दुई दिनको हाम्रो दिल्ली घुमाइ र बसाइ समाप्त हुँदै थियो । अबको हाम्रो गन्तव्य भनेको वृन्दावन थियो । हामीहरुलाई विशुद्ध पर्यटनले मात्र पुग्दो रहेनछ । यो भन्दा महत्वपूर्ण धार्मिक पर्यटन हुनेरहेछ । ‘पशुपतिको यात्रा सिद्राको व्यापार' भनेजस्तो पहिले सकेसम्म देव दर्शन गरिहाल्ने, अनि यो सँगसँगै घुमाइ फिराइ त आफैं भैहाल्छ भने जस्तो । त्यसैले दिल्ली पुगेपछि त्यत्रो धार्मिक महात्म्य बोकेको वृन्दावन नपुगी भयो र ?
बसबाट जाने कि ट्रेनबाट जाने भन्ने विषयमा एकछिन हाम्रो छलफल भयो । यसो बाहिर निस्केर स्थानीयबासीलाई सोधिहेर्दा ट्रेनको भरपर्दो सूचना कसैले दिएन । त्यसैले हामीले बसबाट नै जाने निर्णय गर्यौं । छन पनि दिल्लीबाट वृन्दावनको दूरी कति नै पो छ र ? १६० किलोमीटर त हो । त्यसैले तीन चार घण्टामा पुगिहालिने रहेछ नि !
मेरो मनमा वृन्दावनको बढो सुन्दर तस्वीर कोरिएको थियो । भगवान् कृष्ण हुर्के बढेको ठाउँ, राधासँग हिँडेडुलेको ठाउँ कति रमणीय होला
त ! सफा, शान्त, ठूला ठूला फूलबारी र बगैँचाले सजिसजाउ ठाउँको कल्पना गर्थें म । हुन पनि मैले धेरै मान्छेहरु भौतारिँदै वृन्दावन गएका र त्यहाँको वातावरणमा लठ्ठिएर आध्यात्मिक जीवनयापन गरी उतै बसेका धेरै कथा सुनेकी थिएँ । मेरो मनको भित्री तहमा आफू पनि अध्यापन सेवाबाट अवकाश प्राप्त भएपछि बाँकी जीवन उतै गएर अध्यात्म चिन्तनमा पो बिताउने हो कि भन्ने सानो लोभ लुकेको हुँदो हो ।
वृन्दावनको पवित्र भूमिमा टेक्नेबित्तिकै मेरो कल्पनाको तस्वीर च्यातिएर यत्रतत्र छरियो । बाटोको दायाँबायाँ अव्यवस्थित तरिकाले फ्याँकिएका फोहोरका थुप्राले हाम्रो स्वागत गर्यो
। घरैपिच्छे मन्दिर भएर के गर्नु ? त्यस्तो फोहोरी वातावरणमा भगवान् निसास्सिँदैनन् ? मैले सोचेकी थिएँ यस्तो धार्मिकस्थलमा त छानी छानी आश्रममा बस्न पाइएला । यस्ता सेवामुखी आश्रममा बस्न र खान निशुल्क पाइने र स्वेच्छाले यथासक्य चन्दा दिँदा हुने कुरा पनि मैले सुनेकी थिएँ । तर कहाँ यस्तो हुँदो रहेछ र ?
हाम्रो चारजनाको टोलीमा जिना भाउजूचाहिँ पहिले पनि त्यो ठाउँमा पुगिसक्नु भएको रहेछ । उहाँका अनुसार त्यहाँको सबभन्दा नाम चलेको मन्दिर बाँकेविहारी भएको र अरु मन्दिरमा जान नसके पनि त्यहाँ चैँ पुगेर बाँकेविहारीको दर्शन गर्नैपर्ने रहेछ । त्यसैले हाम्रो बसाइ यसैको आसपासमा हुनुपर्यो । सामानसँगै सबैजना लखर लखर हिँड्ने त कुरा भएन । त्यसैले म र भाउजू अलि घुइँचो कम र सफाजस्तो ठाउँ हेरेर सामान रुँघ्न बस्यौँ । दुईजना बासको खोजीमा निस्किनुभयो ।
दर्शनार्थीको चापले गर्दा न त होटलमा, न त आश्रममा, कतै कोठा भेटिएनछ । निराश भएर फर्कनै लागेको बेला अन्तिम प्रयाशस्वरुप ज्वाइँ जेठान एउटा आश्रममा पस्नु भएछ । शुरुमा त त्यहाँ पनि कोठा उपलब्ध छैन भन्ने कुरा गरेछन् । कुराकानीकै सिलसिलामा त्यो आश्रमको व्यवस्थापक नेपाली भएको कसैले सुनाइदिएछ । उहाँहरुले व्यवस्थापकलाई नै भेटी आफूहरु नेपालदेखि आएका र कतै कोठा पाउन नसकेको गुनासो गरेपछि उसैले बल्लबल्ल एउटा कोठा मिलाइदिएछ — एकदिनको रु १५ सयका दरले । यति गरेपछि भोजनचाहि निशुल्क पाइने रहेछ ।
यहाँका मन्दिर बिहान र बेलुका मात्र खुल्ने रहेछन् । हामी कोठामा पुगेर सामान थन्क्याउँदा, आराम गर्दा, खाना खाँदा जम्मा यस्तै दुई जति त बजेको रहेछ । बेलुकाको ६ नबजी मन्दिर नखुल्ने ! अब यो चार घण्टा के गरी बिताउने त भन्ने छलफल गर्दा सबैको सहमति
मथुरा जाने रह्यो । वृन्दावनबाट मथुरा धेर टाढा होइन रहेछ — १५ किलोमीटरको दूरी, अटोमा यस्तै २०-२५ मीनेट लाग्ने । भन्नै त्यो ठाउँलाई मथुरा–वृन्दावन नगर निगम भन्दा रहेछन् । हामी पो मथुरा छुट्टै हो भनेर बुझ्दा रहेछौँ ।
तुलनात्मक रुपमा वृन्दावनभन्दा मथुरा सफा र व्यवस्थित रहेछ । जाँदाजाँदै हेर्ने भनेको त्यहाँ श्रीकृष्ण भगवानको जन्मस्थल रहेछ । एक-दुई घण्टा त्यतै घुमेर हामी फेरि वृन्दावनतिरै फर्कियौँ । त्यो दिन बेलुका हामीले स्वामी महाराज प्रभुपादको इस्कोन मन्दिर, अर्का स्वामी महाराज कृपालुको प्रेम मन्दिर र बाँकेविहारी मन्दिर जानुथियो ।
हामी पहिले प्रेम मन्दिरतिर लाग्यौँ । त्यहाँ त मन्दिरको प्रवेशद्वार खुल्नु एक-दुई घण्टा अगावै मानिसको लर्को लागिसक्ने रहेछ । जता हेर्यो, उतै मान्छे । कतिसारो क्रेज कृपालु महाराजको ! भगवान् त होइनन् तिनी ! भगवानका भक्तलाई किन भगवानकै दर्जा दिनु होला ? मैले बुझ्न नसकेको कुरो । त्यो भीडमा कतिपय त त्यो मन्दिरभित्रको कलाकारिता हेर्न पनि लोभिएर गएका थिए कि ? हामीले त्यो भीडमा पस्ने आँट गरेनौँ र प्रेम मन्दिरलाई परैबाट हेरेर इस्कोन मन्दिरतिर लाग्यौँ । त्यहाँ पनि भीड त थियो तर हामीले लाइनमा बस्ने हिम्मत गर्यौं । त्यहाँको अर्को आकर्षण भनेको प्रसादका रुपमा खिचडी खान पाइनु थियो । पहिले हामी त्यही खिचडीको लाइनमा उभियौँ र पेटपूजा गरेर मन्दिरतर्फ़ लाग्यौँ ।
अबको गन्तव्य थियो — बाँकेविहारी मन्दिर । हाम्रा पाइला के त्यतातिर मोडिए, बाटोमा भेटिने प्रत्येक मान्छेले मेरो चस्मातिर देखाउँदै चस्मा जोगाउने सल्लाह दिए । कोही ‘म्याडम, चस्मा उतारिए,’ भन्थे । कोही, ‘चस्मा मत पहनो’अनि कोही खालि चस्मातिर देखाउँदै, ‘चस्मा चस्मा’ भन्थे । ए बाबा ! चस्मा र बाँकेविहारीको चै के सम्बन्ध होला भनेर म छक्क परेँ । किन किन मेरो चस्माको दुस्मन वृन्दावन मलाई मन परेन । चस्मा खोलेर त म किन जानु ? पर परको दृश्य केही त देख्न सक्तिनथेँ । बल्ल भाउजूले रहस्य खोल्नुभयो, ‘यहाँका बाँदरले चस्मा लैजान्छन्, त्यसैले सतर्क हुनुपर्छ ।’ मैले पशुपतिका बाँदरले हातबाट खानेकुरा खोसेको त धेरै देखेकी थिएँ तर चस्मा ? चस्मामा त्यस्तो के तत्व हुन्छ र त्यसलाई झम्टनुपर्ने ? नभन्दै हामीले हेर्दाहेदौ एउटा बाँदरले एउटी महिलाको चस्मा फुत्त तानेर एउटा गाडीमाथि बत्तिएर गयो । एकछिन पल्याक पुलुक गर्यो र त्यो चस्मा टुक्र्याउदै कर्याउ कर्याउ गर्न थाल्यो । यसरी आफ्नो चस्मा पनि लगिदियो भने त मेरो केही उपाय हुँदैन, म त नघुमे नि हुन्छ । मलाई आँखै नभए जस्तो हुन्छ । यस्तै यस्तै विचारले मेरो मस्तिष्क भरियो । बाँकेविहारीको दर्शन गर्नुभन्दा मलाई आफ्नो चस्मा जोगाउनु पो धेर जरुरी भयो त ! धन्न दाजुले एउटा छत्रे टोपी लगाउनुभएको थियो । मैले उहाँको टाउकोबाट फुत्त त्यो टोपी तानेर आफ्नो टाउकोमा सिउरें । यसले मेरो अनुहारको अलिकति भए नि सुरक्षा गर्यो । अनि दुईवटै कानलाई मैले छोपे । त्यतिबेला मेरो मनमा यो वृन्दावनबाट जतिसक्दो छिटो उम्किनु नै कल्याणकारी होला भन्ने भाव नाचि नै रह्यो ।
बाँकेविहारी मन्दिरको भीड त उता प्रेम मन्दिरको भीडलाई बिर्साउने रहेछ । एक–दुई किलोमीटर अगाडि देखि नै मान्छे ‘राधे राधे’भन्दै लामबद्ध भएर अगाडि बढिरहेका थिए । अँध्यारो पनि भैसक्यो, यस्तो भीडमा नछिर्ने कि भन्दा भाउजू मान्दै मान्नुभएन । ‘यहाँसम्म आएर बाँकेविहारीको दर्शन नगरी फर्किनुहुँदैन,’ उहाँको अडान थियो । त्यसैले हामी पनि त्यही भीडको नदिमा हेलियौँ । बल्ल बल्ल बग्दै बग्दै हामी दर्शन गर्ने ठाउँसम्म त पुग्यौँ । तर यो के ? बाँकेविहारीलाई त पर्दाले छोपेर पो राख्दा रहेछन् । खुल्लम्खुल्ला हेर्न नपाइने ! निकैबेर त्यहाँ उभिएपछि फुत्त पर्दा सारिदिए । एक नजर हेरि नसक्तै फेरि पर्दा हठात् बन्द भयो । यसरी बाँकेविहारीको एक झलक हेरेर फर्किंदा हामीलाई एउटा ठूलै लडाईं जितेर फर्किएको अनुभूति भएको थियो ।
साँझ छिप्पिसकेको थियो । अलि भोक भोक पनि लाग्यो र हामी भीड छिचोलीसकेपछि एउटा रेस्टुरेन्टमा पस्यौँ । वृन्दावनको यो रेस्टुरेन्ट यति शुद्ध साकाहारी कि त्यसमा लसुन, प्याजको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको थियो । भोजन गरिसकेपछि हामी बाहिर निस्केर यसो यताउता नजर डुलाउँदै थियौँ, अचानक भाउजूले, ‘चस्मा चस्मा...’ भन्नुभएको मैले सुनेँ । एक निमेषमा मेरो आँखामा चस्मा थिएन । हरे ! यतिन्जेल जोगाएको मेरो चस्मा ! मैले तत्काल त्यो चस्माको माया मारिदिएँ । फेरि कसैले ‘फ्रुटी, फ्रुटी...’ भनेर चिच्याएको मैले सुनेँ । भाउजू धनुषबाट छुटेको वाँणजस्तो भएर फ्रुटी भएको पसलतिर दगुरेको पनि मैले देखेँ । मेरो मनमा भने अब यहाँ चस्मा बनाउने ठाउँ कता हो ? भोलिको दिन त चस्मामा नै बित्नेभयो भनेजस्ता कुरा खेल्दैथिए । म बाँदरले जुन ठाउँबाट मेरो चस्मा बडो सफाइका साथ थुतेर लग्यो, त्यही ठाउँमा मूर्तीजस्तै भएर उभिइरहेकी थिएँ । भाउजूले ‘व्यन्जना मैया, आउनू’ भनेर बोलाउँदा म आफ्नो चस्मा बनाउने कल्पनाको संसारबाट वास्तविक संसारमा आएँ । कस्तो थाहा नै नपाइ त्यो चलाख बाँदरले मेरो चस्मा उडाइदिएको । दाजु, भाउजू र मेरा श्रीमान् अलि पर मलाई पर्खिरहनुभएको रहेछ । म के देख्तैछु ? श्रीमान
ज्यूको हातमा मेरो चस्मा जस्तो पो छ त ! अलि नजिक गएर आँखा गाडेर हेरेको, हो रहेछ । म खुशीले झण्डै झण्डै चिच्याएँ, ‘आमै ! मैले त माया मारिसकेको थियो । कसरी पाउनुभयो यो ?’
बाँदरले मेरो चस्मा तानेको म बाहेक सबैजनाले देख्नुभएको रहेछ । भाउजू फ्रुटी किन्न दौडिँदा ज्वाइँ, जेठान चाहिँ बाँदरको पछि लाग्नुभएछ । बाँदर चस्मा लिएर फुत्त एउटा घरको छानामाथि चढेछ । भाउजूले तुरुन्त फ्रुटी किनेर ल्याउनुभएछ । त्यहाँका एक स्थानीयले त्यो फ्रुटी फुत्त बाँदर भएतिर फ्याँकिदिएछन् र फ्रुटी समाउँदा बाँदरले चस्मा खसाएछ । मुस्किलले एक मीनेटमा यो सबै भयो । अलि ढिलो भएको भए मेरो चस्मा त धूलोपीठो नै हुने नि ।
हामीले भोलिपल्ट किन वृन्दावनका बाँदरले चस्मामा नै झम्टा दिएका भनेर सोधीखोजी गरिहेर्यौं
। खासमा यो उनीहरुको खानेकुरा माग्ने तरिका रहेछ । चस्मा मात्र होइन, हातमा बोकेको मोबाइल फोन पनि उनीहरुको निशानामा पर्दोरहेछ । ती सामान लिएपछि बाँदर एकछिन पर्खिँदा रहेछन् र फ्रुटी अथवा केरा दिएपछि सामान फिर्ता पाइने रहेछ । तर नयाँ मानिसलाई यो सब कुरा कहाँ थाहा हुन्छ र ?
तपाईं पनि चस्मा लगाउनुहुन्छ र वृन्दावन जाँदैहुनुहुन्छ भने खासगरि बाँकेविहारी मन्दिरतिर जाँदा फ्रुटी अथवा फलफूल बोक्न नबिर्सिनुहोला । अँ, अनि मोबाइल फोन पनि हातमा टल्काउँदै नबोक्नुहोला ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 15 December 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).