विज्ञानको गतिको मापन सामान्य दिमागले गर्नै नसकिने भएको छ । त्यसमा पनि अहिले इन्टरनेटको विकासपछिको गति त भनिनसक्नु छ । बेलुका सुतेको मान्छे बिहान उठेर आँखा खोल्दा कति नयाँ कुरा सतहमाआइसकेका हुन्छन् । सन् २००० को दशकतिरकै एउटा घटना मलाई याद आउँछ । हाम्रो कक्षा छ मा पढ्ने छोराले भिडियो गेममा धेरै समय व्यतित गर्न थालेपछि मैले त्यो हाते कन्सोल लुकाइदिएँ । अनि उसले चाहिं गुगलको सहायता लिएर ‘आमाले लुकाएको कन्सोल कहाँ हुन सक्छ ?’ भनेर सोधेछ । अनि गुगलले पर्दापछाडि, ओछ्यानमुनि, खाटमुनि, कपबोर्डतिर खोज्नू भनी सुझाएछ । यसरि केटाकेटीहरु सानैदेखि प्रविधिको भर पर्छन् ।
अहिले त अझ च्याट जीपीटी आएको छ । यसले तपाईंले सोचेर सुझाएका कुरा तुरुन्त लिपिवद्द गरेर तपाईंको अगाडि राखिदिन्छ । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यस्ता एप्लिकेशनहरु प्रशस्त प्रयोगमा आइसकेका रहेछन् । कम्प्यूटरको ज्ञाता नभए पनि सामान्य प्रयोगकर्ताको हैसियतले च्याट जीपीटी प्रयोग गरेर हेर्दा अचम्म नै लाग्यो । मलाई फेसबुक पेजका लागि एउटा ग्राफिक्स डिजाइन गर्नु थियो । मैले खोजी गरिहेरें । तुरुन्तै गुगलले उपाय सुझायो । मुख्य शब्दहरु लेख्नासाथ त्यहाँ भुरुरु डिजाइनहरु आए । मैले अब मन पर्ने डिजाइन छान्नु मात्र थियो । म जस्तो अल्पज्ञानीले त त्यति सजिलै काम गर्न सक्छ भने अलि जान्नेको त कुरै नगरौं । च्याट जीपीटी जस्ता एप्लिकेशनले एकातिर ज्ञान ग्रहण गर्न सजिलो पारेका छन् भने अर्कोतिर हामीजस्ता शिक्षकलाई समस्या पनि पैदा गरिदिएका छन् । यसै त पठनपाठनमा त्यति ध्यान नदिने केटाकेटीका अगाडि त्यस्तो सजिलो उपाय आइदिएपछि दश मिनेटमै प्रपोजलको स्वरुप तयार हुने, एकैछिनमा
निबन्ध तयार हुने् र थेसिसको गाइडलाइन तयार हुने भएपछि के चाहियो र ? यस्ता कृत्रिम रुपमा उत्पादित लेखन त्यति भरपर्दा नभएपनि सहयोग चाहिँ पक्कै हुने रहेछ । बौद्दिक कार्यको चोरि समात्ने उपकरण पनि उपलब्ध नहुने त हैन । तर यो सर्वसाधारणको
पहुँचमा भने छैन । अब विषेशतः थेसिसमा चोरी कतिसम्म
हुन्छ भन्ने कुरा जो कोहिले भन्न सक्छ । गत सालमात्र त्रिभुवन विश्वविद्यालयले ७० प्रतिशत शोधपत्रहरु सारिएका वा चोरिएका भेटिएको कुरा जनाएको थियो । च्याट जीपीटी प्रयोग गरेरै लेखिएका २०० भन्दा बढि पुस्तकहरु त अमेजनले बेचिरहेको रहेछ । केहि घन्टामै तयार हुने यस्ता पुस्तकहरुले मानव क्षमतालाई नै चुनौती दिएका छन् ।
हिजै मात्र मैले भारतमा दुईवटा छुट्टाछुट्टै टेलिभिजन च्यानलले मानव समाचार वाचकको सट्टामा कृतिम मानव समाचार वाचक प्रयोगमा ल्याएको समाचार पढेकी थिएँ । यसले त मानव भविष्य नै संकटमा पारिदिने भएको छ । उडिया र अंग्रेजीमा यी मानवरुपी रोबोटले समाचार प्रस्तुत गर्दछन् । यसभन्दा अगाडि नै कुवेतको टेलिभिनज च्यानलले रोबोटिक समाचार वाचकलाई प्रयोगमा ल्याइसकेको रहेछ । बिजुली बत्ती आएपछि दियालो, कुपी, लालटिन हराएजस्तो गरेर मान्छे बिनै काम टर्ने दिन आएकोमा आश्चर्य लाग्छ । त्यसरी हेर्ने हो भनेँ हाम्रै अगाडि नै धेरै पेशाहरु संकटमा परिसकेका छन् । जस्तै - ढिकी, जाँतोका सट्टामा मीलहरु आए । अरु त अरु हाम्रा सिलौटा र खलहरु समेत मिक्सीका मारमा परेर हराउँदैछन् । दर्जनौँ रोपाहारका सट्टामा एउटा मेसिन काफी हुने भयो । एउटा ट्याक्टरले सैयौ हल गोरुहरुको काम भ्याइदिने भयो । दाइँ गर्ने र धान झाँट्ने चलन हरायो । एउटै थ्रेसिङ मेसिनले विगौँ विगा खेतको फसल धूलो पारिदिने भयो । त्यसैगरी धान झार्ने थ्रेसर मेसिनले नै खेताला पनि विस्थापित गराइदियो । यसरी हेर्दा हाम्रै अगाडि अनगिन्ति यस्ता उदाहरणहरु छन् । बेरोजगारी बढ्नुको एउटा कारण बढ्दो मेसिनको प्रयोग पनि हुनसक्ला ! हाम्रातिर त्यति नभएपनि विदेशतिर ससाना भेन्डिङ मेसिनहरु देख्ता म हाम्रातिर पाइने घुम्ती दोकानहरु सम्झिन्छु । मानव संवाद बेगरै पैसा छिराएपछि भेन्डिङ मेसिनबाट आफूले रोजेको वस्तु निस्कन्छ । हाम्रोतिर मानवीय रोबोटको प्रयोग नभएपनि रोबोटिक मेसिनहरुले मानवलाई धेरै मात्रामा विस्थापित गरिदिएका छन् । एक किसिमले हेर्ने हो भनेँ मानव श्रमको प्रयोग अत्यन्त न्यून हुँदै गइरहेको छ ।
हुँदाहुँदा मान्छेका
सोच्नुपर्ने र दिमाग लगाउनुपर्ने काम पनि मेसिनले भ्याइदिन थालेको छ । तपाईं थोरै जानकारी दिएर कम्प्यूटरलाई यति शब्दको यस्तो कथा लेखिदिनू भन्न सक्नुहुन्छ । अनि त्यसैको चित्रकथा भिडियो बनाइदेऊ भन्न सक्नुहुन्छ । निमेषमै यी कुराहरु तयार हुन्छन् । तपाईंलाई चित्त नबुझे अर्को तरिकामा पनि तिनै कुरा प्रस्तुत गरिदिन्छ । भएन त अचम्म!अनि लेखक, कलाकार
किन पो चाहिएला र!
अझ अर्को
उल्का त कम्प्यूटर चिप्सलाई मानव मष्तिस्कमा हालिदिएर मान्छेलाई अजम्बरी बनाउने प्रयास गर्नु हो । एलन मस्कले पक्षपोषण गरेको न्यूरालिङ्क कम्पनीले विकास गरेको यो चिप्स मानव मष्तिस्कमा प्रत्यारोपण गरिसकिएको छ । यसले मानव मस्तिष्कका असाध्य रोग निको पार्ने देखि लिएर मान्छेलाई बुढ्याईतिर जानबाट रोक्ने कोष वृद्धि पनि गराउँछ । यस्ता उल्काहरु सुन्दा र सम्झिँदा मात्र पनि अचम्म लाग्छ । विज्ञानले गर्न बाँकी केहि रहेन र अब मानिस अजर अमर हुने भयो जस्तो लाग्छ ।
केहि समय
यता कम्पनीको खर्च घटाउन र कार्यविधिलाई स्वचालित प्रणालीमा लैजान एआईको प्रयोग बढिरहेको विभिन्न अनुसन्धानले देखाएका छन्। बौद्धिक श्रम बढी पर्ने काममा यसले सहयोग गर्ने विश्वास अनुसन्धाताहरुले गरेका छन् ।
कृत्रिम बौद्धिकताको सुरुवात डिजिटल कम्प्युटर प्रणालीको विकास भएसँगै भएको हो । डिजिटल कम्प्युटरबाट चल्ने रोबटद्वारा गरिने कार्यलाई नै एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स भनिएको हो । अमेरिकाको प्रसिद्ध प्रविधि कम्पनी आईबीएमको सर्वेक्षणअनुसार संसारभरि एआई अपनाउने क्रम बढेको छ । आईबीएमद्वारा सार्वजनिक प्रतिवेदनमा एआई प्रयोग गर्नेमा भारत र चीनका कम्पनी अग्रस्थानमा छन् । यी दुई देशका ६० प्रतिशत आईटी व्यवसाय कम्पनीले एआई प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका र बेलायतमा पनि एआईको प्रयोग हुने गरेको छ । सञ्चारमाध्यम, वित्तीय संस्थालगायत विभिन्न क्षेत्रमा एआई प्रविधि प्रयोग भइरहेको छ । अनुसन्धानकर्ताहरु आगामी केही वर्षमा एआईले मान्छेबाट ८० प्रतिशतसम्म रोजगारी खोस्ने दावी गरिरहेका छन् ।
त्यस सँगसँगै मानव ज्ञानले परास्त गर्न नसक्ने पक्षहरु पनि छन् । अस्ति भर्खरमात्र तपाईंहरुले पनि सुन्नुभएकै होला — विश्वका ६ जना धनी व्यक्तिहरु लिएर टाइटानिक जहाजको अवशेष हेर्न गएको एउटा पनडुब्बीले समुद्रमा बाटो बिराएछ । त्यसमा यतिले पुग्ला भनी बोकिएको अक्सिजन ग्यास सकिएपछि ती सबै यात्रु पानीमुनि नै शेष भए । यसको अर्थ के भने मानव निर्मित वस्तुहरुको सीमा हुन्छ । यी कुराहरु अनन्त कालसम्म चल्दैनन् । केहि समय बोकेको अक्सिजनले चल्ला तर त्यसपछि के त ? एकाएक पृथ्वीबाट अक्सिजन गायव भैदिने हो भनेँ कसैले केहि गर्न सक्ला र ? पृथ्वीबाट पानी र घाम नै अलप भैदिए सम्पूर्ण चराचर माटो र खरानीमा परिणत हुन कति समय लाग्ला त ? संझिदै कहाली लाग्दा विज्ञानले हल गर्न नसक्ने तथ्यहरु हाम्रा सामु छन् तैपनि अहिलेका लागि विज्ञान एक चमत्कार नै हो भन्दा अत्युक्ति नहोला कि ?
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 July 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).