प्रिय कबीर,
तिमीले महिनौँपछि पत्र पठायौ । तिमी नजिक हुनुमा र नहुनुमा त्यत्रो अन्तर हुँदैन । हामी मनमा बाँचेका मान्छे । तिम्रो यति लामो अन्तरालको पत्र र त्यसको भावले भनेँ मलाई अलिकति आश्चर्यमा पारेको छ । तिमी त जीवन जगत बुझेको मान्छे । यहाँ हार्नू र जित्नूमा अन्तर नदेख्ने मान्छे । तिमी अर्थ नखोज्ने मान्छे । तर अचानक तिमीले कसरी जीवनको अर्थ खोज्न थालेऊ ? अनि अर्थको भूमरीमा आफैं प¥यौ ? तिमीले त अझ भनेछौ — ‘अब अर्को पत्र नआउन सक्ला । अर्को पत्र नआए आश्चर्य नमान्नू ।’ तिमीले पठाएका हरेक पत्रसँग तिम्रो ढुकढुकी आँउथ्यो । तिमीले लेखेका पत्रका हरफहरुका माझबाट तिम्रो स्वरुप साकार भएर आउँथ्यो । ती अक्षरहरु पढ्दै जाँदा तिम्रो श्वासको आभाष म पाउँथे । तर अब तिम्रो पत्र नै आउँदैन भनेँ ? एउटा कुरा थाहा छ कबीर तिमीलाई—तिमीसँग नबोलिकनै पनि म बोलिरहेकै हुन्छु । तिमीलाई नदेखि म मुस्कुराइरहेकै हुन्छु । तिमी नभैकनै तिमी छौ भन्ने मलाई आभाष हुन्छ । ‘यो मेरो अन्तिम पत्र हुनसक्छ’भनेर तिमीले मेरा सम्झनाका खातहरुमा आगो झोस्न खोजेको त पक्कै हैन होला । मेरो मनमा आश्रित तिम्रा सम्झनाहरुको हत्या गर्न खोजेको त पक्कै होइन होला !
सधैं झैं तिम्रो पत्र मैले दोहो¥याएर पढें, तेहे¥याएर पढें । अनि तिम्रो पत्रका शब्दहरुमै तिम्रो विक्षिप्तताको कारण खोजेर हेरेँ मैले । अब म अरु त के भन्न सक्छु र ? तिमीलाई म तिम्रै शब्दहरु फिर्ता दिन्छु र स्मरण गराउन चाहन्छु — तिमीले आकाशतिर हेर्नू । तिमी अहिले जे कुरामा डुबेका छौ, त्यसबाट कोल्टे फर्कनू । तिमी आफैं भन्थ्यौ हैन र यो जीवन र जगत पार पाइनसक्नु कुरा हो । यसको आदि पनि छैन, अन्त्य पनि छैन । तिम्रो शाब्दिक ज्ञानले तिम्रो आफ्नो अन्तर नभिजेको पो हो कि ? तिम्रै ज्ञानरुपी नौकामा म कतिपटक सांसारिक रहमा डुब्नबाट बाँचेकी छु । तर तिम्रो नौकामा भएको सानो छिद्रबाट छिरेको पानीले तिमी आफैं डुब्न लागेका पो हौ कि ? मेरा मनमा हजारौँ प्रश्न उब्जिएका छन् । भुलक्कड मान्छेले आफ्नो चस्मा टाउकामा सिउरेर फन्फनी खोजिहिँडे जस्तै अचूक समाधान आफैंसँग हुँदाहुँदै तिमी रनभुल्लमा छौ ।
लामो समय अगाडि मैले एउटा कथा पढेकी थिएँ । कथामा आफ्ना शत्रुहरुबाट जोगिन एउटा मानिसले चारैतिर पर्खाल लगाउन थाल्छ । उसले ढोका पनि राख्दैन । झ्याल पनि राख्दैन । किनभने झ्याल ढोका राखियो भनेँ ती द्वार फुटाएर कोहि छिर्ने खतरा हुन्छ भन्ने उसलाई लाग्छ । झ्याल ढोका बिनाको पर्खाल उसले उठाइरहन्छ । अब त कसैले देख्तैन होला भन्ने लागेपछि मात्र ऊ सुस्ताउँछ र वरिपरि हेर्छ । आहा, अब कति आनन्द भन्ने उसका मनमा लाग्छ । केहि दिन मात्र बितेका थिए, उसलाई आफू आफ्नै कारणले थुनामा परेको जस्तो लाग्यो । भित्र जम्मा गरिएको खाना र पानी सकिँदै गएपछि पो उसलाई थाहा भयो— ‘मैले अरुबाट जोगिनलाई पर्खाल लगाएको होइन रहेछ । मैले त आफ्नै चिहान पो खडा गरेको रहेछ । हो, त्यो मान्छे जस्तै हामी पनि मनभित्र
पर्खाल खडा गर्ने रहेछौँ । हाम्रा आफ्ना ठानिएका वस्तु लुकाउन, कसैका अगाडि कुनै पनि प्रकारले कम नदेखिन मनभित्र अदृष्य पर्खाल उठाएर हामी आफ्नो दुःखद अन्त्य आफैं निम्त्याउने रहेछौँ । कबीर, तिमी पक्कै पनि त्यस्तै पर्खाल भित्र निस्सासिएको
हुनुपर्छ । आफ्नै दिमागी विकारको शिकार तिमी बनेको हुनुपर्छ ।
तिमीले आफू भित्र रहेका हजारौँ विचारहरुमध्येमा आशाका विरुवामा मलजल गरेछौ क्यारे । आशाको वृक्षमा निराशाका फलहरु लाग्ने खतरा धेरै हुन्छ । तिम्रा वहिर्मुखी दृष्टिहरुले देखेका कुरालाई सत्य मानिकन मन विरोलेछौ क्यारे । अन्य धेरै कारण नै चाहिँदैन नि मनमा हुरि चल्न । तिम्रो पत्रको बेहोरा हेर्दै थाहा हुन्छ, तिमी आफैंले सिर्जना गरेको भूमरीमा फँसेका छौ भन्ने कुरा ।
तिमीले गीताको
श्लोक ‘कर्मण्या वाधिकारस्ते ....’ बिर्सेका हौ कि ? तिमीले भनेको हैन त हामी एक थुप्रो खरानी मात्र हौँ भनेर ? कार्य गर्ने हो तर परिणाममा ज्यान आफल्ने हैन । कमाउने हो, खाने हो, रमाइलो गर्ने हो तर ती कुराहरु गर्दा सिर्जित परिणामको जिम्मेवार पनि आफैं भएपछि मूर्छित भएर जग हँसाउन त भएन नि । कबीर, तिमीले हारेको कुरा गरेऊ । तिम्रो जीत वा हारले कसलाई के असर गर्छ ? तिमीले जित्नु नै के छ यहाँ ? तिमीले हारेर हुने के छ यहाँ ?
तिम्रा साथी छन्, परिवार छ । सामान्यतयाः सम्पूर्ण कुरा वाह्य रुपमा उपलब्ध छन् तिमीलाई । तिम्रो मनमा हुर्किरहेको रिक्तताको कारण के होला त कबीर ? त्यसको कारण कतै तिमी भित्रकै ‘म’ त होइन ? तिमीले सोचेका कुरा नपुग्नु, सोचेजस्तो हुन नसक्नु जस्ता कुराले तिमीलाई तिम्रो अहंले आफैंबाट अलग्याउन खोजेको पो हो की ? तिम्रो मनलाई ऐंजेरुले छपक्क छोपेको हो । यो एक्लोपन मानव मनमा अनन्त कालदेखि छ । यो रहि नै रहन्छ । यस्लाई हामी वाह्य उपायले कुनै माध्यमबाट, सांसारिक चमत्कारबाट यसो छोप्ने प्रयास गर्छौं । सिनेमाहलभित्र सिनेमाले दुई घन्टा भुल्याएजस्तो हामी आफूलाई भुलाउने नयाँ नयाँ उपायको खोजीमा हुन्छौँ तैपनि झ्वास्सै यो एकान्तिकता देखापर्छ ! अनि यसैलाई मलजल गरिदिने हो भनेँ त यसले हामीलाई एक थुप्रो खरानी बनाइछाड्छ । यो सर्प पालेजस्तै हो, बाघ पालेजस्तै हो । बाघ र बिषालु सर्पलाई ढुक्क भएर अंगाले हालेर बसिरहन सकिँदैन । मन त आफ्नो हो तर बढो होशियारीपूर्वक चलाउनुपर्छ ।
तिम्रो पत्रमा जे जस्ता कुराहरु भएपनि मलाई एउटा कुरा भने बढो राम्रो लाग्यो । तिमी सबै कुरा परित्याग गर्न तयार रहेछौ । हो नि त । यो मोहभङ्गको स्थिति नराम्रो हैन । साँच्चै नै यो दुनियाँको अनित्यता बुझेर तिम्रो मोहभङ्ग भएको भए त कति राम्रो हुने थियो ।
बुरा जो देखन मै चला, बुरा न मिलिया कोई
जो दिल खोजा अपना, मुझसे बुरा न कोई ।
यो कबीरको दोहा पढ्नू तिमीले । मनन गर्नू । आकाशतिर फर्केर हेर्नू । तिम्रा विचारको जङ्गलबाट कोल्टे फेर्नू । यहाँ हार्नू र जित्नू छैन है कबीर । संसार आफैंमा ठीक छ, यसलाई सोझ्याउनु पर्ने छैन । यो कुरा सम्भव पनि छैन । तिमीले बोकेको विचारको भारी अब थपक्क बिसाइदिनू । नाम्लाले थिचिएको टाउकोले आकाश हेर्न सक्दैन । जीवनरुपी यात्रामा बन्दोबस्तिका सामानको आवश्यकता छैन । कृपया भारी बिसाउनू, अनि आकाशतिर हेर्नू ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 28 July 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).