प्रिय कबीर,
तिमीलाई याद छ — यस जुनीमा नभए अर्को जुनीमा हाम्रो भेट होस् भनेको कुरा ? ती लहड्का कुरा थिए । नदी किनारामा रुखका फेदमा बसेर भावुक हुँदै तिमी भन्दै थियौ । म सुन्दै थिएँ । त्यो समय नै त्यस्तै थियो । हाम्रो उमेर नै त्यस्तै थियो । एक अर्कामा पिरतीको प्वाँख पलाउन खोज्दै थियो । मायाका मुनाहरु टुसाउँदै थिए र मनमा पिरतीका पालुवा लाग्दै थिए । त्यसबेलामा हाम्रा बोल्ने कुरै धेरै थिएनन् । जब हामी एकार्काका समीपमा थिएनौं, मन उद्वेलित थियो । मनले हुइया हुरेली खेलिरहन्थ्यो । एउटा बहानामा नजिक त हुँइन्थ्यो तर बोल्ने कुरै केहि थिएन । नभेटुन्जेल यो मन बोलि नै रहन्थ्यो, भेटेपछि शब्दहरु लज्जावती झार झै लुकिजान्थे ।
हो,
त्यस्तै समय अडिएको बेलामा एक पटक तिमी बोल्यौ -
यस जुनीमा त खै अर्को जुनीमा हाम्रो साथ जीवनभरलाई है त । तिमीलाई यस
जुनीमा विश्वास रहेनछ, अनि मलाई अर्को जुनीको भरोसै थिएन । तिमीले यसो भन्नु पछाडिका कारणहरु मलाई
थाहा थिए । तिमी त्रसित हुनु पछाडिका कारणहरु पनि मलाई थाहा थिए । तर पनि हामीले
यस बारेमा कहिल्यै चर्चा गरेनौं । शायद यो चर्चाको आवश्यकता नै थिएन कि ? अझै पनि
यो जुनी सकिएपछि, खरानीको थुप्रो भइसकेपछि, माटोमा
मिलिसकेपछि कताबाट पुनर्जीवन पाइएला र जस्तो ठान्छु म । त्यसैले त मैले तिमीलाई
भनेकी थिएँ — अर्को जुनी खै
कुन्नि ?
कुनै
वैज्ञानिक आधार नभएको कुरा हो यो अर्को जुनीको कुरा । अतृप्त चाहनाहरुको भार कम
गर्ने परापूर्व कालदेखि चलिआएको मनोबैज्ञानिक पद्धति हो यो अर्कै जुनी भन्ने कुरा
। आशावादीहरुको मन थुम्थुम्याउने उपाय मात्र हो यो अर्को जुनीको कुरा । मलाई ऊ
बेला पनि त्यस्तै लागिरहन्थ्यो तर मसँग तर्क गर्ने शाहस थिएन; शायद
ज्ञान पनि थिएन । म अहिले सम्झिन्छु —
त्यसैबेला हामीले तर्क वितर्क गरेका भए दोधारेपन निस्तेज हुन्थ्यो होला । हामीले
एक नयाँ मार्ग पहिल्याउँथ्यौँ होला । त्यसबेलाका शब्दविहीन तर्कहरुले गर्दा नै
हाम्रो त्यो प्रेमको दियो सधैं जगमग छ । हामी एकाकार भएका भए शायद प्रेमको अवशेष
नरहँदो हो । सांसारिकताले थिचेर ती प्रेमका मुना ओइलाइ जाँदाहुन् ।
समयको
अन्तरालको धूलाले छोपिएको पुरानो मित्रताको किताब टक्टक्याएर म पढ्ने कोशीश गरिरहेकी
छु । शायद मैले जोन डनलाई पढेकी हुँदी हुँ त म त्यति बेलै भन्दिने थिएँ हुँला — हेर, यो
एकबारको जुनीलाई पन्छाएर अर्को जुनी पर्खिनु ठूलो मूर्खता हो । जब प्राण वायुले
छाड्छ, शरीर मकाएर जान्छ, अनि के बाँकी रहला र ? हुन त प्रायःजसो धार्मिक आस्था भएका
मानिसहरुमा पुनर्जन्म प्रति विश्वास छ । मानिसहरु अहिले सत्कर्म गरे र असल मनले
भाके पुनर्जन्म हुन्छ भन्ने ठान्छन् । तिमी पनि त्यस्तै कुरामा विश्वास गर्थेउ
होइन र कबीर ? यस
जुनीमा जे जस्तो भएपनि अर्को जुनीमा भेटौँला, पिरती साटौँला
भनेर तिमीले मलाई आश्वस्त पार्न खोजेको होइन त ?
अर्को जुनीसम्म पर्खिनु मुर्ख्याईं हो भन्ने मलाई उहि बेलामा लागेको थियो । शायद तिमी पनि कच्चै थियौ म जस्तै । अहिले पुरानो कुरा सम्झेर म विज्ञान सम्मत कुराहरु खोज्छु र बुझ्न कोशीश गर्छु — यो पुनर्जन्म विषयमा कतै तथ्यपरक कुरा भेट्दिन । अहिले हेर्दा यो अर्को जुनी भन्ने कुरा धार्मिक विश्वास र अन्धविश्वासको उपज रहेछ जस्तो लाग्छ । विज्ञानले कहिल्यै पुष्टि गर्न नसकेको उडन्ते कुरा रहेछ जस्तो तिमीलाई लाग्दैन त अहिले ?
हुन
त प्रेम भनेको त्याग हो । प्रेम भनेको निरन्तर प्रतिक्षा पनि हो । प्रेम भनेको आफूसँग
भएको बाँड्नु पनि हो
। प्रेम निर्वाध हुन्छ र शर्तविहीन पनि हुन्छ । हो, यस अर्थमा
हाम्रो प्रेम निश्छल, निश्चल र स्निग्ध थियो र छ । हामीले
एकता रोजेको भए त्यस एकताको आधार शरीर हुन्थ्यो । त्यो भौतिक प्रेम हुन्थ्यो ।
भौतिक अर्थमा पृथ्वी तलमा कहिँ कतै एकता हुन सक्दैन । हामी भौतिक रुपमा निकट हुन
सक्थ्यौँ होला तर एक हुन त सक्दैन थियौँ । हामी एकाकार नभएपछि भौतिक रुपमा एउटा
दूरी त रहिरहने नै थियो । हो, त्यो दूरी नजिक हुन्थ्यो होला तर अहिले
हामी भौतिक रुपमा टाढा छौँ ।
प्रेम
त एक हृदय अर्को हृदयमा समाहित हुने कुरा हो । हृदय त एक नै छ नि हाम्रो आखिरमा ।
हामी भौतिक रुपमा पो नजिक छैनौं त । तर हाम्रा मनहरु त जोडिएकै छन् । प्रेममा एक
अर्कोमा हराउन राजी हुनुपर्छ । कबीर, प्रेम त एउटा
गहिरो महासागर जस्तो रहेछ । अनि हामी ठूलो महासागर बीचका टापू । त्यो प्रेममय
सागरका छालले निरन्तर ओसिलो भइरहने । त्यसैले त प्रेमको दुर्लभताका बारेमा सन्त
कबीरले भनेका होलान्ः
प्रेम
ना बारी उपजै
प्रेम
न हाट विकाय
राजा
प्रजा जेहि रुचै,
शीश
देहि ले जाय ।।
प्रेम
न त बारीमा फल्छ, न त बजारमा बिक्छ । राजा प्रजा जसलाई प्रेमको इच्छा हुन्छ त्यसले
आफ्नो शीर नै सुम्पिनु पर्छ । यहाँ शीर भन्नाले अहम् भन्ने बुझ्नुपर्छ । अर्थात्, प्रेम
प्राप्त गर्न मान्छेले निरावृत रुपमा अगाडि आउनुपर्छ ।
हामी एक हुन सकेनौं भनेर निराशा प्रकट गरेको होइन मैले कबीर । हामी आत्मिक रुपमा एक नै छौं भन्न मात्र खोजेको । कुनै पूर्वाग्रह र आग्रह बिनाको हामी बिचको प्रेम नै अपूर्व प्रेम रहेछ । हुन त हरेक प्रेमिल जोडीले यस्तै निश्छल र निष्कपट प्रेमको कामना गर्छन् । तर धेरै कम मानिसहरुले मात्र अन्त्यकालसम्म यो पवित्रता जोगाएर राख्न सक्छन् । साँचो प्रेमले त स्वतन्त्रता प्रदान गर्नु पर्ने हो तर यसले अनन्त बन्धन पैदा गर्छ र प्रेमको असामयिक अवसान हुन्छ । सच्चा प्रेममा कुनै प्रकारको बन्धन नहुनुपर्ने हो, कुनै दवाव नहुनुपर्ने हो । एकले अर्कामाथि कुनै पनि इच्छा पूर्ति गर्नका लागि गरिने कृयाकलाप त प्रेम नभएर दासत्व रहेछ । हो त्यहि दासत्व तिमीलाई स्विकार्य रहेनछ शायद । अहिले म बुझ्दैछु, हामीले अनन्त प्रेम सागरमा डुबुल्की लगाएछौं । अर्को जुनी किन पर्खनु पर्यो र कबीर हामी यहि जुनीमै प्रेम बाँचिरहेका छौं ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 June 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).