Friday 22 October 2021

सहि हो हजूर, सहि हो

 


हामीमध्ये कतिपयलाई आफ्नो भन्दा अर्काको पीर धेरै लाग्छ । एक व्यक्ति आफ्ना समस्यासँग अनन्त लडाई लडिरहेको हुन्छ तैपनि अरुतर्फ फर्केर सल्लाह दिन चुक्दैन । आफूले कहिल्यै साइकल चढेको हुँदैन र पनि अरुलाई साइकल यसरी चढ्नुपर्छ भनेर सुझाव दिन्छ । त्यस्तो मान्छे सानो हुन मान्दैन, सानो हुन जान्दै जान्दैन । यी स्वभावका व्यक्तिहरु मलाई भनें प्रिय लाग्छन् । तपाई सोधिमात्र हेर्नोस्, उनीहरु राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, शिक्षा र स्वास्थ्य लगायत सम्पूर्ण विषयमा ज्ञान राख्छन् । अझ रोचक पक्ष त के पनि हुन्छ भने यस किसिमका मान्छेहरु तपाईका भनाइलाई उनीहरुका आफ्नै सोचको उपज जस्तै बनाएर तपाईलाई नै उल्टै सुनाइदिन्छन् ।

आफूमात्र मान्छे

नेपालीमा एउटा उखान छ – आफू मात्र मान्छे अरु वनमान्छे भन्ने । आफूलाई मात्र मान्छे जस्तो देख्ने मनोरोगले ग्रसित मानिसहरु भेट्न त्यति गाह्रो छैन । यो सिङ्गो मानवजातिलाई आक्रान्त पार्ने रोगले सारा संसार नै पीडित छ । यसको ओखती त आदिकाल देखिनै हाम्रा धार्मिक ग्रन्थहरुले सुझाउँदै आएका छन् तर हामी ग्रहण गर्न तयार रहेका हुँदैनौ । औषधि नै ग्रहण नगरेपछि रोगले त च्याप्दै जाने नै भयो । यस किसिमका समस्याको सहज समाधान भनेकै आइपरेका कुराहरु आफ्ना भागमा परेकै हुन् भनेर सहज रुपमा ग्रहण गर्नु नै रहेछ । यस सम्बन्धमा एउटा छोटो किस्सा थपौं है त ।

एक समयमा एउटा बूढो किसान थियो । उसले एउटा घोडा पालेको थियो । एकदिन उसको घोडा हरायो । घोडा हराएको कुरा सुनेपछि एकजना छिमेकी दौडेर आयो र भन्यो, “कस्तो दुर्दशा ! घोडा हराएछ है ?”

बूढो किसानले उत्तर दियो, “सहि हो ।”

भोलिपल्ट हराएको घोडा अरु तीन वटा जंगली घोडा पछि लगाएर आइपुग्यो । त्यो देखेर पहिलेको छिमेकी फेरि दौडेर आएर भन्यो, “ओहो, कस्तो सौभाग्य । तपाईंको घोडा त कति चलाख रहेछ है ?”

बूढोले भन्यो, “सहि हो । सहि हो ।”

त्यसका भोलिपल्ट बूढाको छोरोले ती जंगली घोडा सधाउने हुँदा लडेर हात भाँच्यो ।


छिमेकीहरु आए र भने, “कस्तो दशा !”

बूढाले उही उत्तर दियो, “सहि हो ।”

भोलिपल्ट राजाका सिपाहीहरु आए र गाउँका सबै युवालाई सेनामा भर्ती गरेर लडाइँमा लैजाने भए । गाउँका सबै जवान ठिटाहरु लडाइँमा जानैपर्ने भयो । तर त्यो बूढो किसानको छोरो भनें हात भाँचिएका कारणले गर्दा जानु परेन । त्यो देख्दा फेरि छिमेकीहरुले भने, “ओहो, कति राम्रो !”

बूढाले भन्यो, “सहि हो । सहि हो ।”

झुठको सहारा

मानिसलाई के ले यति एकोहोरो बनाउँछ र आफूलाई ठाउँ, कुठाउँ सर्वश्रेष्ठ प्रमाणित गर्न उक्साउँछ भन्ने प्रश्नको उत्तर रोचक रहेछ । आफूभित्र रहेको डरले गर्दा व्यक्ति झुठहरुकै भए पनि आड लिएर आफूलाई सर्वश्रेष्ठ प्रमाणित गर्न खोज्ने रहेछ । अरुले आफूलाई कुनै कुरामा खोट देखाएर तल पार्छन् कि भन्ने पीरले मान्छे आफ्ना गुणहरु, शक्तिहरु, विशेषताहरुलाई विशेष जोड दिएर आफूलाई अब्बल साबित गर्न खोजिरहँदो रहेछ । आफूलाई अब्बल प्रमाणित गर्ने क्रममा यदाकदा झुठकै सहारा पनि लिनुपर्ने हुनसक्ला । यो कुरा पठीत र प्रतिष्ठित भनिएकाहरुमा पनि त्यतिकै लागू हुन्छ । यस किसिमका मनोरोगीहरु अर्कोले केहि भन्ला कि भन्ने डरले सकेसम्मकै अग्लो सुरक्षा पर्खाल खडा गर्ने रहेछन् । त्यसैले मनोविज्ञानका अनुसार यो आफूलाई अब्बल प्रमाणित गर्न गरिने शाब्दिक प्रयास त एक प्रकारको मनोरोग नै रहेछ । यसरी आफैंले उत्पादन गरेको रोगलाई हरेक पटकको आत्मबचावले अझ मलजल पुर्याउने रहेछ ।

थोरै शब्द ठूलो अर्थ

प्रायः सम्पूर्ण धर्मग्रन्थहरुले निःशब्द रहनुमा जोड दिन्छन् । बोलिरहे आफ्नै आवाज सुनिन्न । आफ्नो धड्कन सुन्न समेत शान्त रहनु जरुरी छ । सुनेका र जानेका ज्ञानी सन्त महन्तको कुरा गर्ने हो भने तिनीहरुले आफ्ना जीवनको केही अंश निःशब्द रहेरै बिताए । महावीर बाह्र वर्षसम्म चुपचाप बसे । बुद्ध स्वयं लामो समयसम्म चुपचाप रहे । जीजस पनि सार्वजनिक रुपमा ज्ञान बाड्न हिँड्नु पहिले निःशब्द थिए भनिन्छ । मुहम्मद ध्यानावस्थामा रहेका बेला नै कुरानको ज्ञान उनमा आयो भनिन्छ । रमण महर्षी जीवनभर निःशब्द रहे । यी सबै सन्तहरुका निःशब्द अवस्थाहरु भित्री रुपमा शान्त भएपछिका अवस्था हुन् । भित्री रुपमा ज्वालामुखी निभिसकेका अवस्थामा निस्केका वाक्यहरु मात्र अर्थपूर्ण र सुन्न लायक हुन्छन् भन्छन् रजनीश ओशो ।


वास्तवमै हामी कसैका कुरा बिरलै मात्र सुन्छौँ । हामी सुनिरहे जस्तो मात्र गर्छौं र आफ्नो बोल्ने पालो पर्खिरहेका हुन्छौँ । चुप लागेरै बसिरहे पनि मनमनै बोलिरहेकै हुन्छौँ । आफैं  प्रश्न गर्छौँ र आफैं उत्तर दिन्छौँ । यसरी आफैं भित्रभित्रै बोल्ने कुरालाई हामी चिन्तन भनिदिन्छौँ तर यिनै मनमनै गरिने प्रश्नोत्तरलाई बाहिर अरुले सुन्नेगरी एक्लै बोलियो भनें त हामीले पागल विशेषण ग्रहण गर्न तयार हुनैपर्छ । यसरी हेर्दा के देखिन्छ भनें हाम्रा शब्दमा मात्र होइन सोचमा समेत नियन्त्रणको आवश्यकता छ ।

रोकिन्छ त दिमागी चिरबिर ?

हाम्रो मुटु हामीले नजान्दाको समयदेखि अर्थात् आमाको गर्भदेखि नै नधड्किए हामी आपत्ती मान्छौँ । त्यसैगरी हामी श्वास फेर्छौँ । स्वचालित रुपमा श्वास प्रश्वास चलिरहेकै हुन्छ । हाम्रा धमनीहरुमा निरन्तर रगत बहिरहेको हुन्छ । यसरी मुटु धड्किरहोस् , रगत धमनीमा बहिरहोस् , श्वास प्रश्वास चलिरहोस् भने कामना हामी गरिरहन्छौं । तर मुटु जस्तै, रगत जस्तै, श्वास जस्तै दिमागलाई भने हामी स्वतन्त्र छाड्न चाहन्नौं । यसलाई हामी ऐंचेर राख्न खोज्छौं । यसलाई जंगली हात्ती दाएजस्तो, जंगली घोडा सधाएजस्तो सधाउन खोज्छौं हामी । दिमाग पनि मुटुजस्तै स्वचालित कुरा हो ।

हामीमा विवेक छिप्पिनु भन्दा पहिलेबाटै यसले आफ्नो काम शुरु गरिसकेको हुन्छ । यसले पनि एक हदसम्मको स्वतन्त्रता खोज्छ । हामी जति जति नसोचौं भन्छौं, जे जे नसोचौं भन्छौं, त्यहि त्यहि कुरा दिमागमा अझ उर्लेर आउँछन् । त्यसोभए, ध्यानले यसलाई रोकेर तह लगाउला त ? अहँ, ध्यानावस्थामा पनि यो मगजमा ज्वारभाटा चल्न छाड्दैनन् । उचित तरिकाले ध्यानमा बस्ने हो भने केही समय विचारमा बाँध लाग्ला तर आँखा उघार्नासाथ त्यो बाँध फुट्छ । विचारहरु छताछुल्ल हुन्छन् ।

यस विषयमा मनोविज्ञान र धर्म एकै बिन्दुमा पुगेर के भन्छन् भनें दिमागलाई हेर्नू । यसले के सोच्दैछ बारम्बार विचार गर्नुभयो भनें यो चुप्प लाग्छ । हो, गरिहेर्नोस् त, यो चुप लाग्छ । यसलाई जति थुन्न र रोक्न खोज्यो उति नै अनियन्त्रित हुन्छ ।

एउटा मानिस घुम्दै घुम्दै गुम्बामा पुगेछ शान्ति खोज्दै । निकैबेर शान्त बसेपछि उसले आफूलाई  अलिक फरक र शान्त पाए पनि उसलाई केही केही नपुगेको जस्तो लागेछ । एकजना लामा गुरुले उसलाई हेर्दै भनेछन्— एकजना लामासँग कुरा गर्नू ।

त्यस व्यक्तिले एकछिनसम्म सोचेर भनेछ, “शान्ति कसरी प्राप्त हुन्छ ?”

लामाले भन्यो, “म जे भए पनि हुन्छ भनिदिन्छु । जे हुन्छ जस्तो हुन्छ, त्यसलाई स्वीकार्छु ।”

त्यति सुनेपछि उसको मन हल्का भएछ । ज्ञान प्राप्त भएछ । जे आउँछ, जे हुन्छ त्यसैलाई स्वीकार गरेपछि सबै तनाव, कष्ट, अनिद्रा दूर भइहाल्छ भन्ने कुरा उसले बुझेछ ।

यसरी, हाम्रा सोचहरुलाई आफैंले हेर्न मात्र सके आफ्ना शब्दमा नियन्त्रण गर्न सकिन्छ र झुठको सहारामा अपत्यारिलो नाटकीय जीवन पनि बाँच्नु पर्दैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 October, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).