Sunday 14 March 2021

स्पिटिङ्ग पिपल

 


कुरा आजभन्दा करीब २०-२२ वर्ष अगाडिको हो। त्यतिबेला काठमान्डु विश्वविद्यालय, धुलिखेलमा कार्यरत थिएँ। एकदिन विश्वविद्यालय छुट्टी भएपछि हामी सबै घर जान हतारिएर बस भएतिर लम्कदैं थियौं। / जना सरहरू हामीभन्दा निकै अगाडि ठूलो ठूलो स्वरमा गफ गर्दै आफ्नै धुनमा हिंडीरहनु भएको थियो। अचानक एकजना सर मुख रातो रातो पार्दै हामीतिर फर्किएर, "दिज स्पिटिङ्ग पिपल!" भन्दै च्याँठ्ठिनुभयो। मैंले छक्क पर्दै अलि सानु स्वरमा "के भयो, सर ?" भनेर सोधें।

एकजना कर्मचारीले  छिटो बस समात्ने धुनमा हतार हतार हिंड्दा बाटामा थ्वाक्क थुकेछन् । अलि अलि हावा चलिरहेको बेला उनका थुकका केही छिटा उछिट्टिएर च्याँठ्ठिने  सरतिर गएछन्। त्यसैले उहाँ क्रोधित हुनुभएको रहेछ।  

यो घटना धेरै वर्ष पुरानु भए पनि मेरो मनमा भने निरन्तर आइरहन्छ। यसको कारण चाहिं मानिसको यसरी जथाभावी थुक्ने प्रवृत्ति अहिलेसम्म जिउँ का तिउँ भएर होला। जहाँसुकै  होस् - बाटोमा, घरको आँगनमा, स्कूलको खेल मैदानमा, क्याम्पसको चौरमा या बजारमा - थ्वाक्क थुक्नु मानिसका लागि सामान्य कुरा भएजस्तो देखिन्छ। यति मात्र होइन, गुडिरहेको गाडीबाट, चलिरहेको सिटी या अटो अथवा घुँइकिरहेको मोटरसाइकलबाट पनि मानिस थुकिरहेका हुन्छन्। उनीहरुको थुकको छिटा उडेर कता जाने हो कसलाई लाग्ने हो भन्ने कुराबाट चिन्तामुक्त उनीहरु थुक फोहोर पदार्थ हो भन्ने कुराबाट झन् बेखबर जस्ता नै देखिन्छन्।

अष्ट्रेलियामा हुँदा मैंले काम गर्ने ठाउँमा एकजना निङ्ग नाम गरेकी क्याम्बोडियन् महिला पनि काम गर्थिन्। उनको चाहिं फोहोर फ्याँक्ने बिनमा थुक्ने बानी रहेछ। त्यत्रो /१० वर्ष बस्ता पनि मैंले कसैले उता सार्वजनिक ठाउँमा थुकेको देखिन। निङ्गको त्यो बानीलाई अष्ट्रेलियन साथीहरु बहुतै घटिया मान्थे भन्ने गर्थे, "दिस निङ्ग इज भेरी डर्टी ! सी स्पिट्स इन्  रबिस बिन ! हाउ डिस्गस्टिंग ! याख् !" उनीहरुको कुरा सुन्दा 'आबुइ ! यिनीहरु नेपाल जाने जथाभावी थुक्दै हिंड्ने हामी नेपालीलाई देख्ने हो भने के भन्थे होला !' भन्ने आउंथ्यो मेरो मनमा।

यही थुकको प्रसङ्गमा  मलाई एउटा अर्को घटना जोड्न मन लाग्यो। यो पनि २२-२५ वर्ष अगाडिकै कुरा हो। एकचोटी हामी केही साथी मिलेर काठमान्डुमा जग्गा किन्ने लहड चल्यो। जग्गा खोज्ने क्रममा एकजना साथीले भनेकी थिइन्, "हामीले जग्गा किन्दा चार/पाँच आनाभन्दा कम्ती कुनै हालतमा किन्नु हुँदैन है। यसो थुक्ने ठाउँसम्म भएन भने के गर्नु ?" बाबा ! यो बाहिर नै थुक्ने कुराचाहिं हाम्रो समाजमा के सारो महत्वपूर्ण भएको !  

बाहिरफेर थुक्ने कामलाई विकसित मुलुकतिर दण्डनीय अपराध ठानिन्छ। उदाहरणका लागि बेलायत अरु थुप्रै यस्ता देशमा सार्वजनिक स्थलमा थुक्नुलाई एक आपराधिक कार्य मानी, त्यस्तो भेटिएमा निश्चित जरिवाना लिने कडा कानुनी व्यबस्था छ। यस्तै खालको कानून सिंगापुरमा पनि छ।  यी देशका जनता यस्तो अपराध नगर्न सचेत छन्। 

साधारणतया हेर्दा हिजोआज हामी पश्चिमा संस्कृतिबाट निकै नै प्रभावित हुँदै गएको देखाउँछ सामाजिक संजालले। हजुरबा - हजुरआमाको पुस्तादेखि नाती - नातिनाको पुस्तासम्मै पश्चिमी तौर तरिकाबाटै वेडिंग एनिभर्सरी मनाउने, बर्थ डे मनाउने, केक काट्ने, मैनबत्ती फुकेर निभाउने सबै कर्म बडो तन्मनयताका साथ गरेको देख्न सकिन्छ। यी कुराहरु सिक्ने क्रममा हामीले 'जताततै थुक्नु हुँदैन है' भन्ने साधारण पाठचाहिँ सिक्न छुटेजस्तो लाग्छ मलाई।

झन् यो कोभिड १९ को आतंकपश्चात् त म स्पिटिङ्ग पिपलदेखि बढी नै भयभीत भएकी छु। तपाईंले विचार गर्नुभएको छ कि छैन कोनी ! तपाईं यसो कोही व्यक्तिसँग १० - १५ मिनेट बाहिर कतै उभिएर कुरा गरिरहनुभएको छ भने उसले यस्सो एकातिर मुख फर्काएर थ्वाक्क थुकीहाल्छ। कसैलाई देखेर 'यो व्यक्ति देख्दा भलाद्मी देखिन्छा। यसको जताततै थुक्ने बानी छैन होला' भन्ने सोचिसक्दा उसले "ख्वाक्क थु" गरिसकेको हुन्छ। 

म सम्झिन्छु - म अष्ट्रेलियामा बस्दा मानिसहरु बाटाका छेउछाउमा मजाले बसिरहेका हुन्थे, चौरमा आनन्दले सुतिरहेका हुन्थे। कसैले तेताउंदी थुकेको हुन सक्छ भन्ने कुरा उनीहरुको कल्पनामा पनि हुँदैनथ्यो। तर हामी यहाँ त्यस्तो निस्फिक्री भएर सार्वजनिक स्थलमा बस्न वा सुत्न कहाँ सक्छौं र ?

आफूलाई अनुशासित बनाएर निश्चित् ठाउँमा (ट्वाइलेट, ढल, वासबेसिन) मात्र थुक्ने बानी बसाउन सुरु सुरुमा अप्ठ्यारो भए पनि असम्भव भने पक्कै होइन। त्यसैले हामीले कम से कम आफ्नु नाम "स्पिटिङ्ग पिपल" को सूचीबाट हटाउने हो कि ?

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 March, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 

 



1 comment:

  1. मलाइ त शिर्षक को मुख्य पात्र नै आफै हो भन्ने लाग्यो अनि अझै धेरै लाई .......तर आफू चाइ बाचा गरिन्छ हजुर, spliting people's को ग्रुपबाट out !!!

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).