Tuesday 30 August 2022

तीज तरङ्ग

 

       तपाईंलाई तीज भन्नासाथ कस्तो भाव मनमा आउँछ कुन्नि ? मलाई भने एउटा सामूहिकताको सम्झना आउँछ । सामूहिक रुपमा जम्मा हुने, खानेकुराहरु तयार गर्ने, अनि खाने । तीजका बेला सामूहिक रुपमै व्रत बस्ने र पूजामा सामेल हुने भन्ने एउटा सोचाईले मलाई गाँजेर ल्याउँछ । सानी छउन्जेल तीजको अघिल्लो दिन पुर्लुक्क लडुन्जेल खाने दिन हो भन्ने मलाई लागिरहन्थ्यो ।


म सानी छँदाको तीज फरक थियो । तीजको तिथी, गते, बार हरेक साल फरक होला तर खानाको प्रकार करिब करिब उहि हुन्थ्यो । हरेक वार्षिक चक्रमा तीज एक पटक परिरहेकै छ । तर समयक्रममा तीजको रौनक फेरिएको पनि छ । त्यो समयमा दाउरा नै बल्थे चुलामा । टाढाबाट चेलीबेटीहरु कति दिनको बाटो काटेर माइत आउँथे । गाडीको सुविधा थिएन । बजारमा कोसेलीका प्रकार अति थोरै थिए । नरिवल र मिश्री भन्दा अब्बल कोसेली नै थिएन भन्दा पनि हुन्छ । कुराउनी भनेको आफ्नै घरको दूधबाट बन्ने हो । बजारमा कुराउनी पाइन्थ्यो जस्तो लागेन मलाई । म आजभन्दा चालिस पैतालिस वर्ष अगाडिको धनकुटालाई सम्झेर कुरा गर्दैछु । त्यसबेला धरान झर्न पनि हिँडेरै मात्र सकिन्थ्यो । धारापानीका उकाला ओरालाहरु पार गर्दै साँगुरीको टुप्पाबाट धरानको रौनक हेर्दा मनमा बम्बई, दिल्ली शहर पनि यस्तै हुँदा हुन् नि जस्तो लाग्थ्यो । अहिले तीजको सम्झनासँगै यो मानसपटलमा धनकुटा पनि गाँसिएर आयो । सानो हुँदा मनाइएका तीजहरु पूर्णतः घरेलु थिए । आफू  सानो छँदा मुवाँका पछि लागेर तल आत्मारा मावल झर्नु, मावली गाउँका भुराभूरीसँग खेल्नु, त्यतै व्रत बस्नु, अनि तीज सकेर फर्कनु एउटा नियमित प्रक्रिया नै थियो । तीजमा सामूहिकताको भाव थियो । वरिपरिका महिलाहरु मिलेर पूजामा सामेल हुन्थे र सामूहिक स्नानको कार्य हुन्थ्यो । आमा, माइजू, ठूलीआमा, सानिमा, दिदी, बहिनीहरुको रमाइलो गफ, उन्मुक्त हाँसो ! सारै आत्मियता बोध गराउने पर्व हुने गर्थ्यौ तीज !


पछि विजुली आयो । ग्याँस आयो । मोटरबाटो आयो । यी विकासक्रमले हाम्रा चलनलाई बदले । हाम्रो खानापिनाको बदलावसँगै तीजको स्वरुप पनि बदलिँदै गयो । पहिले पहिले मोटरबाटो नभएको समयमा, कृषिकर्ममै आधारित जीवनशैली भएका बेलामा, टेलिफोन नभएका बेलामा चेलीहरु तीज सम्झेरै विरहका गीत गाउँदा हुन् । अलिकति उमंग च्यापेर कत्रो उत्साहसँग माइतघर जाँदा हुन् । तर हेर्दाहेर्दै समय बदलियो । कोशौँ टाढाको माइतीसँग पनि फोनमा बोल्न पाइएको छ, भिडियो कलमा मजाले अनुहार नै हेर्न पाइएको छ । खुर्र मोटर चढ्न पाइएको छ । अझ भएन हुर्र जहाजै चढ्न पनि पाइएको छ ।

नारीहरुमा बढ्दो चेतनाको प्रभावको परिणामले हुनुपर्छ आजकल तीजले जन–समूदायमा ठूलो ठाउँ ओगटेको छ । करिब एक महिना अघिदेखि तीज कार्यक्रमहरु आयोजना हुन थालेका छन् । यस कुरालाई संस्कृतिमाथि आक्रमण भएको र तीजलाई विकृत बनाइएको आरोप नलागेको पनि होइन । तर मलाई भने त्यस्तो लाग्दैन । यो विस्तृत तीज त बढ्दो नारी सचेतना र नारी सहभागिताको परिणाम हो जस्तो लाग्दछ । अबको तीजलाई खुम्च्याएर पुरानै स्वरुपमा पुर्याउन सम्भव छैन किनभने अबको समयका चेलीहरु सचेत छन्, समाजका निर्णायक ओहदामा पुगेका छन् र आफ्नो लागि आफैंले आवाज उठाउन सक्षम पनि छन् । उनीहरुको बढ्दो सहभागिताका कारणले तीज वृहत्तर हुँदै गएको छ ।

पुरानो समयमा विविध कारणले आफ्नो सेरोफेरोमा खुम्चिएको तीजको जमघट अब फैलिएको छ । अब एउटा तीज घरमा हुन्छ । घरेलु तीजमा नितान्त साइनो भित्रका नजीकका आफन्त चेलीहरु हुन सक्लान् । अनि टोलमा पनि टोलविकास होला, आमा समूह होला, अनि छोरी बुहारी सञ्जाल पनि होला । ती समूहहरुले पनि आ–आफ्ना तीज मनाउने नै भए । अनि आफूले पेशा गर्ने स्थानमा पनि तीज कार्यक्रमको आयोजना होला । त्यता पनि जानुपर्ने हुन्छ । यी समूहहरुले आफ्नो गच्छे र शक्ति अनुसारका तीज कार्यक्रम आयोजना गर्छन् । सानो स्थान अपर्याप्त भएपछि ठूला फराकिला ठाउँ रोज्नु पर्यो । अनि पार्टी प्यालेस वा होटेलमै तीज मनाउने कुरामा पनि म आपत्ती देख्दिन । यी सबैकुरा समयले ल्याएका परिवर्तन हुन् । मेरै वरिपरिका महिला दिदी बहिनीहरु समेत कम्तिमा तीन चारवटा तीज भ्याउनुहुन्छ । तीजैका दिनमा मात्र सबै स्थानमा दौडेर नसकिने भएकैले यो तीजको दर चाहिँ तन्केर महिनादिन सम्म चलेको हुनुपर्छ ।

अझ पुरानो समयमा त एक वर्गमा मात्र सीमित तीज अहिले राष्ट्रिय पर्ब भएको छ । तीजमा खानु, रामरौस गर्नु एउटा पक्ष हो । तीजको अर्को महत्वपूर्ण पक्ष ब्रत बस्नु पनि हो । ब्रत बस्नु र ब्रतको परिणाममा विश्वास हुनु वा नहुनु नितान्त व्यक्तिगत कुरा हो । तर दर खानु, नाच्नु र गाउनुमा त कुनै दोष छैन । नारीहरुले तीज भड्किलो बनाए । तीज खर्चिलो भयो भन्ने सामाजिक चिन्ता पनि अहिले उठ्ने गरेको छ । तर त्यो नाजायज चिन्ता हो । आफ्नो औकात अनुसार त सबैले रमाइलो गर्ने हो । आफ्नो सामर्थ्यभित्र रहेर रामरौस गर्नु नै अहिलेको तीजको पर्याय बनेको छ ।


तीजको धार्मिक महत्वको चर्चा अहिले त्यति हुन्न । कसैले ब्रत बसेरै वर खोज्नु पर्ने समय चाहिँ घर्किसकेजस्तो लाग्छ मलाई । बरु स्वास्थ्यका हिसाबले ब्रत बस्नुका लाभदायी पक्षहरुमा वहस चर्चा भएको पनि सुनिन्छ आजकल । अहिलेको समयमा तीजको व्यापारिकरण भएको चाहिं पक्कै हो । तीजकै लागि भनेर वस्त्र र श्रृङ्गार परिधानका सामग्रीको ठूलो व्यापार हुन्छ । तीज मेलाहरु लाग्छन् । कन्सर्ट र अन्य प्रकारका सामूहिक उत्सवहरु पनि त्यतिकै आयोजना भैरहेका हुन्छन् । यता आजकल तीज लक्षित गीतको बजार पनि बढेको छ । तीजको छेक पारेर तीज लक्षित गीतहरु बजारमा आउँछन् । यिनै गीतहरु समेत कहिलेकाहिँ चर्चा र विवादको घेरामा पर्ने गरेका छन् । यी सबै कुराहरु दीर्घजीवी छैनन् । खहरे जस्तै आउँछन् र बिलाउँछन् । हाम्रो बाल्यकाल बिलाएजस्तै, यौवन बिलाएजस्तै, सम्पूर्ण कुराहरु बिलाउँछन् । त्यसरी हेर्दा क्षणिक जीवनमा वर्षमा एकपटक आउने नारीकै नामको चाडमा एकसर्को नाचौँ, मन खोलेर हाँसौँ । सम्पूर्ण नारीहरुलाई तीजको हार्दिक मंगलमय शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).