Tuesday 16 August 2022

खुट्टि हेरेरै चाल पाएँ

 

    कसैले चाहिने भन्दा बढी गफ दियो भने नेपालीहरुले एउटा व्यङ्यात्मक उखान प्रयोग गर्छन्— खुट्टि हेरेरै चाल पाएँ । यो हप्ताभरिका समाचार हेर्दा मलाई त्यहि उखान दोहोर्याउन मन लागेको छ— खुट्टि हेरेरै चाल पाएँ ।


          अति सर्वत्र वर्जयत्

          राजनीतिले अहिले अतिवाद्को रुप धारण गरेको छ । गफहरु खातका खात लागेका छन् । पचास वर्ष अगाडि जसरि राजनीतिक भाषण हुन्थे, तिनमा तात्विक अन्तर आएको छैन । नेपाललार्ई पाँच वर्षमा कायापलट गराउने प्रतिवद्धता व्यक्त गर्नेहरु फेरि पनि पाँच वर्षको राग अलाप्दै छन् । जनता यी झुटा आश्वासनदेखि अघाएको संकेत त अघिल्लो स्थानीय निकायको मत परिणामले देखाइसकेको छ । तैपनि पुरानो मानसिकता भएका बयोवृद्धहरु बेहोसीमै समृद्धीको सपनामा भोट साट्ने प्रयासमा लागिरहेका छन् ।

          मंसिर चार गतेको संसदीय चुनाव घोषणा भइसकेपछि आ–आफ्नो प्रकारले परिणाम आफ्नो पक्षमा पार्न दलहरु कम्मर कसेर लागेका छन् । जब केहि युवाहरु गएको स्थानीय तहको मत परिणामबाट उत्साहित बनेर अब आउने चुनावको लागि तरखर गर्न थाले, पुराना दलहरु र नेताहरु यसबाट त्रसित भएको स्पष्ट देख्न सकिन्छ । केहि समय अगाडि मात्र नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एक सार्वजनिक कार्यक्रममै अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको तर मुलुकको दिर्घकालीन विकासका लागि यो प्रवृत्ति घातक साबित हुने कुरा बताए । त्यसै मौकामा उनले काठमाडौँका मेयर बालेन शाह फोहोर पन्छाउन नसकेर असफल भएको उदाहरण पनि दिए । स्वतन्त्र रुपमा राजनीतिमा हाम फाल्न खोज्ने युवाहरुको अठोट देखेर हतोत्साहित गर्न खोज्ने माथिल्लो ओहोदाका नेताहरुमा डा. महत एक्ला होइनन् । पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले समेत स्वतन्त्रका नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुँवाको विशेषण दिएका छन् । उनले अझ स्पष्टसँग रवि लामिछानेमाथि खनिदै भनेका छन्, “अब एउटा पत्रकार, नचाहिने नचाहिने काम गर्यो, अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने भडुँवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।”

          यसै लहरमा अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि अभिव्यक्ति दिएका छन् । उनले एक कार्यक्रममा बोल्दै स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभई देशलाई पछि लैजाने तत्व भएको कुरा बताए ।

          यहाँ माथि उल्लेख गरिएका केहि प्रतिनिधिमूलक समाचारका अंश मात्र हुन् । तर प्रमुख मानिएका तीन दलका उच्च पदस्थ व्यक्तिहरु किन स्वतन्त्र पक्षसँग तर्सिएका छन् ? देशको कुनै पनि नागरिकले चुनावमा उठ्न वा दल दर्ता गर्न पाउने अधिकार त संविधानले सुनिश्चित गरेको छ । हरदम, हरक्षण समृद्धिको शिखरमा पुर्याउने रटान लगाउने ठूला दलहरुले नयाँ दल र स्वतन्त्र व्यक्तिहरुसँग तर्सिनु पर्ने कुनै कारण नहुनुपर्ने हो । तर दलहरुले विगतमा के के गरे भन्ने कुरा त उनीहरुलाई स्पष्ट थाहा छ । जब युवाहरु देशमा जुर्मुराए, पुरानाहरुको एकछत्त राजनीतिले स्वरुप बदल्छ अब भन्ने कुराको आभाष उनीहरुले पाइसकेका छन् । अहिलेसम्मको भ्रष्टाचार र कुशासनलाई जनताले चुपचाप सहिरहे । दलहरुले बेफ्वाँकका समृद्धिका डिङ्ग हाँकिरहे । अबको समय त्यति सहज नहुने देखेपछि उनीहरु जनतालाई युवा वर्गसँग सचेत रहन आव्हान गरिरहेका छन् ।


          अन्त्यहिन लालच

          यो चुनावी सरगर्मी बढिरहेको बेला फेरि पुरानै आकांक्षीहरुले प्रधानमन्त्री बन्ने इच्छा सार्वजनिक गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष ओली फेरि मुलढोकाबाटै बालुवाटार छिर्ने कुरा दोहोर्याएर तेहेर्याएर सुनाउँदैछन् । उता माओवादीका प्रचण्ड फेरि मौका पाए मुलुकको कायापलट नै गरिदिने प्रतिवद्धता सार्वजनिक गरिरहेका छन् । यस दौडमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा त अझ अहिलेकै समयलाई डेराडन्डा नसारी निरन्तरता दिने पक्षमा छन् । यस प्रधानमन्त्रीय दौडमा पुराना पारखीहरु त छँदैछन्, त्यसमाथि प्रकाशमान सिंह र गगन थापा समेतले आकांक्षा जाहेर गरेका छन् ।

          इच्छा त असीमित हुन्छन् । गठबन्धनको पुच्छर नसमाई बैतर्नी तर्न नसक्ने अवस्थामा पुगेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत प्रधानमन्त्री बनेर देशलाई समृद्धिको शीखरमा पुर्याउने सपना देख्न छाडेका छैनन् । तर यी सबै सपनाका आधारशीला जनता नै हुन् । अबको जनमत पक्कै पनि पहिलेको जस्तो पार्टीमुखी हुने छैन । यस कुराको आँकलन मेरो व्यक्तिगत होइन । यो आँकलन त उनै पुराना राजनीतिका खेलाडीहरुको हो । नत्र भने किन उनीहरुले सार्वजनिक रुपमा स्वतन्त्र र युवाहरुको विरोधमा शब्दहरु खर्च गर्नुपर्थ्यो ?

          लोकतन्त्र ल्याउनका लागि लडेका भनेर  दावी गर्ने नेताहरुले जनतालाई के के अवसर दिए भन्ने कुरा महत्वपूर्ण हुनेरहेछ । गत तीस वर्ष यता देशमा जे जति भ्रष्टाचारजन्य कार्यहरु भए ती सबै कार्यका साक्षी उनीहरु नै होइनन् र ? देशले कोल्टे फेर्छ भन्दा भन्दै उत्तानो पर्यो  भनेजस्तो स्थिति ल्याउनमा जिम्मेवार को हो ? जनताले धेरै आशा गरेका थिए लोकतान्त्रिक पद्धतिबाट । यो पद्दति आफैमा दोषी छैन तर यसको सञ्चालन विधिमा समस्या देखिएको हो । हजारौंको बलिदान पछि प्राप्त लोकतन्त्रले वास्तवमा के कुरामा सहजता दियो ? देशमा दण्डहीनताको स्थितिको अन्त्य गर्यो ? सुशासन कायम भयो ? देशका युवा पलायन रोक्ने कुनै नीति बन्यो ? देशबाट लार्खौ विद्यार्थी किन विदेश अध्ययनमा गएर फर्कदैनन्, कसैले चिन्ता गरेको छ ? शिक्षा र स्वास्थ्यमा कुनै सुधार आएको छ ? भ्रष्टाचारको सूचकांकमा हामी कहाँबाट कहाँ पुग्यौँ, कसैले लाज मानेको छ ?

          हाम्रा नेताहरुका निर्लज्ज गफको परिणाम हामी भोगिरहेका छौँ । हालैमात्र जापान भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्डको हावादारी गफ त तपाईहरुले सुन्नुभएकै थियो होला । नेपाल नै नआएका जापानका पूर्व प्रधानमन्त्री आवेलाई पटक पटक नेपालमा भेटेको गफ उनले जापानमै दिए । यस्ता गफ दिन बानी परेका हाम्रा नेताहरुलाई त लज्जाबोध नहोला तर विदेशीहरुले त पक्कै पनि नेपाली नेताहरुको स्तर मापन गर्दा हुन् ।


          आरामकै खाँचो

          एउटा ठिटोले प्रधानमन्त्री देउवालाई ललकार्दै देउवाकै क्षेत्रमा उम्मेद्वारी दिने तयारी गर्दैछ । ऊ हजूरबा पुस्ताले अब आराम गर्नुपर्ने कुरा बताउँछ । वास्तवमा उसले भनेको सहि हो । अब हजुरबा र काकाहरुले आराम गर्ने बेला बितिसकेकै हो । तपाईहरुले जे जति जान्नुभयो र गर्नुभयो, त्यसका लागि तपाईहरु सधैँ धन्यवादका पात्र हुनुहुन्छ । अब देशले समग्र परिवर्तन खोजेको छ । नयाँ समयका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई नै मार्ग प्रशस्त गर्नुपर्छ । तपाईहरुले आफ्नो हठ नत्याग्ने हो भने समयले तपाईहरुलाई लज्जाबोध गराउने संकेत देखिदैछ । आगे जो इच्छा ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 12 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).