हाम्रो दिमाग असाध्यै चलायमान छ । निन्द्रावस्थामा समेत यो आफ्नो काम गरि नै रहन्छ । ब्यूँझिएका अवस्थामा त यसको कुरै नगरौं, यो कुन वेगमा दौडन्छ, कुन गतिमा उड्छ र बतासिइरहन्छ भन्ने कुराको कुनै लेखाजोखा नै छैन । यो दिमागका मूलबाट विचारहरु कसरी भुलभुल उम्रिरहन्छन् भन्ने कुरा वास्तवमा आश्चर्य लाग्दो छ । त्यसैले नै बुद्धले हाम्रो दिमागलाई मातेको जंगली बाँदरसँग तुलना गरेका होलान् । बाँदर त्यसमाथि मद मस्त – जतिबेलै बुरुकबुरुक उफ्रिने, कतै स्थिर नहुँने, चिच्याउने र कराउने ।
बाँदरे मनस्थिति
बुद्धले आफ्नै खोज र तथ्यबाट
प्रतिपादन गरेको बाँदरे स्वभावको दिमागलाई अहिलेका आधुनिक चिन्तकहरुले पनि पुष्टि
गरेका छन् । यो पुष्टिको आधारचाहिं हाम्रा विचारहरुको गणना हो । भारतीय मूलका लेखक
दिपक चोपडाको भनाइमा हामी प्रतिघण्टा झन्डै तीन हजार कुरा मनमा खेलाउँछौं । त्यसको
अर्थ हाम्रा मनमा प्रतिमिनेट ५०/६० वटा विचार उत्पन्न हुन्छन् । यसरी सुसुप्त रुपमा बर्बराइरहने
हाम्रो मगज नियन्त्रण गर्ने एउटै उपाय ध्यान हो भनेर बुद्धले सुझाएका थिए । यो
कुरा आज पनि अकाट्य साबित भएको छ ।
राम कुमार उपाध्याय कृत ‘प्लीज डन्ट
डिभोर्स’ भन्ने सल्लाहमूलक पुस्तक पढिरहँदा मलाई बाँदरे स्वभावको दिमागले झण्डै
एकदशक अघिको समयको सम्झना गरायो । मेरी एक मित्र जुलीकी आमा डिभोर्सी थिइन् । उनले
एकदिन कुराकानीका क्रममा बढो घतलाग्दो कुरा गर्दै भनिन्, “बीस बीस वर्षसम्म
सँगै रासोबासो गरेको मान्छेलाई एकदिन बिहान उठ्दा त चिन्दै चिनिँन । खासमा मैले
त्यो मेरो लोग्ने ठानेको मान्छेलाई कहिल्यै चिनेकै रहिनछु । बीस बीस वर्षसम्म सँगै
बस्दा पनि चिनिनछु । त्यसले त खाली वीर्यदान मात्र पो गरेछ ।” वास्तवमा, उनको लोग्नेसँग
मिलेर उनले चार सन्तानलाई जन्म दिएपछि त्यो बूढो अर्की आइमाईसँग लागेछ र उनीहरुको
सम्बन्ध विच्छेद भएको रहेछ । ती बूढी मान्छेले उनको लोग्नेलाई बीस वर्षसम्म
नचिन्नु वास्तवमा गहिरो कुरा थियो ।
पश्चिमी दुनियाँमा हाम्रोतिर भन्दा
सम्बन्ध विच्छेदको दर उच्च छ । मैले अष्ट्रेलियामा रहँदा मेरै सहकर्मीहरु पनि
प्रशस्त मात्रामा पारपाचुके गरेर बसेका भेटेकी छु । हाम्रा लागि त्यस्ता कुरा अलि
अनौठै हुन् । एकदिन हजुरबा भैसकेको पिटरले पारपाचुकेका विषयमा कुरा उठ्दा भनेको
थियो, “घिस्रिएर, मन नमिली नमिली
जिन्दगी बिताउनु भन्दा आ–आफ्नो बाटो लाग्नु राम्रो हो । त्यसो गरे छोराछोरीले पनि
घरेलु गुम्सागुम्सीको मार खपिरहनु पर्दैन ।” म पिटरका कुरामा पूर्ण सहमत थिएँ र
अहिलेसम्म पनि छु । एकबारको जुनीलाई मन नमिल्दा नमिल्दै पनि घिस्रिएर अगाडि
बढाउनुको कुनै औचित्य हुँदैन । आफन्त, समाज र लोकको इज्जत जोगाउनका लागि आफू हारिरहनु र निरन्तर
गिरिरहनुको अर्थ पटक्कै छैन ।
राम कुमारका
सुविचार
हाम्रातिर पनि पारचुकेका घटनामा बृद्धि भएको छ । यसका पछाडि विभिन्न कारणहरु होलान् तर मेरो विचारमा महिला स्वतन्त्रताको चेतले नै सबैभन्दा ठूलो भूमिका खेलेको हुनुपर्छ । महिलाहरु आफ्ना रुचीका बारेमा खुलेर बोल्न सक्ने भएकैले उनीहरु पारपाचुके गर्न आँट गर्छन् । त्यसैले, मेरो बुझाइमा सम्बन्ध विच्छेद स्वतन्त्रता र शाहसको प्रतीक हो ।
एक समय थियो, विवाह बन्धनमा
प्रवेश गर्नु भनेको मादल भिर्नु सरह हुन्थ्यो । मादल भिराभिर गरेपछि जुन तालमा
जसरी सकिन्छ बजाइरहनु भन्ने भनाइ थियो । सप्तरीमा बस्नुहुने हाम्री माहिली
जेठानीकी स्वर्गबासी माताले भन्नुहुन्थ्यो, “नभिर्नु मादल भिरेपछि, जसरी सकिन्छ त्यसरी नै बजाउनुपर्छ ।”
अर्थात् विवाह बन्धनमा बाँधिएपछि मरणोपरान्त छुट्ने टुट्ने काम नगर्नू । हाम्रो
संस्कृति र धार्मिक विश्वासका बीचबाट खोलो जस्तो बनेर बगेको छ यो मादल भिर्ने भनाइ
।
राम कुमार उपाध्यायले पनि आफ्नो लामो
खोज र अध्ययनबाट पारपाचुके सम्बन्धमा ३७८ पृष्ठको ‘प्लीज डन्ट डिभोर्स’ पुस्तक
तयार गरेका छन् । उनको अध्ययन र चिन्तनको आधार पनि पूर्वीय संस्कृति र दर्शन नै हो
। उनले कुनै पनि हालतमा पारपाचुके गर्नु उचित नहुने कुरालाई विभिन्न उदाहरण दिएर
पुष्टी गरेका छन् । पुस्तकमा पारपाचुके हुनुका कारण, निदान र पारपाचुके किन गर्नु उचित छैन
भन्ने विषयमा लेखकले बढो सूक्ष्म र मिहिन तरिकाले ‘प्लीज डन्ट डिभोर्स’ मार्फत जनचेतनामूलक सन्देश दिन खोजेका छन् ।
निरन्तर चलायमान दिमागका नियन्त्रणमा
रहने हाम्रा विचारहरु परिवर्तन भैरहन्छन् । हाम्रा सोचाइ, रोजाइ र रुचीहरु
बदलिइरहन्छन् । यही बदलिएका विचारहरुको परिणाम नै पारपाचुके हुनसक्छ । हिजोसम्म
भएका श्रद्धा, विश्वास, चाहना र प्रतिबद्धता डगमगाएपछि
सम्बन्धरुपी घर, चर्मराउँछ र ढल्छ पनि ।
उपाध्यायले आफ्नो पुस्तकमा पारपाचुके
दुर्घटनाबाट बच्नका लागि पनि आपसी सदभाव र विश्वास जीवनपर्यन्त कायम राख्नुपर्ने
कुरामा जोड दिएका छन् । लेखकले भनेझैं एउटा उद्देश्य लिएर शुरु गरेको यात्रा
बीचैमा तितरबितर हुनु सुखद कुरा होइन । तर कतिपय अवस्थामा पारपाचुके अपरिहार्य पनि
हुनसक्छ । एक प्रकारको लयमा चलिरहेको जीवनपद्धति विश्रृंखलित हुनासाथ समस्याहरु
उत्पन्न हुन्छन् । यी समस्याहरुसँग पारपाचुके पछाडि नर र नारीले बेग्लाबेग्लै
किसिमले जुध्नुपर्ने हुन्छ । यी लडाइँ पुरुषलाई भन्दा महिलालाई बढी पीडादायक
हुनसक्छन् ।
यस सम्बन्धमा, नारीहरुको मनोबल उच्च राख्नका लागि एक
मनोविदले प्रस्तुत गरेको उदाहरण घत लाग्दो छ । डिभोर्सी महिलाहरुको भेलामा उनले
एउटा उच्च मूल्यको कागजी नोट देखाएर, त्यो नोटलाई महिलाहरुले आफू त्यो मूल्यवान नोट
भएको कल्पना गर्न भन्छिन् । त्यसपछि, उनी त्यो नोटलाई कुच्याउँछिन्, बटार्छिन् र भुईँमा
फालेर खुट्टाले पनि कुल्चिन्छिन् । अनि त्यो नोट उठाएर, टक्टक्याएर सबैलाई
सोध्छिन्– त्यस नोटको महत्वमा कुनै परिवर्तन आयो कि आएन ?
त्यसैगरी, पारपाचुकेमा संलग्न
दुवै पक्षले त्यो नोट जस्तै अपमान, हिंसा, पीडा खपेर त्यसबाट बाहिर निस्कन
खोज्दा उनीहरुको महत्वमा पनि ह्रास आउन दिनु हुँदैन । सामान्य र साधारण अवस्थामा
कसैले पारपाचुकेको कदम उठाउँदैन । तर विविध अवस्था र परिस्थितिबाट गुज्रिएर
पारपाचुके गर्नुपर्ने अवस्थामा आइपुग्ने स्थितिलाई त्यही कुच्चिएको नोटसँग तुलना
गर्न सकिन्छ । कुच्चिएको नोटले आफ्नो मूल्य र महत्व नगुमाएजस्तै सम्बन्ध विच्छेद
पछिका समयमा पनि सम्बन्धित व्यक्तिहरुले आफ्नो स्वाभिमान ढल्न दिनुहुँदैन ।
आत्म मूल्यांङ्कन
कुराको उठानमा भनेजस्तै चन्चल र अस्थिर मनस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सके मात्र पनि धेरै हदसम्म पारपाचुकेका घटना हुनबाट जोगिन सकिन्छ । ‘प्लीज डन्ट डिभोर्स’ को सारतत्व पनि एक पक्षले अर्को पक्षलाई दोष दिनुअगाडि निरन्तर आत्म मूल्याङ्गन गरिरहनु र आफूमा भएका कमी कमजोरीलाई सुधार गरी सम्बन्ध टुटाउनुभन्दा जोड्नु नै कल्याणकारी हुन्छ भन्ने हो । यसका लागि पति पत्नी नै समझदार हुनु जरुरी हुन्छ । यो क्षणभंगुर जीवनमा वैवाहिक सम्बन्ध टिकीरहनु त अत्यन्त राम्रो कुरा हो । तर हामीले सोचेजस्तै गरी सधैँ जीवन सलल सिधा बाटोमा नबग्न सक्छ; त्यहाँ अनेक उतार चढाव आउन सक्छन् । यसै भएर एउटै बाटोमा हिँडीरहेका दुई यात्री फरकफरक बाटो पक्रिन बाध्य हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो बाटो छान्ने छुट र अधिकार भनें पक्कै प्राप्त हुनुपर्छ । यसलाई हामीले सहज रुपमा लिन सक्नुपर्छ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 1 October, 2021)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
भाइ राम नेपाल दमकका प्रतिभा हुनुहुन्छ । उहाको समाज जोगाउने प्रयत्न पढेर मलाइ खुसी लगेको छ। यो लेख त्य्सैको सुन्दर जान्कारी।
ReplyDelete