Friday 15 August 2014

श्वेता, सूर्य अवश्य उदाउँछ

                                                                                                                     
                                                                                                                 
मिति २०७१/४/३० शुक्रबार

प्रिय श्वेता

सर्बप्रथम म यो दुखद घडीमा 'तिमीलाई अकस्मात परेको बज्रपात सहनका लागि अदम्य धैर्य र अथाह शक्ति प्रदान गरून' भनी भगवानसंग प्रार्थना गर्दछु I तिमीलाई थाह छ श्वेता, मैले जुन क्षण श्रीकृष्ण श्रेष्ठको अकल्पनीय मृत्युको खबर सुनें, तत्काल तिमीलाई सम्झिए I कठै, कसरि सहेउ होला तिमीले त्यो बिदेशी मुलुकमा आफ्नु प्रियतमले चटक्क छोडेर गएको खबर! तिमी त आफ्नु विवाहपश्चात हनिमून मनाउन, आँखामा रंगिन सपना सजाएर इंडिया तिर गएकी थिएउ, होइन र ? विवाह भएको पुग अपुग एक महिनामा तिमीले वैधव्यको शिकार बन्नु पर्यो I तिमीलाई परेको यो मर्म यहाँ तिमीले बाहेक कसैले पनि बुझ्न सक्ने छैन I

सारा दुनियाँ श्रीतिर खनिएको बेला म भने तिम्रो चिन्तामा डुबेकी थिएँ I तिम्रो अबस्थाका बारेमा जान्न उत्सुक थिएँ I शायद एउटा उम्दा नायक गुमाउनुको पिडामा डुबेको देश र त्यहाँका जनताका नजर तिमीतिर पुग्न सकिरहेका थिएनन् I त्यसैले त सारा संचार माध्यममा श्री मात्र छाएका थिए I

हिजो मात्र मैले तिम्रा बारेमा पढ्न पाएँ I मैले जस्तो कल्पना गरेकी थिएँ, तिमी त्यस्तै अबस्थाबाट गुज्रिरहेकी रहिछौ I भारतमा तिम्रा पतिको प्राण गएदेखि नेपालमा ल्याएर दाहसंस्कार गर्दासम्म तिमी असह्य बेदनामा थिएउ रे! अहिले पनि तिमी  अर्धमुर्छित अबस्थामै छउ रे! भेट्न आउनेको लर्को छ रे! सहानुभूति दिनेको भीड छ रे! तर श्वेता, तिमी कसैसँग बोल्नसक्ने अबस्थामा छैनौ रे! तिमी छिनमै टोलाउंछेउ, छिनमै रुन्छेउ रे! तिमीलाई सम्झाउन र सम्हाल्न करिब एक दर्जन महिला तिम्रो वरिपरि बसेका छन् रे!


यस्ता कुरा पढ्दा मलाई सारै दु:ख लाग्यो, श्वेता! तर यतिबेला तिमीले यस्तो अलाप विलाप गर्नु एकदमै जायज छ I तिमीले आफ़्नु पीडालाई पूर्ण रुपमा अनुभूति गर्न पाउनु पर्छ! तिमीलाई थाह छ श्वेता, 'मृत्यु' 'जीवन' का लागि जति सत्य छ, यो उति नै कुरुप पनि छ! तर उत्साहजनक कुरा, यो कुरुपताको तहमुनि यसले अति नै महत्वपूर्ण कुरा लुकाएको हुन्छ I ती कुरा हामीले उदिनेर निकाल्न सक्नुपर्छ I अहिले तिमीलाई आफ्नै चोटले घेरेको छ I तिमीमा त्यो घेराबाट बाहिर निस्कन सक्ने साहस आइसकेको छैन I तर म तिमीलाई विश्वास दिलाउन चाहन्छु, जब तिमी आफ्नु पीडालाई अलिकति पन्छाएर बाहिरि संसार हेर्न सक्षम हुन्छेउ, त्यतिबेला तिमीले अनुभव गर्नेछेउ कि  तिमी अझै पनि अनगिन्ति मानिसभन्दा भाग्यमानी छौ I

हेर श्वेता, हालसालै दैवी बिपत्तिमा परि सिन्धुपाल्चोकका सयउं मानिसले कसरि आफ्नु ज्यान गुमाए? राता रात परिवार परिवार नै सखाप भए! यहाँसम्म कि उनीहरुको शव समेत भेटिएन! यस्तो विपदको घडीमा बाँचेकाहरुले आफन्तको कुशको शव बनाई हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका थिए। यिनीहरुको तुलनामा तिमी आफुलाई कुन स्थानमा राख्छेऊ? यो त एउटा उदाहरण मात्रै हो I तिम्रो मन संग्लिएपछि तिमी यस्ता अनगिन्ति घटना छर्लंग देखनेछौ र आफुलाई धन्य ठान्नेछौ I

तिमीले श्रीलाई गरेको पवित्र माया त्यसै खेर जाँदैन, श्वेता! त्यहि मायाले तिमीलाई अहिलेको असिम पीडाबाट उतार्नेछ I भौतिक रुपमा तिमीले उनलाई नदेखे पनि आत्मिक रुपमा तिम्रा प्रेमी पति सधैं तिमीसंगै छन् I तिमी आफ्ना अन्तरका आँखा उघारी त हेर! तिमी भित्र हेर, श्रीले दिएको माया त्यहाँ सुरक्षित् छ कि छैन? त्यो माया तिम्रो शक्ति बनेर, तिमीले चाहुन्जेल सधैं तिमीसंगै रहिरहन्छ I

तिमीलाई सहज रुपमा फर्कन समय त लाग्छ ! तर एक दिन तिमी अवश्य तिम्रो शोक पार गरि अर्को छेउमा पुग्नेछउ! यसका लागि तिमीलाई ईश्वरले, श्रीको मायाले, आफन्त तथा साथीभाइको साथले, र मुख्यत: तिम्रै अथक प्रयासले सघाउने छन् I        

त्यतिबेला तिमीले आफू कति साहसी र शक्तिशाली रहिछौ भन्ने कुरा थाहा पाउनेछौ I तिमी अझ ससक्त र खुला ह्रिदयकी भएर आफ्नु जीवन सामना गर्न पुन: तयार हुनेछौ I आफ्ना सपना पछ्याउन सक्षम हुनेछौ I अहिले तिम्रो जीवनमा आएको औंसीको रातको समाप्ति अवश्यभावी छ, श्वेता! तिम्रो जीवनमा पूर्णिमाको जून अवश्य उदौनेछ I तिम्रो संसारमा फेरी पनि झलमल्ल घाम लाग्नेछ I मेरा यी कुरामा विश्वास गर, श्वेता तिमी I

अन्तमा, ईश्वरले सधैं तिम्रो रक्षा गरून् I

तिम्री एक हितैषी  -  व्यन्जना
                          हाल: अष्ट्रेलिया
{Published on mysansar.com on 18/08/14. See the link http://www.mysansar.com/2014/08/14377/#more-14377]


No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).