Tuesday 21 June 2022

हेल्लो माइ डियर सिस्टर

 

 

          धेरैपछि मेरा अस्ट्रेलियन धर्मदाजु ब्रुसको फोन आयो । मैले फोनमा हेल्लो भन्नासाथ उसले खुशीले पुलकित हुँदा निकाल्ने चुँइकिएको स्वरमा, “हेल्लो माइ डियर सिस्टर, हाऊ आर यू ?” भन्दै बोल्न शुरु गर्यो । उसको फोन संवाद लामै हुने गर्थ्यो तर यसपटक त एक्स्ट्रा एक्स्ट्रा लङ भैदियो । उसले फोन गर्नुको प्रमुख कारणचाहिँ आफ्नी आमाको मृत्यु सन्देश सुनाउन रहेछ ।


          ब्रुस शारीरिक रुपमा विकलाङ्ग भए पनि आफ्नो अशक्तता छोप्ने प्रयासमा निरन्तर लागिरहन्थ्यो । बीसकै उमेरमा उसले बास्केटबल खेल्ने क्रममा ढाडको हड्डी भाँचिएको कुरा ऊ बारम्बार सुनाउँथ्यो । त्यसपछि उसले पाँचपटक अप्रेसन गरे पनि ढाड कहिल्यै सोझो हुन सकेनछ । त्यसकारणले उसको शरीर एकातर्फ़ कोल्टे परिरहन्थ्यो । त्यतिमात्र होइन उसका आँखा अत्यन्त कमजोर थिए । कमजोर आँखा हुनुको प्रमाण उसको कारमा लागेका अनगिन्ति साना ठूला खतहरुमा देख्न सकिन्थ्यो । उसको दुई वर्ष मात्र पुरानो कारमा घाउ चोट नलागेको त कतै थिएन । तर ती कुरा बिर्साउन ऊ सधैँ चिटिक्क परेर हिड्थ्यो । आफ्ना फुलेका घोप्टे जुँगामा कालो कलप लगाउँथ्यो र आइरन गरेका चिटिक्क परेका ब्राण्डेड लुगामा ठाँटिन्थ्यो

          अविवाहित ब्रुस गफ गर्दा आफू राजकुमार नै भएजस्तो गरी कुरा गर्थ्यो । उसका घरमा भाडामा बस्ने केटीहरुलाई ऊ उसका प्रेमिका नै हुन् भनिठान्थ्यो र उनीहरुलाई हर प्रकारको सहयोग गर्न तत्पर थियो । साँच्चै भन्ने हो भनेँ उसले आफ्नो घरपछाडि एउटा फ्ल्याट नै तयार गरेको थियो र त्यस फ्ल्याटमा विशेषगरी दुःख पाएका, अप्ठ्यारो परेका केटीहरुलाई ल्याएर राख्थ्यो । यस्तै क्रममा एउटी अमाण्डा नामकी चाइनिज केटी त्यहाँ बस्न आइपुगी । उसलाई कसैले काममा लगाइदिने भनेर दुर्व्यवहार गरिरहेको रहेछ । ब्रुस उसका लागि गडफादर भएर निस्किदियो । काम खोजेर लगाइ पनि दियो ।

          एकदिन ब्रुसले मेरा श्रीमान् लाई घरमा बोलाएर सहयोग माग्यो । परेको के रहेछ भने एउटी बंगलादेशी केटीले दुईदिन बस्नको लागि ऊसँग सहयोग मागेकी रहिछे । त्यो रोहिणी नामकी केटीको भिजा एक्सपायर भएर ओभर स्टे गरेपछि तुरुन्त देश छोड्नुपर्ने आतेस परेको रहेछ । रोहिणीले राती फलानो स्ट्रिटमा छु भनेर फोन मारिछे । अनि ब्रुससँग सहयोग मागेकी रहिछे । रातको बेला एक्लै निस्किन आँट नआएर मेरा श्रीमान् को साथ लिएर त्यो बताइएको स्ट्रिटमा ब्रुस र मेरा श्रीमान् पुग्नुभएछ । “रोहिणी, रोहिणी” भन्दै ब्रुस गाडीबाट कराउँदो रहेछ । आखिरमा दुई फन्का मारेपछि मात्र त्यो केटी फेला परिछे ।

          त्यस्तै एकदिन राती एक बजे कुनै उसकै चिनाजानाकी केटीले फोन गरेर पेट्रोल सकिएको र गाडी बाटो छेऊ लगाएर पर्खिबसेको कुरा सुन्नासाथ पेट्रोल बोकेर ब्रुस त्यहिँ पुगेछ । त्यो गाडी पार्क गरिएको ठाउँ त मेन हाइवे पारि रहेछ । मान्छेले त्यसरी बाटो काटेर हिँड्न झण्डै असम्भव अवस्थामा पनि ब्रुस बाटो पारि पुगेर पेट्रोल दिइकन आफ्नो बहादुरी प्रदर्शन गरेको साहसिक गाथा ऊ बारम्बार सुनाउन रहर गर्थ्यो । तर यो घटना सुनाउँदा ब्रुस सधैँ तर्सिएजस्तो गर्थ्यो । मेन हाइवे, जहाँ गाडी १०० कि.मी. माथिको गतिमा स्वाई स्वाई गर्दै हुइँकिन्छन्, त्यस्तो हाइवेको बीचबाट पेट्रोलको जर्किन बोकेर घल्चक् घल्चक् बाटो काट्दा जे पनि हुन सक्थ्यो भन्ने सम्झेर पछि ऊ शायद त्रसित हुन्थ्यो होला ।

    यस्तैमा एउटीले चाहिँ एकचोटि आफ्नो गाडी कतै लगेर ठोकिछ । फोनमा उसको रुन्चे आवाज सन्नासाथ रेस्क्यूका लागि ब्रुस दौडिहाल्यो । समग्रमा भन्नुपर्दा ब्रुस केटीहरुलाई जस्तो सुकै समस्या पर्दा पनि सहयोग गर्न तत्पर हुन्थ्यो । अनि उसको यो कमजोरीका बारेमा उसको सम्पर्कमा आउने सबै केटीहरुले बुझेका थिए र जे भए पनि उनीहरु उसलाई फोन गरिहाल्थे । अनि ब्रुस पनि आफूलाई महिलाहरुको प्रिय छु भन्ने प्रमाणित गर्न कुनै कसर बाँकी राख्दैनथ्यो । 

तर यस्ता किसिमका नकचरा कुरामा उसकी नब्बे वर्षीय आमालाई कुनै रुची थिएन । त्यही भएर आमा छोरा कहिलेकाहिँ बाझाबाझ गर्ने गर्थे । एकातिर ब्रुस आमाका नियन्त्रणमा बस्नुपरेको पीडा व्यक्त गर्थ्यो । अर्कातिर उसकी आमा उनको छोरो ६० नाघ्दा पनि नहुर्केको गुनासो गर्थिन् ।

          एकदिन के भएछ भनेँ ब्रुसकी आमा सोफामा बसेर उँघ्दा उँघ्दै लडिछन् । आमैलाई उठाउन ब्रुस नसक्ने । अनि ऊ गुहार माग्दै हाम्रोतिर आयो । हामीले गएर आमैलाई बोकेर खाटमा राखिदियौँ । चोटपटक केहि थिएन । भोलिपल्ट ब्रुसले आफू असक्त भएकोमा ठूलो खेद प्रकट गर्यो । अनि हाम्रो सहयोगका लागि बारम्बार धन्यवाद ज्ञापन पनि गरिरह्यो ।

         


ब्रुसले चलाएको गाडीमा उसकी आमा मरियम समेत बस्न नरुचाउने । ऊ यति भङ्ज्याहा तरिकाले गाडी चलाउँथ्यो कि, भनिसाध्य छैन । रेड लाइटमै गाडी हुइँक्याइदिने,  रङ टर्न लिने, आँखा नदेखेपछि पछाडि नहेरी लेन चेन्ज गर्ने अनि अरुले हर्न बजाएर गाली गरेपछि हाँस्दै, “सरि माइट, माइ माइन्ड इज स्लिपीङ बट आइज आर ओपन” भन्थ्यो ।

          बहाई धर्मशास्त्रका अनुच्छेदहरु कण्ठस्थ थिए ब्रुसलाई । मौका मिल्नासाथ ऊ बहाउल्लाहका उद्धरणहरु सुनाउन थाल्थ्यो । कर गरेर मलाई केहि धार्मिक पुस्तकहरु पनि पढ्न दिन्थ्यो । अनि समय समयमा हुने धार्मिक जमघटमा हामी जहानैलाई लगेर सबैसँग घुलमिल समेत गराउँथ्यो ।

          सिस्टर, माइ मदर इज नो मोर” भन्ने ब्रुसको फोन आएको धेरै भएको छैन ! त्यति बुढी मान्छे आफ्ना अगाडि अंग्रेजी सिकाउने फारसी भाषाको पुस्तक राखेर पढिरहेकी हुन्थिन् । फूलहरुमा पानी हालिरहेकी हुन्थिन् । हामीलाई देख्नासाथ बोलाएर चिया, ड्राइफुट र कुकिज नखाई जानै दिन्नथिन् । आफूले अंग्रेजी जाने म कति तिमीहरुसँग बोल्दि हुँ भन्थिन् । छेउमा बसेको ब्रुस बाङ्गिदै भान्सामा गएर फिक्का चिया बनाएर ल्याउँथ्यो । आमाले अह्राए बमोजिमका खाद्य वस्तु ल्याएर खान कर गर्थ्यो । ती नब्बे वर्षकी आमैलाई आफैँ इरानी खाना पकाएर भोज लगाउने शौक थियो । उनी कति दिनदेखि तयारी गरेर कुनै सप्ताहान्तमा उनकोमा आउन निम्ता गर्थिन् । खाद्य पदार्थको प्रशंसा सुनेर मख्ख पनि पर्थिन् ।


          ब्रुस हाम्रो घरवेटी कम र साथी ज्यादा थियो । ऊ अहिले हरेक पटक फेसबुकमा भएका मेरा आर्टिकल, पोस्ट र फोटोहरुमा कमेन्ट गर्न चुक्दैन तर पठाएका म्यासेजको रिप्लाइ गर्न जान्दैन । उसले फोन गर्दा उठाइदिन भ्याइयो भने कसरी उसका घरको छेउमा ठूलो सपिङ मल बन्यो, अनि अरु के के परिवर्तन भए भन्न छुटाउँदैन । अब कहिले भेट होला भन्दै हाम्रा लागि एउटा कोठा अझै खाली राखेको ऊ सुनाउँछ । अनि अन्तमा मेरा बूढालाई ठट्यौलो पारामा सोध्छ, “तिमीले मलाई नेपाली केटी खोजिदियौ त ?”

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).