गतवर्ष झैं यसपाली पनि कोभिड १९महामारीका कारणले सबै क्षेत्रहरु खल्बलिए । शिक्षा क्षेत्र पनि यो महामारीको ठूलो चपेटामा पर्यो । गतवर्ष त बरु विद्यालयहरुले चैत्रमा अन्तिम परीक्षा हतारोमा भए पनि गर्ने मौका पाए । त्यसपछि बन्द भएका बहुसंख्यक विद्यालयहरु २०७७ पौषबाट मात्र भौतिक रुपमा खोलिए । सरकारी निर्देशन र आफ्ना प्रयासबाट बैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गरिए पनि ती साना नानीहरुका लागि त्यति प्रभावकारी हुन सकेनन् ।
यो वर्ष सरकारी निकायले असारबाट नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको थियो । जेठभित्रमा सबै विद्यालय तहका परीक्षाहरु सक्नुपर्ने थियो तर फेरि दोश्रो चरणको कोरोना महामारीका कारणले हठात् सबै परीक्षाहरु रोकिए । यस विषम परिस्थितिमा जसोतसो सिकाइको एक तह पूरा गरेका साना नानीबाबुहरुलाई यो महामारी अन्त्य हुन्जेल पर्खिनु र परीक्षा लिनु सम्भव हुँदैनथ्यो । उनीहरुलाई स्वतः स्तरोन्नति गर्नुपर्ने राय पनि एक पक्षको थियो । यस्तै दोधारका बिचमा दमक नगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्नुपर्ने सूचना जारी गर्यो । यस परिस्थितिमा, विद्याशिल्प एकेडेमी, दमक १ ले आफ्नो परिवेशमा सर्वथा नौलो विधिबाट परीक्षा सञ्चालन गर्यो । यो खुल्ला पुस्तक परीक्षा विधि थियो । वैशाख १५ बाट परीक्षा हुने सूचना र तालिका दिइसकिएको अवस्थामा अभिभावकहरुलाई स्वयं विद्यालयमा उपस्थित भई प्रश्नपत्र लैजाने र विद्यार्थीहरुलाई गराएर फेरी फिर्ता ल्याउने विधि अपनाएर परीक्षा सम्पन्न भयो । यसमा सतप्रतिशत विद्यार्थी सामेल पनि भए ।
मिश्रित प्रतिक्रिया
परीक्षा स्थगित नगरी सुरक्षित तवरले परीक्षा लिने क्रममा विद्यालयमा
मिश्रित प्रतिक्रियाहरु आए । "यस्तो पनि परीक्षा हुन्छ र? यसरी त सबै फर्स्ट भइहाल्छन् नि !” भन्ने आशयका केहि प्रतिक्रिया थिए । यो परीक्षा विधिमा शिक्षकहरुको जति नै अभिभावकको जिम्मेदारी रहन्छ । विद्यार्थीहरुले पुस्तक वा नोट कपीमा भएका उत्तरलाई खोलेर, पहिचान गरेर आफैं लेख्न सक्छन् भने त्यसमा कुनै खराबी हुदैन । नपढेको वा पढ्ने बानी नभएको विद्यार्थीले त सही उत्तर पहिचान नै गर्न सक्दैन, अनि त्यस्तो विद्यार्थी कसरि फर्स्ट हुन सक्छ ?
त्यसैगरी, अभिभावकहरुले विद्यार्थीलाई विभिन्न क्लस्टरमा विभाजन गरी, गाउँमा शिक्षक पठाई परीक्षा लिइदिन पनि सल्लाह दिए । त्यसो गर्दा विद्यार्थीहरु जम्मा हुनुपर्ने र संक्रमणको भय रही नै रहने भएकोले त्यसो गर्नु पनि सहज थिएन । अनुकूल परिस्थिति भएमा अर्को परीक्षा लिने सूचना प्रवाह गरौँ भन्ने सल्लाह पनि केही दिग्गज मित्रहरुले दिए । त्यो राम्रो सल्लाह थियो तर हालको संक्रमणदरको आंकलन गरेर त्यो कुरालाई पनि पन्छाइयो ।
एक थरी अविभावकले भने यस्तो अप्ठ्यारो परिस्थितिमा विद्याशिल्प एकेडेमीले चालेको यो कदम निकै सराहनीय भएको र यसले उनीहरुका छोरा छोरी पनि उत्साही र खुशी भएको धारणा ब्यक्त गरे।
साझा चिन्ता
‘उज्यालोको साझा खेती’ गर्न शुद्ध मनशायले खोलिएको विद्याशिल्पसंग प्रत्यक्ष रुपले जोडिएका करिब ३०० परिवारका साझा चिन्ताहरु धेरै थिए । यस्ता परीक्षा मान्य हुन्छन् कि हुन्नन् भने कुरा पनि उठ्यो । ती सबै विषयका तरंगहरु उठ्नु स्वभाविक थियो । यस्तो अभ्यास हाम्रातिर
थिएन । उनीहरुले परीक्षा भनेका विधार्थीले शिक्षकका अगाडि बसेर गरिने अभ्यासका रुपमा सुनेका र बुझेका छन् । यो सर्वथा नौलो परीक्षा विधिले समुदायमा एउटा तरंग उत्पन्न गरायो ।
सर्वमान्य विधि
खुल्ला पुस्तक परीक्षा विधि एक सर्वमान्य विधि हो । यो संसारभर प्रयोगमा आइसकेको छ । यो विधिमा तल्लो तहदेखि माथिल्लो तहसम्म नै परीक्षा लिइन्छ । यो विधिले घोकन्ते पद्धतिलाई दुरुत्साहित गर्छ र विद्यार्थीहरुलाई रचनात्मक हुनमा सहयोग पुर्याउँछ। अझ यस्ता महामारी तथा प्राकृतिक विपदका समयमा त यो विधि वरदान नै सावित हुन्छ । परीक्षा भनेपछि डराउने बालकहरुलाई यो विधि अति राम्रो मानिन्छ । कोभिड महामारीको चपेटामा सन् २०२० मा दिल्ली युनिभर्सिटि, कर्नाटका युनिभर्सिटि र पोन्डेचरी युनिभर्सिटिले पनि यसै विधिबाट परीक्षा सम्पन्न गराएका थिए । अनलाईनको पहुँच भएकाले प्रश्नपत्र डाउनलोड गरेर घरमै परीक्षा लेखेको र पहुँच नहुनेले प्रश्नपत्र घरमै लगेर पछि उत्तर पुस्तिका बुझाएको कुरा इन्डियन एक्सप्रेसको समाचारले बताउँछ ।
मूल्यांकन विधि
खुल्ला पुस्तक परीक्षा विधिमा मूल्यांकनका विविध स्वरुप रहेका छन् । एउटा स्वरुपमा समय सीमा हुन्छ । अर्कोमा समय सीमा हुँदैन । अझ अर्कोमा प्रश्न घरमै लगेर उत्तरपुस्तिका पछि बुझाउन सकिन्छ र कक्षाकोठामै पनि यो विधिबाट परीक्षा दिन सकिन्छ । यो विधिमा विशेषगरी विद्यार्थीको रचनात्मक क्षमताका आधारमा मूल्यांकन गरिन्छ । साना कक्षाहरुमा भने विद्यार्थीको क्षमता मूल्यांकन निरन्तर भइरहने हुँदा घरमै लेखेर ल्याएका उत्तरपुस्तिकाहरुको मूल्यांकन कक्षामा विद्यार्थीको प्रस्तुतिको आधारमा गर्न सकिन्छ ।
एउटा पाठ
खुल्ला पुस्तक परीक्षा विधिलाई शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले राम्रोसँग अध्ययन गरी, मूल्यांकनका सर्वमान्य आधार बनाई हाम्रोजस्तो मुलुकमा पनि प्रयोगमा ल्याउन सकिन्छ । पश्चिमी मुलुकहरुमा पहिले नै प्रयोगमा आइसकेको र छिमेकी मुलुक भारतले समेत प्रयोग गरिसकेको यो विधिसम्बन्धी अध्ययन गरिएको भए गत सालको एस.इ.इ लगायतका परीक्षाहरु स्थगित गरेर स्वत: स्तरोन्नति गर्नु पर्ने थिएन । यसपालीको महामारीमा समेत कमसेकम दमक न.पा.ले एउटा अध्ययन समिति बनाई विभिन्न स्थानीय निकायका विद्यालयमा परीक्षाहरु सञ्चालन गराउन अनुमति दिन सक्छ । यो बिषयमा तत्काल बहसको खाँचो देखिन्छ ।
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).