Friday 29 October 2021

म काबुलीवाला

 

, तिमी मलाई सम्झिन्छौ ?’

अँ, अलि गाह्रो भयो...।’ 

तिम्रो नाम याद छ मलाई, तर अनुहार बिर्सें, सरी है साथी ।’

सम्झन्छु ।’

अहिले त्यति सम्झनामा आएन । तर केहि छैन, बोलचाल हुँदै गएपछि सम्झिहालिन्छ नि !’

यस्तै दुई चार महिनाअगाडि सामाजिक संजाल फेसबुकमार्फत आजभन्दा करिब ३५/४० वर्ष अगाडिका स्कूले साथीहरुसँग जोडिएपछि गरिएको संवादको एक अंश हो माथिको । ती साथीमध्ये कतिपयका नाम मेरो स्मृतिमा ताजै थिए, कतिपयका मधुरा, अनि कतिपयका चाहिँ विस्मृतिमा गैसकेका थिए । यसरी वर्षौं अगाडि छुटेका साथीहरुको सम्पर्कमा आउँदा मलाई एकातिर उधुम खुशी लागेको थियो भने अर्कातिर म उनीहरुको बारेमा जान्न उत्सुक पनि थिएँ ।

मैंले मसँग पुनः मित्रताको हात बढाएका साथीहरुको फेसबुक पेज खोलेर हेर्न थालें । सर्वप्रथम त, मेरो मनमस्तिष्कमा उनीहरुको जुन छवि बसेको थियो, त्यो छविसँग उनीहरुका  वर्तमान तस्वीरको मेल हुन सकेन । ती तस्वीरका व्यक्ति मेरा साथी नै थिएनन् । मलाई आश्चर्यमा पार्ने अर्को कुरा, उनीहरुमध्ये धेरैजसो धार्मिक कार्यक्रममा सहभागी भएका देखिए । तस्वीरमा कोही पुराण सुनिरहेका देखिन्थे, कोही भजन गाइरहेका, अनि कोही भने तीर्थस्थलतिर गइरहेका । अझ कतिपयले भने मेरो नाती, मेरी नातिनी भनेर केटाकेटीका हँसिला फोटोसमेत राखेका थिए । 

म विस्फारित नजरले उनीहरुको तस्वीर हेर्दै उनीहरुसँग तालमेल मिलाउन खोजिरहेकी थिएँ । तर अहँ, सकिरहेकी थिइन । कहाँ १३/१४ वर्षका ती निस्फिक्री केटाकेटी ! अनि कहाँ अहिलेका अनेक उत्तरदायित्वले थिचिएका प्रौढ अनुहारहरु ! मलाई त्यतिबेला भारतीय मूलका प्रसिध्द साहित्यकार रविन्द्रनाथ टेगोरको ‘काबुलीवाला’ कथाको सम्झना भयो ।


    यो कथाका मुख्य पात्र काबुलबाट काम गरी खान कलकत्ता आएको मान्छे काबुलीवाला र लेखककी पाँच वर्षिया सानी छोरी मिनी छन् । शुरुमा त मिनी ठूलो धोक्रो बोकेर हिंड्ने काबुलीवालाको छेउमा जान समेत डराउँछे । तर काबुलीवालाले उसलाई काजु – किसमिस दिएर फकाउँछ । दुई चार दिनमै उनीहरु घनिष्ठ मित्र हुन्छन् र घन्टौंसम्म अनेक किसिमका गफ गर्दै, हाँस्दै समय बिताउँछन् । यस्तै रमाइला दिनकै बीचमा कुनै परिबन्धमा परेर काबुलीवाला जेल जान्छ । बिस्तारै बिस्तारै मिनीले उसलाई बिर्सन्छे । उसको जीवनमा अरु नै साथी आउँछन् र त्यो पुरानो साथी काबुलीवालाको सम्झनालाई विस्थापन गर्छन् । धेरै वर्ष बित्छ । एकदिन अचानक त्यो काबुलीवाला जेलबाट छुटेर आफ्नी सानी साथी मिनीलाई खोज्दै मिनीको घरमा आइपुग्छ । त्यो दिन मिनीको विवाहको दिन हुन्छ । पहिलेकैजस्तो उसले मिनीलाई दिन काजु–किसमिस ल्याएको हुन्छ । तर जब  मिनीलाई बेहुलीको रुपमा देख्छ, ऊ निकै झस्किन्छ । मिनी पनि त्यो काबुलीवालालाई चिन्दिन । उनीहरु आफ्नो त्यो पुरानो मित्रतालाई पुनर्जीवित गर्न सक्तैनन् । 

मेरा पुराना साथीलाई देखेर मेरो अवस्था पनि त्यहि काबुलीवालाको जस्तै भयो । उनीहरु साथी त हुन् तर उनीहरुसँगको आत्मियतालाई कसरी पुनर्जीवित गर्ने ? के विषयमा कुरा गर्ने ? यो हराएको ४० वर्षभित्र सबैको जीवनमा के के भयो; त्यो समयको खाडललाई कसरी पुर्ने ? के अहिले पनि हाम्रा रुचि मिल्लान् र ? हामी पहिले जस्तै सहज भएर कुराकानी गर्न सकौंला ? यस्तै यस्तै प्रश्न मेरा मस्तिष्कमा उठ्न थाले ती हराएका स्कूले साथीलाई भेटेपछि ।


परिवर्तन अपरिहार्य

जब एउटा मान्छेको भेट अर्को मान्छेसँग समयको धेरै अन्तरालपछि हुन्छ, मैले उनीहरुलाई प्रायः पुरानो समयमा फर्किएर त्यहि समयमा घटित घटनाहरुको बारेमा कुरा गर्ने गरेको पाएकी छु । शायद यसो गर्नाले वार्तालाप अगाडि बढिरहन सक्छ ! नत्र त के कुरा गर्ने ? वर्तमान समयमा हाइ हेलो गरेपछि सक्किगो ! एक अर्काको बारेमा धेरै जानकारी नभएका कारण यो समयमा कुरा गर्ने विषय नै धेरै हुँदैनन् । अनि अन्दाजमा भविष्यका कुरा गर्नुको पनि कुनै तुक देखिंदैन । शायद भूतकालका कुरा गर्न सजिलो भएरै होला हिजोआज साहित्यमा संस्मरण विधा धेरै नै प्रचलित छ । यो खाली प्रसंगवश गरिएको मेरो एउटा अनुमान मात्र हो । 

    अंग्रेजीमा एउटा भनाइ छ – नोथिङ्ग इज कन्स्टयान्ट बट चेन्ज भन्ने । अर्थात यो संसारमा हरेक कुरा परिवर्तनशील छन् तर परिवर्तन आफैं चाहिं अपरिवर्तनीय छ कुनै पनि कुरा जस्ताको तस्तै भैरहँदैन । यो  परिवर्तनलाई   हामीले स्वीकार गरेनौं भने आफैं दुःख पाउँछौ । मैले बारम्बार मानिसहरुले भनेको सुन्ने गरेकी छु – ‘त्यो त पहिले यस्तो खालको थिएन, अहिले कस्तो भएछ !’

यहि प्रसंगमा म एउटा हालसालै घटेको घटना जोड्न चाहन्छु । दुई -चार दिन अगाडि हाम्रो घरमा एकजना पाहुना आउनुभएको थियो । उहाँको मनमा यो ठाउँमा बसेर सिमल तरुल खाएको एउटा चित्र रहेछ । त्यसैले उहाँले आउनुअगाडि नै फोन गरेर ‘म पहिले सिमल तरुल खान्छु है !’ भन्नुभएको थियो । बल्ल बल्ल आउने पाहुनाको इच्छा त पूरा गर्नै पर्यो । त्यसैले उहाँ आइपुग्नुअगाडि नै हामीले बजारबाट सिमल तरुल ल्याएर उसिनीवरी ठिक्क पार्यौं । उहाँ आएपछि उत्साही हुँदै, ‘अब खाने होइन त सिमल तरुल ?’ भनेर सोध्दा उहाँ अलि अकमकाउनुभयो । खाना खाइसकेपछि सिमल तरुल खाने भनेर किन नखानुभएको त भनेर सोध्दा पो हाम्रा पाहुनाले आफ्नो मनको कुरा खोल्नुभयो । ‘मैले त कहाँ यसरी बजारबाट ल्याएर खाने भनेको हो त ! घरकै तरुल खन्ने ! बाहिर चुलो बनाएर दाउरा बाल्ने अनि ठूलो भाँडामा तरुल उसिनेर सबै वरिपरि बसेर खाने,’ भन्दै उहाँ क्षितिजतिर हेरेर टोलाउन थाल्नुभयो । शायद उहाँ ३५/४० वर्षअगाडि आफुले देखेको र भोगेको ठाउँको चित्र अहिलेको परिस्थितिसँग मेल नखाएकाले बेखुशी हुनुहुन्थ्यो ।

हो त, यो संसारका अरु कुराजस्तै हामी सबै हरेक दिन परिवर्तन भइरहेकै हुन्छौं । हिजो हामी जे थियौं, आज त्यो हुँदैनौं र आज जे छौं, त्यो भोलि पनि हुँदैनौं । यो कुरा हाम्रो शारीरिक, मानसिक र वैचारिक सबै क्षेत्रमा लागू हुन्छ ।

प्यारो विगत र तीतो यथार्थ

यो सत्य थाहा हुँदाहुँदै पनि विगतका सम्झनाहरुले हामीलाई झकझक्याइरहन्छन् । पुराना मित्र, पुराना चित्र, वस्तु, स्थानजस्ता सबै कुराले पुराना दिनका सुखद र दुःखद दुबै समयको स्मरण गराउँछन् । बीसौं शताब्दीकी प्रसिध्द उपन्यासकार भर्जिनिया उल्फ भन्छिन् – कसैले पनि त्यो (पुरानो) समयको मिठास तत्कालै भन्दा पनि पछि पछि गएर मात्र मजाले रसास्वादन गर्न सक्तछ । त्यो शायद गाईवस्तु चरेर फूर्सदमा उग्राएजस्तै होला, पछि पछि गएर पुराना कुरा सम्झिएर तिनमा हराउने कुरा पनि ।  

    हाम्रो मनमस्तिष्कमा पुराना मित्र र समयको जुन मिठास हुन्छ त्यो मिठास लामो समयपछि उही मित्र भेटिए पनि सोहि किसिमको नभएको मैले पाएकी छु । केहि समयसम्म त पुराना कुरा हुन्छन् । तर ती स्मृतिभित्रका कुरा रित्तिइसकेपछि के कुरा गर्ने त ?

बुध्दले अर्ती दिने क्रममा आफ्ना चेलाहरुलाई अतीतमा नबाँच्नू, भविष्यको सपना पनि नदेख्नू र वर्तमानमा ध्यान दिनू भनेका रहेछन् । अतीत र भविष्यलाई च्यापेर हिंडदा हिंडदै वर्तमान ध्वस्त हुने कुरा पनि ठिकै होला ।

पुराना साथीहरुसँग दशकौंपछि सम्पर्क हुँदा पैदा हुने संवादहीनताको स्थिति हाँस्यास्पद हुने रहेछ । पुराना मृत दिनहरुको स्मरण गरिसकेपछि फेरि वर्तमानमा नफर्की कुनै उपाय छैन । आफ्नो वर्तमान आफ्ना लागि प्रिय वा अप्रिय जे हुन्छ, आफैंसँग मात्र हुन्छ । त्यो कसैसँग बाँड्न सकिंदैन । हामी हाम्रा वर्तमानहरु बाँड्ने कोशिश त गर्छौं तर यी व्यक्तिबाट अविभाज्य कुरा हुन् । यस प्रकारले हेर्दा टेगोरको काबुलीवालाको स्थितीबाट हामी गुज्रिरहेकै हुन्छौं । मिठो अतीत हामी सबैले संगालेर राखेका हुन्छौं तर ती पुराना दिनहरुलाई दुरुस्तै पुनर्जीवित गर्न भनें सक्तैनौं ।  

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 October, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



2 comments:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).