Friday 14 May 2021

घरको फ्लेबर

 


हामी जहाँसुकै जाउँ, जस्तासुकै आलिसान ठाउँमा बसौं, जतिसुकै मीठा खानेकुरा खाउँ, ती कुनै कुराले हाम्रो घरको तिर्सना मेट्न सक्दैनन् । यहाँ ‘घर’ भन्नाले आफूले जीवनको महत्वपूर्ण समय बिताएको बासस्थान र यसको सेरोफेरो भन्ने बुझ्नुपर्छ । हाम्रो बोलिचालिको भाषामा यो मूलघर हो । 

नयाँ शताब्दीको नयाँ महामारीले अचम्मको पाठ पढाउँदैछ मानव जगतलाई । महामारीले परपर बस, नजिक नआऊ भन्छ । तर जति पर पर भन्छ, यो मन उति नजिक  हुन खोज्छ । भारतका दिल्ली, मुम्बई र नेपालको काठमाण्डौ जस्ता ठूल्ठूला शहरबाट आफ्नो पुरानो बासस्थान सम्झेर, लर्को लागेर आउने जनसमूहको भीड त्यहि ‘नजिकिने क्रम’ हो जस्तो लाग्छ । शहरमै स्थायी घरबास सिर्जना गरेर बसिरहेकाहरुलाई पनि मनमा शान्ति भएजस्तो देखिन्न । 

पक्कै पनि शहरमा जे उपलब्ध छ, त्यो सुखसुबिधा गाउँघरतिर छैन । शहरमा खोजेको र रोजेको नपाउने केही हुन्न । तैपनि घरकै मुन्टा मीठो, घरकै चामल मीठो, घरकै तरुल मीठो, घरकै पानी मीठो, खुला धारामा चिसो पानीले नुहाउनु नै मजा । 

यसपाली भन्दा हामीले अघिल्लो महामारीको समयमा घर फर्किनेहरुले भोगेका कारुणिक र मार्मिक दृष्यहरु देख्यौं । घर आउने क्रममा सैयौं बाटैमा थला परे र घरको सपना मनैमा राखेर ढले । ती मानिसहरु किन हुत्तिएका थिए होला ? उनीहरु जहाँ थिए, त्यहीं पक्कै सुरक्षित थिएनन् र आफू जहाँ सुरक्षित हुइन्छ भनेर फर्कदै थिए त्यहाँ पनि अर्को प्रकारको असुरक्षाले सताएरै उनीहरु परदेश हिड्नुपरेको थियो होला । यो त भौतिक रुपमा असुरक्षा महसुस गरेर भागदौड गर्ने मानवहरुको एक पक्षिय चरित्र हो । तर भौतिक रुपमा सुरक्षित मानिसहरु पनि मानसिक रुपमा सुरक्षित देखिदैनन् । 


यस्तै दुई तीन हप्ता अगाडि हाम्रो घरकै एक सदस्यले अमेरिकाबाट फोन गरेर घर आउने कुरा गर्नुभयो । यो उत्साहजनक कुरा थियो । आगन्तुकका लागि दुईवटा छनौट उपलब्ध थिए — आधुनिक सुबिधा सम्पन्न घरमा बस्ने कि आधारभूत सुबिधा भएको मूलघर रोज्ने ? वहाँले मूलघर नै रोज्नुभयो । वहाँलाई शायद घरको फ्लेबरले तान्यो । हरेक प्रकारका सुबिधाहरु त उहाँले भोग गर्नुभएकै थियो परदेशमा । वहाँका लागि एउटा कोठा तयार भयो तर त्यहाँ अझै माकुराका जालाहरु भित्तामा लिपिएका थिए । लामो समयदेखि प्रयोगमा नआएको रित्तो कोठाको दुर्बास रुमल्लिरहेकै थियो । काठको घरको भुँइतला  भएकोले मुसा, साङला, कीरा, भित्ती र भ्यागुता दौडिनु स्वभाविक नै थियो । त्यसमाथि अलिअलि प्वाल परेको झुल र डोरीले मुख बाँधिएको सिरानी हतारमा जुगाड गर्न सकियो । "हेर्नू त यो सिरानी र झुल । यो त भएन नि ! पाहुनाले के भन्नुहुन्छ ?" भनेर मैले सोध्दा श्रीमानले सहज भावमा भन्नुभयो, " केही हुन्न । घरको फ्लेबर भनेको यस्तै हो । सबैथोक अपटुडेट त होटलमा मात्र हुन्छ ।"

घरको फ्लेबरसगै उडेर म धनकुटाको माइतीघर पुगें । त्यहाँ बुवाले अध्ययन गर्ने धार्मिक तथा अन्य पुस्तक मुवाँले सधैं मिलाएर राखिदिनुभएको हुन्थ्यो । सधै प्रयोगमा नआउने लुगा, पोका, पोका बनाएर खाटमाथि अथवा खाट बाकसमाथि राखिएको हुन्थ्यो ।  त्यहाँ बिटुलो लुगा लगाएर खाना पकाउन पाइदैनथ्यो ।  बेलुका साँझ बत्ती नबाली खाना खान हुदैनथ्यो ।  बिहान भान्सा कोठा नबढारी भान्साको काम सुरु गर्न मिल्दैनथ्यो ।  बुवाका अगाडी फर्सीका मुन्टा भन्न हुदैनथ्यो, फर्सीका टुप्पा भन्नुपर्थ्यो  । त्यसैगरी, रामभेडा नभनेर गोलभेडा वा टमाटर भन्नुपर्थ्यो  ।  पिस्ट पायस हाम्रो घरमा बन्ने चर्चित खाद्य पदार्थ थियो । यो नाम पनि बुवाले नै जुराउनु भएको थियो । मुवाँले पकाउने आलुको कवाफ अझैसम्म मेरो जिब्रोमा झुन्डिएकै छ । यी र यस्तै खाले अनगिन्ति फ्लेबर घरबाहेक अन्त भेटिदैनन् । मलाई विश्वास छ, तपाईहरुका पनि आफ्ना आफ्ना घरका रोचक ‘फ्लेबर’ पक्कै होलान् । 

  (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




2 comments:

  1. very interesting and true as well.The title is a blended word.the writer justifies this perfectly. had it been longer it would have a nice essay.

    ReplyDelete
  2. Thank you for your constructive feedback.

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).