“जमीन साँगुरिएको होइन नानी, मान्छेको बुद्धि चाउरिएको हो,” एक बिरामी कुरुवा दिदीले भन्नुभयो । उहाँका श्रीमान् लाई भर्खरै मात्र अपरेशन गरेर हाम्री दिदी नजिकैको बेडमा सारिएको थियो । दुई दिनदेखि हामी त्यहि कोठामा आफ्नै दिदीको हेरचाहमा खटिएका थियौँ । भीडमा कुराहरु प्रशस्त निस्कन्छन् । ती रुँगाली दिदीसँग दुईजना नाति र नातिनी पनि थिए । शायद घरमा छाड्न नमिलेर हुनुपर्छ, ती स-साना तीन र चार वर्षजतिका नानीहरु वरपर दौडिरहेका थिए । नानीकै आमाचाहिँ औषधीका चिर्कटा बोकेर दौडिन्थिन् ।
एकछिन
सम्म ती नानीहरु विरामी हजूरबाका वरिपरि घुमे । अरु बिरामीका बेडका छेउछाउ गए ।
क्षणभरमै उनीहरुको मन भरिएछ क्यार, कलह गर्न थाले ।
अलिक ठूली नानीले भन्न थालिन्— “म कहाँ खेल्नू अब आमा ?,” दिदीको
कुरालाई नक्कल गर्दै सानो मान्छे बोल्यो— “म पनि कहाँ खेल्नू ?” उनीहरुको
प्रश्न जायज थियो— “उनीहरुले कहाँ खेल्ने त ?” अनि पो मेरो
मनमा ठोक्कियो— “नानीहरुले कहाँ खेल्ने ?”
यहि
खेल्ने कुराले जमीनको प्रश्न उठाएको थियो । हो नि, ती कुरुवा
दिदीले भनेजस्तो जमीन साँगुरो भएको होइन । हाम्रै नीति निर्माणकर्ताहरुको बुद्धि
चाउरिएको हो । जमीन साँगुरो हुँदै जानुमा बसाई सराई नै प्रमुख कारण हो । मानिसहरु
सुविधा खोज्दै गाउँ, बस्ती खाली गर्दै शहरतिर, बजारतिर छिर्न
थाले । यसो गर्नु पनि उनीहरुको रहर भन्दा बढि बाध्यता हो । गुणस्तरीय शिक्षा, रोजगार, स्वास्थ्य
सुविधा जस्ता आधारभूत कुराको खोजिमा मानिस बसाईँ सर्ने हुन् ।
यस्ता
आधारभूत कुराहरुबाट वञ्चित भएकै कारणले मानिसहरु बिस्तारै बिस्तारै सुविधा खोज्दै
बसाईँ सर्ने क्रम बढेको हुनुपर्छ । आजकल कृषिमा आधारित कृषि कर्म गर्न मानिसहरु
उत्साहित देखिदैनन् । कृषिमा उत्पादन लागत बढेको बढेकै छ । त्यस अनुसारको प्रतिफल
छैन । कृषि कामदार पाइदैनन् । युवाहरुको पहिलो प्राथमिकतामा वैदेशिक रोजगार गर्छ ।
अलिकति कमाएको पैसाले बजार पायक ठाउँमा मान्छेले सानो घडेरी जोड्छ । घर बनाउँछ ।
अनि कृषिकर्म चटक्कै छाड्छ । यसरि नै हरेक साना ठूला बजार र वरिवरिका क्षेत्रहरु
टुक्रे घडेरीमा परिणत भैसकेका छन् । अव्यवस्थित बसोबासका क्षेत्रहरु बढिरहेका छन्
। यस्ता कुराहरुको नियन्त्रण गर्न तत्कालिन नीति नियम भन्दा पनि दीर्घकालिन
योजनाहरुको जरुरत पर्ने हुन्छ । हो, यस्तै
अदूरदर्शिताका शिकार हामी र आउने पुस्ता बनिरहेका छौँ ।
यसकारणले
पनि मलाई ती अबोध शिशुहरुका प्रश्न अर्थपूर्ण लागे ! हामीले हरेक टोलमा केहि जग्गा
पार्कको लागि छुट्याउनु पर्थ्यो । त्यस्ता साना वा ठूला पार्कमा
नानीहरुदेखि सबै उमेरका मानिस गएर खेल्न, टहलिन सक्थे ।
तर त्यो सोचभन्दा हामी धेरै टाढा छौँ । धन्न काठमाडौँमा पुरानो रत्नपार्क छ । चोकहरु
छन् । डबलीहरु छन् । केहि नयाँ पार्कका अवधारणाहरु पनि विकसित भैरहेका छन् ।
अस्पतालका
भीडमा ती नानीहरुले अलिकति खेल्ने ठाउँ खोजे । भीडभाड हुने अन्य स्थानहरुको हालत
पनि त्यस्तै छ । त्यत्रा त्यत्रा संरचनाहरु तयार गर्दा साना नानीहरु बहलिने अलिकति
जमीन होस् । थोरैतिना खेल्ने कुरा हउन् । नानीहरु रमाउन सकुन् । यस्ता दिन हाम्रा
देशमा कहिले आउला त ? यस्तै खाँचो परिपूर्ति गर्ने
उद्देश्यले व्यापारिक प्रयोजनका लागि केहि क्रिडास्थलहरु खुलिरहेका म देख्छु । यो
राम्रो कुरा हो । तर यस्ता व्यापारिक प्रयोजनका स्थानहरुले सार्वजनिक खाँचो
परिपूर्ति गर्न सक्तैनन् । केटाकटी र युवाहरु आफ्ना मनलाग्दि खेल खेल्न र रौसिन
पाउँदैनन् । त्यहाँ त तोकिएको परिधिभित्र बसेर सबैकुरा गर्नुपर्ने हुन्छ ।
मेरो
घरकै छेउमा विद्यालय छ । त्यहाँ खेल सामग्री त त्यति विधि छैनन् । वरिपरि
तारजालीले घेरिएको छ । अस्ति भर्खरै मात्र मैले घरको छतबाट केहि केटाकेटी चौरमा
उफ्रिरहेको देखेँ । मलाई हठात् एउटा कथाको सम्झना आयो । कथामा एउटा दुष्ट बूढाको
बगैँचामा भुराहरु स्याउ चोर्न जान्छन् । बूढाले धपाउँछ । यहि क्रममा एकदिन
भुराहरुलाई बूढाले फेला पार्छ । तर ऊ रिसाउँदैन । बरु भुराहरुसँगै खेल्छ, नाच्छ, उफ्रन्छ
। मलाई पनि ती भुरा देख्दा त्यस्तै भयो । म दोधारमा परेँ । तिनीहरुलाई उछलकुद गर्न
दिऊँ कि धपाऊँ जस्तो भयो । फेरि मनमा आयो ती त साना भुरा हुन् । लड्लान, अभर
पर्लान्, बन्द गेटभित्रको कुरा हो । कहाँबाट दर्फ़रिंदै, लछारिंदै
ती बालकहरु स्कुल कम्पाउण्डभित्र छिरेका होलान् ? अनि तिनीहरुलाई
मैले गेट खोलेर बाहिर पठाउने उद्देश्यले विद्यालयतर्फ़ गएँ
। मलाई देखेर केहि ठूलाहरु त पर्खाल नाघेर उफ्रे । तर निकै साना उमेरका दुई
बालिकाहरु पर तारजालीका आडमा थर्थर काँम्दै बर्बर आँशु झारिरहेका थिए । म छेउमा
गएँ । नानीहरु त्रासले भक्कानिए । बिस्तारै उनीहरुलाई गेटसम्म ल्याएर बाहिर पठाएँ
। अहिले म विचार गर्छु उनीहरु त्यहाँ उपध्रो गर्न गएका होइन रहेछन् । उनीहरु त
खेल्ने, रमाउने ठाउँको अभावमा पो त्यहाँ छिरेका रहेछन् । हाम्रा पनि हरेक
टोलमा त्यस्ता खेल मैदान हुँदा हुन् त उनीहरु त्यतै लाग्थे होलान् ।
अनि
म हेर्छु । नजिकैको भृकुटी माध्यमिक विद्यालयको खेल मैदानले त्यो खाँचो टारेको छ ।
मानिसहरु बिहान त्यहाँ कसरत गरिरहेका हुन्छन् । बेलुकातिर तल बजारदेखिका युवाहरु फुटबल
खेल्न आउँछन् । भर्तिमा लाग्ने युवाहरु पाँसुला दह्रा पार्दै हुन्छन् । यसरी
हेर्दा सार्वजनिक पार्कहरुको अत्यन्तै खाँचो मैले देखेँ । कसले सोचिदेला, कसले
बुझिदेला ?
अहिलेको समयमा विदेश नजाने, त्यहाँको चालामालाको झल्को नपाउने मानिस कमै छन् । कसरी त्यहाँ हरेक समूदायमा सार्वजनिक पार्कहरु बनाइएका छन् ! कसरी नजानिदो गरी सामूहिक भावनाको विकास भएको छ ! हुन त टाढाको कुरा के गर्नु, हाम्रैमा पनि त्यो चलन नभएको होइन । पाटि, पौवा, चौतारी, चोक, डवली हाम्रै मोडेलका सार्वजनिक स्थल हुन् । तर ती पहिले बनाइएका सार्वजनिक स्थलहरु समेत अतिक्रमणमा परेका छन् । संरक्षणमा जति चासो हुनुपर्ने हो, त्यति देखाइएको छैन ।
भर्खरै मात्र हो एउटी भद्र महिलाले आफ्नो सानो तीनवर्षे छोरा देखाउँदै भन्नुभयो— “हामी दुवै जागिरे । अनि कोठाको कोठै राख्दा राख्दा नानी ठूलो भयो । दह्रा खुट्टा टेक्दैन ।” हो पनि, धूलोमाटो नखेलेको, घाँस चौरिमा लडिबडि नगरेको बच्चा खुल्ला रुपमा हुर्केको बच्चा भन्दा सबै हिसाबले कमजोर नै हुन्छ । शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि बाहिरी वातावरणमा खेल्न कुद्न पाएका बच्चाहरु बलिया हुन्छन् । उनीहरु प्रकृतिका नजिक हुन्छन् । सार्वजनिक स्थलमा सामूहिक रुपमा खेलिने हुँदा नानीहरुमा सामूहिकताको विकास हुन्छ । उनीहरुमा समस्याका समाधान खोज्ने उपायको विकास हुन्छ । सुरक्षित रहने र चोटपटकबाट पनि बचाउन सकिने भएकाले हिजोआजका धेरैजसो केटाकेटी घरमै हुन्छन् । अझ घरको पनि एउटै कोठामा उनीहरु डिजिटल गेममा मस्त रहने हुँदा उनीहरु साँच्चिकै बालक हुन पाएकै हुँदैनन् । तर बाहिर खेल्न पाएका केटाकेटीमा आत्मविश्वासको वृद्धि हुन्छ । बाहिर खेल्दा केटाकेटीको रचनात्मकतामा वृद्धि हुन्छ । उनीहरु आफैंले नयाँ नयाँ उपाय पत्ता लगाउँछन् । यसले उनीहरुका आफ्ना कृयाकलापमाथि नियन्त्रण गर्न पनि सघाउँछ । उनीहरु सबै इन्द्रियहरु उत्तिकै सक्रिय पारेर खेल्छन् र घरमा भिडियो गेम खेल्ने बच्चाहरुभन्दा बढि नै सक्रिय हुन्छन् । उनीहरुको थकान र तनाव पनि खेलले कम गराउँछ । यसरी हेर्दा केटाकेटीको
सर्वपक्षीय विकासका लागि प्रकृतिका नजिक बसेर खेलिने खेल अत्यन्त आवश्यक छन् ।
यस अर्थमा ती अस्पतालमा भेटिएका अबोध बालकहरुले अस्पतालमा खेल्ने ठाउँ खोज्नु स्वभाविक कुरा हो । त्यस्तो ठाउँ खोज्नु उनीहरुको नैसर्गिक अधिकार पनि हो ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 August 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).