मान्छेको चेतनाको विस्तारसँगै ईश्वर छन् कि छैनन् भन्ने बहस शुरु भएको हो । यो बहस अनन्तसम्म चली नै रहने छ । दशैँको यसपालीको छुट्टिमा आधा समय ईश्वर चिन्तनमा बितेछन् र बाँकी आधा समय मानव निर्मित उल्कामा रमाउनमा बित्यो ।
यो पटक दशैंको लामो छुट्टिमा घुम्न निस्किने कि ननिस्किने दोधारै दोधारमा दिल्लीको रेल टिकट काटी त हालियो । यता लामो छुट्टिको ट्याङ्ग घन्टि लाग्दा उता झोला रेडी । दुई जनाको जहान त छ । ढोकामा तालाबन्दि गरेर हामी लाग्यौँ सिलिगुडीतिर । दिउँसो रेल समाएपछि बिस्तारै एप हेर्दै जाँदा पो थाहा भयो, त्यो त बढो धिमा गतिको सुस्तरी चल्ने रेल रहेछ । घुमन्तेलाई हतार नै के पो थियो र । सिलिगुडीबाट चवन्न स्टप नाघेर बल्ल दोस्रो दिनको रातीतिर रेलले दिल्ली पुर्यायो । धन्न एक शुभचिन्तकले होटल बुक गरिदिएकाले गर्दा मध्यरातमै भएपनि बासस्थानमा पुगियो ।
झोला बिसाउँदा बिसाउँदै समय घर्किगएछ । वरिपरिका खानाका दोकान बन्द गर्ने तरखरमा थिए र सरसफाइमा व्यस्त मानिसहरु शटर तान्ने क्रममा थिए । कसो र एउटा पानवाला भाइको दोकान खुलै रहेछ र एक प्याकेट बिस्कुट र दुई लिटर पानी चाहिँ किन्न पाइयो ।
त्यो लामो रेल यात्रामा खानाकै दुःख । एक छाक पो मिठो हुने रेलको क्याटरिङको खाना । एउटै कुरा छाकैपिच्छे त दिक्क पो हुने रहेछ । बाहिर निस्केर किनेर ल्याएर खान पनि दचक नै हुने । कस्तो हो कस्तो । बा झाडाबान्ताले सकस पार्ने पो हो कि ! मान्छेहरु त बढो स्वाद मानेर रेल रोकिएका ठाउँमा बाहिर निस्केर हेर्दै स्वादिला समोसा,
पकौडा ल्याएर जिब्रो पड्काएर खाँदै थिए । तर हाम्रो आँट पुगेन । नाक खुम्च्याउँदै लङ्गरको खाना नै खाइरह्यौं । मसालावाले, अदरक इलाइचीवाले चायका नाममा टुर्रे चाय पिएर बसिरह्यौँ ।
रेलमा सफर गर्दा भेटिने यात्रीहरु पो मलाई त गजब लाग्छ । म चाहिँ उनीहरुलाई सुन्छु । चालढाल हेर्छु । तर मेरो मान्छे त जोसुकै होस्, गफ गर्न थालिहाल्छन् । छेउमा एउटा निकै गाढा श्याम वर्णका भाइ थिए । भारतीय सेनामा रहेछन् । उता तल केरलाका बासिन्दा रहेछन् । तेलगु भाषी मान्छे हिन्दी पनि सारै अप्ठेरो गरी बोल्ने । तिनले चाहिँ रेलमा
स्वादले खाए । भारतीय फोन र एप हुँदा त अर्डर गरिराख्यो, भनेजस्तो खाना रेल रोकिएको स्टपमा ल्याइदिने रहेछन् । तिनले बिरयानी खाएको देखेर हामी पनि अब तिनकै सहायतामा मगाइमाग्नु पर्यो भनेको त, ती भाइ ओर्लिजाने रहेछन् । मध्यराततिर ती ओर्लिए ।
बिहान मान्छेहरु भर्खर उठ्दै थिए । हो, त्यतिबेलै एकजना अग्ला, गोरा मनुष्य आफ्नो सिट खोज्दै आए । खाली भएको सिटमा खुट्टा पसारेर हामी बसिरहेका थियौँ । हामीले सिट खाली गरिदिउँला न, आउनुहोस् भन्यौं र आफू आफू नेपालीमा बोल्न थाल्यौं । अनि पो उनले सोधे— “तपाईँहरु कहाँसम्म जाने ?”
ती मान्छे नेपाली जस्तो त लागेको थियो । तर कटिहारबाट चढेको मान्छे के नेपाली होला र जस्तो भन्ने पनि लाग्यो । अलिकति नेवारी लवजमा बोल्ने ती मनुवा त खास्सा नेपाली मारवाडी पो रहेछन् । सुनेर छक्क लाग्यो । ती मान्छे त ख्याल ठट्टा गर्नमा बेजोड रहेछन् । उता अर्को डब्बामा उनकी श्रीमती, बुहारी र नाति पनि रहेछन् । उनले चिया मगाए, बिस्कुट मगाए, अनि मेरो मान्छेसँग लागेर त्यो डब्बा नै थर्काएर हाँस्दै गफ गरे । उनको एउटा भाइ सुरततिर व्यापार गर्दा रहेछन् । भाइको अचानक हार्ट अट्याक भएर मृत्यु भएपछि त्यता कुदेका रहेछन् । जोगमनीबाट कटिहारसम्म एउटा रेलमा आएर रेल फेरेका रहेछन् । दिल्लीसम्म शर्माजीसँग साथै भइयो । उनीहरुले भोलिपल्टको रेल समात्नुथियो । तर उनले नम्बर दिएका छन् र भनेका छन्— “छाता चोक धरान आउनू, फोन गर्नू । गफ धेरै बाँकी छन् ।”
दिल्ली ओर्लिदा राती भैसकेको थियो । स्टेशनबाहिर हजारौँ ट्याक्सीवाला र अटोवाला हामीलाई स्वागत गर्न तत्पर थिए । “युसुफ सराय, मन्दिरवाली गलीमे स्वीट इन जाना है ।” एउटा खाकी युनिफर्म लगाएको अटोवालाले देख्छु म पुर्याउँछु भन्यो । भाडाको मोलमोलाई भयो र कुरा मिल्यो । आधा घन्टा जति रन्काएर कुदाएपछि मन्दिरवाली गली यहि हो भनेर घ्याच्च अटो रोक्यो । खै त होटल भनेर खेरेपछि उसले यताउता होटल खोज्यो । फेरि अर्कोतिर लग्यो । वरपर दोकानमा सोधेर हामीले भनेको होटल भित्र गल्लीमा भएको पत्ता लगायो र ल जानोस् भन्यो । हाम्रो मनमा फेरि आएछ,“यो त भारत हो । कुरा पत्याइहाल्न हुँदैन,” अनि तिमी पनि आऊ, होटेल पुर्याऊ र पैसा लिएर जाऊ भनेपछि बिचरो गन्गनाउदै अघिअघि लाग्यो । टुङ्गामा पुगिएपनि मध्यरात भैसकेकाले बिस्कुट र पानी पिएर सुत्नुको विकल्प थिएन ।
हामीलाई थाहा थियो एकजोडा आफन्ती त्यहि कतै कुनै कोठामा सुतेका छन् भन्ने । भोलिपल्ट बिहानै लवीमा हाम्रा आफन्ती दाजु र भाउजू देखिनुभयो । उहाँहरु बनारस घुमफिर गरेर दिल्लीमा भेट हुने योजना अनुसार नै त्यहाँ बस्न आउनुभएको थियो । बिहान भेट हुँदासम्ममा त उहाँहरु एक फन्को हिँडेर, चिया पिएर आइसक्नुभएको रहेछ । अब भने दिउँसो के गर्ने भन्ने कार्ययोजना बने । कता कता जाने ? कसरी जाने ? के के गर्ने ? हामीलाई दुई दिनमा दिल्ली भ्याउनुपर्ने थियो ।
सबैभन्दा सस्तो र घुमफिरको प्रभावकारी माध्यम त मेट्रो रेल हो भन्ने कुरा हाम्री
जिना भाउजूले पत्ता लगाइसक्नुभएको रहेछ । हामी बसेको स्थानबाट सय मिटरको दूरीमा भएको ग्रीनपार्क मेट्रो स्टेशनबाट यात्राको शुभारम्भ भयो । ओहो कति व्यवस्थित र सुरक्षित मेट्रो स्टेशन । यस्तो पनि इन्डियामा होला भन्ने मेरो कल्पनामा थिएन ।
दिल्लीभर जालो जस्तो फिँजिएको दिल्ली मेट्रोमा हरेकदिन सरदर ६८ लाख मानिस यात्रा गर्छन् भन्ने तथ्य पढेपछि त म झन् छक्क परें । न त टिकट बिना त्यहाँ छिर्न सम्भव छ,
न त त्यहाँ भारतीय ट्रेडमार्क बनेको जथाभावी पान थुकेर पिच्च पारेका दाग नै छन् । रेल उत्तिकै सफा छ । यात्रुहरु आफै सभ्य र सुसंस्कृत लाग्छन् । ला, मेरो कल्पनाको भारत त कहाँ त्यस्तो थियो र !
घुमफिरको क्रममा एउटा कुराले भनेँ बारम्बार धोका दिइरह्यो । भारत पूरै डिजिटलाइज भैसकेको जस्तो भान हुने । चियावाला, ससाना खुद्रे व्यापारी, अटोवाला लगायत सबैतिर डिजिटल पे गर्न सकिने व्यवस्था रहेछ । यसको अर्थ सबैजना डिजिटल्ली साक्षर अनि सबैका पहुँचमा स्मार्ट फोन समेत भएपछि कुरै अर्को । हामी भने नगदै बोकेर हिँड्नुपर्ने । धन्न हाम्रा नेपाली एटिएम कार्ड उता पनि चल्ने रहेछन् र एकपटकमा दश हजार सम्म निकाल्न पाइने रहेछ ।
यो सबै देखेपछि मैले फेरि ती रेलमा भेटिएका ठट्टाबाज रामावतार दाजुलाई सम्झें। हत्तेरिका ! हाम्रो खुला सिमाना छ । नेताहरु वर्षेनी यहाँ दिल्ली धामतिर तीर्थ वर्त गर्न र आशिर्वाद थाप्न आइरहन्छन् । तर खै के सिक्छन् तिनीहरु ? हामी नेपाली अभिसप्त छौँ । लुटिन वाध्य छौँ । झूठा आश्वासनमा हामी विश्वास गरिरहन्छौँ । त्यसको मतलव हामी नेताहरुलाई लुट, लुट भनेर हरेक चुनावमा तोक लगाइरहन्छौं । बढो दुखेसो व्यक्त गरेका थिए दाजुले ।
मेट्रोबाट ओर्लेपछि कश्मिरी गेट वरपरका एकदुई स्थान घुम्ने क्रममै एक अटोचालक आलम भाइसँग भेट भयो । उनले मोदी सरकार आएपछि भएका विकासका गीत सुनाए । बाँकी दिन उनकै भरमा लाल किल्ला, कुतुब मिनार, इन्डिया गेट, गान्धी समाधिस्थल राजघाट, जन्तर मन्तर र उग्रसेनका बाबली घुमियो । अटोवाला आलमले छिप्पिएको साँझमा हाम्रो बासस्थानमा छाडिदिए । बेलुकाको भोजनपछि अर्को दिनको कार्यसूची तयार पारियो । बाँकी रहेका स्थानहरु लोटस टेम्पल, अक्षरधाम र त्यसबिचमा पर्ने स्थानहरु घुम्ने तय भयो ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 24 November 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).