? यो
समस्या 'ट्वाइलेट
एक प्रेमकथा'
चलचित्रमा देखाइएजस्तै समस्या त हो !
हिजोआज भने लामो दूरीमा चल्ने गाडीहरु ट्वाइलेट भएकै ठाउँमा रोकिन्छन् र यात्रा तुलनात्मक रुपमा अलि सहज पनि भएको छ । जे होस्, मानव जीवन र ट्वाइलेटको निकट सम्बन्ध आदिकालदेखि नै छ र अनन्तसम्म रहिरहने छ । त्यसैले ट्वाइलेटका नयाँ नयाँ कथा पनि आइरहन्छन् ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 March 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
सान्दर्भिक र समयसापेक्ष कथा यथार्थलाई सम्बोधन गर्न सफल भएका छन् । समाजलाई सकारात्मक तर्फ जीवन जिउन अवश्य सघाउँछ यो सामाजिक कथाले । कथा लेखकज्यू प्रति हार्दिक नमन ।
ReplyDeleteलेख पढेर आफ्नो प्रतिक्रिया समेत दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद।
Delete