Friday 21 May 2021

यात्राका कुरा


 


निर्बाहका लागि गरिने दैनिक तालिकाले कहिलेकाही जीवनमा उच्चाट  लाग्छ ।  ’यात्रा’ शायद यस्तो उच्चाटदेखि मुक्ति पाउने एउटा तरिका हुन सक्छ । हाम्रो संस्कृतिमा पनि परापूर्ब समयदेखि तीर्थाटनको प्रचलन थियो । केहि नभए पनि एक जीवनमा एकपटक महिनौं हिडेर भए पनि तीर्थाटन गर्ने चलन थियो ।  तीर्थ संगसंगै घुमाइ फिराइ र फरक संस्कृति अनि संस्कारसँग मानिसहरु परिचित हुने मौका पाउँथे ।  

अहिले आधुनिक युगमा आएर तीर्थाटन बाहेक पनि घुम्न जाने प्रचलन बढेको छ ।  स्वदेशदेखि विदेशसम्मै नेपालीहरु घुमफिरमा जाने चलनले आन्तरिक पर्यटनले पनि बढावा पाएको छ । मनोरन्जनका लागि स्थानीय स्तरमै बिभिन्न फन पार्क र क्रिडा स्थलहरु बिकसित हुदै गइरहेका छन् । यो हामी सबैको लागि अति नै गौरबको कुरा हो ।  यस्ता पर्यटकीय स्थानहरुको बिज्ञापन गरेर बिदेशी पर्यटकहरु समेत तान्न सक्दा अझ राम्रो हुने थियो ।  

यात्राको चाहना मानब मनको अन्तर्निहित कुरा हो । अहिलेको बेफुर्सदी र एकोहोरो जीवन पद्धतिले केहि समयको अन्तरालमा एक प्रकारको चिन्ता र तनाबको सिर्जना गर्दछ ।  निजी कार्यमा निर्लिप्त भइरहँदा घर परिवारलाई पर्याप्त समय दिन पाइरहेकै हुदैन । तर यस्ता छोटा वा लामा यात्रा योजनाहरुले मानिसलाई एक किसिमको उर्जा र ताजगी प्रदान गर्दछ । नयाँ ठाँउ, नयाँ परिवेश, नयाँ खानाका स्वाद र नयाँ प्रकारको बोलिचालिले रौनकता ल्याउँछ ।

'मेरो यात्राका कथा’ पुस्तकमा भारत यात्राको क्रममा लेखक बिनोद दीक्षित लेख्छन्, “हाम्रा गाडी लगायत अन्य गाडीहरुका  ठूला काफिला मसुरीबाट ओरालो लाग्यो । के यी सबै चारधाम निम्ति ओइरिएका हुन् ? तर, होइन रहेछ ।  केहि समयपछि केम्प्टी फल्स आइपुग्यौं । त्यहाँ पनि लाइनमा बसेका हजार भन्दा बढी गाडी । केम्प्टी फल्स हेर्न आएका रहेछन् भारतीय क्रेजी पर्यटकहरु । फेरि फल्स (छाँगो) पनि कस्तो सानो । नेपालमा त्यस्ता फल्स अनगिन्ति छन् तर हाम्रो सरकार कमजोर, हाम्रो सोच कमजोर ।  पर्यटन उद्योगको विकासतर्फ जति लाग्नु पर्ने हो, हामी त्यता लागेनौं ।" उनको यो अभिव्यक्तिले मलाई आफू अस्ट्रेलिया छँदा पेन्गुइन् परेड हेर्न फिलिप आइल्याण्ड  गएको स्मरण गरायो । मैले पनि त्यतिखेर दीक्षितले ’केम्प्टी फल्स’ मा पर्यटकको भीड देखेर जे सोचे त्यस्तै नै सोचेकी थिएँ ।

हामीलाई विश्वविद्यालयले नियमित भ्रमणको सिलसिलामा त्यसपटक फिलिप आइल्याण्ड लाने भएको थियो । यो ठाउँको चर्चा प्रख्यात पर्यटकीय स्थलको रुपमा मैले निकै सुनेकी थिएँ । अनि त्यहाँको मुख्य आकर्षण भनेको पेन्गुइन् परेड थियो । फिलिप आइल्याण्ड मेलबर्न शहरबाट करिब १४२ कि मि को दूरीमा पर्दछ । 

त्यस बिहान करिब २०–२५ जनाको टोली बसमा चढेर आफ्नो गन्तब्यतिर लाग्यो ।  पेन्गुइन्को परेड हेर्नलाई बेलुकासम्म पर्खिनुपर्ने भएकोले दिनभरी हामीले त्यहाँ वरिपरिका ठाउँतिर घुमेर बितायौं ।  साँझ पर्ने बेलामा हामी परेड हेर्ने ठाउँतिर लाग्यौं । त्यहाँ बिभिन्न देशका पर्यटकको भीड थियो ।  सबै टिकेट काटेर लामबद्ध भई समुद्रतिर लाग्दैथिए । हामी पनि त्यहि  झुण्डमा हेलियौ । समुद्रबाट अलि टाढै मानिसहरु बस्ने प्याराफिट बनाईएको थियो । मान्छेहरु आफूलाई उपयुक्त हुने ठाउँ हेर्दै,  बस्दै गर्न थाले । अँध्यारो नभैकन समुद्रबाट पेन्गुइन् ननिस्कने रहेछन् ।          

 

मानिसहरु धैर्यपूर्बक अँध्यारो हुने प्रतिक्षा गर्न थाले । ठुलो साँझ परेपछि तल समुद्रबाट ढलक ढलक गर्दै पाँच–सात वटा पेन्गुइन् किनारमा निस्किए र आफ्नो बासस्थानतिर लागे । ती भुँइ चराहरुका ससाना झुण्ड अति सुस्त गतिमा हिड्दै थिए ।  त्यति हेरेपछि मानिसहरु कल्यांग्कुलुंग गर्दै फर्कने तरखर गर्न लागे । म भने छक्क परें ।  मैले आफ्नो मस्तिस्कमा बनाएको पेन्गुइन् परेडको चित्र  त्यहाँ देखिएको दृष्यसँग मेल खान पाएन । ’परेड’ भन्ने बित्तिकै मैले सैनिक परेड जस्तै थुप्रै पेन्गुइन् एकैसाथ देखापर्नेछन् र समुद्री किनारमा आएर रमिता देखाउनेछन् भन्ने सोचेको त ! किन त्यस्तो हुन्थ्यो ! मलाई चित्तै बुझेन । आफ्नो आशा पूरा नभएकोमा म निकै खिन्न थिएँ ।  

त्यतिबेला अनायासै मैले हाम्रो देशमा भएका रमणीय ठाउँहरु सम्झिएँ र तिनको पर्यटकीय मूल्य जति हुनुपर्ने हो त्यति नभएकोमा अलि दुःखी भएँ ।  कुरो खालि बजारीकरणको त रहेछ ! नेपालीमा एउटा उखान नै छ नि, “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन" भन्ने । सानै कुरालाई ठुलो पारेर प्रस्तुत गर्दा त्यो कुरामा धेरै मानिसको ध्यान जान्छ ।  मैले पढेकी छु – दैनिक रुपमा ३००० देखि ४००० मानिसहरु पेन्गुइन् परेड हेर्न फिलिप आइल्याण्ड जान्छन् ।

पर्यटन व्यवसाय देशको आर्थिक बिकासका लागि एउटा बलियो टेवा हुने कुरा सर्बबिदितै छ । अहिलेको महामारीले अत्याधिक असर पारेको क्षेत्रमध्ये होटेल तथा पर्यटन व्यवसाय पनि एक हो ।  तुलनात्मक रुपमा पर्यटन व्यवसाय अलिकति अगाडी बढेको र सक्षमतातर्फ लम्केको अवस्थामा कोरोना कहरले अपूरणीय क्षति गरेको छ । तथापि अर्को विकल्प केहि नभएको अवस्थामा हामीले हालको महामारीको अन्त चाडै हुन्छ र सहज दिन आउँछ भन्ने विश्वास राख्नुपर्छ । फेरि छिटै सहज भएर हिडडुल गर्ने दिन आउन् र विश्व समुदायलाई आफ्ना प्रकारका यात्रा गर्नमा कुनै प्रकारको अवरोध नआओस् भन्ने कामना  हामी सबै मिलेर गरौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




1 comment:

  1. very brief but informative article.the pictorial presentation of penguin parade is gripping also rich in experience congrats Byanjana

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).