Friday 21 January 2022

खसम बर्तन टल्काउँदैछन्

 


    झण्डै दुई दशक भइसकेछ मैले पोष्टग्राड् कोर्ष गरेको । नयाँ शताब्दीमा म अष्ट्रेलियामै रहेंछु – पुरानो डायरीले मलाई अतीत सम्झायो । यता हाम्रातिर उति मोबाइल फोनको प्रयोग जनस्तरमा आइसकेकै थिएन । शुरुशुरुमा एक्लै भएकोले म एक डेढ महिना क्याम्पस होस्टेलमै बसें । त्यसपछि इन्डोनेसियाका टामी, रत्ना, इवानजस्ता साथीहरुले क्याम्पस बाहिरै बसे छात्रवृत्तिको रकम जोगाउन सकिने उपाय सिकाए । मलाई नेपालबाट आफ्ना जहान पनि बोलाउनु पर्ने थियो । अनि साथीहरुकै सहयोगमा म क्याम्पस नजिकैको एउटा शेयर्ड हाउसमा सरें । क्याम्पसकै एकजना प्रोफेसरले भाडामा दिएको घरमा म बाहेक अरु दुई इन्डोनेशियन परिवारहरु थिए । लोग्ने मान्छेहरु युनिभर्सिटीमा पीएचडी गर्थे र महिलाहरु ससाना घरेलु काम गर्थे । ती दुई महिलाहरु मध्ये लीस नामकी एक महिला त दिव्याङ्ग थिईन् । उनले हिडडुल गर्न ह्विलचेयरकै सहारा लिनुपर्थ्यो । त्यस्तो अप्ठ्यारो शारीरिक अवस्था भए पनि उनी घरको काम प्रायः आफैं गर्थिन् र किनमेलमा आफ्नो तीन पाङ्रे इलेक्ट्रिक स्कूटर लिएर हुँइकिरहन्थिन् । ती दुई महिलाहरुले मलाई अष्ट्रेलियन जीवन जगतका बारेमा धेरै कुरा बुझाए । भिन्न देश, संस्कृति र धर्मका मानिसहरुसँग एउटै भान्सा शेयर गरेर पकाउनु र खानु सहज थिएन । त्यसमाथि म भेजिटेरियन अनि उनीहरु गौमांश सेवन गर्ने मुश्लिम धर्मावलम्बी । एक अर्कालाई सम्झिनु र सम्झाउनु पनि कहिलेकहिँ त सकस पर्ने । मैले शाकाहारी भएर पनि बटर खाएको देखेर लीसले एकदिन मलाई सोधिन्, “तिमी मासु त खान्नौ तर बटर त एनिमल फ्याट हो नि । त्यो त गाईको दूधबाट निस्केको एक किसिमको बोसो जस्तै होइन र ?” यो उदेकको प्रश्न थियो । हो कि जस्तो पनि लाग्ने; तर हैट युगौँदेखि हाम्रा देउतालाई चढाउँदै आएको गाईको घ्यूलाई यस्तो लान्छना लगाउने यसले जस्तो पनि लाग्ने । मैले हाँसेरै टारेँ त्यस कुरालाई । सकेसम्म म उनीहरुले पकाएको बेला पारेर भान्सामा जान्नथेँ । आफ्ना भाँडाकुँडा चलाएर बिटुल्याइदेलान् भन्ने सानो संसय मनमा लिएर कोठामै बस्थें ।

मेरा बर्तन खोई ?

         


    मेरो कहिलेकाहिँ दिउँसो र कहिले साँझमा कक्षा लिन जानुपर्ने थियो । ठूलो भान्सामा कोहि न कोहि भइ नै रहन्थ्यो । कहिलेकाहिँ त दुईवटै सिङ्कभरि भाँडा देखेर म पनि त्यहिँ एक छेउमा भाँडा थुपारेर हिँड्न थालें । पछि फर्केर आउँदा भाँडा बर्तन धोइवरी राखेका हुन्थे । दुई तीन पटक नै त्यस्तो भएपछि मैले अरुलाई कस्ले मेरा भाँडा माझिदिएछ भनेर सोधेँ । ती त लीसका श्रीमान पो रहेछन् । उभिएर धेरैबेर भाँडा सफा गर्न नसक्ने भएकाले लीस भाँडा थुपार्दी रहिछन् अनि भ्याएका बेला श्रीमान देखेजति र भेटेजति सबै भाँडा माँझेर हिँड्दा रहेछन् । जस्का भए पनि यी घरभित्रका सबै हाम्रा हुन् । जस्ले माँझे पनि केहि हुन्न भन्दै उनीहरु हाँसे । अनि बिस्तारै मैले बुझेंविद्यावारिधि गरिरहेका यी मान्छेहरु घर बढार्ने, पोछा लगाउने, लन मोइङ्ग गर्ने, भान्साका सबै काम गर्ने रहेछन् । यता आफ्ना मुलुकमा भनेँ मैले अझैसम्म पनि कतिपय पुरुषहरु यस्ता काम अरुकै अर्थात घरका महिलाका भागमा पर्छन् भन्ने मानसिकतामा हुर्किएको पाएकी छु । आफूले लगाएका भित्री वस्त्र समेत अर्कैले धोइदिनुपर्ने पुरुषहरु पनि देखेकी छु । यस प्रकृतिका ‘मर्द’हरु महिलालाई घरेलु ठान्छन् । यसो हुनुमा उनीहरुको मात्र दोष नभई समाज र परिवारको पनि दोष हुन्छ । एउटै भान्सामा खाना खाने हो भने खाना जुटाउने, बनाउने र सफाइ गर्ने समेत सबै वयस्कहरुको उत्तिकै दायित्व हुन्छ । त्यो व्यक्ति घरमा बास मात्र बस्छ भनेँ पनि त्यस घरका अरु सदस्यहरुले भोगेको घरेलु पीडा बाँडफाँड गर्न ऊ
उत्तिकै उत्तरदायी हुन्छ । पुराना दिनमा पुरुषहरु काममा जान्थे र कमाइ ल्याउँथे । महिलाहरु घर सम्हाल्थे । तर अहिलेको समयमा प्रायः महिलाहरु कुनै न कुनै आय आर्जनका काम गरिरहेकै हुन्छन् तैपनि उनीहरुले घरधन्दा र बाहिरी संसार धान्नुपर्ने वाध्यता अझै
छ ।

          एउटा घरमा बिहान उठेदेखि बेलुकासम्म एउटी महिलाले गर्ने कामको मूल्य कति होला ? के हामीले कहिल्यै त्यसको गणना गरेका छौँ ? अहिलेको बजार मूल्यकै आधारमा हेर्ने हो भनेँ पनि दिनको कम्तीमा एक हजार बराबरको काम एउटी सामान्य गृहिणीले गरिरहेकी हुन्छिन् । त्यस हिसाबले उनले महिनामा ३० हजार बराबरको काम गरिरहेकी हुन्छिन् । तर ती कामलाई हामी श्रमका रुपमा गणना गर्दैनौं । घरमा बसेर निरन्तर काम गर्नेलाई हामी बेरोजगारकै रुपमा लिन्छौँ । त्यति कुरा मात्र पनि घरका पुरुषहरुले सम्झिदिने हो भनेँ बहुसंख्यक महिलाहरुको दैनिकी निकै उत्साहप्रद हुँदो हो । घरका आमा, दिदी, बहिनीहरुले गर्ने कार्य आफूले गरेको बाहिरिया काम जत्तिकै महत्वपूर्ण हुन्छ है भन्ने भावना मात्र पुरुष सदस्यले राखिदिने हो भनेँ हरेक घर स्वर्ग बन्छ ।

तिम्रो मेरो माया बराबर

          चर्चित हाँस्य अभिनेता हरिवंश आचार्य र गायक सुकमित गुरुङ्गले गाएको एउटा युगल गीत छ – तिम्रो मेरो माया बराबर । यस गीतमा दुई जोईपोइ कसरी कामको बाँडफाँड गर्छन्, श्रीमतीले फूर्सद निकालेर कसरी आयआर्जनका बाटोमा लाग्छु भन्ने इच्छा व्यक्त गर्छिन् भन्ने कुरा मीठो भाकामा प्रस्तुत गरिएको छ । पुरुषहरुले गरेका काम ठूला र गतिला अनि महिलाका काम क्षुद्र हुन् भन्ने मनोविज्ञानले पनि पुरुषहरु अप्ठेरामा परेका हुन सक्छन् । घरमा आफूहरु उदाहरण बनिदिने हो भनेँ पछिल्ला पुस्ताका नानीहरुलाई पनि सहज हुन्छ । आफ्नै घरको कुरा गर्नुपर्दा हाम्रा ससूरा बा सेल पकाउनुहुन्थ्यो तर सासूलाई त्यो कला आउँदैनथ्यो । परिआएका बेला बसेर उहाँ खाना पकाउनेदेखि भाँडा सफा गर्नेसम्म पनि गर्नुहुन्थ्यो । त्यो सामाजिक लज्जा उहिल्यै भत्किएकोले गर्दा अहिले सातै भाइ छोरा र नातीहरु समेत ती घरेलु कार्यमा नहिचकिचाई अघि बढ्छन् । मेरो आफ्नो दुई सदस्यीय परिवार त अझ बराबर काम नगरे चल्दै चल्दैन । हाम्रो उहाँलाई त सामान्य खाना बनाउन आउँदैन; आफू नहुँदा उहाँ बाहिरै खाएर काम चलाउनुहुन्छ भन्ने गफ सुन्दा पनि मलाई त हाँसो उठ्छ । मेरा लागि शौचालय जानु, स्नान गर्नु र खानु जस्तै खाना बनाउनु र खाएका भाँडा सफा गर्नु अत्यन्त आवश्यक ज्ञान हो जस्तो लाग्छ । यी कुराहरुलाई साना मसिना कुरा ठानिए पनि साना कुरा होइनन् । खानु र सरसफाइ गर्नु आधारभूत मानवीय कुरा हुन् ।

जाऊ भाँडा माँझ

         


एउटा सिकारु विद्यार्थी शिक्षार्जन गर्ने विचारले गुम्बामा गएछ । उसले त्यहाँ पुगेर गुरुलाई भनेछ, “म भर्खर यहाँ आएको । मलाई शिक्षा दिनुहोस् ।” गुरुले उसलाई खाना खाएको नखाएको सोधेछन् । उसले खाना खाइसकेको कुरा बताएछ । “ल, उसोभए गएर आफूले खाएका भाँडा माँझ,” गुरुले दिने त्यस दिनको शिक्षा त्यति नै रहेछ ।

          सुन्दा सामान्य लागे पनि ‘जाऊ आफ्नो थाल माँझ’ भन्ने वाक्यले ठूलो अर्थ बोक्छ । खाना खाने काम सकिएपछि गर्नुपर्ने अर्को काम थाल, बटुका माँझ्नु नै हो । यसले हाम्रो दिमागी सचेतनालाई इंङ्गित गर्दछ । हतारहतार गाँस च्यापेर उफ्रेर दौडिहाल्नुको तात्पर्य त्यो व्यक्ति वर्तमानमा बाँचेको छैन । न त हतारमा उसले स्वाद लिएर खाना खान्छ, न त त्यसपछिको काम के हो थाहा पाउँछ । त्यो हतासिएको मनुवा मनभरी आतेस बोकेर अनाहकमा दौडिरहेको हुन्छ । त्यसरी गुरुले जाऊ भाँडा माझ भन्नुको अर्थ त्यस बर्तनलाई सफासँग धोऊ , त्यस क्रममा पानीको तापक्रम थाहा पाऊ, मस्कोको खस्रोपन थाहा पाऊ भन्नु पनि हो । यी सबै कुरा गर्नुको अर्थ वर्तमानमा बाँच्न सिक भन्नु पनि हो । अझ बुद्धमार्गी सन्त थी नाट् हान् त आफूले खाएको कचौरो माँझ्दा हरेक पटक नवजात बुद्धलाई स्नान गराइदिएको जस्तो मान्छन् अरे । एउटा नवजात शिशुलाई कति जतनपूर्वक स्नान गराउनुपर्ला, जतनसँग पुछेर थपक्क सुताउनुपर्ला ? म आफैंलाई पनि त्यस्तै लाग्छ । ध्यानपूर्वक काम गरौँ । भाँडा माँझ्दा जूठो, सितो, चिल्लो नरहोस् । भूइं बढार्दा पनि फोहोर नरहोस् । हतार केलाई पो गर्नु छ र, होइन ? यिनै बानीहरुको छाप नै हामीले अरु कर्ममा पनि छाड्ने रहेछौँ । घरमा फोहोर मन नपराउनेले आफ्नो कार्यस्थल पनि सफा राख्न प्रयत्न गर्छ । एउटा काम गर्दा त्यसमा लागिरहने हो र अर्कोतिर चित्त नउफार्ने हो भनें त हाम्रा बर्तन सफा भैहाल्छन् नि । यसरी भाँडा सफा हुन पनि चित्त सफा हुन पर्ने जस्तो देखेँ मैले । आज घरेलु सहायक कमलाले बिदा लिएकी छिन् । सिंकमा श्रीमानजी बिस्तारै एक एक गर्दै भाँडा माँझ्दैछन्, म घर बढारकुँडार गर्दैछु ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).