Sunday 16 January 2022

संसार एक असार

 


    ताराबारीको मील कुनै समयमा एउटा माइलस्टोन थियो । समयक्रममा अहिले त्यो जीर्ण र खण्डहरमा परिणत भएको छ । दमकबाट पश्चिम लागेपछि मावाखोला पुग्न झण्डै एक फर्लाङ बाँकी रहँदै उत्तरतिर हेर्दा ती भीमकाय मीलका पुराना स्वरुपहरु महेन्द्र राजमार्गतिर ढाड फर्काएर उभिएका छन् । आजकल शायद ती मील चल्दैनन् होला । यी मीलहरुका आडैबाट एउटा मार्ग उत्तर लाग्छ । त्यहि बाटैबाटो गएर अलिमाथि भित्रपट्टी एक पुरानो आश्रम रहेछ । जोगीहरुको अखडा । कुनै दाताले आठ दश कट्ठा जग्गा दिएपछि योगीहरुले धूनी जगाउने एक शान्ति भूमि रहेछ त्यो ।

हरेक जमिनका टुक्रा इतिहास हुन् । यी जमिनका टुक्राहरुले मानव सृष्टिदेखिका कथा बोकेका छन् । यिनले युद्ध देखेका छन्, महामारी देखेका छन्, प्रलय देखेका छन् र सम्वृद्धिका पराकाष्ठा पनि देखेका छन् ।  त्यहि भएर हामी आदिकाल देखि अहिलेसम्म माटो खोदल्दैछौं । माटोसँग संवाद गर्ने व्यर्थको एकोहोरो प्रयास गरिहेछौं । यसैसँग सम्बन्धित माटोभित्र लुकेको रहस्य खोज्ने पुरातत्वशास्त्र छ । अनि पुरातत्वविद्हरु जीवनभर ससाना औजार बोकेर माटो खोस्रिन्छन् । पुराना वस्तुहरु जतनपूर्वक माटोबाट निकाल्छन् र ठूलो गर्वका साथ एउटा कथा बनाउँछन् । माटोभित्र करोडौं कथाहरु छन् । माटो अनन्त कथा श्रृङ्खलाको श्रोत हो ।

          माटोको एक सानो खण्डमा क्षणीक अस्तित्व स्वीकार गरेर फिरन्ता जोगीहरुले बनाएको अखडाले मलाई पछिल्लो समयमा मानसिक रुपमा बढि र भौतिक रुपमा कम तानिरहेको छ । भारतको उडिसाबाट आएका योगी महात्माहरुले बर्षौं अगाडिदेखि रोजेर बसेको त्यस जमिनको टुक्रामा हाम्रा बुवा बारम्बार गइरहनुहुन्थ्यो र यदाकदा रात पनि बिताउनुहुन्थ्यो भन्ने सुनेर म आश्चर्यचकित भएँ । एक समयमा प्रशस्त जोगी महात्माहरुले त्यहाँ धुनी जगाउने रहेछन् । कतिले त त्यहिं परमार्थ प्राप्त गरेपछि तिनका समाधिहरु जमिनमुनि सुरक्षापूर्वक राखिएका पनि रहेछन् । ती सबै उतारचढाव र परिवर्तन देखिआएका एक योगीमात्र अहिले त्यो स्थानमा आफ्ना दुई माउ गाईसँग बसेका रहेछन् । “बुवा त्यतै पल्टिनुहुन्थ्यो । रुखासुखा खानुहुन्थ्यो । यहाँ त धेरै मच्छड लाग्छन् तर पनि उहाँ मस्त निदाउनुहुन्थ्यो एउटा बालकजस्तै । हामीलाई सत्सङका कथा सुनाउनुहुन्थ्यो,” ती योगीले मलाई सुनाए । बुवा त्यतातिर जाने कुरा मैले सुनेकी थिइन । आफ्नो अध्यापन कार्यबाट सेवा निवृत भइसकेपछि उहाँले केहि समय महेश आश्रम देवघाटतिर गएर अध्यापन कार्य गर्नुभएको कुरा थाहा थियो । त्यसपछि उहाँको धेरैजसो समय विश्रान्ती मन्दिर, मूलघाटकै चिन्तनमा बित्यो ।


          कुप्रि परिसकेको शरीर लिएर गौसेवामा लागिपरेका योगीले परपर भएका समाधिस्थल र मन्दिर देखाए । एउटा अचम्मको अति अमिलो उडिसा फल पनि चाख्न दिए । योगी भए पनि उनको धेरैजसो समय ताराबारीमा बितेको रहेछ । सानो उमेरमै जोगीहरुका साथ लागेर नेपाल छिरेका उनी अब फर्किने ठाउँ नै देख्दैनन् । दन्त्यकथाजस्तो जीवन बाँचेका ती योगीलाई उनकै बा आमाले जोगीहरुको जिम्मा लगाइदिएका रहेछन् । “मेरो धेरै दाजु, दिदीहरु हुर्किन नपाई मृत्यु भएकाले मलाइचाहिं भगवानका नाममा चढाएको रहेछ । म सानैदेखि जोगीहरुकै संगतमा बसिरहें,” उनले भने । उनी पछिका अरु सन्तानचाहिँ उडिसामै घरजम गरेर बसेका छन् भन्ने कुरा पनि उनले सुनाए ।

          जोगी बालवत, सरल र नग्न हुन्छ,” भनेर बुवाले भनेको कुरा सम्झिँए । हो ! ती जोगी बालसुलभ नै थिए । एउटा सामान्य धोतीबाहेक, उनका शरीरमा अन्य वस्त्र थिएनन् । उनीसँग कुनै अहम् थिएन ।

          यहि गाईको दाम्लोमा म बाँधिएको छु । म हिँडे यी गाई भोकै पर्छन् । यी गाईलाई होइन, दाम्लाले मलाई बाँधेको छ,” अनि उनी अलिकति हाँसे । त्यो हाँसो एउटा बालकको हाँसो थियो । निर्बिघ्न, निश्छल र कुनै चिन्तारहित ।

यी पगाहाहरु

          ती जोगीले भनेजस्तै म आफूले आफैंलाई अनेकौं पगाहाहरुमा टाँगेकी रहेछु । अनगिन्ती दाम्लाहरु मैले मेरा घाँटीमा भएको अनुभूति गरें । कर्तव्यका, वाध्यताका, विवशताका अनि उत्साहले समेत सिर्जना गरेका दाम्लाहरु फुस्काएर आफूलाई स्वतन्त्र गर्न सहज हुँदैन रहेछ । हुन त साङ्लोमा बाँधिएको हात्तीले समेत म जस्तै ठान्दो हो । उसमा त्यो साङ्लो चुँडाएर हिँड्न सक्ने सामर्थ्य हुँदाहुँदै पनि चुपचाप एउटा त्यान्द्राको परिधिभरी मात्र घुमिरहनुको अर्थ त्यहि नै होला । आफैंले सिर्जना गरेका अदृश्य साङ्ला चुँडाउन सके म पनि ती जोगी झैं खुलेर हाँस्न सक्थें कि भन्ने लाग्छ ।

          एकपटक शैतानहरुको बैठक बसेछ । बैठकको प्रमुख मुद्दा चाहिँ मानिसहरुको सबैभन्दा प्रिय कुरा पत्ता लगाउने र त्यसलाई गायब पारिदिने भन्ने रहेछ । एउटाले भनेछ – हामी मानिसहरुको सम्पत्ति गायव पारिदिउँ । तर नेताले भनेछ – होइन, होइन त्यसो गर्न हुँदैन । बरु सम्पत्ति थपिदिनुपर्छ । त्यसो गरियो भने उनीहरुमा चिन्ता पनि थपिन्छ । अर्काले भनेछ – उसोभए तिनीहरुको मगज गायब पारिदिउँ । फेरि नेताले भनेछ – त्यसो गर्दा त कसरी पीडा र चिन्ता हुन्छ र उनीहरुलाई ? त्यसो गर्न हुन्न । त्यसरी आफ्ना आफ्ना विचार प्रकट गर्ने क्रममा सबैभन्दा छट्टु शैतानले भनेछ – मान्छेहरुले सबैभन्दा प्रिय ठान्ने कुरा ‘खुशी’ हो । यसैलाई गायब पारिदिनुपर्छ । निकै छलफलपछि मान्छेको सबैभन्दा प्रिय कुरा खुशी नै हो भन्ने  टुङ्गो लाग्यो र उनीहरुले त्यसलाई खोसे । तर त्यो खोसिएको खुशी कता लुकाउने भन्ने आपत आइपरेछ शैतानहरुलाई । कसैले पृथ्वीको पुच्छारमा भने, कसैले गहिराईमा भने, कसैले समुद्रका पींधमा लुकाउनुपर्छ भने तर ती सबै विकल्पहरु कमजोर देखिए । अन्त्यमा त्यहि छट्टु शैतानले उपाय निकाल्यो र भन्यो – हामी यसलाई अकल्पनीय ठाउँमा लुकाउनुपर्छ । मान्छेका मनका भित्री तहमा राखेपछि मान्छेले भेट्दैन । मान्छेले त्यो खुशी बाहिर बाहिर खोज्छ । धनमा खोज्छ, रुपमा खोज्छ, प्रतिष्ठामा खोज्छ, शक्तिमा खोज्छ,

अनि अरु सबै ठाउँमा खोज्छ । त्यहि कुरा पारित भयो । शैतानहरुले खुशीलाई मनको भित्री तहमा हालिदिए । त्यस दिनदेखि मानिस खुशी खोज्न भौंतारिरहेको छ । भट्किएको मान्छे अनेक उपायबाट खुशी खोज्ने प्रयत्नमा छ । यी प्रयत्नका हजारौँ लाखौँ स्वरुप
छन् ।

संसार एक असार

          अनि तपाईंलाई आफ्नै बाबुआमाले जोगीलाई दिइपठाएको कुरा थाहा पाएपछि दुख लागेन?,” ती जोगीलाई मेरो प्रश्न थियो । शुरु शुरुमा उनलाई दुःख लागेछ । त्यो उनको चाहना नभएकोले उनी बेखुशी पनि भएछन् । तर समयक्रममा यो संसार र यसका वास्तविकताका बारेमा सिक्दै, पढ्दै र बुझ्दै जाँदा उनमा विरक्ती भाव पलाएछ र मनले भनेछ – तैँले ठीक गरिस् । उनी बोल्दै गए, “डाँडाको टुप्पामा उभिएर तलतिर हेर्दा संसार एउटा मेला जस्तो देखिन्छ । मान्छेहरु जन्मिन्छन्, केहि लीला गर्छन् र मर्छन् । यहि लीलाले मान्छेलाई अल्झाएको छ । त्यसैभित्र अमरत्व खोज्नेहरुको भीड छ । तर यो चक्र सबैले पूरा गर्नैपर्छ । लीलामा सामेल हुनै पर्छ । डाँडाको टुप्पामा उभिँदा पनि एउटै दृष्य सबैले देख्दैनन् । आफ्ना मनले निर्देशित दृष्य मात्र देखिन्छ । त्यो पहाड चढ्दा मनमा जे लिएर गएको हुन्छ, त्यहि देखिन्छ । यो लीलामा, यो सांसारिक असारमा धेरै गाडिनु पर्ने जरुरत छैन । यस कुरालाई बुझेर जीवनलाई सहज रुपमा लिन सक्नुपर्ने हो तर लीलाको स्वरुप नै यस्तो हुन्छ । लीलारुपी महमा मान्छे झींगा जस्तो । उसले गुलियो त चाट्छ तर फुत्किन सक्दैन ।”

          जोगीका कुरा मेरा मनमा लामो समयसम्म तरंगित भइरहे । के यो संसार असार नै हो त ? अब आफ्ना बुवालाई बुझ्न फेरि एकपटक उहाँका पुस्तकहरु अझ गहिरिएर पढ्नु छ, उहाँका लेखोटहरु छिचोल्नु छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).