Tuesday 30 March 2021

किन फर्कनुभएको?

 

 

- तपाईंहरु बाहिर हुनुहुन्थ्यो अरे नि हो ?

- हो।

- कहाँ ?

- अष्ट्रेलियामा।

- कति वर्ष बस्नुभयो ?

- बसियो, १०/१२ वर्ष।

- आम्मै ! अनि किन फर्कनुभएको यहाँ ?


अष्ट्रेलियाबाट नेपाल फर्केको /सात वर्ष बितिसक्ता पनि "किन फर्किनुभएको ?" भन्ने विस्फारित नजरमिश्रित प्रश्नले भने मलाई अझै छोडेको छैन। कसैले मलाई "किन फर्कनुभएको ?" भनेर सोध्दा त्योभन्दा ठूलो स्वरमा मेरो अन्तर्मन सोध्छ, "नफर्कनु चैं किन?" नफर्कनुको एउटई उत्तर, "उता बसेको भए यहाँभन्दा तुलनात्मक रुपमा भौतिक सुखसुविधा बढी हुन्थे होला," आउँछ भने फर्कनुका पछाडि धेरै कारण देखा पर्छन्। 

सर्वप्रथम यहाँबाट अष्ट्रेलिया पलायन भएर गएकी थिइन। विकसित मुलुकमा यहाँभन्दा सिक्ने अवसर धेरै पाइने लोभले डोहोर्याएर मलाई विद्यावारिधि गर्न उता पुर्याएको थियो। मैंले आफ्नु पढाइ पूरा गरें। आफ्नु उद्देश्य प्राप्त भैसकेपछि त्यहाँ बस्नुको औचित्य मैंले देखिन। फेरि त्यहाँ सिकेका कुराको महत्व उताभन्दा यता नै बढी हुन्छ भन्ने ठान्दथें।  

दोस्रोमा, कलिलै उमेरमा अष्ट्रेलिया छिरेको हाम्रो छोराको मनस्थिति "अष्ट्रेलियन" हुँदै गएको मैंले अनुभव गर्न थालेकी थिएँ। बढी आत्मकेन्द्रित हुँदै गैरहेको थियो। उसले आफ्नो नेपाली परिवेश बिर्सने हो कि, आफ्नो जरो नै के हो थाहा नपाउने हो कि भन्ने चिन्ताले मलाई छोप्न थालेको थियो। उसलाई यसो पारिवारिक गफगाफमा ल्याउन खोज्यो, तटस्थ बस्न रुचाउँथ्यो। उसका बुवाले, "अब हजुरामा बुढी हुनुभयो। उहाँको हेरविचार गर्नुपर्ने। के पो गर्नु हौ बाबु ?" भनेर उसको आशय बुझ्न खोज्दा , "इट्स योर प्रोब्लेम, नट माइन् ," भन्दै आफ्नै खेल्ने अथवा पढ्ने काममा व्यस्त हुन्थ्यो। उसको यस्तो व्यबहार हामी बाबुआमाका लागि सोचनीय बन्दै गैरहेको थियो। हामीलाई लाग्यो, 'उसले हाम्रो संस्कारका बारेमा थाहा पाउनुपर्छ। उसले आफ्नो जरो पहिल्याउनु पर्छ। हामी को हौं, हाम्रो परिवेश के हो भन्ने उसलाई थाहा पाउनुपर्छ। ' यसका लागि उसले आफ्नो देश फर्किएर यी कुराहरु आफैं अवलोकन गर्नु पर्थ्यो।

फेरि आफ्नो देशबाट फ़ुत्किएर विदेश पुग्नेबित्तिकै मानिस खुशी हुन्छन्  भन्ने कुरामा विश्वस्त हुन सकिरहेकी थिइन। आफ्ना वरिपरिका मानिस नियाल्थें, उनीहरुको शरीर अष्ट्रेलियामा मनचाहिं आफ्नै देशतिर घुमिरहेको पाउँथे। हाम्रो छोराको क्याल्भिन भन्ने एकजना साथी थियो। उसकी हजुरआमा मोरिससबाट अष्ट्रेलिया बसाईं सरेकी थिइन्। त्यहाँ बसेको २६ वर्ष भैसक्ता पनि उनी, "मलाई यहाँ वर्षाद् भएको बेला मोरिससको माटोको सुगन्ध आउँछ," भन्दै मनमनै उतै पुग्थिन्। हाम्रो छिमेकमा एकजना ७०-७५ वर्षकी ग्रीक महिला बस्थिन्। उनी पनि प्राय: आफ्नो देश छोडेकोमा पछुताउने गर्थिन्। छोराछोरीको उज्वल भविष्यको कल्पनामा उनीहरु श्रीमान् श्रीमती ग्रीसबाट अष्ट्रेलिया बसाईं आएका रहेछन्। तर छोराछोरी अष्ट्रेलियन माहौलमा भिजेपछि बाउआमाको पर्वाह नगरी -आफ्ना तालमा लागेछन्। श्रीमान् छउन्जेल ती महिलाको जीवन सामान्य नै रहेछ। तर श्रीमान्को मृत्युपछि एक्लिएकी उनी धेरजसो समय आफ्नो ग्रीसेली जीवन सम्झिएरै बिताउँथिन्। त्यसैगरी हाम्री घरपट्टी आमै पनि यसो भेट भयो कि इरानकै कुरा गरेर मुख अँध्यारो पर्थिन्। मेरा केही उतै बसेका साथीहरु आफ्नो देशको कुरा गर्दै पिलपिल गर्थे।    


यी व्यक्तिहरुको व्यबहार देख्दा मलाई तिनीहरु कुनै वाध्यतामा परेर विदेशी भूमिमा बसेता पनि भित्रभित्रै आफ्नै देशको संझनामा कल्पिएजस्तो लाग्थ्यो। मनमनै सोच्ने गर्थें, 'हत्तेरिका ! चित्त नबुझी नबुझी किन दु:खी भएर विदेशमा बस्नु होला ?" त्यहाँ हाम्रोभन्दा भिन्न प्रकारको परिवार संरचना देखेर पनि मा छक्क पर्ने गर्थें। छोराछोरी १८ वर्ष पुगेपछि घर छोडेर हिंडीहाल्ने आफूखुशी गर्ने। श्रीमान् श्रीमती दुवै जीवित छउन्जेल ठिकै हो तर एकजनाको मृत्युपछि अर्को एक्लै परिहाल्ने।  यसो बोलाउने चलाउने आफन्त कोही छैनन् , छोराछोरी कहाँ कहाँ छन् पत्तो छैन। घर जतिसुकै ठूलो भए पनि आफू बसेको घरमा भाडा लगाउने चलन उता प्राय: छैन। अष्ट्रेलियनहरु बरु एक्लै बस्ने तर आफ्नो स्वतन्त्रतासँग सम्झौता नगर्ने।

आखिरमा आफ्नो देश भनेको आफ्नै हो - आफूले सानैदेखि देखेभोगेको ठाउँ। आफ्ना आफन्त यतै। आफ्ना चालचलन यतै। आफ्नो मन यतै। अनि फर्केर किन नआउनु ? अरुका आमा जतिसुकै सम्पन्न राम्रा भएपनि हामी आफ्नी आमालाई छोडेर उनीहरुसँग बस्न जान्छौं ?

Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 March, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




2 comments:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).