Friday 19 March 2021

अभिभावक शिक्षा


विशेषगरी केटाकेटीका सिकाइको शुरुवाती वर्षहरुमा अभिभावकको दायित्व महत्वपूर्ण हुन्छ। त्यसैले घरलाई उनीहरुको पहिलो पाठशाला र आमाबाबुलाई पहिलो शिक्षक भन्ने भनाइ प्रसिद्द छ। घरमा नै केटाकेटीहरु उनीहरुको जीवनमा सिकाइको के महत्व छ भन्ने कुरा बुझ्न थालिसकेका हुन्छन्। यसका लागि आमाबाबुले आफ्ना बच्चाहरुसँग धेरै कुरा गर्न सक्छन् – आमाबाबु र केटाकेटी सँगसँगै आफ्नो  वरिपरिको प्रकृतिका बारेमा छलफल गर्न सक्छन्, रमाइला कथाका पुस्तक पढ्न सक्छन्, भान्सामा सँगसँगै खाना पकाउन सक्छन् अथवा सँगसँगै गन्ती गर्न सक्छन्। आमाबाबु केटाकेटीका अघिल्तिर राम्रा बानीबेहोरा र उपयुक्त सामाजिक व्यबहारका उदाहरण प्रस्तुत् गर्न सक्छन्। यसो गरेर वास्तवमा उनीहरु आफ्ना छोराछोरीलाई दैनिक जीवनका अनुभवबाट गरिने सिकाइमा सहयोग पु¥याइराखेका हुन्छन्। यस्ता खालका क्रियाकलापले केटाकेटी आफ्नो सिकाइप्रति हरक्षण उत्सुक रहन्छन्।

अभिभावकको शैक्षिक स्तरअनुसार नै उनीहरु सिकाइलाई परिभाषित गर्छन् भन्ने कुरा नकार्न सकिंदैन। दुर्भाग्यवश् म जुन समुदायको स्कूलमा काम गर्छु त्यहाँका अधिकांश  अभिभावकको शैक्षिक स्तर न्यून छ; त्यसैले उनीहरुले बालबालिकाको प्रारम्भिक सिकाइलाई पनि अंग्रेजी – नेपाली वर्णमाला, संख्याको नाम र गृहकार्यमा मात्र सीमित गरेका छन्।

पुगनपुग तीन वर्ष भएका नानीहरु स्कूल आउन थालेको तीन हप्ता पनि पुग्न नपाउँदै उनीहरुका आमाबाबुले माथि उल्लेखित सिकाइको माग गर्न थालिसकेका हुन्छन्। यसका प्रशस्त उदाहरण म दैनिक रुपमै पाइरहेकी हुन्छु। मेरो अफिसमा एकजना अभिभावक आउँछिन्। उनकी छोरीको बोलीको विकास पूर्ण रुपले भैसकेको छैन। उनी अधीर हुँदै भन्छिन्, “म्याम्, मेरो छोरीको होमवर्क नै जति हुनु पर्ने हो त्यति हुँदैन। उसले चांडै ए, बी, सी सिकोस् भन्ने चाहन्छु म। “

उनका कुराअनुसार ती अभिभावकका लागि होमवर्क भनेको खालि उनकी छोरीले कापीमा ए, बी, सी लेख्न सक्नु जस्तो देखिन्छ। बिचरी ती सानी नानी भरखर बोल्न सिक्दैछन् ; अनि कसरी हामी उनलाई ए, बी, सी अर्थात् १, २, ३ लेखिहाल भन्न सक्छौं ? फेरी उनले कलम पनि त ठीक तरिकाले समात्न जान्नुपर्यो ! यसैगरी अर्की अभिभावक मेरो भनाइ, “तपाइंकी छोरी अहिले सानै छिन्। उनलाई धेर दवाव नदिइकन आफ्नै गतिमा सिक्न दिनुहोस् “ लाई काट्दै हतार हतार एकै सासमा भन्छिन् “मेरी छोरीलाई ए, बी, सी ; १, २, ३ र सबै नर्सरी राइम आउँछ। उसले अलि अलि लेख्न नि सिकिसकी। “ उनलाई घरको वातावरण र स्कूलको वातावरण फरक हुन्छ ; केटाकेटीलाई नयाँ ठाउँमा भिज्न केही समय लाग्छ ; उनीहरु घरमा जानेको कुरा स्कूल आउनेबित्तिकै अभिव्यक्त गर्न हिच्किचाउँछन् ;  उनीहरुलाई समय दिनुपर्छ, सब ठीक हुन्छ भन्ने कुरा सम्झाउन मलाई निकै बेर लाग्छ। कोही अभिभावकचाहिं “फलानुको नानीले यो यो सिकिसक्यो मेरोले चैं छैन,“ भन्दै रुन्चे स्वर झिक्छन्। उनीहरु केटाकेटीको सिकाइमा वैयक्तिक भिन्नताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने कुराबाट अनविज्ञ छन्।  


यी अभिभावकका विचारविपरित मेरो अवलोकनमा भने स्कूल आउन थालेपछि उनीहरुका छोराछोरीले धेरै कुरा सिकिरहेका हुन्छन्। उनीहरु स्कूल आइपुग्नेबित्तिकै आफ्ना शिक्षक र साथीहरुलाई अविवादन गर्छन्।  खाना खानुअघि र खाइसकेपछि हात धुन्छन्। आफैं टवाइलेट् जान सक्छन्। कक्षाकोठामा छिर्नुअगाडि आफ्ना जुत्ता चप्पल खोलेर उचित ठाउँमा राख्छन्। आफ्नु दैनिक रुटिंग पछ्याउन सक्छन्। यी बाहेक उनीहरु साथी  बनाउने, मिलेर खेल्नेजस्ता धेरै सामाजिक सीप  सिकिरहेका हुन्छन्। यस्ता कुरा सिकाउन हाम्रा शिक्षकलाई निरन्तर कडा परिश्रम गर्नुपर्छ। जब केटाकेटी अलि व्यवस्थित हुन्छन् अनि उनीहरुलाई बिस्तारै अंक र अक्षरसँग परिचित गराइन्छ, पहिले मौखिक, अनि मात्र लिखित। आफ्नु क्षमताअनुसार बालबालिका यी कुरा सिकी नै हाल्छन्। दुःखको कुरा, उनीहरुका आमाबाबु भने ए, बी, सी, डी र १, २, ३, ४  सिक्नुबाहेक अरु कुनै कुरालाई “सिकाइ“ ठान्दैनन्।  

यदि कुनै अभिभावक आफ्ना छोराछोरीको सिकाइ प्रकृयामा सकारात्मक तरिकाले सहभागी हुन्छन् भने ती केटाकेटीको सिकाइ असहभागी अभिभावकका छोराछोरीको तुलनामा बढी सफल रहन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएका छन्। त्यसैले अहिलेको परिप्रेक्षमा हाम्रा अभिभावकलाई सिकाइका विभिन्न आयामका बारेमा शिक्षित गराउनु जरुरी देखिन्छ।  अभिभावकलाई आफ्ना छोराछोरीको तुलना उनीहरुका साथीभाइसँग गर्ने कुरालाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ। यदि आमाबाबु आफ्ना छोराछोरीको सिकाइको विकासलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराप्रति सचेत छैनन् भने केटाकेटीलाई आफ्नु क्षमताको पूर्ण प्रदर्शन गर्न अप्ठ्यारो हुन्छ। विशेष गरी अधिकांश अभिभावकको “कापीमा लेख्नु मात्र औपचारिक शिक्षा हो” भन्ने जुन धारणा छ त्यसलाई परिवर्तन गर्नुपर्छ र केटाकेटीले सिकेका जुनसुकै कुरालाई पनि उत्सवका रुपमा मनाउन उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ।

Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 March, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 




2 comments:

  1. I can relate to the struggle as an educator, didi! In such a short write-up, you have summed up the major roadblock education is facing. Personally, I see it important schools stick to 'what must be done' and not be deviated to please parents temporarily.
    Pramita

    ReplyDelete
    Replies
    1. Thank you so much Pramita. Yes, I completely agree with you.

      Delete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).