उत्तरदातालाई पनि अप्ठ्यारो पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भन्ने गरिन्छ । महाभारतको वन पर्वमा यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू नै यक्ष प्रश्न हुन् । वनवासी महाराज युधिष्ठिरको १२ वर्षको वनवास समाप्त हुनै लागेको बेला एक जना ऋषिको यज्ञका लागि आगो बाल्ने अरणी यन्त्रसहितको काठ एउटा बलियो मृगले सिङमा अड्काएर भागेछ । त्यसलाई खोजेरे ल्याइदिन ऋषिले पाण्डव दाजुभाइहरुसँग सहयोग मागेका रहेछन् । त्यो सामग्री फिर्ता लिनका लागि पाँचै भाइ मृगको खोजीमा हिँडे तर मृग कतै फेला परेन । थाकेका पाँचै दाजुभाइ थकाइ र तिर्खाले एक वृक्षमुनि बसेर पानीको खोजी गर्न थाले । युधिष्ठिर ले पहिले नकुललाई पानी लिन पठाए तर उनी फर्केनन्, सहदेव गए, उनी पनि समयमा फर्केनन्, अर्जुन र भीम पनि पानी लिन गए तर कोही पनि फर्केर नआएपछि युधिष्ठिर आफैँ पानी र भाइहरूको खोजीमा हिँडे ।
चारै
जना भाइहरू एक पोखरी किनारामा बेहोस ढलेका थिए । युधिष्ठिर चारै भाइहरूका क्षमता सम्झी सम्झी विलाप गर्न थाले ।
त्यतिबेलै बकुल्लाको रुपमा यक्ष देखा परे र अनुमति बिनै पानी खान खोजेकाले चार भाइ
दण्डित भएको कुरा बुझाए । उपायस्वरुप यक्षले युधिष्ठिरलाई केहि प्रश्न सोध्ने भए र
सहि उत्तर आएमा भाइहरुको ज्यान पनि बच्ने भयो र पानी पनि पिउन पाइने भयो । यस्तो चर्को
प्रसंगमा त होइन तर पनि हरेक पटकको सोधाइमा अप्ठेरो लाग्ने केहि अब्डेरा प्रश्नहरुको
मैले यहाँ चर्चा गरेकी छु ।
तपाईंको परिचय ?
देश
गुणाको भेष भनेजस्तै आफ्नो आफ्नो संस्कारमा अपरिचित व्यक्तिसँग कुराकानी शुरु गर्ने
बेग्लाबेग्लै परम्परा हुन्छन् । पटक्कै नचिनेको व्यक्ति फेला पर्दा हाम्रोतिर भनें,
“यहाँको परिचय ?” भनेर सोध्ने गरिन्छ । बिना सोचविचार प्रचलित नियम अनुसार भन्ने हो
भनें त म फलाना थरको फलाना व्यक्ति भनिन्छ । त्यतिले नपुगे अझ आफू भन्दा नाम चलेका
व्यक्तिको परिचयसँग आफ्नो परिचय जोडिन्छ । त्यतिले पनि आफ्नो परिचय नखुले छर छिमेकीको
सहारा लिएर भएपनि आफू उभिन खोजिन्छ । योचाहिँ अलि पुरानो समयको चिनापर्चीको तरकिव हो । अहिले आएर कतिपय अवस्थामा आफ्ना
पद, सामाजिक ओहदाका सहायताले पनि आफूलाई उभ्याउने चलन छ ।
मलाई
भर्खरै यस्तै पर्यो । “अनि तपाईंको परिचय ?” तत्क्षणमा त मैले यो प्रश्नको समाधान पुरातन
पद्धतिले नै गरें । म फलानी, फलानीकी छोरी, फलाना ठाउँमा जन्मेको यस्तै यस्तै । तर
मलाई पछि भनें यस कुरादेखि चित्त बुझेन । वास्तवमा मचाहिं को हुँला त ? नाम त म जन्मेपछि
अरुले टाँसिदिएको हो । नामपछिका कुरा त अझ पछि थपिँदै गएका हुन् । पढाई, जागिर, लोग्ने,
छोराछोरी, स्थान जस्ता परिचयका अनगिन्ति फूर्काहरू सबै पछि थपिँदै, जोडिँदै आएका हुन्
।
मैले जेलाई म भनिरहेकी थिएँ, वास्तवमा म ती नाम, पद, ओहदा, सम्बन्ध केहि पनि होइन रहेछु । म त हाड, मासु, छालाको पिण्ड सम्म पनि रहेनछु । गहिरिएर मनन गर्दा ‘म’ आफूले मलाई परिचयहीन पायो । हामीलाई समाजले सम्मानपूर्वक भिराइदिएका परिचय फुकालिदिएर हेर्दा त सबैजना बराबर पो देखिने रहेछ । यहाँ घटुवा सिद्दान्त लगाएर सम्पूर्ण पगरीहरु फाल्दै गएपछि शरीर बाँकि रह्यो । बाहिरको गर्व गर्न लायकको छाला र मासु समेत घटुवा गरेपछि त सवै उस्तै । पक्का समाजवादी सिद्धान्त त यो पो रहेछ जस्तो लागेर आयो मलाई । आजसम्म म जे जे कुरामा आफूलाई गौरवान्वित महसूस गर्थे, त्यहि मेरो परिचय हो भन्दी रहेछु म । अरुले पनि त्यहि नै नियम पालना गर्ने रहेछन् । तर ती पद, ओहोदा, प्रतिष्ठा समयको जाँतोमा धुलिने रहेछन् । समय आफैं एउटा रहस्यमय गुफा जस्तो हुने रहेछ । स्वाट्ट समयचेत भित्र पसेपछि विचित्रतामा रम्दै भुलिदै गर्दा फुत्त बाहिरिनुपर्ने घन्टी बजिहाल्ने ।
अनि तपाईंको पहाड चैं ?
पुराना
पातहरुका बात नै छुट्टै । तपार्इंको परिचय मागिसकेपछि उनीहरुले सोध्ने भनेकै तपाईंको
पहाड हो । हाम्रोभन्दा अघिल्लो पुस्ता प्रायः पहाडबाटै झरेको पुस्ता हो । उहिले मधेसमा
औलोका भयले गर्दा पहाडेहरू त्यति नझर्ने ।
वि.सं. २०१५ वरिपरिवाट मात्र पहाडबाट मधेस झर्नेको बाढि लाग्न शुरु भयो र वन
फडानी शुरु भयो । औलोका भुमरीमा कुइनाइनका गोलीका भरमा मान्छे जंगल फाड्न जीउ ज्यान
छोडेर लागि परे । यहाँका आदिवासीहरू छेउ लागे । पहाडे टाठाबाठाले मधेसमा आधिपत्य जमाए
। हो तिनै पुराना पुस्ताले खोजि गर्ने हो, उत्पत्ति थलो, “तपाईंको पहाड चैं कता ?”
भनेर । पुरानो पुस्ता जो पहाडबाट तराई झर्यो, त्यसको पुरानो थातथलो, बाजे बराजु भएको
ठाउँ पहाड हुनसक्ला तर अहिलेका मधेसमा हुने नवपुस्ताहरुले पहाड सुनेका मात्र हुन सक्छन्
। म आफैँ र मेरो श्रीमानले समेत आफ्नो पहाडको दर्शन भर्खरै पायौं । अझ हाम्रा छोरा
छोरी, भतिजा, भतिजीहरुले त कसरी पहाड खुट्याउन् ? हामी गतवर्ष असमतिर घुम्दा समेत त्यहाँका
नेपालीहरूले पहाड सोधे । उनीहरू आफैं त्यहिँ जन्मेर हुर्केका भएपनि बाबु बाजेहरु कुन
स्थानबाट असम छिरे भन्ने कुरा उनीहरूले नबिर्संदा रहेछन् । मूलजरो सधैँ प्यारो हुने
रहेछ ।
तपाईं चैं के थरि ?
अनि
अर्को अप्ठेरो प्रश्न पनि छ हाम्रो समुदायमा । त्यो हो, “तपाईं चैं के थरि ?” मलाई
यो प्रश्न जति वाहियात लाग्छ, त्यति नै समाजले यसलाई महत्व दिएको हुन्छ । अझ गहिरेर
हेर्दा त महिलाको थरि नै पो नहुँदो रहेछ । बिहा नगरुन्जेल माइतीको थर । अनि बिहा भएपछि
बाहुन क्षेत्रीको चाहिँ गोत्र नै परिवर्तन भएर थर पनि परिवर्तन हुने रहेछ । अनि माइतीको
थरमाथि अर्को थर जोडिने । धन्न अहिले आएर बिहेवारी बीस वर्ष पारी भने सूत्रले गर्दा
धेरैजसो दिदी बहिनीहरुले विवाहपूर्व नै नागरिकता बनाइसक्छन् र कमसेकम कागजी रूपमा माइतीको
थर रहन्छ । उहिले उहिले त यो थरको चलन पनि रहेनछ । यसो पुराण शास्त्रतिर हेर्दा कुनै
पनि थर उल्लेख भएको पात्र नपाइँदो रहेछ । नत्र सीता, सावित्री, गान्धारी, रावण, राम,
कृष्ण, दुर्योधनका थर हनुपर्ने हैन र ? ती पौराणिक कथामा उल्लेखित पराक्रमी राजाहरुका
वंश चाहिँ उल्लेखित छ है । जस्तै, सूर्यवंशी,
सेनवंशी, यदुवंशी आदि आदि । अनि ऋषिमुनिहरुका थर खोई ? परासर, वशिष्ठ, अत्री, पर्शुराम
जस्ता ऋषिहरुको पनि थर भएजस्तो लागेन मलाई ।
पहिलेको समयमा जनघनत्व पनि कमै हुँदो हो, त्यहि भएर नाम र वंशले काम चल्थ्यो होला । पछि पछि गएर थरहरू थपिए होलान् । थरका सहयोगले गण, समूह छुट्याउन सजिलो भयो होला । यी थरहरू कसरी रहन गए र यसको अर्थ के हो भन्ने खोज अनुसन्धानको बाटो अर्कै छ । मलाई चाहिँ के लाग्छ भने मान्छेको परिचय, थर र वंशमा भन्दा उसका काम, क्षमता र योग्यताबाट निर्धारण गरिनुपर्ने हो । उहिले कसैले एकै दिनमा चालिस अध्याय वेद पाठ गर्यो र चालिसे थर भयो भन्ने गरिन्छ । अब त्यहि अर्थमा हेर्ने हो भनें थरको बिँडो थाम्ने मुश्किलले मात्र भेटिन्छन् ।
कस्तो मोटाको ?
अर्को
मलाई खट्किने प्रश्न चाहिँ, “कस्तो मोटाएको ?”
भन्ने हो । भेट्न, बोल्न, हालचाल बताउन
नपाई सोधिने प्रश्न हो, “किन यस्तो मोटाएको ?” त्यो प्रश्नकर्ता आफैं पनि अपवाद बाहेक
उस्तै कुरुप स्वरुपकै हुन्छ । मोटाइनु वा दुब्लाइनुसँग खासमा त्यो प्रश्नकर्तालाई त्यति
धेरै सरोकार पनि हुँदैन । तैपनि अलिकति मानमर्दन गरिदिइहालौँ भनेजस्तो कति मोटाएको
भन्ने प्रश्नको सामना जोकोहिले गर्नुपर्छ । यहि प्रश्न सुन्दा सुन्दा आजित भएर अनेकौं
उपाय लगाएर ज्यान झिनो बनायो फेरि पनि उस्तै । “आम्मै, कस्तो सन्याक्सुनुक भको । सुगर
छ कि क्या हो ?” ल अब के गर्दा चाहिँ भलो होला
भनेर सोच्दा एउटै उपायरुपी अस्त्र फेला पर्यो - “सहि हो, तपाईंले ठ्याक्कै मिलाउनुभयो ।”
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 22 September 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
यति राम्रो लेख पढेर नअघाइने तर परिकाले शुद्ध पनि छप्नोस केही थरी एस्ता धेर छन।पतृकाको स्तर उठाउनोस।
ReplyDeleteसुन्दर अनि समय बाेध भएकाे रचना। बधाई छ सर्जकलाई ...
ReplyDelete