Friday 16 April 2021

सल्लीपिर - अँधेरी रातमा चम्किएको एउटा तारा

 

पेमालाई एकछिनसम्मै हेरिरह्यो छिरिङ्गले। उसको हेराइमा छोरीप्रति स्नेह थियो। तर, बाबुको कर्तव्य पूरा गर्न नसकेको दिक्दारी पनि उत्तिकै थियो। उसले खल्तीबाट एउटा चकलेट झिकेर पेमाको हातमा राखिदियो   भन्यो, "पढ्नुपर्छ। अक्षर चिन्नुपर्छ। हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरु पनि खस्छन्। तिनै अक्षरहरु मिलेर किताब बन्छ। पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ। हिउँ पग्लिंदा किताबका अक्षर पनि पग्लन्छन्।"   


नयनराज पाण्डेद्वारा लिखित उपन्यास "सल्लीपिर" बाट उदृत गरिएको अंश हो माथिको। सल्लीपिरको कथानकको केन्द्रबिन्दु यिनै अक्षरहरुको शक्तिको खोजी रहेको छ। यो उपन्यासका पात्र सोलुखुम्बुका सिधा सरल शेर्पाहरु रहेका छन्। मुख्य पात्र पेमासँग जोडिएर यहाँ छिरिङ्ग, ग्याल्मो, दावा, फुर्वा अरु थुप्रै पात्र देखा पर्छन्।

एकातिर पेमाको बाबु छिरिङ्ग जो अक्षरसँग प्रेम गर्छ सधैं किताबमै घोत्लिरहन्छ के के लेखिरहन्छ भने अर्कोतिर पेमाकी आमा ग्याल्मो छे जसका नजरमा पुस्तक - प्रेम भनेको भूतप्रेत लाग्नुको संकेत हुन्छ। त्यसैले घरभित्रका किताबलाई राक्षस देख्छे। किताबभित्रका अक्षरमा काला काला भूतप्रेत देख्छे। अनि उसमा तिनै भूतप्रेतले घरको वातावरण बिगारेर छिरिङ्गको दिमाग अशुद्द बनाएका हुन् भन्ने विश्वास दरिलो हुन्छ। आमाबाबुको विपरित दृष्टिकोणबीच पेमा पिसिएकी  हुन्छे।

आफू सानी छँदा आमाबाबुको सुमधुर सम्बन्धको अनुभूति गर्न नपाएकी पेमालाई पनि यिनै पुस्तकले नै उसलाई उनीहरुबाट बिछोड गराए झैं लाग्छ। यस्तो हुँदैनथियो भने ग्याल्मोले किन छिरिङ्गले जम्मा गरेका सबै किताब डढाइदिन्थी ? आफूले वर्षौं लगाएर जोडेको सम्पत्ती सखाप भएको पीडाले रन्थनिएर रुँदै घर छोडी हिंडेको छिरिङ्गलाई पेमाले आफ्नो मावलमा एकपल्ट मात्र देखेकी थिई। त्यतिबेला नै उसले छोरीलाई पढ्नुपर्छ भन्ने कुरा सम्झाएको थियो।

छिरिङ्गबाट छुटकारा पाए झैं ग्याल्मो पनि उसले घर छोडेपछि आफ्नो जीवन सुधार्नेतिर लाग्छे यही क्रममा सगरमाथा चढ्न आएको अमेरिकी पिटरसँग माया साट्न पुग्छे। पेमालाई आफ्ना बाबुआमाको जिम्मा लगाई पिटरसँग विवाह गरेर अमेरीका भास्सिएकी ग्याल्मो पेमाको जीवनमा कहिल्यै फर्किएर आउँदिन।

पेमाको जीवनको अर्को पाटो दावासँग विवाह गरेर उसको गाउँमा गएपछि शुरु हुन्छ। आफ्नो नियतिलाई स्वीकार गरी सम्पूर्ण रुपमा उसको  घर गृहस्थीमा समर्पित हुन्छे। दावाले पनि उसलाई कुनै गुनासो गर्ने ठाउँ नराखी उधुमै माया गर्छ।


अशिक्षाको चपेटामा परेका शेर्पाहरुको कठिन जीवनशैलीको चित्रण पाण्डेले बडो मार्मिक ढंगले गरेका छन्। उनीहरुको जीवन यापनको मुख्य आधार नै चौंरी पालन हो। उनीहरु चौंरीको लागि घाँसको खर्क खोज्दै महिनौं हावाहुरी, वर्षा, हिउँ केही नभनी यता र उता भौंतारिन्छन्। यो क्रममा कतिपय चौंरी बाटबाटैमा पनि मर्छन्। जीवन कठीन छ तैपनि चलाउनु परेकै छ। चौंरी पालनपछिको अर्को विकल्प भनेको हिमाल चढ्नु हो। यसमा अलि पैसा त हुन्छ तर जीवनप्रति जोखिम पनि उति नै मोल्नुपर्छ।

भौतिक रुपमा छिरिङ्गको उपस्थिति पेमाको जीवनमा नभए पनि ऊ र उसले भनेका कुरा पेमाको मानसपटलमा सधैं सल्बलाइरहन्छन्। सपनामा पनि ऊ आफ्नो बाबुलाई नै देख्छे। सधैं ऊ पेमालाई किताब र अक्षर देखाएर लोभ्याइरहेको हुन्छ। सपनामा किताब देखेर ऊ डराउँछे। किनभने सानामा उसकी आमाले किताब भनेका भूत भन्ने कुरा पेमाको मन र मस्तिष्कभरि भरिदिएकी हुन्छे। पेमाको सपनाको वर्णन यहाँ बडो राम्ररी गरिएको छ - "… सपनामा उसले आफ्नो बाबु छिरिङ्गलाई देखी। छिरिङ्गको हातमा किताब थियो। त्यो किताब देखाएर पेमालाई भन्दैथियो - 'पेमा ! हेर त, कति राम्रा अक्षरहरु छन् यो किताबमा !' ती अक्षर किताबबाट निस्किएर सिमलका भुवाझैं वरिपरि उड्न थाले। बिस्तारै ती अक्षरहरु गाँसिए र चित्र बने। त्यही चित्रले सानो बालकको आकार ग्रहण गर्यो। त्यो बालक मुस्कुराउँदै पेमाको गर्भमा प्रवेश गर्यो।“

यसरी छिरिङ्गकै प्रतिरुप अथवा अक्षरपुञ्ज भएर फुर्वा पेमाको कोखबाट जन्मन्छ। लामागुरुले पनि भनिदिन्छन्, "चरा वर्षमा जन्मिएको छ छोरो। भाग्यमानी हुन्छ। … खुब पढ्छ। ठुलो मान्छे हुन्छ। " यही फुर्वाले पेमालाई अक्षर भनेका तर्साउने भूत होइनन् भन्ने कुराको अनुभूति गराउँछ। ऊ आफ्नो बाबु छिरिङ्ग ज्ञानी मान्छे थिए भन्ने कुरा बुझ्छे। ऊ छिरिङ्गले भनेका कुरा सम्झिन्छे - "किताब पढ्नुपर्छ। किताबका अक्षरहरु चिन्नुपर्छ। किताब त मान्छेको जीवनको प्रतिबिम्ब हो। ज्ञानले नै हाम्रो जीवन सार्थक हुन्छ। नत्र हाम्रो जीवन कि भेडा र चौंरीको गोठालो भएर बित्छ कि हिमालका डरलाग्दा खर्पसमा भास्सिएर समाप्त हुन्छ। " 



छिरिङ्गले जस्तै फुर्वा पनि अक्षरहरुलाई माया गर्छ। उसको अक्षरमोह उनीहरुको गाउँमा एकचोटी आएका माओवादी सेनामा रहेकी हिमालीले जगाइदिएकी हुन्छे। फुर्वाले पहिलोपटक किताब पनि हिमालीकै झोलामा देख्छ। किताबमा राम्रा राम्रा कथा हुन्छन् भन्ने बुझ्छ। ऊ सपनामा अक्षर नै देख्न थाल्छ। फुर्वाको किताबप्रतिको भावनालाई लेखक यसरी व्यक्त गर्छन्, "ऊ आफैं किताब पढ्न चाहन्थ्यो। आफैं किताबमा भएका कथाहरुको अर्थ बुझ्न चाहन्थ्यो। उसले बुझिसकेको थियो, अक्षरहरु बोल्छन्। कुराकानी गर्न सकिन्छ अक्षरहरुसित। अक्षरहरु हाँस्छन्। अक्षरहरुले हँसाउँछन्। अक्षरहरुले भन्न सक्छन् फूलको बास्ना र आँसुको स्वाद। अक्षरहरुले बताउन सक्छन्, हिउँ कति चिसो हुन्छ र आगोले कसरी पोल्छ। अक्षरहरुले भन्न नसक्ने र बुझाउन नसक्ने केही पनि छैन।" "

दावा आफ्नो परिवारलाई, अझ भनौं आफ्नो सन्तानलाई केही पैसा कमाएर खुशी दिन सकिन्छ कि भनी पर्वतारोहीको भरिया भएर हिमाल चढ्ने काम गर्न थाल्छ। यही क्रममा हिउँ पैरोमा पुरिएर उसको मृत्यु हुन्छ। उसको मृत्युको खबर लिएर आएको चिठीलाई पेमा सरकारले उसको पतिलाई सगरमाथा चढेपछि दिएको प्रमाणपत्र होला भनेर खुशी हुन्छे। त्यो चिठीमा के लेखिएको छ गाउँका कोही पढ्न सक्तैनथे। फुर्वा त्यो चिठीमा कुनै कथा लेखिएको छ कि भनेर आफ्नी आमालाई सोध्छ। जवाफमा पेमा भन्छे, "हामी कसैले पनि पढ्न जानेका छैनौं। पक्कै यसमा तिम्रो पालु  (बाबु) को साहसको कथा लेखिएको होला। "

चिठीमा के लेखिएको होला भनेर पत्ता लगाउन फुर्वा घर छोडेर हिंड्छ। उसलाई कामरेड हिमालीले सल्लेरीमा बस्छु भनेको सम्झिएर ऊ तिब्बततिरबाट आएका व्यापारीहरुको हुलमा मिसिएर पहिले सल्लेरी पुग्छ। तर त्यहाँ हिमाली भेटिन्न। बरु ऊ मन्त्रहरुको आवाजबाट डोहोरिएर एउटा गुम्बामा पुग्छ। त्यहाँका खेन्पो (भिक्षु ) ले फुर्वालाई त्यो चिठीमा लेखेको सन्देश पढेर सुनाउँछन्। त्यहाँ दावाको हिउँ पहिरोमा परेर मृत्यु भएको र सरकारले मरेका शेर्पाहरुको परिवारलाई क्षतिपूर्ति दिने कुरा उल्लेख गरिएको हुन्छ।

फुर्वाले पेमालाई यही खबर सुनाउँछ। पेमा धेरै दिनसम्म विक्षिप्त हुन्छे। आफ्नी आमाको खुशी फर्काउन फुर्वा धेरै कोशीश गर्छ तर सक्तैन। एकदिन ऊ पेमालाई डोहोर्याउँदै गाउँको सिरानमा भएको थुम्कोतिर लैजान्छ र त्यसको भित्तामा कुँदिएका ठुल्ठूला अक्षर देखाउँदै भन्छ, "आमा, मैंले नै कुँदेर बनाएको हुँ यी सबै अक्षर। लामागुरुको घुमाउने मानेमा भएको जस्तै अक्षर हो यो। लामागुरुले भनेको, यो त साङ्गगेको मन्त्र हो रे। "

यसरी फुर्वाले पेमाका आँखा खोलिदिन्छ । ऊ सोच्छे, 'मन्त्र बन्ने अक्षरहरुले कहिले पनि मान्छेलाई दु:ख दिंदैनन्। कथा भन्ने अक्षरहरुले कहिले पनि तर्साउँदैनन् मान्छेलाई। ' आफूले पढ्न नजानेर नै दावा मरेको धेरै दिनसम्म यो कुरा थाहा पाउन नसकेको सम्झेर उसलाई पश्चाताप हुन्छ। ऊ फुर्वालाई पढाउने कुरामा दृढ हुन्छे। ऊ आफैंसँग कुरा गर्छे, "मैंले पनि फुर्वाको भावना बुझिन भने ऊ पनि एकदिन कि चौंरीले जस्तै गरी भारी बोक्ने हुन्छ कि हिमाल चढ्न वाध्य हुनेछ। कुनै दिन ऊ पनि दावाझैं भासिनेछ।"


पेमा फुर्वालाई जसरी पनि पढाउने निर्णय गर्छे। ऊ क्षतिपूर्तिको पैसा लिएर त्यो सबै पैसाले फुर्वालाई किताब किनिदिने विचारसँगै काठमाडौतिर लाग्छे। बीचमा उसले धेरै दु:ख पाउँछे। तर ऊ हरेक संकटलाई पन्छाउँदै अगाडि बढ्छे। उसले त बस् फुर्वालाई बोराका बोरा किताब लगिदिनु छ। उता गाउँमा आमा नफर्केको धेरै दिन भएपछि फुर्वा पनि निराश हुन थाल्छ। गाउँमा कसैले उसलाई भनिदिन्छ, "बाबु, अब आमाको बाटो नहेर। मेरी आमाले पनि यसरी नै सानोमा मलाई छाडेर काठमाडौ गएकी थिइन्। त्यसपछि मलाई लिन कहिले पनि आइनन्। सहरको रमझममा हराइन् उनी। उतै घरजम गरिन् उनले। " तर फुर्वालाई आफ्नी आमाले त्यसो गर्लिन् भनेर पटक्कै विश्वास लागेको थिएन। आमाको बाटो हेर्दा हेर्दा थकित भएको फुर्वालाई गाउँका लामागुरुले भनिदिन्छन् , "मैंले जोखाना हेरेर पत्ता लगाइसकें। पेमा फर्केर आउँदिनन्। तेरो किताब पनि आउँदैन। " यस्ता कुरा सुनेपछि फुर्वाको मन त्यसै मरेर आउँछ र 
ऊ भरिया हुने निर्णय गर्छ। लेखक भन्छन् , "गाउँका अरु ठिटासँगै भुइँमा झरेका नरम सल्लिपिरमा टेक्दै फुर्वा पनि जीवनको कठिनतम यात्रामा निस्कियो। ट्रेकिंग हिंडेका विदेशीको भरिया हुनेछ ऊ र बोक्नेछ उसले आफ्नो वजनभन्दा गरुङ्गो भारी। "

तर खुशीको कुरा, फुर्वाले आफ्नो बाबुको नियति भोग्नु परेन। बाटैमा उसको पेमासित भेट भयो। ऊ भारीका भारी किताब चौंरीलाई बोकाएर गाउँतिर आउँदैथिई। अब ती किताबले फुर्वाको र पेमाको जीवनमा उज्यालो छर्नेछन्। अज्ञानतामाथि ज्ञानको विजय हुनेछ र छिरिङ्गको सपना पनि साकार हुनेछ।

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).